चालिस कटेर पनि रमाउन नसकिएको यो गर्मीसँगै नारायणगढ बुटवल सडक खण्डको धुलोले सरकारी पोशाकको सेतो सर्ट जति छिटो मैलिन्छ त्यति नै छिटो सरकारी सेवामा छिरेसी मान्छेको इमानमा दाग लाग्न खोज्ने रैछI
सबै खत्तम नै हुन्छन् त कसरी भनौं आफैंलाई चोर पनि कसैले भन्छ? तर सबैसँग प्रेम सञ्जेल हुने आँट कसरी आओस्?
देश बनेन भनेर दिनहुँ गुनासो गर्ने साथीसंगीले पनि तलबबाहेक यताउति त होला नि दिइहाल्छन्I हो, यता र उति साह्रै हुन्छ! काम न काजसँग कुकुर डुलेझैं घरी यता, घरी उता फरक त्यही हो पुच्छरको ठाउँमा फिता बोकेको धुलाम्मे झोला झुण्डिन्छI
सरकारी पोशाक नि नलगाऊँजस्तै हुन्छ चिया खाँदै चोकमा बसेका देश बनाउने गफ हान्नेले देखे भने त लुटेरै आयो कि भन्ने सोच्छन् भन्ने डर लाग्छI छोरीलाई विदेश गएकै ज्वाइँ चाहिने काकाहरूको देशभक्तिलाई नि मनन गर्दिनै पर्यो।
सबेरै कार्यालय गएर काम गर्यो, लौ केही दायाँ-बायाँ नभई त पक्कै आएन, दस मिनेट ढिलो जाऊँ अनुशासनको प्रश्न उठिहाल्छ सुख के गरे चाहिँ छ यो परपीडक समाजमा? भेउ पाउन छोडियोI
रिङ्गटा लगाउने गरी सेवाग्राहीले फाइल लिएर यति नम्बरदेखि उति नम्बरसम्मका कोठामा फाइल लिएर घुमेको घुम्यै गरेसी बल्ल सकिने खालको बनाइएको झन्झटिलो प्रक्रियामुखी कामको अपजस पनि लिनै पर्यो किनकि सरकारी नुन खाएसी बढेको प्रेसरको दबाई त आफैं खानुपर्यो नि हैन?
चित्त नबुझेका सेवाग्राहीले हाम्रै करले त जागिर खानु भको हो भनेको सुन्दा मनमा कुरा खेल्छ 'जागिर त बाउको करले पनि खाएको हैन दौंतरीले आफ्नो भविष्य देख्न छोडेको देशमै केही गरौं भन्ने सानो रहर मात्रै थियो'I
कर भन्ने राजश्व हो भन्ने त मनले नै मानेन तीन हजारको भाडा लिएर एक हजारको घर बहाल कर तिर्ने मान्छे नि कहाँ कम छन् र? यसरी नै गनगन सुन्यो जसोतसो दिन कटायो, आयु घटायोI
पास हुनलाई पढेको पढाइले काम सक्नलाई मात्रै गरिने जागिर दियो तादाम्य त मिलेकै छ नि के गुनासो गर्नु?
खुसी हुने कुरा पनि छन् त सब-इन्जिनियरलाई इन्जिनियर साप भन्दा गमक्क नपारिएको हो र? वृत्तिविकास पनि त भएकै छ नि! तीन वर्षमा लगभग दोब्बर तेब्बरले क्षमता अभिवृद्धि भैसक्योI सेवा प्रवेश गर्दा शून्य थियो भने अहिले आफैं हिसाब गर्नुस्I
खाजा भनेको सोमरस हो भन्ने ज्ञान पनि त यही सेवाले नै सिकाएको त होI
कुनै कुरा बढ्ने, कुनै घट्ने त भैहाल्छ नि हैन र? घटेको ऊर्जालाई बढेको वितृष्णाले पुनर्भरण गर्दिए त भैहाल्यो नि इमानदार निर्माण उपभोक्ता समितिले ढुंगाको ठाउँमा माटो हालेर चलाएकै छन् त!
पुटुक्क भुँडी निस्केर खाइलाग्दो देखिन लाग्या छI समाजले सरकारी जागिरले गर्दा भुँडी बढेको देख्छ, घटेको खोपडीको क्षमता त माथि बसेका भगवानले मात्रै देख्या होलान्I त्यसो त विज्ञानको युगमा के भगवानको मात्रै कुरा गर्नु विज्ञानले पनि कुनै दिन प्रमाणित गर्ला खानकीको थुप्रोले मात्रै हैन तनावको थुप्रोले पनि सरकारी जागिरेको भुँडी बढ्छ भनेरI