अनुभूतिका पनि विभिन्न तह हुन्छन्। सबै भोगाइ पूर्वनिर्धारित नहुँदा रहेछन्।
आजभन्दा दुई वर्ष अगाडि कोभिड-१९ र यसको कुप्रभावबाट मेरो बाबा प्रताडित हुँदै गर्दा परोक्ष रूपमा कोभिडसँगको नमिठो साक्षात्कार मलाई पनि मिलेको थियो।
मिति २०७८ साल वैशाख ३ गतेदेखि बाबालाई सामान्य खोकी लाग्न सुरू भयो। करिब ८ दिन यो क्रम चलिरह्यो। वैशाख ११ गते बिहानीपख बाबाले सास फेर्न अलि अप्ठ्यारो भएजस्तो (ब्रेथ शर्टनेस ) अनुभव गर्नुभयो। हामी तत्काल स्थानीय मेडिकल पुग्यौं।
तत्काल पल्स अक्सिमिटरबाट अक्सिजन नाप्दा अक्सिजन सेचुरेसन लेभल अपुग भएको पायौं। हामी तत्काल बसुन्धरास्थित ग्रिन सिटी अस्पताल पुग्यौं। इमर्जेन्सी कक्षमा पुगेर देखाउँदै गर्दा बिरामीको शारीरिक अवस्था स्थिर रहेकाले ओ.पि.डी. कक्षमा देखाउनु भनी सोही अनुरूपको डाक्टरको टिकट काट्यौं। यद्यपि ओ.पि.डी कक्षमा डाक्टर नभएकोले करिब एक घण्टा हामी डाक्टरको प्रतिक्षामा रह्यौं। डाक्टर आउनासाथ हाम्रो पालो आयो। फेरि अक्सिमिटरबाट अक्सिजन लेभल चेक गरेपछि एक्सरे, पिसिआर र एबिजी परीक्षणका लागि सिफारिस गर्नुभयो। एक्सरे रिपोर्ट अनुरूप फोक्सो निमोनिया ग्रस्त देखियो, पिसिआर रिपोर्ट पोजिटिभ आयो र एबिजी परीक्षणमा तल्लो लिमिटभन्दा थोरै आयो।
तत्काल कोभिड आइसियू कक्षमा बाबा भर्ना हुनुभो। सुरूमा नेजल क्यानुलाको सहायताले कृत्रिम अक्सिजन दिइयो र यही उपकरणमा करिब १२ घण्टा जति अक्सिजन मेन्टेन भयो। क्रमशः अक्सिजन आवश्यकता बढ्दै गयो। नेजल क्यानुला, फेस मास्क, भेन्चुरीमिटर, हाइ फलो रिजरभ्वाइर (१००%) हुँदै ६० लिटर प्रतिमिनेट अक्सिजन दिनुपर्ने अवस्थामा बाबा पुग्नुभयो। आई.सि.यू भर्ना भएको दोस्रो दिनपछि रेम्डीसिभिर औषधि सुरू गरियो र समान्तर रूपमा प्लाज्मा ट्रान्सप्लान्ट गरियो।
यसरी पाँचौं दिन एक्कासि नर्सिंङ स्टेसनबाट फोन आयो, 'तपाईं तुरून्त नर्सिंङ स्टेसनमा आउनूस्' मेरो मन एक तमासको भो।
डरको सीमा नै रहेन हस्याँङ फस्याँङ गर्दै म पुगें र ड्युटी डाक्टरले भन्नुभयो, ‘तपाईंको बुवाको अवस्था क्रिटिकल छ, अक्सिजन आवश्यकता बढ्दै गएको छ र अहिलेको उपकरणले थेग्न सकेन। अहिले सीप्यापबाट मेन्टेन गरिएको छ। सीप्याप भेन्टिलेटरको प्रारम्भिक चरण हो। भेन्टिलेटर स्वासप्रस्वास सुधारको लागि प्रयोग गरिने अन्तिम अस्त्र हो। यसरी सिप्यापपछि हामी इन्टुबेटेड भेन्टिलेटरको प्रयोग गर्छौं, जुन बेला जे पनि हुन सक्छ तयार रहनुहोला। इन्टुबेटेड भेन्टिलेटरको लागि तपाईंको मन्जुरीनामा दिनुहोला।'
चिकित्सकहरूले टेलिभिजनमा दिएका अन्तरवार्तामार्फत् इन्टुबेसनको थोरबहुत जानकारी ममा पनि थियो। सेडेटिभको प्रयोगमार्फत् बिरामीलाई प्यारालाइज्ड गराएर बेहोसी अवस्था मा ट्यूबिंग गर्दै अक्सिजन मेन्टेन गर्ने अन्तिम प्रक्रिया इन्टुबेसन हो। यसको मृत्युदर उच्च रहेछ र जटिलता ज्यादा रहेछन्। यिनै मुलभूत कुरालाई ख्यालमा राखेर अन्तत: पारिवारिक सल्लाह गरेर हामी इन्टुबेटेड भेन्टिलेटरको विकल्प प्रयोग नगर्ने निर्णय गर्यौं।
उसो त ओ.पि.डी. कक्षमा एक घण्टा कुरेर, उच्च मनोबल र स्थिर शारीरिक अवस्था रहेको हाम्रो बुवालाई फर्कन सकिने वा नसकिने बीचको एक विकल्प रोज्ने सर्त कसरी स्वीकार्य होला र?
'केही प्रतिशत मात्र फर्कने सम्भावना र ज्यादा नफर्कने सम्भावना छ' डाक्टर स्वयं नै भन्नुहुन्थ्यो।
तसर्थ ९९ प्रतिशत नहुने, १ प्रतिशत हुने गणित पनि कुन चाहिँ बिरामीको प्रियजनलाई स्वीकार होला र ?
यद्यपि बिरामीको अवस्था अनुरूप जटिल समयमा यो चिकित्सकीय विधिको प्रयोग पनि गर्नुपर्ने त हुन्छ नै। तर यो अगावैको पूर्ववर्ती प्रयोग नै पर्याप्त छ भने सकभर यो विकल्पमा नजानेकी भन्ने सोचिरहेको थिएँ।
यसरी सिप्यापमा रहँदाको करिब १२ घण्टाको समय हाम्रो लागि ज्यादा कठिनतम रह्यो।
कोभिड आइसियूको सिसा भित्ताबाट बुवालाई देखिन्छ कि भन्दै पटक पटक चिहाइरहन्थ्यौं। टिलपिल आँसु , केही आशाका सूचक खोज्दै पटक पटक अक्सिजन सेचुरेसन लेभल हेर्न नर्सिँङ स्टेसन पुग्थ्यौँ। भगवानसँग प्राथना गर्थ्यौँ। फोनमार्फत् बुवालाई मनोबल बलियो बनाउनुस्, जसरी पनि कोभिड जित्छु सोच्नुस् , प्रोन पोजिसनमा सुत्नुस् भनिरह्यौं। बुवा पनि अधिनस्थ त्यही गरीरहनुभयो। सिप्यापमार्फत् उच्च दरमा अक्सिजन दिइएको यो अवस्थामा पनि बोल्न सक्ने, भनेको कुरा अधिनस्थ पालना गर्न सक्ने बुवाको सामर्थ्य देख्दा हामी दंग पर्यौं।
करिब २३ घण्टापछि आशाका किरण देखिन थाले। बुवाको अक्सिजन आवश्यकता घट्न सुरू भयो हाइफ्लोबाट ७० प्रतिशतमा झारियो।
यसमा पनि टिकिरहेपछि क्रमशः ६० लि. रिजरभ्वाईर, ५० लि, ४० लि. हुँदै घटाइयो।
यसरी उच्च मनोबल, प्रोन पोजिसनमा सुत्ने तरिकाको प्रभावकारिताले रेपिड रिकभरीको संकेत दियो।
पुन: अक्सिजन आवश्यकता घट्दै गयो रिजरभ्वाइरपछि क्रमश: भेन्चुरीमिटर र यसको ६०, ५०, ४० हुँदै १५ लि. सम्म झारियो। पछि फेस मास्क हुँदै ८ औं दिन बुवा मात्रै नेजल क्यानुलाको सहायताले अक्सिजन मेन्टेन गर्न सक्ने अवस्थामा पुग्नुभयो। हामीमा खुसीको सीमा रहेन।
तर अचम्मको कुरा त्यस अस्पतालमा पहिलो दिनदेखि नै चिकित्सकको परामर्शमा अवस्था नाजुक छ, सुधार हुने चान्स कम छ, सुधार हुनेभन्दा बिग्रने सम्भावना ज्यादा छ मात्रै भनियो। अचम्म लाग्छ बिरामीको बोलीचाली, अवस्था, बिरामीले इन्टेक गरेको खाना, आत्मबलले त्यस्तो कुनै संकेत गर्थेन। थाहा भएन खै किन? त्यस अस्पतालमा सधैं निराशाको कुरा मात्र गरियो। दिनमा दुई पटक परामर्श हुन्थ्यो तर सबै परामर्शमा बिग्रँदो अवस्था मात्र चित्रण गरिन्थ्यो।
सुधारको आकलन गर्न किन डराउँदा हुन चिकित्सक, आशावादी कुरा किन नफुत्केका होलान्?
म जबरजस्त अन्य परिवारजनलाई डाक्टरको भनाइविपरीत मुटु भारी बनाउँदै , जबरजस्त सुधार भएछ भन्न अभिशप्त थिएँ।
हस्पिटल परिसरमै एउटा मन्दिर थियो, बिहान बेलुका पुजा हुन्थ्यो, पूजापश्चात इच्छुक बिरामी कुरूवालाई टीका लगाइदिएर तपाईंको बिरामीलाई छिट्टै निको हुन्छ, फर्कनुहुन्छ भन्दै पुजारी भनिरहनुहुन्थ्यो यो मानेमा उहाँहरू भन्नुहुन्थ्यो मात्रै पुजारी छन्, निको हुन्छ भन्ने र आशाको दीप जलाउने।
यी सबै भनिरँहदा स्वास्थ्यकर्मी र चिकित्सकको अवमूल्यन गरेको किमार्थ होइन।
चिकित्सक र फ्रन्टलाइनमा खटिने सिस्टरहरू देवतुल्य हुनुहुन्छ, उहाँहरूप्रती मेरो उच्च सम्मान छ। चिकित्साशास्त्र विज्ञानकै सबसे सुन्दर अनुप्रयोग हो। मानव आयुको गुणात्मक वृद्धि , गुणस्तरीय जीवनस्तरमा चिकित्सा विज्ञानको ठूलो देन छ।
म चाहन्छु चिकित्सा पेशा मानवीय मूल्यसहितको होस्, सेवालाई एकमा राखेर अन्य चिज दुई हुन्, बिरामी प्रयोगका वस्तु नहोऊन्, अस्पतालहरू मुनाफा कम, सेवा र परोपकारमा ज्यादा केन्द्रित होऊन्, बिरामीको रोग र त्यसको निदानलाई बजारको वस्तु र त्यसको विनिमयको हिसाबले नदाँजियोस्।
हुन त यो आत्मरति र स्वकल्पनामैँ सिमित होला, रामराज्यको महत्वाकांक्षा होला तर पनि अन्य देशमा यस्ता अभ्यास यथेष्ट छन्, हाम्रो देशमा खै किन हुन सक्दैन?
करिब १० दिनको अस्पताल बसाइँमा थुप्रै भावनात्मक तरंगहरू खेल्न पुग्थे।
म सबै तरंगहरू संगालेर कपीमा उतार्ने जबरजस्त प्रयत्न गरिरहन्थें। जीवन मृत्युको परीक्षामा लडिरहेका आइ. सि .यू. कक्षका बिरामीका आफन्तहरूले आशाको दिप जलाँउदै गरेका अनवरत प्रयत्नहरू, बिरामी तन्नेरी छोरालाई भेन्टिलेटरमा राख्दै गरेको दृश्यलाई नर्सिङ स्टेसनको सिसा झ्यालबाट चिहाइरहेकी, दूरबाट आएकी बुढीआमाको मलिन अनुहार, खसमको क्षीण आँखा निभ्ने पीर मान्दै आँसु झारिरहेकी सुदूरकी दिदी, बुवाको, आमाको स्वास्थ्य लाभको कामना गर्दै प्रतिक्षारत छोराछोरीहरू, अस्पताल परिसरमा आउने एम्बुलेन्स र शववाहनको कर्कश साइरन, प्रियजनको महाप्रस्थानमा रोइरहेका आफन्तजनको चिसा आँखाहरू, आशाको त्यान्द्रो समातेर भेन्टिलेटर चढेको दाजुको चिन्ताले प्रताडित बहिनीको सुँक्क सुँक्क। छोराका बा, बहिनीका दाजू, खसमका पत्नी, आमाको छोरी, छोरीकी आमा, उफ् तपाईंको खसम अन्तिम घडीमा हुनुहुन्छ पिपिई लगाएर एकचोटि भेटेर आउनुस् भन्दा निरूपाय भएर कोभिड वार्डमा छिरेकी दिदीको अनुहार अहिले पनि मस्तिष्कमा कुदिरहन्छ।