अमेरिकामा चरा खोज्न थालेदेखि 'म्यागी मार्स' ठाउँको बारेमा सुन्दै आएको थिएँ।
यहाँ सबैभन्दा धेरै 'वार्ब्लर' अर्थात फिस्टे चरा पाइन्छन्।
बसाइँसराइ गर्ने मौसममा त अझ यहाँ ३० भन्दा धेरै प्रजातिका फिस्टेहरू आउँछन्। मेको दोस्रो साता यहाँ उनीहरूको मेला नै लाग्छ। फिस्टेको मेला हेर्न मान्छेको घुइँचो उस्तै।
यस्तो सुनेपछि कुन चराप्रेमीको मन लोभिँदैन?
पाँच वर्षअघिदेखि मे महिनामा म्यागी मार्स जान खुट्टा उचालेर बसेको थिएँ।
म्यागी मार्सनजिकै पर्ने टोलिडो सहरमा बस्नुहुन्छ दीपेश दाइ। उहाँले मलाई घरीघरी डाइलग दिनुहुन्थ्यो — तँ चरा हेर्ने मान्छे यहाँ नआएर हुन्छ?
म बस्ने सहर फार्गोबाट १५ घन्टा ड्राइभ गरेर पुगिन्छ ओहायो राज्यको टोलिडो।
सधैं जसोको दुर्भाग्य के भने, मे महिनामै मेरो फिल्डको काम ओइरिन्थ्यो। यसपालि भने बल्ल त्यहाँ जाने पुग्ने मौका जुर्यो। पढाइ पूरा भएकाले फिल्डमा गएर अनुसन्धानका तथ्यांकहरू लिनुपर्ने काम थिएन। त्यसैले म्यागी मार्स जाने योजना बनाएँ।
जाने पक्का भइसकेपछि कसरी जाने भन्नेमा मलाई धेरैथरी विचार आउँछन्। उत्साहित भएर म जे पनि सोचिदिन सक्छु।
जस्तो, हिँडेरै गइदिऊँ कि क्या हो!
पन्ध्र घन्टा त हो, ड्राइभ हान्दिन्छु!
होइन, रेलमा जानुपर्छ। आरामले पुगिन्छ!
झ्यालबाट देखिने खेतभरि चरा हेर्न पाइन्छ भन्ने सम्झेपछि म रेल चढेर जाने भएँ।
अमेरिकाको प्रसिद्ध रेल 'यामट्राक' बिहानको २/३ बजेतिर फार्गो आउँछ। सियाटलदेखि लोकल बसझैं विभिन्न ठाउँमा रोक्दै, यात्रु झार्दै, चढाउँदै आउँछ। गन्तव्यसम्म पुग्दा अबेर बनाउँछ। त्यही हिसाब गरेर मैले सिकागोसम्म यामट्राकमा जाने अनि मेरी साथी अब्रीसँगै गाडीमा टोलिडो ड्राइभ गर्ने योजना बनाएँ।
हिँड्ने रात आयो। मोबाइलमा एप हेर्दा रेल भने कछुवाको तालमा घस्रिरहेको जस्तो लाग्थ्यो आफूलाई। मन बेतलब भइरह्यो। रातको झन्डै २ बजे आइपुग्यो। गुडिरहेको होस् कि उडिरहेको साधन, म यात्रामा सुत्न सक्दिनँ। त्यही नि एक घन्टा त सुतेँ। उज्यालो भएपछि हातमा किताब बोकेर रेलको अर्को डब्बामा छिरेँ जहाँबाट बाहिरी दृश्य हेर्न सकिन्थ्यो। मान्छेले यहाँ आएर बाहिर हेरून् भनेरै त्यो डब्बामा चारैतिर सिसा राखिएको हुन्छ। यहाँ बसेर चरा हेर्न मज्जा आउँछ।
म अहिले 'किङबर्ड हाइवे' नामको पुस्तक पढ्दै छु। केन कफम्यानले लेखेको यो किताब पनि चराहरूको खोजीमा निस्केको उनको यात्रा बारेमा छ। यो पढ्दा सबै कुरा छोडेर चराहरू खोज्न हिँडौं झैं बनाउने।
यसपालि त हिँडेको छु त भनेर आफूलाई सम्झाउँदै मैले झ्यालतिर बाहिर नजर डुलाएँ।
कुदिरहेको रेलबाट सबै चराहरू देख्न त मुस्किलै हुन्छ। खेततिर वा छेउछाउका रूखमा बाल्ड इगल भने धेरै देखिन्थो। यो प्रजाति अमेरिकाको राष्ट्रिय चरा हो। 'क्यानडा गुज' पनि टन्नै देखिन्थे। खेतको पर कतै कतै केही जोडी 'स्यान्ड हिल क्रेन' पनि देखेँ। केही महिनाअघि मात्र नेब्रास्कामा लाखौंको संख्यामा ती क्रेनहरू देखेको थिएँ। उनीहरू त्यहाँबाट आआफ्नो बाटो लागेर मिनिसोटासम्म पुगेका रहेछन्।
कहिले पुस्तक र कहिले झ्याल बाहिर हेर्दै १२ घन्टापछि अपराह्न साढे चार बजे म सिकागो पुगेँ। स्टेसनमा अब्री मलाई लिन आएकी थिइन्।
अर्को चार घन्टाको ड्राइभ गरेर टोलिडो पुग्दा मध्य रात हुने छाँटकाँट थियो। गएको रात सुतेको थिइनँ। यो रातको निद्रा पनि माया मार्नुपर्ने देखियो। किनभने भोलिपल्ट झिसमिसेमै चरा खोज्न हिँड्नु थियो।
'सुत्न त अरू बेला पनि पाइन्छ तर मार्स जान पाइन्न,' मेरो उत्साहित मनले भन्यो, 'चरा हेर्न सयौं रातका निद्रा त्याग्न गर्न तयार छु म।'
मध्य रातसम्मै दिपेश दाइ हामीलाई कुरेर बसेका थिए। बिहानै साढे चारमा उठेर चरा खोज्न जाने योजना बनाएर हामी सुत्यौं। तीन घन्टा जस्तो निदाएर म उठेँ। क्यामरा र बाइनाकुलर बोकेर तल झरेँ। केही बेरमा अब्री पनि झरिन् र हामी त्यहाँबाट मार्सतिर लाग्यौं।
मार्समा धेरै 'लाइफर' चराहरू देखिने छन् भन्ने ठानेर म त्यसै मख्ख थिएँ। जिन्दगीमा पहिलोपटक देखेको चरालाई 'बर्डिङ' (चरा हेर्नु/खोज्नु) संसारमा 'लाइफर' भनिन्छ।
'कम्तिमा पनि १०-१५ वटा चाहिँ भेटिन्छन् कि!' मनमनै भनेँ।
मार्समा मलाई एकदम देख्न र हेर्न मन लागेको थियो तीन प्रजातिका वार्ब्लर; कर्टल्यान्ड्स वार्ब्लर, प्रोटोनोथरी वार्ब्लर र सरूलियन वार्ब्लर।
यी मैले यसअघि कहिल्यै देखेको थिइनँ, त्यसैले यी मेरा लागि लाइफर थिए।
कर्टल्यान्ड्स अमेरिकाको एकदमै दुर्लभ वार्ब्लरमा पर्छन्। घट्दै गएको बासस्थानले गर्दा यिनीहरूको जनसंख्यामा असर पारेको छ। यी चराको प्रजनन गर्ने क्षेत्र पनि मिसिगन राज्यको मध्य भागमा मात्र पर्छ। यो वार्ब्लरले एक विशेष प्रकारको सल्लाको रूखमा मात्र अन्डा पार्छ। त्यो पनि ५-१५ वर्ष बीचको रूखमा रे! र, यो प्रकारको रूखलाई मिल्दो वातावरण मिसिगनमा भएकाले यहाँ मात्र पाइने रहेछ। विश्वभरिका सबै कर्टल्यान्ड्स वार्ब्लर प्रजननका बेला मिसिगनमा जम्मा हुन्छन् रे!
केही वर्षयता मिसिगनको माथिल्लो भाग र क्यानडासम्म पनि यो क्षेत्र विस्तार हुँदै गएको अध्ययनले देखाउँछ। अहिलेका लागि भने यो चरा अमेरिकामा 'इन्डेन्जर्ड' अर्थात् जोखिम अवस्थामा रहेका प्रजातिको सूचीमा छ।
टोलिडोबाट ४५ मिनेट ड्राइभ गरेर हामी म्यागी मार्स पुग्दा उज्यालो भइसकेको थियो। त्यहाँ मान्छेहरू जम्मा भइसकेका थिए। पार्किङदेखि नै मान्छेहरू दूरबिन तेर्स्याउँदै रूखको माथितिर हेरिरहेका थिए।
गाडीबाट निस्केर मार्सको प्रसिद्ध 'ब्रोडवाक' (चराहरू हेर्न बनाइएको ट्रेल) तिर लाग्यौं। ब्रोडवाकमा पस्न नपाउँदै केही पहेँला वार्ब्लर देखिन थाले। अमेरिकामा धेरैजसो पाइने भए पनि यी वार्ब्लरले मान्छेहरूको ध्यान खिचेकै थिए। सिमसारजस्तो त्यो क्षेत्रको वरपर धेरै चराहरू कराएको एकसाथ सुनिन्थ्यो। हामी अगाडि बढ्दै गयौं। मेरा लागि नयाँ चराहरू खासै देखिएका थिएनन्।
म रूखको टुप्पोमा भएको चरा नियाल्दै थिएँ।
अब्रीले मलाई बोलाइन्, 'यता हेर न!'
म हतारिँदै गएँ। उनले सासैसासले केही भन्दै थिइन्। मैले बुझिनँ। अलि अघि गएपछि भने उनले सानो स्वरमा 'क्यानडा' भनेको सुनेँ। मैले हतारिँदै दूरबिन झिकेर उनले देखाएको ठाउँतिर हेरेँ। अगाडिको रूखमा केही पहेँला वार्ब्लर देखिए। तर 'क्यानडा वार्ब्लर' देखिएन।
'कता छ?' मैले पनि सासैसासमा सोधेँ।
'त्यो हाँगा छैन? त्यसको फेदमा।'
ओहो, म त अर्कै रूखमा हेरिरहेको रहेछु।
चराचुरूंगीको हल्लाले ब्रोडवाक बिहानै गुलजार थियो। हामी हातमा क्यामरा र घाँटीमा दूरबिन झुन्ड्याएर यताउता गरिरह्यौं।
अलि बरेपछि रूखमा एउटा चरा देखेँ। टाढाबाट हेर्दा 'नर्दन मकिङबर्ड' झैं लागेको त्यो चरा मैले फेरि हेर्न खोज्दा देखिनँ।
अलिकति अगाडि एक हुल मान्छे त्यही रूखमा हेर्दै रहेछन्। म त्यो भीड नजिकै गएँ र एक महिलालाई त्यो रूखमा के छ भनेर सोधेँ।
'यल्लो बिल्ड कुक्कू थियो तर अहिले त उडेर गइसक्यो,' उनले भनिन्।
ओहो, यल्लो बिल्ड कुक्कू त मेरा लागि लाइफर थियो। कतै मैले देखेको चरा त्यही त थिएन? मैले टाढाबाट हेर्दा पो मकिङबर्ड सोचेको थिएँ त!
कुक्कू भेटिन्छ कि भन्ने आशमा केही बेर त्यही रूख तल बसेर हेरिरहेँ। भेटिएन। उडेर बेपत्ता भइसकेको थियो। त्यो कुक्कू मैले मार्सको यात्राभरि भेटिनँ।
कुक्कूलाई छोडेर हामी फेरि अघि बढ्यौं। मार्समा मान्छेहरूको संख्या बढ्दै थियो। ठाउँठाउँमा मान्छेहरूको भीड हुन्थ्यो। रूख वा झाडीतिर हेर्दै गरेका उल्लूहरू भन्दै म एक-दुई जनासँग मुसुक्क हाँस्थेँ।
त्यस्तो भीड अरूको मात्र हुन्थेन। हामी पनि बनाउँथ्यौं। हामीले चरा देखेपछि उत्साही भएको देखेर वरिपरिका मान्छे आइहाल्थे र भन्थे, 'ह्वाट आर वी लुकिङ याट?'
एकपटक मैले पनि एउटा ठूलै झुन्डको अगाडि पुगेर 'ह्वाट आर वी लुकिङ फर?' भनेर सोधेँ।
एक जनाले भने, 'इस्टर्न ह्विपपुअरविल।'
म उत्साहित भएँ। किनभने यो मेरा लागि लाइफर मात्र थिएन, मलाई एकदमै हेर्न मन लागेको चरा थियो। 'नाइट जार' समूहमा पर्ने यो चरा सितिमिति देख्न पाइँदैन। धेरै जसो रातीको समयमा मात्र सक्रिय हुने यो चरा आफ्नो क्यामफ्लाज (छल आवरण) लागि पनि प्रसिद्ध छ। दिउँसै देख्न पाउने मौका पाउँदा म धेरै खुसी भएँ।
'कहाँ छ?' मैले सोधेँ।
ती व्यक्तिले मलाई चरा भएको तिर देखाए। भुइँमा लडेको रूखमा मज्जाले क्यामफ्लाज भएर बसेको थियो।
देखेर म खुसीले फुर्किएँ। मैले कुनै पनि प्रकारको नाइट जार पहिले देखेको थिइनँ। अझ फोटो पनि खिच्न पाइयो।
ओहो इस्टर्न ह्विपपुअरविल, लाइफर नम्बर ६३६।
वरपरको झ्याङमा नियाल्दै हिँडिरहेको थिएँ। १५-२० फिट अगाडिको रूखको एउटा हाँगामा सानो चरा देखेँ। पहिले देखेको जस्तो त थिएन। हतारिँदै त्यतातिर लागेँ। दूरबिन निकालेर नजिकैबाट हेरेँ। नीलो शरीर र सेतो छाती थियो। मुखमा कालो मास्क लगाएको जस्तो त्यो चरा देख्न नपाई मैले चिनिहालेँ। किनभने त्यो मेरो लाइफर हो।
लाइफर नम्बर ६३७, ब्ल्याक थ्रोटेड ब्लु वार्ब्लर।
वार्ब्लरको फोटो खिच्दै गर्दा केही अगाडि हल्लाखल्ला भएको थाहा पाएँ। मान्छेहरू रूखको माथितिर हेर्दै थिए।
सायद केही वार्ब्लर नै होला भनेर म पनि दूरबिनबाट हेर्न थालेँ। रूखको माथि केही थिएन। एकछिन दूरबिन छोडेर आँखाले नियालेँ। रूखमा पातहरूको पछाडि उज्यालो देखिएको भागको तलपट्टि एउटा सानो डल्लो देखेँ जसले पछाडिको घाम रोकेको थियो। फेरि दूरबिनले त्यो डल्लोतिर हेरेँ।
त्यहाँ त उल्लू पो रहेछ, इस्टर्न स्क्रिच आवल।
त्यहाँबाट हाम्रो यात्रा फेरि अगाडि बढ्यो। केही बेरसम्म नयाँ चराहरू देखिएनन्। ब्रोडवाकबाट हामी बाहिर निस्किसकेका थियौं।
ब्रोडवाकबाट बाहिर निस्केपछि हामी अमेरिकाको 'ग्रेट लेक' मा पर्ने 'इरी लेक' मा केही चराहरू भेटिन्छ कि भनेर त्यतैतिर लाग्यौं। नभन्दै तालमाथि एक हुल चरा उडिरहेका थिए। हेर्दा 'टर्न' (फ्यालफ्याले) झैं देखिन्थे। तर मैले पहिला देखेभन्दा फरक लाग्यो। दूरबिनले नियालेर हेरेँ, ती 'कमन टर्न' रहेछन्। मेरा लागि नयाँ चरा अर्थात लाइफर।
लाइफर नम्बर ६३८, कमन टर्न।
हामी एकछिन इरी लेकको तटमा बसेर ती टर्नहरू र तटको नजिकै रहेका गलहरू हेर्दै बस्यौं। अनि फेरि ब्रोडवाकको पल्लोपट्टि पर्ने ट्रेलतिर लाग्यौं।
मैले खोजेका वार्ब्लरमध्ये अहिलेसम्म कुनै पनि पनि देखिएका थिएनन्। कर्टल्यान्ड्स नै नदेखिए पनि प्रोटोनोथरी र सरूलियन चाहिँ देखिन्छन् कि भन्ने आश थियो। धेरै बेरसम्म ट्रेल हिँड्दा पनि कुनै वार्ब्लर देखिएन। मार्सको क्षेत्र छोडेर अर्कै ठाउँतिर प्रयास गर्ने भनेर हामी फर्किँदै थियौं।
केही अगाडि मैले सानो पहेँलो चरा उडेको देखेँ। दूरबिनले हेर्नुअगाडि नै त्यो चरा मैले चिनिसकेको थिएँ। टाउको र शरीर पहेँलो र पखेटातिर नीलो रङ।
प्रोटोनोथरी वार्ब्लर, लाइफर नम्बर ६३९।
म प्रोटोनोथरी वार्ब्लरको फोटो खिच्दै गर्दा पछाडि केही मान्छेहरू आए। उनीहरूले के हो भनेर सोधे। मैले चरा भएतिर देखाएँ। उनीहरू पनि खुसी भए।
एक जना मान्छे 'लाइफर फर मी' भन्दै खुसी भए।
म पनि खुसी हुँदै ट्रेलतिर लागेँ। परैबाट केही अगाडि मान्छेको भीड देखिन्थ्यो। त्यहाँ पक्कै पनि केही छ जस्तो लाग्यो। हामी पुग्दासम्म अझै धेरै मान्छे जम्मा भइसकेका थिए। तर चरा त उडिसकेछ।
चरा रहेछ 'ब्ल्याक बिल्ड कुक्कू'। यो प्रजाति मैले फार्गोमै पनि देखेको थिएँ। तैपनि हामी त्यसलाई खोज्नतिर लाग्यौं। दस-पन्ध्र मिनेट नै डुलियो, तर भेटिएन।
ठिकै छ भनेर हामी फर्किँदै थियौं, त्यति नै बेला भुर्रर उडेर रूखमाथि एउटा चरा आएको देख्यौं। दूरबिन तेर्स्याएर हेरेँ —
कुक्कू हेरिसकेर हामी पार्किङतिर फर्क्यौं। म्यागी मार्सको नजिकै ओटावा वन्यजन्तु क्षेत्र रहेछ। त्यहाँ पनि चराहरू आउने भएकाले जाने निर्णय गरियो।
ओटावामा मान्छेहरूको भीड थियो। त्यहाँ पनि हिँड्नका लागि एउटा राम्रो ट्रेल रहेछ। ट्रेलभित्र पस्न नपाउँदै केही बेरमै एउटा चरा देखियो। मेरा लागि अर्को लाइफर।
लाइफर नम्बर ६४०, वुड थ्रस।
नयाँ चरा भेटेर खुसी हुँदै म ट्रेलमा हिँड्दै थिएँ। मान्छे एक्कै ठाउँ झुम्मिएको देखेँ। त्यहाँ रहेछ अर्को इस्टर्न स्क्रिच आवल (उल्लू)। यसपालि भने अझै राम्रोसँग फोटो खिच्न मिल्ने गरेर बसेको रहेछ।
ट्रेलमा फेरि अर्को रमाइलो कुरा भयो, वार्ब्लरको खोजी गर्दै रूख नियाल्दै गर्दा अर्को उल्लू भेटियो।
ग्रेट हर्न्ड आवल, अमेरिकामा पाइने 'कमन' उल्लू।
ओटावामा अरू केही नयाँ चरा पाइएनन्। खाजा खाएर फेरि मार्स गइयो। तर नयाँ चराहरू केही पनि भेटिएन। लगभग चार नै बज्न लागिसकेको थियो। बिहानै १५-१६ किलोमिटर नै हिँडिसकिएको रहेछ।
साँझ पर्नुअगाडि टोलिडो फर्किएर म:म बनाउने योजना थियो। त्यही नुसार हामी फर्कियौं। भोलिपल्ट बिहान फेरि चरा खोज्न निस्किनु नै थियो। आज नभेटेका चराहरू भोलि भेटिन्छन् कि भन्ने आश थियो।
भोलिपल्ट पानी पर्लाझैं मौसम थियो। बादल लागेको अलि चिसो चिसो। हामीले त्यो दिन म्यागी मार्समा केही नयाँ चरा देखेनौं। न त ओटावामा नै देखियो।
यो यात्रामा सोचेका जति सबै चरा देखिएनन् तर पाँचव टा लाइफर भने पाइए।
टोलिडो फर्किएर दीपेश दाइ र भाउजूसँग बसेर ब्रेकफास्ट गरेर हामी सिकागोतिर लाग्यौं।
'बिग डे बर्डिङ' नामको ट्विटर ह्यान्डलले मार्समा देखिएको चराहरू ट्विट गरिरहेको रहेछ। मैले ट्विटरमा मार्सबारे खोज्दा त्यो ट्विट देखेँ। हामी निस्केको केही बेरपछि नै त्यहाँ कर्टल्यान्ड्स वार्ब्लर देखिएको रहेछ। फेरि फर्किने कुरा भएन। साझँसम्म सिकागो पुग्नै पर्ने थियो।
तर त्यही ह्यान्डलबाटै गरिएको एउटा ट्विट देखेर म उत्साहित भएँ। हामी फर्किने हाइवेबाट नजिकै पर्ने एउटा पार्कमा 'केन्टकी वार्ब्लर' र 'हुडेड वार्ब्लर' पाइएको जानकारी त्यो ट्विटमा थियो।
त्यो चाहिँ जान सकिने भएकाले हामी त्यतै लाग्यौं। पार्कमा पुग्दा एकछिन निराश भइयो। पार्क रहेछ एकदमै ठूलो। त्यति ठूलो पार्कमा ती दुइटा साना चराहरू छोटो समयमा कसरी खोज्नु? दिनभरि समय भएको भए त पक्कै भेटिन्थ्यो होला!
'ठीकै छ, ३०-४० मिनेट जति हेरौं, केही भेटिन्छ कि' भन्दै हामी पार्क डुल्न थाल्यौं।
रूख माथि हेर्दै चरा खोज्दै हिँडिरहेको देखेर मलाई एक जनाले 'लुकिङ फर द ब्लु विङ्ड?' भनेर सोधे।
'ब्लु विङ्ड?' म एकछिन झुक्किएँ।
उनले मलाई 'ब्लु विङ्ड वार्ब्लर' खोजेको हो भनेर सोधेका थिए। जुन वार्ब्लर मेरा लागि लाइफर नै हुन्थ्यो। तर मलाई त त्यो वार्ब्लर त्यहाँ छ भन्ने थाहा पनि थिएन। मैले त आफू केन्टकी र हुडेड चाहिँ खोज्न आएको भनेँ। त्यो सुनेर उनी पनि अचम्म परेर कहाँ छ भन्न थाले।
'कहाँ छ त मलाई पनि थाहा छैन तर केही बेर अगाडिसम्म यहाँ रिपोर्ट भएको रहेछ,' मैले भनेँ।
ती दुइटै चरा उनलाई नि लाइफर हुने बताउँदै ती व्यक्ति उत्साहित भए।
म फेरि चरा खोज्नतिर लागेँ। पार्कमा धेरै चराहरूको हल्ला थियो। तीमध्ये धेरैको आवाज त मैले सुनेकै थिएँ। सुनेकै चराहरूमा भिन्न चराको आवाजको खोजीमा थिएँ म। नभन्दै पर कतैबाट एउटा आवाज आयो।
नजिकिँदै जाँदा कराउने त दुइटा चराहरू पो रहेछन्।
एउटा चाहिँ मैले सुनेकै आवाज- इन्डिगो बन्टिङ।
अर्को चाहिँ मैले नसुनेको, त्यो थियो - केन्टकी वार्ब्लर।
सुरिलो स्वरमा त्यो चरा कहीँ कतै त कराइरहेको थियो। हामी आवाज आएतिर लाग्यौं। कतै रूखको हाँगामा बसेर गीत गाइरहेको त्यो वार्ब्लर खोज्न धेरै गाह्रो भयो। आवाज भने ठूलो स्वरमै आएको थियो।
'केही बेरको कुरा हो, भेटिन्छ,' आतुर भइरहेको मेरो मनलाई सम्झाइरहेको थिएँ। मैले लाइफरमा गन्नको लागि मात्र चिनेर हुँदैन मलाई। आँखाले नै देख्नुपर्छ।
त्यसैले दूरबिन तेर्स्याएर त्यो चरा खोज्नतिर लागेँ। नभन्दै देखी छाडेँ।
भुर्रभुर्र उडिरहने त्यो चराको फोटो खिच्न भने ज्वरो नै आयो। तर धेरैचोटि दूरबिनको सहायताले राम्रोसँग देखियो।
लाइफर नम्बर ६४१, केन्टकी वार्ब्लर।
अब पालो थियो हुडेड वा ब्लु विङ्ड खोज्ने। त्यतिमै अलि परतिर फेरि अर्को चरा कराएको सुनियो।
ओहो, हुडेड वार्ब्लर!
नाटकीय शैलीमा यहाँ ठाउँको ठाउँ दुइटा लाइफर भेटिए।
अझै तीनवटा देख्न सक्ने अवस्था थियो। ब्लु विङ्डले गीत गाएतिर हामी गयौं। केन्टकीभन्दा सजिलैसँग देखियो हुडेड। १५-२० फिट अगाडिको रूखमा बसेर गीत गाइरहेको थियो। यसपालि भने मैले फोटो पनि खिच्न भ्याएँ।
खुसीको त सीमा नै रहेन। करिब १५ मिनेटभित्र दुइटा लाइफर भेटिएका थिए। र अर्को पनि भेट्न सकिने मौका थियो।
हामी पार्कमा डुल्दै थियौं। पर कतै एउटा चरा कराइरहेको त सुनियो। ब्लु विङ्ड वार्ब्लर नै झैं पनि सुनिन्थ्यो। तर नजिकै पुग्दा आवाज फेरि अन्तै कतै परबाट आएझैं लाग्थ्यो। त्यो आवाज भएको चरा भने भेट्न सकिएन। सिकागो फर्किनै पर्ने थियो। त्यसैले त्यहाँ धेरै बेर बस्न सकिएन र अर्कोचोटि खोजौंला भनेर हिँड्यौं।
पार्किङ लटको नजिकै पुग्न लाग्दा भने अर्को रमाइलो कुरा भयो। एउटा चरा करायो। हामी चिनेनौं। कर्नेल विश्वविद्यालयले बनाएको 'मर्लिन' नामक एउटा एप छ। त्यो एपले चराको गीत सुनेर त्यो कुन चरा हो भन्छ
एपले भन्यो, यो त 'वर्म इटिङ वार्ब्लर' हो।
ओहो! लाइफर!
हामी हतारिँदै त्यो चरा खोज्नतिर लाग्यौं। म दूरबिनले आवाज आएतिर नियाल्न थालेँ।
'हेर,' म कराएँ, 'मैले चरा देखेँ।'
अब्री दौडिँदै म भएतिर आइन्। हामी दुवैले परबाट चरा देख्यौं। त्यो भुर्र उडेर गइहाल्यो। राम्रोसँग देखिएन। जसरी भए पनि खोज्नुपर्छ भनेर हामी चराको पछि लाग्यौं। त्यो चरा रूखको टुप्पोमा बस्दै गाउँदै थियो। एपले वर्म इटिङ वार्ब्लर भन्थ्यो। सुनेर भएन, देख्नु त पर्यो! हामी धेरै खुसी हुँदै खोज्दै थियौं।
त्यत्तिकैमा त्यो चरा भुर्र उडेर हामी नजिकैको रूखमा आएर बस्यो। त्यसलाई दूरबिनले हेरिसकेपछि अब्री र मैले एकअर्काको मुखमा हेर्यौं, अनि हाँस्यौं।
त्यो चरा त वर्म इटिङ वार्ब्लर नभएर चिपिङ स्प्यारो (भँगेरा) पो रहेछ!
दुवै चराको आवाज उस्तै भएकाले सायद एप पनि झुक्किएछ। टाढा हुँदा वर्म इटिङ वार्ब्लर भनेको एपले नजिकै आएपछि चिपिङ नै देखायो। गीतको फ्रिक्वेन्सी हेरेर बनाउने ग्राफ (सोनोग्राफ) हेर्दा दुवैको उस्तै देखिन्थ्यो। टाढाबाट आएको फ्रिक्वेन्सी र नजिक आउँदाको भिन्नताले गर्दा सायद एप झुक्किएछ। र, हामी पनि!
हामी हाँस्दै पार्कबाट बाहिर निस्कियौं।
न ब्लु विङ्ड वार्ब्लर भेटियो न वर्म इटिङ।
त्यो दिन फेरि अर्को लाइफर भेटिएन। सिकागो क्षेत्र पनि डुल्ने योजना थियो। भोलिपल्ट बिहान सिकागोमा चरा खोजेर फार्गोतिर लाग्नु पनि थियो। अझै अरू लाइफर भेट्ने आश भने मैले मारेको थिइनँ।
सिकागोमा भेट्न सक्ने र म खोज्न भनेर हिँडेको चराहरू थिए- किङ रेल र हेनस्लोज स्प्यारो।
किङ रेल हेर्न हामी बिहान सूर्योदयअगाडि नै एउटा पार्क गयौं। बिहानभरि प्रयास गर्दा नि देखिएन। पार्कबाट फर्किँदा घाँसे मैदानमा हेनस्लोज स्प्यारो कराएको सुनियो। माथि भने आएन। त्यो चाहिँ पक्कै भेटिन्छ भनेर पार्कको ट्रेल वरपर हिँडेको हिँड्यै गर्यौं। ३५-४० मिनेट लाग्यो होला, अन्तिममा त्यो चरा बाहिर निस्कियो। र, मलाई राम्रोसँग फोटो खिच्ने मौका दियो।
हेनस्लोज स्प्यारो, लाइफर नम्बर ६४३।
यो पूरै यात्राभरि ८ वटा लाइफर भेटियो। त्यही पनि मैले देख्ने सबभन्दा बढी रहर गरेका केही चरा भेटिएनन्।
सधैं सोचे र खोजेजस्तो चराहरू भेटियो भने सायद चरा खोज्न मज्जा नि आउँदैन!
त्यसैले कर्टल्यान्ड्स वार्ल्बर खोज्न म मिसिगन जाने योजनामा छु। त्यो वार्ब्लर अब नेपाल फर्किनुअगाडि आफ्नो लाइफर सूचीमा राख्न मन छ!
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
(लेखक घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)