मेरा खसमकाे यात्रा माइतीघरले कन्या दान गर्दा सात फन्काे लगाई अग्नि कुण्ड वरिपरि परिक्रमापछि हामी दुई एक भएकाे त्याे दिन मन-मस्तिष्कबाट हटाउन नसकिँदाे रहेछ। वैवाहिक जीवनका धेरै वर्ष सँगसँगै थिएँ तर के नै गर्न सक्थें र!
त्याे साहुकाे ऋणले भन्दा पनि चर्काे व्याजले थिचिएका हामी दु:खमा कसले पाे साथ दिन्थ्याे र! सुखमा त हाे नि आफन्त रमाउने र साथ दिने रातदिन ऋणले पाेल्थ्याे। घरमा साहुकाे आगमन एवम् फाेन नआएकाे कुनै दिन विरलै हाेला त्यसैले आज मेरा खसम मैदेखि धेरै टाढा गए।
आज ती वाचा कसमहरू थाती राख्दै जननी, जन्मस्थल, सन्तानको माया मुटुभरी सजाउँदै मातापिताको साथमा हुनुपर्ने यस समयमा आज बाध्यता र व्यवस्थाले थिचिएका खसम आँखाभरी आँसुका ढिक्का बाेकी मुटुमा किल्ला ठाेकी परदेशिएका छन्।
तिनका पनि थिए हाेलान्! घर, गाउँ, समाज अनि देश सजाउने सपना तर यी सबै मझेरीकाे एक कुनमा पाेकाे पारी राखेका खसमलाई थाहा छैन! कहिले आइ फुकाउने हुन्। अरूकाे खुसी देख्ने खसम आज आफ्ना पीडा कसरी लुकाउँदा हुन्। काेही छैनन् उनका दु:खमा साथ दिने धेरै भेटिन्छन् यहाँ पछितिरबाट घात दिने धेरै छन् चाेट दिने काेही छैन्न हात थामिदिने।
बिदाईकाे त्याे अन्तिम घण्डीमा पनि आफन्तले राम्रोसँग जानू, स्वास्थ्यकाे ख्याल गर्नु भन्नू त कताकता फल्नाकाे छाेराेले यति कमायाे उति कमायाे भन्दा परदेशिँदै गरेका खसमकाे मनमा कति गहिराे चाेट पर्याे हाेला!
खसमलाई प्रदेश नजानु भनी बिन्ती गरें तर केही उपाय लागेन। दुई चारदिनदेखि म उनकाे नजिकसम्म जान सकिनँ। बिदाईकाे समयमा आँसु राेक्न खाेजें तर सकिनँ।
यात्रा सफल हाेस् मनले साेचेका हरेक कामना पूरा हाेस्। हे प्रभु ! मेरा खसमलाई कुनै कष्ट आइनलागाेस्।
आज आफन्तले उनका मनका इच्छा,चाहना र भावनाकाे कदर गरिदिएकाे भए सायद मातृभूमिप्रति उनलाई पनि केही दायित्व र कर्तव्यले अवश्य मुटुमा पाेल्थ्याे हाेला!
आफ्ना अभिव्यक्तिहरू आफन्तसामु खाेल्थे हाेला! नचिनेको गाउँ, ठाउँ,भाषा, संस्कृति र संस्कार कसरी बोल्छन् हाेला मन लागेका गहिरा चाेटहरू काेसामु खाेल्छन् हाेला!
वैज्ञानिक प्रविधिको युगमा भनेर कहाँ मन मान्छ र! सारै मन पाेल्दाे रहेछ। मनमा केही रहर छैन्। खाँदा,बस्दा,हिँड्दा मन मस्तिष्कमा उनकै मुहार देख्छु। अनि कलम समाई विगत लेख्छु। वर्तमानमा बाँचेकै छु। भविष्य अन्धकार देख्छु।
कलिला मुना जस्तो छाेराेकाे उज्यालो भविष्य लेख्न हिँडेका खसमकाे यात्रा पन्ध्र वर्षसम्म वैदेशिक राेजगारका क्षेत्रमा काम गर्दा पनि उनका मनमा विदेश पलायन हुने साेच कहिल्यै आएन।
व्यापारकै शिल-शिलामा काठमाडौं, चितवन, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, राेल्पा, प्युठान, पूर्वी रुकुम, दाङ, राेल्पा, नेपालगन्ज मात्र नभए र! चीन, भारत एवम् थाइल्यान्डसम्मकाे यात्राबाट स्वदेश फिरेका खसम आज परदेश जानुकाे पीडा उनका आँखामा छर्लङ्ग देखिन्थ्यो।
व्यापारमा हात हालेका खसम हात हाल्दा नहाल्दै काेराेना आयाे। काेराेनाकै लहरमा घरकाे छानाले रूवायाे। धुरी खम्बा उठाउँदै गरेका खसमलाई फेरि पिताकाे माेटरसाइकल घटनाले सतायाे। पिता निकाे भएकाे केही समय मात्र बितेकाे के थियाे, खसमकाे हजुरआमा स्वर्ग भएपछि झनै स्तब्ध बनेका खसम व्यापारकै शिल-शिलामा कुन-कुन ठाउँमा गएनन् हाेला र!
जीवनकाे यात्रामा धेरै हन्डर र चाेटले थिचिएका खसमका मनमा गहिरो साेच आयाे।
जिन्दगी नै उथलपुथल भएकाे महशुस गर्न पुगे नहाेस् पनि कसरी नेपालकाे शिक्षा नीति, स्वास्थ्य अवस्था,उधारो प्रवृत्ति , परम्परागत कृषि पेसा, सेवा क्षेत्र, यातायात, व्यापारकाे त कुरै छाडाैं जता हेर्याे उस्तै सुनकाे मूल्यभन्दा पनि चर्काे कर प्रणाली, नालीकाे कीराजस्तो घिनलाग्दाे राजनीति साथै विश्व जगतमा नै सुस्ताएकाे अर्थतन्त्र केही उपाय नलागेपछि शिथिल बनेका खसमले साहुकाे ऋण चुक्ता गर्ने विकल्पका रूपमा त्यहीँ एउटा वैदेशिक यात्रा बाँकी देखे। पासपोर्टकाे पानामा खाडी लेखे। उनकाे यात्राले मलाई शिथिल बनायाे। थाहा छैन् खसमकाे यात्राले कुन माेड लिन्छ। जिन्दगीमा कति चाेट दिन्छ।