मलाई प्राय: भेट्दा सोधी राखिने प्रश्न हो: तपाईं किन यति दुब्लो? खाना खानु हुन्न कि? ज्यान सुकेर हड्डीमात्र बाँकी छ त? अनि प्रश्नकर्ताले अड्कल पनि काट्छन्: ब्रेकअप भएजस्तो छ! धेरै तनाव लिनुहुन्छ क्यारे! विदेशमा भएकोले घरको न्यास्रो लागेजस्तो छ! गर्लफ्रेन्डले तनाव दिन्छिन् जस्तो छ!
यी प्रश्न तथा अड्कल बाजीहरू मेरो जिन्दगीका एक हिस्साजस्तै हुन्, म छु त यिनीहरू आइरहन्छन्। जन्मिँदा पनि वजन ठिकै भएको म चार-पाँच वर्षसम्म पनि गाला पुक्क पुक्क नै थियो रे तर त्यसपश्चात कहिलेबाट शरीरको उधोगति भयो भन्ने कुरा कसैलाई थाहा छैन।
राम्रो र मिठो खान दिन सक्ने परिवारमा हुर्केको म र मेरो कान्छो भाइ भने आफ्ना बाबुआमा जतिको हृष्टपुष्ठ भने कहिल्यै हुन सकेनौं।
कान्छो भाइ त ठिकै पनि छ तर म भने मोटाउनु भनेको के हो र खाइलाग्दो शरीर कस्तो हुन्छ भन्ने कुरा आँखाले अरूमा देख्न पाएको तर भोग्न नपाएको पीडित परे।
भाइ र म फुटबल अत्यधिक रूचाउँथ्यौं र बिदाको दिन बिहानबाट खेल्न निस्केको हामीलाई फुटबलबाहेक केही चाहिँदैन्थ्यो। साँझ परेपछि जब ममी लठ्ठी बोकेर आउनुहुन्थ्यो तब मात्र हामी घर फर्किन्थ्यौं। हार्डवेयर र किरान पसल एकदम चल्ने हुनाले बुवाआमालाई धेरै फुर्सद हुँदैन थियो। हामीलाई दिउँसोभरि खोजिरहन।
घर आएपछि बुवाले भन्नु हुन्थ्यो मलाई: भाइ र ऊ सङ्गै खेलेका भाइको भने अनुहार रातो र यसको चाहिँ रगत नै नभएकोझैं सेतो।
ममीले भाइ र मलाई सधैं नुहाइदिनुहुन्थ्यो र नुहाउन सुरू गरेबाट अन्त्यसम्म गाली गरिरहनुहुन्थ्यो। 'जति खान दिए नि मोटाउँदैन, सन्तोष छैन, जिउमा मासु छैन, करङ्गमात्र छ' भन्दै गन्नुहुन्थ्यो।
बुवाले भन्नुहुन्थ्यो- छोराहरू चाहिँ खाना खाने बेला बाहिर निकालेजस्ता छन्।
ममी चाहिँ चिन्ता लिँदै भन्नुहुन्थ्यो, 'हेर! आमाबुवा चाहिँ यस्ता खाइलाग्दा, छोरा चाहिँ भात नै खान नदिएजस्तो।'
सानोमा त्यति धेरै मतलब पनि लाग्दैन थियो। मोटो के हो, पातलो के हो तर जब स्कुल सकेर कलेजमा आए तब देखें कि एघारमा पढ्ने साथीहरूको ज्यान र आफ्नो भने कक्षा सात-आठमा पढ्नेजस्तो!
घरमै बसेर घरको त्यो पनि आमाले पस्केर दिएको भात खाँदा त ज्यान नलागेको म झन् अब पढ्न बाहिर निस्केपछि त के ज्यान लाग्ला र।
अह! बाह्र पढिसक्दा पनि म दुब्लो तर अग्लो नै थिएँ। कलेज र स्कुलको फरक यति थियो कि दुब्लो हुँदा विभिन्न नाम- उपनामले परिचित भइन्थ्यो जस्तै: हड्डी, करङ्ग(ममीले पनि प्रयोग गरिरहने शब्द) सुकेनास, ढुङ्गा बोकेर हिँड् हावाले उडाउँला आदि तर कलेजमा उपनाम भने पाइनँ।
दुब्लो, पातलो हुँदा कोही आकर्षित हुँदैनन् भन्ने चाहिँ थिएन त्यो समयमा गर्लफ्रेन्ड बन्ने र छुट्टिने क्रम चलिरहेकै थियो।
कलेज सकेर ब्याचलर पढ्न त्रिचन्द्र क्याम्पस आए ओहो, त्यहाँ झन् कोभन्दा को कम र यसो हेर्दा म मात्र पो दुब्लो, पातलो छु कि यो संसारमा जस्तो लाग्थ्यो।
ल अब त हुँदैन यसरी भनेर जिम पनि जान थालें। पुतलीसडक बस्थें अनि त्यहीँ नजिकै जिम सुरू गरें तर जिम गर्दा पनि त्यो अनुसारको खुवाइ पुर्याउँदा पनि ज्यान भने जस्ताको तस्तै, जिम गर्दागर्दै बीचमै भिसा लागेर पढ्नका लागि विदेश आएँ अनि त झन् केको जिम जानू। काम नपाएर उस्तै परे खान नपाउने अवस्था थियो त्यो समयमा, जिमको त कुरै आएन। गाउँघरमा एउटा भनाइ छ- विदेश गएपछि जो पनि मोटाएर आउँछ तर त्यस भनाइलाई गलत साबित गर्दै नेपालमा हुँदाभन्दा अझ बढी दुब्लाएँ।
दुब्लो हुन सबैलाई रहर हुन्छ, अझ मानिसहरू दुब्लो हुन जिम गएर मेहनत पनि गर्छन्, आफूलाई खान मन लागेको कुरा खाँदैनन्, सबेरै उठेर दौडिन्छन् साथै अन्य धेरै कुरा गर्छन्। तर यति सबै गर्दा पनि कोही को भने पेट बाहिरको बाहिरै।
त्यतिमात्र कहाँ हो र महिनौंसम्म भिडिओ कलमा कुरा गरेको मान्छेले पहिलोपल्ट भेट्दा भन्ने पहिलो वाक्य नै ‘तपाईं त फोटोमा भन्दा बढी दुब्लो हुनुदो रहेछ। एक हप्ताको अन्तरालमा भेटेको मान्छेले भेट्दै पिछे भन्ने वाक्य हो तपाईं त कति दुब्लाउनु भएको। अझ ज्याकेट लगायो भने बारीमा चरा धपाउन राखेको मूर्तिजस्तो देखियो भन्ने साथीहरू पनि हुन्छन्।
दुब्लो मानिसको शरीरका भागलाई विभिन्न नामकरण गरिन्छ जस्तै: खुट्टालाई सुइँखुट्टी, हातलाई सिन्का, छाती बालेनले डोजर चलाएजस्तो आदि। समाजमा बाँच्नु छ भने धेरै दुब्लो हुनु भएन, धेरै मोटो पनि हुन भएन, जिम गयो भने भुस्तिघ्रे भएर के नाप्छस् र भन्दिन्छन्।
अर्को कुरा रक्सी पनि नपिउने दुब्लोलाई गाँजा तान्छस् कि के हो भन्दिन्छन्। नसोचि नबुझी जे मनमा आयो त्यही। अझ अहिले त फोटोमा दुब्लो आउनु हुँदैन मान्छेलाई, इडिट गरेर भए पनि ठिक्कको शरीर बनाई छाड्छन्।
म अस्ति नेपाल जाँदा धेरै जनाले मलाई विदेश बसेर पनि किन नमोटाएको भनेर सोध्नुभयो र मेरो काकाको उत्तर थियो; घरमा खान नपाएको पो विदेश गएर मोटाउँछ त! चार वर्षपछि घर फर्किंदा धेरै जनाको एउटै गुनासो थियो त्यो मेरो दुब्लो शरीर।
मैले सानो हुँदादेखि अहिलेसम्म गर्न नसकेको भनेको यही एउटा शरीर जसलाई अलिकति मासु र बोसो लगाउन।
अन्तत: देख्छु त्यो मोटो शरीर लिएर बिहान बेलुका डाइटमा बसेको मान्छेलाई अनि सम्झिन्छु, हैन ठिकै छ मलाई कमसेकम सबेरै उठेर घटाउनेको नाममा दौडिनुपरेको छैन, डाइटको नाममा मन लागेको खाने कुरा छोड्नु परेको छैन, सिँढी चढ्न नसकेर लिफ्टको सहायता लिनुपरेको छैन, मोटोपनका कारण हुने विभिन्न रोग खेप्नु परेको छैन।
सुन्दर देखिन त मानिसको आँखामा भरपर्ने कुरा हो त्यसैले मलाई बारम्बार एउटै प्रश्न नगरिदिनुहोला; तपाईं किन यति दुब्लो?