जनकपुरबाट उडेको विमानले आनन्दमय यात्राका साथ काठमाडौं विमानस्थलमा उतारेपछि म विमानस्थलबाट बाहिर निस्किँदै गर्दा एक जना भाइले सोधे- सर ट्याक्सी चाहिएको हो?
मैले भनें- चाहिएको हो। ल जाऔं पठाओ अनलाइनमा।
तर ती भाइले भने ‘हुँदैन सर रिङरोड बाहिर अफलाइनमा जानुपर्छ नत्र घाटा लाग्छ।’
अलिक बाहिर आएपछि एक जना उमेरले निकै पाकाजस्ता देखिने दाइले भने ‘ल म मिलाएर लगिदिन्छु। मलाई पनि यिनले चाहिँ मिलाउलान् जस्तो लाग्यो र ट्याक्सीभित्र पसेर मात्र भाडा सोधें।
उनले भनेको भाडा मलाई चित्त बुझ्यो। त्यसपछि उनीसँग गफ गर्दै आइयो।
दाइले काठमाडौंमा ट्याक्सी चलाएको पच्चीस वर्ष भएको रहेछ।
उनले भने ‘यहाँ आउने सबैले हामीलाई ठग भनेर बुझ्छन्, तर आफू ट्याक्सीमा कति सुरक्षित छु र ट्याक्सीमा यात्रा गर्दा आफूलाई कति फाइदा हुन्छ भनेर कमैले सोच्छन्। हजारौं रुपैयाँ तिरेर जहाजमा आउने तर हामीले पठाओ अफलाइनमा जाऔं भन्यो भने ठग्नलाई भन्यो भन्छन्।
उनले कुराका बेलिविस्तार यसरी लगाउँदै गए, त्यसमा मैले पनि उत्सुकता र जिज्ञासा थपि नै रहें।
सोझो पेशाले मात्र ज्यान पाल्न गाह्रो। अरूले जस्तै आफ्नो व्यवसायले दैनिक जीविकोपार्जनसँग जोड्दै उनले भने- हामीलाई पनि सरकारले तोकिदिएकै मिटर भाडामा मात्र ट्याक्सी चलाउँदा परिवार पाल्न त गाह्रो छ नि।
उनले थपे- ल भन्नुहोस् त अहिले कसले छ आफ्नो पेसाले मात्र जीवन चलाएको? कर्मचारीको तलब बीस/पच्चिस हजार होला तर उनीहरू फ्ल्याटमा बस्छन्, स्कुलमा महंगो फि तिरेर बच्चा बढाउँछन्। हिजोआज फ्ल्याटको भाडा काठमाडौंमा पन्ध्र बीस हजार पर्छ, अनि तिनीहरूले जागिरको मात्र पैसाले जीवन धानेका होलान्? तिनै पुलिसको पनि त तलब त धेर छैन नि तर पनि उनीहरूले काठमाडौंमा कसरी बसेका छन् भन्दा त्यही जागिरबाहेक अन्य कुनै ठाउँबाट पैसा ल्याएर त हो! हामीलाई मात्र दुई चार पैसा लियो भनेर ट्याक्सीवाला ठग हुन्छन् भन्न पाइन्छ? कतिपयले त नेपाल आउने पर्यटकलाई पनि नेपालमा ट्याक्सी ड्राइभर ठग हुन्छन् भनेर सुनाउँदा रहेछन्।
मान्छेले आफ्नो सुरक्षामा खर्च गर्न लोभ गर्छ रे!
उनले कुरो खुब अर्ति दिएको शैलीमा सुनाए।
उनले भने- मान्छेले हवाई जहाजमा चढेपछि धन सम्पत्ति सबै बिर्सिएर हे भगवान सकुशल धर्तीमा ओर्लिन पाइयोस् भनेर कामना गरेको हुन्छ। धर्तिमा झर्न पाउनु नै उसको ठूलो सफलता हो तर धर्ति टेकेपछि उसले त्यो कुरा भसक्कै बिर्सिन्छ र घमण्डी तथा लोभी बन्दो रहेछ। घरसम्म पुग्न अरू सवारीमा भन्दा ट्याक्सीमा सुरक्षित हुन्छ। सामानहरू हराउने र चोरिने डर हुँदैन। मोटरसाइकलमा जस्तो दुर्घटनाको सम्भावना पनि कम हुन्छ। बाहिर गएर रक्सी र अनेक कुरामा पैसा खर्च गर्छन् तर राम्रो मुखले हामीले पसिनाको मोल माग्दाखेरी दश रुपैयाँ पनि छोड्दैन मान्छेहरू। कानूनको कुरा एकतिर होला तर कानून नमिले पनि मन त मिलाउन सकिन्छ नि। आजभोलि त्यस्ता मान्छे पाउन अर्कै संसार जानु पर्ला।
ट्याक्सीवालाले बुझेको समाज र उनले पाएको एक हजार टिप्स!
मैले कुराको बीच बीचमा अँ हो भन्दै गर्दा उनी उत्साहित हुँदै भन्छन्।
आजको युग कस्तो हुँदैछ भन्ने कुरो त तपाईंहरूलाई के थाहा! हामीलाई पो थाहा हुन्छ। राम्रो लुगा र महँगो गहना अनि महँगो ब्याग बोकेर के गर्नु धेरै मान्छेको बानी खराब भैसक्यो। ट्याक्सीमा मान्छे बसेपछि हामी ती मान्छेलाई याद नगरेजस्तै गर्छौं तर उनीहरूका सबै कुरा सुनिरहेका हुन्छौं। अनि अगाडिको सिसाबाट हेरिरहेका पनि हुन्छौं। आजका तन्नेरी केटाकेटीहरू मात्र हैन कोही कोही उमेरले बुढा भएकाहरू पनि ट्याक्सीभित्र छिरेपछि अर्कै हुन्छन्।
कहिले त नातिनी बाजे होलान् भनेर मैले अनुमान गरेका जोडीहरू त यौन जोडी पो हुँदा रहेछन्।
बुढाले यो विषयमा निकै चाख मानेर कुरा खोतल्दै गए। समाज गलत ठाउँमा जाँदै गरेको भएता पनि आफूलाई नराम्रो काम गर्नेहरूबाट पनि कहिलेकाहीँ धेरै फाइदा हुने गरेको पनि कुरा पनि खोतले।
अनि त्यस्ता मान्छेले तपाईंलाई चाहिँ पैसा दिन्छन् त भन्ने प्रश्नमा उनले भने- केही केटाकेटीहरूले मलाई सामान्य भाडादर भन्दा कहिलेकाहीँ बढी नै पनि दिने गर्छन्। कसैले त्यतिकै थर्काएर जान्छन्। उनले यसै बारेमा एउटा घटना विवरण पनि सुनाउन थाले।
अस्ति एउटा केटाले शानिबार बिहान मेरो ट्याक्सीमा राखेर एउटी केटीलाई कोठामा लग्यो र बेलुका पनि लिन आउनु भन्यो। उनीहरूले फोन गरेपछि म लिन गएँ। केटाकेटी दुवै मेरो ट्याक्सीमा बसे अनि केटीको घर नजिक आएपछि अलिक अँध्यारो ठाउँमा रोक्न लगाएर केटी ओर्लेर घर गई, अनि केटालाई मैले फेरि उसको कोठामा पुर्याइदिएँ। त्यहाँ पुगेको सरदर भाडा दर पाँच सय हो तर उसले मलाई पन्ध्र सय दियो।
उनका कुरा सुन्दासुन्दै ट्याक्सीको गति कम भयो, केहीबेर जाममा परियो। त्यसपछि उनले प्रसंग बदले। उनले कुरो जोडे अपराधसँग।
अपराधीहरूले ट्याक्सीको प्रयोग गर्ने शैली अनेक छन्!
बुढाले निकै जंगिँदै भने- मान्छे यहाँ आएपछि कहिले त अपराधका पो कुरा गर्न थाल्छन्। त्यो सुन्दा त आफैंलाई पनि डर लाग्छ। कुनै मान्छे त ट्याक्सीमा बस्न पाएको हुँदैन फोन लाइहाल्छ। अनि भन्न थाल्छ लौ तैंले त्यसलाई जसरी भए पनि सिध्याइ दे बरू तँलाई पैसा कति चाहिन्छ म दिन्छु। कोही ट्याक्सीभित्र छिरेर मोबाइलमा कुरा गरेर मैले त्यति पैसा तिर्नै सक्दिनँ भनेर क्वाँ क्वाँ रून थाल्छन्। यो संसार त अचम्मको पो छ त!
अनि उनले एउटा अनौठो घटना सुनाए।
उनले भने- म एकदिन चाबहिल नजिकैको भित्री बाटोबाट आउँदै थिएँ, मेरो मोबाइलमा नौलो नम्बरबाट फोन आयो लु मान्छे बिरामी छ अस्पताल लैजान ट्याक्सी लिएर आउनु पर्यो। उसले दिएको लोकेसनमा म गएँ। अलिक अँध्यारो ठाउँको सिँढीबाट दुइटै खुट्टामा प्लास्टर लगाएको मान्छे दुई जनाले लतेर्दै लिएर ट्याक्सीभित्र राखे। त्यसपछि एउटाले फोन गर्यो ल अरूलाई पनि जक्सनमा आएर बस भन त हामी आयौं। अनि त उनीहरूले त्यो प्लास्टरबाट लागुऔषध पो निकालेर बेच्न थाले। झण्डै डेढ घण्टा बेचेपछि तिनीहरूले मलाई भाडा दिएर प्लास्टर स्लास्टर झोलातिर हालेर ट्याक्सीबाट निस्केर गायब भए। त्यसपछि त डरले मेरो हंशले नै ठाउँ छोड्यो।
कुरा सुन्दासुन्दै मेरो गन्तव्य आइपुग्यो।
त्यसपछि म ट्याक्सी प्रयोगका अनेकन सन्दर्भले दिमाग भारी बनाउँदै बाटो लागें। बुढाले गरेका गफका धेरै प्रश्नको जवाफ त सरोकारवालाहरूसँग होला न होला तर सामाजिक परिर्वनतका पाटा र बाटाहरूमा भने धेरै विविधता आइसकेका छन्। ठग्ने ठग्दैछन् अनि ठगिनेहरू ठगिँदैछन्। फेरि पनि बुढाले भनेको कुरा म सम्झन्छु- कानून मिलाउन नसकिए पनि मन मिलाउन सकिन्छ! तर कसरी?