'ट्रेकिङको आनन्द लिन कोमल हृदय चाहिन्छ। म जस्तो ढुंगे मुटुवालले यात्राको मज्जा लिन जान्दैन' भन्थिन् कारा मिया।
म हृदयलाई कोमल बनाउँदै सगरमाथा आधार शिविरसम्मको पदयात्रामा निस्किएको थिएँ। अझ भनौं, खुम्बु क्षेत्रकै यात्रामा। निजामती कर्मचारी भएको नाताले सम्पर्क अधिकृत (लायजन अफिसर-एलओ) कै जिम्मेवारी थियो यस यात्रामा।
विश्व सम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज त्यहीँ छ। त्यहीँ संसारको अग्लो चुचुरो। नेपाललाई संसारभर चिनाउने शेर्पाहरू त्यहीँ छन्। संसारकै अग्लो स्थानमा रहेको होटल पनि अन्त छैन। अद्वितीय भूगोल त्यहीँ। अलौकिक आनन्द त्यहीँ। सम्भोट लिपि कुँदिएका माने र असंख्य ढुंगाहरू अन्यत्र कहाँ होलान्?
हिमालहरूको भूमि नेपालमा आरोहणका लागि ४१४ हिमाल खुला छन्। सबभन्दा बढी चढिने सगरमाथाको आकर्षण लोभलाग्दै छ। ठूलो संख्यामा आरोहीका लश्कर त्यसतर्फ हिँडेको देखिन्छ। हुन त बेस क्याम्पतिर देखिने मात्र हो लश्कर। खासमा काठमाडौंदेखि नै छ।
सगरमाथा र आसपासका ल्होत्से, नुप्त्से, पुमोरी, लोबुचे जस्ता चुचुरा चुम्न हिँडेका साहसीहरू छन् ती लश्करमा। तिनै लश्करमा छन् बाटो बनाउने आइसफल डाक्टर। बाटो चिनाउने शेर्पा गाइड। हाई-अल्टिच्युड पोर्टर (भरिया)। केही सुरक्षाकर्मी, केही मिडियाकर्मी, केही घुमन्ते पनि।
बेदप्रसाद भण्डारी र म पनि त्यही लश्करमा थियौं। नेपाल सरकारको सम्पर्क अधिकृत बनेर पर्यटन विभाग, सम्बन्धित एजेन्सी, स्थानीय प्रशासन आदिसँग सम्पर्क र समन्वय गर्दै पुग्नु थियो सगरमाथा बेस क्याम्प। हाम्रा आरोहण दलका सदस्य स्थानीय हावापानीमा अनुकूलनका लागि कोही बिस्तारै बेस क्याम्प जाँदै थिए। कोही नाम्चेतिरै। कोही लुक्लातिरै थिए, माथि चढेर झरेर फेरि उक्लिने तयारीमा रहेका।
सगरमाथा आरोहणको ७०औं वर्ष पूरा हुँदै गर्दा आरोहणका लागि यो सिजनमा कम्तीमा ८० देशका एक हजारभन्दा बढी नागरिक आधार शिविरतर्फ लागे। चुचुरोमा सबै पुगेनन्। केहीलाई अनुमति नभएर चढ्न पाएनन्। कसैले सकेनन्। केही 'अल्टिच्युड सिकनेस' का कारण हिँडिरहेको बाटो फेरेर फर्किए। उकालो चढ्दाचढ्दै ओरालो झरे। यो सात दशकमा आठ हजार जतिले यो ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो चुचुरो चुमिसक्दा यसपालि सीमित व्यक्तिलाई सफलता मिल्यो।
इतिहास जित्नेहरूको लेख्ने हो। त्यसैले चुचुरो चुम्नेहरूको चर्चा बढी होला तर चुम्ने हिम्मत बोकेर हिँडेका वा चुमेर फर्किने क्रममा सगरमाथामै बिलाएका तीन सयभन्दा बढी आरोहीलाई पनि बिर्सिनु हुँदैन। किनकि सगरमाथालाई सगरमाथा बनाउन मरेर जानेहरूले गरेको योगदान अतुलनीय छ।
लुक्ला विमानस्थल
काठमाडौं छोडेर आकाश मार्गबाट अजंग पहाडहरू नाघ्दै सगरमाथा बेस क्याम्पको पहिलो गन्तव्यका रूपमा पुगिन्छ लुक्ला। लुक्लाको शाब्दिक अर्थ भेडा पाल्ने ठाउँ अरे! तर त्यहाँ न भेडा देखिए, न चरिचरन। लुक्ला भने लोभलाग्दो देखियो।
चिसो मौसम। वर बुद्धको मूर्ति भएको गेटदेखि पर पासाङ ल्हामु गेटसम्म एकैछिनमा हिँडेर सकिने बजार। ठाउँठाउँमा दाहिने पारेर हिँड्नुपर्ने मानेहरू। स्थानीयभन्दा पर्यटक बढी देखिने लुक्लामा एकाधबाहेक अंग्रेजीमै छन् पसल, गिफ्ट सप, होटल, खाजाघर, बैंकका होर्डिङ बोर्ड। तल खोँचमा सुनकोशीमा हामफाल्न दौडिरहेकी छ दूधकोशी।
कोल्टोकोल्टो परेर पहाडमाथि अर्को पहाडको फेदमा २ हजार ८ सयय ४५ मिटरको उचाइमा अवस्थित लुक्ला अर्थात तेन्जिङ-हिलारी विमानस्थलको व्यस्तता बेग्लै छ। प्रथम सगरमाथा आरोही सर एडमन्ड हिलारीको अग्रसरतामा आलुबारी मासेर निर्माण गरी सन् १९७१ देखि सञ्चालनमा आएको ५२७ मिटर लामो विमानस्थल।
छोटो रनवे र धेरै भिरालो भएकाले 'हस्ट्री' च्यानलको 'मस्ट एक्स्ट्रिम एयरपोर्ट र्यांकिङ' मा विश्वकै चौथो 'थ्रिलिङ' विमानस्थल घोषणा भएको। विमानस्थलमा 'ओभरसुट' गर्न मिल्नुपर्छ। तर भूगोल र छोटो रनवेका कारण यहाँ मिल्दैन।
नाम्चेको सेरोफेरो
यात्राको दोस्रो दिन हामीलाई लुक्लाबाट नाम्चेसम्म जान दुइटा विकल्प थिए। पैदल या आकाश मार्ग।
एकाबिहानै शंकरजीले काठमाडौंबाट 'सर, नाम्चेसम्म हेलिकप्टरको व्यवस्था भयो, साढे छ बजे हेलिप्याडमा पुग्नुहोला' भनेर खबर गरे।
मौसम केही दिनदेखि खराब थियो। हिजो हुस्सु र सिससिमे पानीले काठमाडौंबाट लुक्ला आउने हेलिकप्टर समय पन्ध्र मिनेटभन्दा बढी खाइदिएको थियो। झ्यालबाट मौसम र हेलिप्याडलाई एकसाथ नियाल्दा मौसम खुलेको देखेपछि शरीरभरि खुसी दौडियो। हामी जर्याकजुरूक उठेर दौडियौं हेलिप्याडतिर।
लुक्ला हेलिप्याडमा टन्न सामान, केही यात्रु। हामी दुई एलओहरूलाई राखेर 'उँधो मुन्टो' लाएर खोँचैखोँच उड्यो कैलाशको हेलिकप्टर।
पाइलट भन्दै थिए, 'माइक ट्यांगो, के छ अवस्था? यार दिनेश यता लोकल कुखुरा पाउँछ होला नि! आजको उडान सकेपछि सुप खाएर बस्नुपर्छ है!'
राम्ररी दायाँबायाँ हेर्न पाइएकै थिएन। हेलिकप्टर ५ मिनेटमै पुगी त गयो नाम्चे।
घोडाको टाप अर्थात 'सी' आकारको नाम्चे बजार कोङ्दे हिमाललाई हेरेर बसेको छ। कोङ्देको उत्तरतिर सिन्दुर हिमाल। पृष्ठभूमिमा कुसुम खांगारू, थामसेर्कु। चारैतिर हिमालै हिमाल। नाम्चेको पिठ्युँमा टुसुक्क बसेको खुम्बिला। हिन्दुहरू सुमेरू भन्ने, शेर्पाहरू देउता बस्ने हिमाल। त्यहाँ चढ्दैनन् शेर्पाहरू। न त हेलिकप्टरबाट नाघ्न पाइन्छ। प्रायः त्यस हिमालमा हिउँ पर्दैन। परिहाले लामो समय जम्दैन। तर हामी पुगेको दिन सेताम्मे थियो।
हेलिप्याडबाट नाम्चेलाई नियाल्दै सीमा प्रशासन कार्यालय गयौं। यति सुन्दर ठाउँमा जागिरका दुई वर्ष बिताई सकेकी ‘लुक्लाकी हाकिम’ भनेर चिनिने सुजनकुमारी बर्देवा मेडमलाई सोध्न मन लाग्यो, 'यस्तो शान्त, सुन्दर ठाउँमा दुई वर्ष बस्दा आयु पनि कम्तीमा दुई वर्ष बढ्यो होला है?'
मेडमले भनिन्, 'अनि यस्तो जाडोले घट्यो पनि त होला आयु!'
उनले त्यहाँ दिएको सेवाबारे बुझेँ। मजस्ता सिकारू कर्मचारीका लागि गर्व गर्नै लायक रहेछ।
घरैपिच्छे होटल। स्थानीयभन्दा बढी पर्यटक। पर्यटक पसेसँगै मौलिकतामा आधुनिकता पस्दै गएको। शेर्पा गीतभन्दा अंग्रेजी धुन बढी सुनिने। मानेलाई पानीघट्टले अविरल घुमाउने बनाइएको। पश्चिमा स्वाद हावी भएको।
मौलिक वास्तु पनि हराउँदै गएकाले होला 'मिनी ठमेल' उपमा पाएको नाम्चेको बारेमा अर्को भनाइ रहेछ- नाम्चेका होटल व्यवसायी सिजनका बेला पैसा गन्नधरि भ्याउँदैनन्! पर्यटकले मेनु हेरेर पैसा टेबलमै छोडेर जान्छन्। अनि साहुले ती पैसा झोलामा हालेर एकैपटक काठमाडौं लगेर गन्छन्!'
भनाइ सत्यअसत्य जे भए पनि होटल व्यवसाय राम्रो छ नाम्चेमा। पहिले व्यवसायीहरू स्थानीय मात्र थिए, अहिले बाहिरबाट समेत आइसके।
स्याङबोचे एयरपोर्ट
नाम्चे माथिपट्टि डाँडामा छ, कुनै बेला सञ्चालनमा रही हाल बन्द कच्ची अवस्थाको स्याङबोचे विमानस्थल। नेपालकै अग्लो स्थानमा रहेको यो विमानस्थलमा सन् २०१२ मा तारा एयरको उडानपछि कुनै उडान भएको छैन।
पर्यटन नै नेपालको विकासको 'चाबी' हो भन्ने जापानी नागरिक ताकासी मियाहाराको व्यक्तिगत अगुवाइमा सन् १९७१ मा निर्माण भएको यस विमानस्थलबारे एकथरी भन्छन्- यो विमानस्थल पूर्ण सञ्चालनमा आए लुक्लाको महत्व र अस्तित्व घट्ने भएकाले चलाउनै दिइएन। विमानस्थलमा राजनीति पस्यो।
निर्माण भएको दुई वर्षपछि यहाँ नेपाल एयरलाइन्सको विमानबाट परीक्षण उडान भएको थियो। स्वीस पिलाटस पोर्टर विमान यता आएपछि सन् १९९० को दशकसम्म 'होटल एभरेस्ट भ्यू' मा पर्यटक ओसार्न यो एयरपोर्ट प्रयोग गरियो। सन् २००४ मा एभेरेस्ट भ्यु सबैभन्दा अग्लो स्थानमा (३,८८० मिटर) रहेको होटल भनेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा कायम थियो। सन् २०२२ मा वर्ल्ड बुक्स रेकर्ड्स, लन्डनका अनुसार विश्वकै अग्लो स्थानमा रहेको होटलको कीर्तिमान 'एभरेस्ट इन (५,१८० मिटर)', गोरकसेपले पाएको छ।
सोमारेका निमा शेर्पा
यस्तै २४-२५ वर्षीय युवा। कोरोनाको समयमा साढे दुई करोड रूपैयाँ खर्चिएर सोमारेमा खुलेको पासाङ लज एन्ड रेस्टुरेन्ट सञ्चालक।
होटल पोहोरदेखि चल्न थालेको बताउँदै भने, 'आम्मामा हो सर! लास्ट सिजन र यो सिजन त बब्बालै छ व्यापार। टुरिस्ट त कति कति। सबैभन्दा धेरै त इन्डियन छन्।'
उकालोमा असिनपसिन हामी उनको कुरा सुन्दै, पसिना सुकाउँदै घामको मज्जा लिन जुत्ता खोलेरै बस्यौं आँगनीमा। उनी होटल क्षेत्रका समस्या सुनाउँदै थिए। वाइफाईको समस्या। ढुवानीको समस्या। ग्यास सिलिन्डर प्रयोग गर्नुपर्ने र एउटालाई बाह्र हजारसम्म तिर्नुपर्ने समस्या। निकुञ्ज क्षेत्र भएकाले वर्षमा एकाध पटक मात्र दाउरा पाइने, त्यतिले नपुग्ने समस्या। यस्तै गफ चलिरहँदा पहिले लालीगुराँस चिया खुवाए। पछि मीठो खाना।
दुई दिनका दुई साथी बने जीवनभरका साथी
ट्याग नेपाल ट्रेकिङ एक्सपिडिसनले यस सिजनमा दुइटा टोलीलाई सगरमाथामा चढायो। दुवै टोलीका हामी दुई जना सम्पर्क अधिकृत काठमाडौंबाटै गन्तव्यका लागि सँगै हिँडिरहँदा दिङबोचेको खुम्जुङ रिसोर्टमा दुई जना नयाँ साथी भेटायौं। छिरिङ शेर्पा र निमा छिरिङ शेर्पा। तिनले दुई दिन दिङबोचेमै बस्ने व्यवस्था मिलाए। दिङबोचे यस्तो गाउँ हो जहाँ हरेक साउन महिनाभरि आगो नै बल्दैन।
उनीहरूले आलुबाट बनेको रिगी कुरसहित मीठोमीठो खुवाए। इम्जा खोला तरेर दिङबोचे पारि अमादब्लम हिमालको पूर्व उत्तरी फेदमा पुर्याए। वरिपरिका हिमालहरूलाई राम्ररी चियाउन सकिने ४ हजार ७ सय मिटरको उचाइमा रहेको 'बनाना लेक' देखाए।
दुई दिनको मीठो आतिथ्यतापछि एकाबिहानै घाममा टल्किरहेको दिङबोचेलाई छोड्दै गर्दा उनीहरू हामीलाई छोड्न पर गौंडासम्म पुगे। केही चकलेट, केही ड्र्राइ फ्रुट्स र स्थानीय फ्रेन्च बेकरीमा बनेका दुई पोका कुकिज कोसेली थमाए।
'जिन्दगीमा फेरि भेट भइहाल्छ नि सर,' भन्दै अँगालो हालेर बिदाइ गरे। ती चिसा हिमालहरूको खोँचमा दुई साथीबाट पाएको न्यानो माया जीवनपर्यन्त सम्झनामा रहनेछ।
थुक्लाको थकान
दिङबोचेबाट बेस क्याम्पतर्फ जाँदा तेर्सो बाटो सकिएपछि करिब पाँच सय मिटर उबडखाबड उकालो अनि त्यस्तै डेढ सय मिटरजति उचाइ भएको नबिर्सिने थुक्लाको उकालो छ। हेर्दा ठाडै भीर नभए पनि पदयात्रीलाई पहाड के हो? भन्ने राम्रै चिनाउन काफी छ। भरिया यति धेरै सुस्ताएको अन्त देखिँदैन। हेलिकप्टरको सबैभन्दा बढी ओहोरदोहर भएको र जोक्पे (चौंरी र गाईको ठिमाहा) ले सबैभन्दा बढी सामान ओसारेको यही बाटोमा अनुभूति हुन्छ।
यो थकान मेटिन्छ उकालो सकिनासाथ थुक्ला पासबाट मनमोहक दृश्य देखेपछि। हिमालबाट झरेको बसन्ती हावाले शरीर स्पर्श गरेपछि। थुक्ला पास आसपास सगरमाथा आरोहणको क्रममा मृत्यु भएकाहरूको सम्झनामा सयौं च्योर्तेन (स्मारक) बनाइएका छन्। सबैभन्दा बढी जापानी पर्वतारोहीका। नेपाली पर्वतारोही बाबुछिरी शेर्पाको मात्र च्योर्तेन देखिन्छ भने सबैभन्दा ठूलो र आकर्षक च्योर्तेन अमेरिकी पर्वतारोही स्कट फिसरको।
एभरेस्ट बेस क्याम्प
गोरकसेपबाट हिँडेको केही घन्टामा अलिकति गहिरोमा बसेको सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प- इबिसी) देखिन्छ। एकातिर पुमोरी र लिङतेरान हिमाल, अर्कोतिर ल्होला, नुप्त्से हिमालबाट सिर्जित खुम्बु आइसफलको बीचमा आयतकार बेस-क्याम्प। पुछारतिर मेरा पिक, तबुचे, चोलाछे, लोबुचे हिमालहरू।
हिजोअस्ति हिमालका यिनै लश्कर हेर्दै पर्यटकका लश्कर हिँडिरहेका थिए। लस्कीलस्की चढ्दै र झर्दै गरेका पर्वतारोहीलाई राख्न आधार शिविरमा गुम्बज डोम र टेन्टका लश्कर देखिन्छन्। यस्तो लाग्छ 'रंगीन टेन्टहरूको सिजनल सहर' हो बेस-क्याम्प।
आधार शिविरमा पर्वतारोही, शेर्पा, गाइडहरू, सुरक्षाकर्मी, केही कर्मचारी, केही पर्वतारोहीका आफन्त र सहयोगीका लागि आवश्यक खाद्यान्न, कपडा, अक्सिजन आदि केही हेलिकप्टरहरूले पुर्याइसके। केही याक, जोक्पेका लश्करले पनि ओसारिरहेका छन्।
नुप्त्से र ल्होला पिक (खुम्बुत्से भनेर चिनिने) को चेपबाट सुरू भएको खुम्बु आइसफल भित्र पानी कलकल गर्दै, बग्दै आकार लिइरहेछ दूधकोशीको।
बिग टेन्डी भन्छन्, 'सगरमाथाबाट दुइटा नदी निस्किन्छन्। एउटा दूधकोशी, अर्को अरूण। दूधकोशी ज्योतिर्घाटमा सुनकोशीमा मिसिँदै अघि बढ्छ र तिब्बतबाट किमाथान्का हुँदै नेपाल छिरेर आएको अरूणलाई चतरामा भेट्छ।'
शेर्पाहरू मध्यरातमा खुम्बु आइसफलको बाटो लहरै उक्लिन्छन् माथिल्ला क्याम्पका लागि चाहिने खाद्यान्न, अक्सिजन, कपडा आदि बोकेर। दिउँसो हिउँ पग्लिएर बाटो चिप्लो हुन्छ, राति आनन्द। सँगसँगै जान्छन् विदेशी पर्वतारोहीहरू।
यता बेजोड चल्ने हावाले सुतेको टेन्ट उडाउला झैं गर्छ। यसै त अक्सिजनको कमीले निद्रा कम पर्ने, त्यसमाथि बेस-क्याम्प वरिपरिको डरलाग्दो वातावरण। तापक्रम घटबढ हुँदा आइसबर्गहरू चड्चड चर्किएको आवाज छिनछिनमै आउँछ। पर खुम्बु आइसफलमा गडगडाउँदै हिउँपहिरो झरिरहन्छ। आइसफल हुँदै उक्लिने आरोहीहरूलाई त्यो ठूलो विषय नलाग्ला तर हामीजस्ता बेस-क्याम्पका केही दिने पाहुनालाई भयंकरै लाग्ने।
झन् हामी भित्तैमा बसेकाहरूलाई बिग टेन्डी दाइले '२०७२ सालमा पुमोरी हिमपहिरो एभरेस्ट यहीँसम्म पुग्दा बाइस जना पुरिएका थिए। यसपालि आए के गर्ने?' भनेर तर्साइदिएको रात, मन झनै अत्तालियो।
तर पनि बेस-क्याम्पको बसाइ यादगार भयो। बसुञ्जेल सोधीसोधी मीठो खाना खुवाउने ताप्लेजुङे कुमार गुरूङको हातको स्वाद। ट्रेकिङ टोलीमा देशका थुप्रै हिमाली पहाडी जिल्ला पुगेका उनको किचेनको मात्र होइन, जिन्दगीको भोगाइ झन् दमदार रहेछ।
बेस-क्याम्पमै अठार पटक सगरमाथा चढिसकेका आङ छिरिङ शेर्पा भेटिए। मे दोस्रो सातासम्म सगरमाथाको पहिलो, दोस्रो, तेस्रो र चौथो क्याम्पबाट सात हजार किलो फोहोर संकलन गरेको देखियो नेपाली सेना र सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) मिलेर व्यवस्थापन गर्ने गरी। त्यहीँ देखियो पर्वतारोहणको मौसममा निजी सेवा प्रदायकका अगाडि कमजोर देखिने नेपाल टेलिकमको निरीह नेटवर्क। निजी सेवा प्रदायकसँग महँगोमा डाटा प्याक किन्नुपर्ने।
भूगोलका उकाली ओरालीसँगै अनुभवका अनेक उकाली ओराली पार गर्दै सगरमाथा बेस-क्याम्पबाट फर्किँदा बोध भयो- हिमाल प्रकृतिको त्यस्तो देन रहेछ जसको जतिजति नजिक पुग्यो मानिसलाई आफ्नो क्षमता कति थोरै छ भन्ने अनुभूति हुँदो रहेछ।
हिमाललाई त टाढाबाट हेर्नेभन्दा पनि काखमै पुगेर अनुभव गर्ने रहेछ। सम्पर्क अधिकृतको जिम्मेवारी पाएर हिमालतर्फ जाँदै गर्दा लाग्थ्यो बेस क्याम्पभन्दा माथि उक्लिने अनुमति छैन र मात्रै, नत्र सगरमाथै उक्लिन्थे। तर बेस क्याम्प नपुग्दै थाहा भयो पाइलापाइलाको अहमियत। पिठ्युँको सात किलो झोलाको बोझ। सहज हुँदो हो त लाखौं खर्चेर आएका मेरा आरोहण दलका सबै सदस्य सगरमाथाको चुचुरो चुम्न सफल हुने थिए।
सगरमाथा बेस-क्याम्पको पदयात्रामा वरिपरि देखिने हिमाल हेरेर, गनेर, चिनेर साध्य लाग्दैन। प्रकृति हेरेर अघाइँदैन। धर्तीको छातीमा कोरिएको बाटोमा हिँडेर थाकिँदैन। जताततै हिमालै हिमाल। जताततै हिउँ नै हिउँ। सगरमाथाका अगाडि फुच्चे हिमालहरू हाम्रा अगाडि अजंग लाग्ने।
सगरमाथालाई अमादब्लम, पुमोरी, नुप्त्से, लोबुचे जसरी छर्लंगै त हेर्न पाइएन तर पनि सेतो पहिरनमा सजिएको प्रकृतिलाई आँखामा कैद गर्न त्यहाँ पुग्नैपर्ने रहेछ। पदयात्राको मिठो स्वाद लिन त्यहाँ टेक्नैपर्ने रहेछ। साहसिक यात्रा गर्ने साहस भए त्यहाँ घुम्नै पर्नेरहेछ। अद्वितीय संस्कृतिको अनुभव गर्न त्यहाँ रम्नै पर्नेरहेछ। यी र यस्तै अनुभव साँचेर फर्किँदै गर्दा नभनी रहन सकिनँ- आँखा माया तिमी (आई लभ यु) इबिसी।
(लेखक उपाध्याय वरिष्ठ अध्यागमन अधिकृत हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)