जति नै आधुनिकीकरण भएता पनि हाम्रो समाजमा विवाहलाई लिएर हेरिने दृष्टिकोणमा कहिल्यै परिवर्तन आएन। जति नै विदेशीहरूको राम्रो पक्षहरूको देखासिकी गरे पनि विवाहको कुरामा त्यो देखासिकी कहिल्यै भएन।
लुगाफाटा त विदेशीको जसरी लगाउन सिक्यौं तर आफ्नो जिन्दगी आफ्नो ढंगले जिउन सिकेनौं। सबै आत्मनिर्भर बन्न सिकेनौं। आफ्नो जिन्दगीको फैसला आफैं गर्न सिकेनौं।
सधैं सबैबाट सुन्दै आएको कुरा हो कि बिहे गर्दिएपछि छोराछोरी सुध्रिन्छन्। कुलतमा फसेको व्यक्ति होस् वा अन्य कुनै गलत बाटोमा लागेको, हाम्रो समाजले उसलाई सुधार्ने एक मात्र उपाय विवाह नै हो जस्तो गरिदिएको छ।
घरमा छोरा समयमा आउँदैन, विवाह गरिदिए छिटो आउँथ्यो कि? छोरी पढ्न चाहन्छे, अघि बढ्न चाहन्छे। यसको बिहे गर्दिए हुन्छ, उतै ज्वाइँले पढाउँछन्! छोरी आफ्नो खुसीले केही गर्न चाहन्छे, यो समाजले त्यसलाई गलत बाटोमा लागेको भन्दै विवाहको बाटो देखाइदिन्छन्।
किन हाम्रो समाजले यो कुरा बुझ्दैन कि सबैलाई असल जीवनसाथीको साथ लेखेको हुँदैन। आज पनि कहिँकतै सुन्ने गरिन्छ कि विवाह गरेपछि घर परिवारले पढाइ छुटाइदिएको। हाम्रो घरपरिवार, छर-छिमेक समाजमा यस्तो कुरा सधैं भइरहेको हुन्छ। के साँच्चै जीवनसाथीमा त्यो शक्ति हुन्छ जसले कसैलाई सुधार्छ? के जीवनसाथीमा त्यस्तो जादु हुन्छ जसको प्रभावले कोही सुध्रिन्छ?
यदि त्यस्तो हो भने मेरो कुलतमा फसेको साथीलाई सुधार केन्द्रबाट निकालेर बिहे गरिदिँदा ठिक होला?
यदि विवाहपछि साँच्चै कोही सुध्रिन्छ भने मेरो छिमेकको दाइ विवाह गरेको चार वर्ष बितिसक्दा पनि किन भट्टी जान छाड्नु भएन त? के त्यो दाइको श्रीमतीमा केही कमी थियो? के उहाँलाई जादु गर्न आएन?
मलाई आज पनि याद छ, मेरो बुबाले छिमेकी काकालाई कुलतमा फसेको छोरालाई सुधार केन्द्रमा हालिदेऊ भनिरहँदा काकाले झोक्किँदै ‘भाको एउटा छोरालाई कता सुधार केन्द्रमा हाल्नु? एउटा गतिलो केटी खोजेर बिहे गरिदिन्छु। बिहेपछि यसकै श्रीमतीले सुधार्छे।’
ती काकाको छोरा अझै पनि लागुपदार्थ सेवन गर्दैछन्। के उनी नसुध्रनुमा उनकी श्रीमतीको दोष छ?
किन यो समाजले आफ्नो वरपर हेरेर केही सिक लिँदैन? किन आज पनि पल्लाघरको काकीले आफ्नो छोरालाई कुलतबाट छुटाउन बुहारी खोजिरहेकी छिन्? जन्मदिने बुबाआमाको कुरा नसुन्ने सन्तानले के अरूको छोरा वा छोरीको कुरा सुन्छ होला? विवाहपछि सुध्रिए त ठिकै छ, नसुध्रिए के गर्ने? हाम्रो समाज यस्ता थुप्रै समस्याहरू छन्।
आज पनि हाम्रो समाजमा जिन्दगी बिताउन जीवनसाथी नै चाहिन्छ भन्ने सोचका साथ अघि बढिरहेको छ। हामी बुझेकाहरू पनि समाजको यस्तो गलत पक्षलाई सहर्ष स्वीकार गरिरहेका छौं।
हामी आज पनि निर्धक्क भएर गलतको विपक्षमा उभिन सकिरहेका छैनौं। आज पनि हामी यसको विरूद्धमा आवाज उठाउन सकिरहेका छैनौं। हामी आफ्नै घरपरिवारमा यस्ता घटना घटिरहेको देख्छौं र पनि म एक्लै बोलेर के पो हुने हो भन्दै चुपचाप अन्याय भइरहेको हेर्छौं।
न अन्याय भइरहेको मानिस बोल्छ न अन्याय देखिरहेको नै। अन्याय गर्नेलाई त म कुकर्म गर्दैछु भन्ने अझ थाहा हुन्छ कि हुँदैन। सहरी क्षेत्र जहाँ कमै अशिक्षित हुनुहुन्छ होला यस्तो क्षेत्रमा त अझै यस्तो मानसिकता भएका मानिस छन् भने कल्पना गर्नुस् त्यो ग्रामीण क्षेत्र जहाँ शिक्षाको कमि छ, त्यस्तो ठाउँको स्थिति के होला? त्यहाँको समाजले के-कस्तो समस्या भोगिरहेको छ होला।
म आज पनि यस्ता प्रश्नहरूको जवाफ खोजिरहेकी छु। आज पनि कति महिलाले श्रीमानको कुलतको कारणले अनायसै ज्यान गुमाउनु परेको छ। हरेक दिन टेलिभिजन, पत्रपत्रिका, रेडियो, मोबाइलहरूमा कहीँकतै कोही न कोही श्रीमानले मदिरा सेवन गरेर दैनिक कुटिरहेको समाचार सुन्ने पढ्ने गर्छौं।
कतिले त सहन नसकेर सम्बन्धविच्छेद गर्छन् भने कसै-कसैले त ज्यानसमेत गुमाएका छन्। विवाहपछि कुलतमा फसेकाहरूको एउटा कुरा तर यदि बिहेअघि नै यस्तै थियो भने त्यस्तो व्यक्तिसँग विवाह गर्दिएर ती नारीको जिन्दगीसँग खेलबाड गर्ने अधिकार कसले दियो यो समाजलाई?
के विवाहअघि नै नारीलाई आफ्नो हुनेवाला श्रीमान कुलतमा फसेको छ भन्ने थाहा हुन्छ? के हामी आफैंले घरपरिवारको खुसीको लागि यो समाजको डरले यस्तो गलत निर्णय गरिरहेका छौं? के अझै पनि हामी गलत र सही छुट्याउन सक्ने स्थितिको सिर्जना गर्न सकिरहेका छैनौं? यो अवस्था आखिर कहिलेसम्म?
हामीले नै गलत गरे अब आउने हाम्रो पुस्ताले हामीबाट के सिक्ने? त्यसैले देश परिवर्तन गर्नुअघि समाज परिवर्तन हुनुपर्छ। समाज परिवर्तन गर्न परिवारले परिवर्तनलाई स्वीकार गर्नुपर्छ। र, परिवार परिवर्तन हुन पहिला आफू परिवर्तन हुनपर्छ।
अनि मात्र आफूजस्ता हजार ‘म’ मिलेर हामी परिवर्तन हुन्छौं। हामी-हामी मिलेर समाज परिवर्तन हुन्छ र अन्तमा देश। त्यसैले सकारात्मक सोचको विकास गर्नतर्फ लागौं।