आजभन्दा करिब १७ वर्ष अगाडि पूर्वी नेपालको उत्तरी भेगतिर पुस माघको न्यानो घाम तापेर स्कुलको चौरमा साथीहरू सँगसँगै बसेर खेल्दै क्लास लिएको दिनहरू आज एक्कासि याद आयो।
मनमा कुनै फिल्म हेरे जसरी दोहोरिन थाल्यो।
जीवनमा कुनै खाले न पिर थियो न पीडा न दुःख नै। थियो त केवल के कसरी घरमा बहाना बनाएर खेल्नु जाने कुराको।
त्यही पनि कहिलेकाहीँ जिस्केर यसो जीवनको बारेमा पनि कुराहरू हुने गर्थो।
तेसो त हाम्रो परिवेश नै लाहुरे भएको कारणले प्राय:जसो त्यही विषयमा गफ हुने गर्थ्यो। समय यसरी बितिरहेको थियो कि मानौं सानो तिनो राजाको छोरासरह नै थियो।
हाम्रो गाउँमा हुने सम्मको पढाइ करिब सकिने निश्चित थियो। त्यसपछिको हाम्रो गन्तव्यको बाटोहरू फरक हुने संकेत पनि थियो। कोही नेता हुने, कोही लाहुरे हुने, कोही पढ्ने। आ-आफ्नो योजनासहित करिब दसैंको मुखतिर हामी हाम्रो धेरै दुःख र थोरै खुसी भएको परिवार र आफन्त छोडेर पछाडि फर्केर बर्कीले मुख छोपेर राम्रोसँग जाऊ केटा हो भनेर आमाले भनेको सुन्दै हामी सधैं त्यही वरिपरी गोठालो गर्ने, घाँस काट्ने, बारी खेल्ने, पाखो छोडेर ओरालो लागेको आज जस्तै लाग्न थाल्यो।
समयले कति बसन्त पार गर्यो होला, कति हन्डर खायो होला तर पनि जीवन चलिरहेको थियो।
फरक यति थियो सँगै चालेका पाइलाहरू कोही आधा बाटोबाट छुट्टिए, कोही गन्तव्यमा पुगेर भुलिए, कोही समयसँगै परिवर्तन भए। करिब यो अन्तरालमा आज फेरि सबथोक भुलेर पनि सम्झिरहेको छु जो आज मान्छेले जीवनमा भुलेर पनि सम्झनुपर्ने अनि सम्झेर पनि भुल्नुपर्ने हुँदो रहेछ।
शनिबारको दिन करिब ९:४५ बजे नौलो नम्बरबाट फोन आयो। तर त्यो नम्बर पनि कसैले अफिसको कामको लागीि होलाजस्तो लागेर उठाइनँ।
करिब २ पटक जति वास्ता गरिनँ। तर धेरैचोटि फोनको घन्टी बजेपछि उठाएँ। फोन उठाएपछि ‘ओई कता छस्’ भनेर कता कता सुनेको चिनेको जस्तो स्वरमा आवाज सुनें।
को बोलेको भनेर सोधें- चिन, चिन भनेर उताबाट जवाफ आयो।
यसरी त आफ्नो नजिकको साथी वा आफन्तले मात्र भन्छ भनेर म एकछिन सोचमग्न भएँ। तर चिन्न सकिनँ।
म शरण हो कि नाम पनि बिर्सिस् भनेर भनेपछि मलाई सबैथोक याद आयो र भनें- त जिउँदै छस्?
‘किन किरिया खान मन लागेको हो तँलाई’ भनेर जवाफ दियो। ‘आज काम के छ, तँसंग भेट्नु छ, म दिउँसोतिर सुकेधारा आउँछु तँ त्यही पुरानो ठाउँमा नै हो भनेर भन्यो।
मैले ‘हो’ भनें।
अनि दिउँसो भेट्ने सल्लाह गरेर फोन काटियो। म अचम्म र खुसी भएँ।
म सोच्न थाले उसले भनेका कुराहरू र गरेका कामहरू।
ऊ लाहुरेको छोरो भएर पनि कहिले विदेश जान्छु भनेको थिएन। जब काठमाडौंमा हाम्रो बसाइ हुनु थाल्यो पछि हाम्रो भेटघाट पनि अलिक पातलो हुन थाल्यो।
हामीबीच कहिलेकाहीँ फोनमा गफहरू र यसो सन्चो बिसन्चो मात्र सोधखोज हुने गर्थ्यो।
ऊ पनि कराँतेको ब्ल्याक बेल्ट हुँदै सिक्दै सिकाउँदै गरेको थाहा हुन्थ्यो। त्यसपछि हाम्रो सम्पर्क पनि हुन सकेको थिएन। यति ठूलो सामाजिक सञ्जालको दुनियाँमा पनि हाम्रो भेट कहिल्यै भएको थिएन।
त्यसदिनको हाम्रो भेटमा मान्छेले चाहे हरेक कुरा सक्ने रहेछ भन्ने कुरा बुझियो। त्यही कुराहरू सोचिरहँदै फेरि ढोकामा त्यही स्वरमा ओइ कहाँ छस् भन्दै ऊभित्र छिरेर आयो।
हेर्दा र सुन्दा सपनाजस्तो भए पनि वास्तविकता त्यही थियो। तर फरक चाहिँ थियो।
रातो वर्णको मान्छे गोरो सेतो कपाल पनि सलक्क परेको लामो थियो। एकछिनको गफगाफ र चियापछि हामी छेउको रेष्टुरेण्टतिर लाग्यौं। हल्का खाजा र बियर पिउँदै हाम्रो गफहरू सुरू भयो।
विगतदेखि वर्तमान सम्मको कुराहरू सुरू हुन थाल्यो।
शरणले आफ्नो जीवनको घटनाहरू सुनाउँदै गयो म सुन्दै गएँ। त्यसपछि उसले कराँतेपछि स्कुल किनेछ पाटर्नरसिपमा। त्यही पढाउने काम गरेछ साथै राजनीतितिर पनि लागेछ।
कलेज स्कुल र राजनीतिसँगै लान परेको कारण व्यस्तता बढेकोले कोहीसँग भेटघाट हुनु सकेन। त्यसमा पनि अलिक भूमिगत जस्तो हुनु परेको कारण गाह्रो भएको सुनायो।
स्कुल पढाउने क्रममा त्यही स्कुलको मिससँग माया बसेको रहेछ तर राजनीतितिर लागेको कारण सम्बन्ध त्यति राम्रो हुन सकेनछ, र केही समयपछि सँगै राजनीति गरेको सहकर्मीसँग मन्दिरमा विवाह गरेको रहेछ।
राजनीति पनि गरिराखेको स्वास्थ्य मन्त्रीको पिएसम्म भएर काम गरेको थाहा भयो। त्यही क्रममा फुपूको छोरीहरूसँगको लहैलहैमा लागेर कोरियाको परीक्षासम्म दिएको सुनायो।
यता पनि स्कुलमा पाटर्नरहरूसँग राम्रो नभएर स्कुलको आर्थिक अवस्था पनि राम्रो भएन। राजनीतिको कामले अरू काम पनि गर्नु सकिएन। राजनीति पनि अस्थिर भएकोले झन् गाह्रो भयो। घरको दुई छोरीहरूको जन्म भई खर्च बढेको आफू पनि कामविहीन भई आर्थिक अभाव भएको बेलामा के गर्ने, कसो गर्ने भइरहेको थियो। त्यही बेलामा कोरियाले मलाई त्यतै तान्यो।
मैले सबै कुरा बिर्सें र नयाँ बाटो रोजे कोरियाको। त्यो पनि कसरी बहिनीले मेरो पनि नाम लिष्टमा भएको कुरा भनी अनि, काम सजिलो थियो। खाली जाली चेक गर्ने मात्र हो। आर्थिक रूपमा कमाइ राम्रो भयो, यता काठमाडौंमा दुई छोरी र कान्छी बहिनी बसेको, बुढी राजनीति पनि गरिरहेको राम्रो नै थियो।
एक दिन साथीलाई चुरोट खान पालो दिने गाडीको सामान झार्ने क्रममा गाडीको छतबाट झरेर मेरूदण्ड भाँचियो। त्यो क्रममा ६ महिना हस्पिटलको कोमामा बस्नुपर्यो। कोरियाको हस्पिटलमा राम्रो केयर भएर सन्चो भयो। तर यो दुई वर्षमा धेरै परिवर्तन भयो।
एउटा सानो घर थियो त्यो पनि श्रीमतीले बेचेर कता हिँडिछ। अनि बहिनी पनि सानो कोठामा बसेकी रहिछ। हिजो बल्ल बल्ल भेट भयो। छोरीहरूसँग अब सँगै नबस्ने अरे। अब सम्बन्ध बिच्छेद गर्ने कुरा भयो। सबै लफडाहरू सकेर फेरि विदेश जानु परो केटा भन्यो। अनि सोधें, ‘अब कता जाने त?’
मुसुक्क हाँस्दै उसले जवाफ दियो, ‘अब त युके जाने हो।’
‘तँ त म कहिले विदेश नजाने अनि नेपालमा बस्ने देश बनाउने समाज बदल्ने भन्थिस् त।’
हाँस्दै, ‘यो सब भन्ने कुरा रहेछ। यति धेरै समयमा नेपालमा बदलिएको केही छैन केटा उही पुरानो रोग स्वार्थको राजनीति घुसखोरी अरूको कुरा काट्ने आफू केही नगर्ने चलन छ यहाँ। तँ चाहिँ विदेश जाने किन अहिलेसम्म नगएको अनि मैले भने त नजाने त गइस् अनि म चाहिँ तेरो सट्टामा बसेको नेपाल।
हाँस्दै, ‘उसले अब त पनि बाउलाई भनेर हिँड्। केटा यहाँ काम छैन हामीले किताब पढेका केही काम लागेन नपढिएको किताब पो जीवन रहेछ त। जति पढे पनि सकिएन खाली सुरू मात्र हुने। यसो हेर्दा साँझ पर्न लागेछ, बियर पनि पुग्यो, अब काम सकेर भेटौं भनेर आफ्नो कोठातिर लागियो।