फौजी जीवन सजिलो त कहाँ हुन्छ र ! हामीले कडा अनुशासनमा बस्नुपथ्र्यो। नोकरीमा छँदा तालिम गर्दाको जति दुःख बेहोर्नु परेन। लडाइँमा मर्ने र मार्ने कुरा मात्र आँखामा आउँछ। जसरी पनि जित्छौं भनेर होमिनु पर्छ।
मैले प्रत्यक्ष युद्ध त लड्नु परेन। बन्दुक तेर्साएर दुस्मनसँग भिड्नु परेन। पन्ध्र वर्षको नोकरी अवधिमा एउटा मात्र लडाइँ भयो–फकल्यान्ड वार। त्यति बेला हामी ब्रुनाईमा सुल्तानको सुरक्षामा खटिएका थियौँ। त्यसैले हामीे लडाइँमा जानु परेन।
ब्रुनाईमा बेलायती सेनाको एउटा बटालियन अझै पनि छँदैछ। साथै पूर्व गोर्खा सैनिकहरूको सुरक्षा दस्ता ‘जिआरयु’ पनि छ।
हङकङमा तालिम पुरा गरेपछि म सुरुमा डि कम्पनीमा परेको थिएँ। ३ वर्ष काम गरेपछि मलाई ‘सिग्नल प्लाटुन’मा सरुवा गरियो। सिग्नलमा विशेषगरी सञ्चार माध्यम रेडियो र टेलिग्राफद्वारा एक अर्कामा समाचार आदानप्रदानको काम गरिन्थ्यो।
डिजिटल जमाना सुरु भइसकेको थिएन। त्यसैले सबै उपकरण म्यानुअल्ली चलाउनु पथ्र्यो। सूचना पठाउन टेलिग्राफ चलाउथ्यौं। फौजीहरू जङ्गलमा जाँदा रेडियो बोकेर हिँड्थ्यौं। आपसमा सञ्चार गराउँथ्यौं।
पहिलापहिला न रेडियो थियो न टेलिग्राफ। बटालियन बीचमा सम्पर्क गर्न सजिलो थिएन। लडाइँको मैदानमा एकदेखि अर्को कम्पनीमा के हुँदैछ अथवा अब के गर्ने भन्ने कुराहरू कराएर भन्न मिल्दैन। त्यसैले कम्पनी कम्पनीका आआफ्नै रङका झण्डा हुन्थे। त्यही झण्डाले इसारा दिने मान्छेलाई सिग्नलर वा झण्डावाल् भनिन्थ्यो।
हाम्रो पालामा झण्डा देखाउनु परेन। तर हामीलाई ‘झण्डावाल्’ पनि भनिन्थ्यो। विशेषतः पाका साप्हरू ‘झण्डावाल्’ भनेर बोलाउँथे। हाम्रो लोगोमा रातो झण्डा हुन्थ्यो। हामीले लगाएको कपडाको पाखुरामा लोगो टाँसिएको हुन्थ्यो। हाम्रो मात्र होइन, कामअनुसार आआफ्नो लोगो हुन्थ्यो। बिगुलवालाको ‘बिगुल’, कम्पनीहरूको ‘राइफल’ र गाडी चलाउनेको ‘गाडीको पाङ्ग्रा’ जस्ता लोगो प्रयोग हुन्थ्यो।
रेडियो नभएका बखत एउटा डाँडाबाट अर्को डाँडामा झण्डा देखाएर वा बिगुल बजाएर इसारा दिने चलन थियो।
दुईतीन वर्षमा ठाउँठाउँमा हाम्रो पल्टनको सरुवा हुन्थ्यो। म कहिले रेडियो अपरेटर बनें, कहिले टेलिग्राफ अपरेटर त कहिले टेलिफोन अपरेटर। यसरी मैले बेलायती सेनामा १५ वर्ष बिताएँ।
भर्तीको जीवन सजिलो त थिएन। गाउँमा दुःख गरेर हुर्किएको हुनाले बरु फौजी तालिममा मलाई खासै दुःख भएन। तर, अर्काको खटनपटनमा काम गर्नु पर्दा भने दुःख लाग्थ्यो। हामीले वचन खानुपथ्र्यो। निद्रा लागेका बेला सुत्न पाइन्नथ्यो। भोकाएका बेला खाना पाइन्नथ्यो। यस्तै थियो लाहुरको जीवन।
नोकरीकै सिलसिलामा हङकङ, ब्रुनाई, सिङ्गापुर, न्युजिल्यान्ड, क्यानडा, साइप्रस, मलेसिया, जर्मन, फिजी र बेलायतमा पुगियो। व्यक्तिगत खर्चमा पनि स्तानबुल, ओमन, बङ्गालादेश, थाइल्यान्ड र मकाउ भ्रमण गरेँ।
परदेशमा हुँदा घरदेशको सम्झना आइरहन्थ्यो। आफ्नो माटो, आफ्नो परिवारको मायाले नियास्रो बनाउँथ्यो। चाडपर्वमा सम्झनाले बाडुली लगाउँथ्यो। यति हुँदाहुँदै पनि फौजी जीवन रमाइलै थियो। किनकि त्यहाँ हामी आफ्नो परिवारलाई आर्थिक रुपमा बलियो बनाउने सपनालाई मलजल गरिरहेका हुन्थ्यौं।
उता हामीले सबै नेपाली चाडबाड मनाउँथ्यौं। त्यहाँ मन्दिर हुन्थ्यो। जमदारसरह सुविधा दिएर पण्डित राखिएको हुन्थ्यो। दसैं, तिहार, फागु पूर्णिमालगायत सबै पर्व मनाइन्थ्यो। बडादसैंका बेला लामो बिदा हुन्थ्यो।
त्यतिबेला कालरात्रि जगाउने, पूजा गर्ने, टिका लगाउने, मासुभात खाने काम गरिन्थ्यो।
चाडपर्वमा परिवार र मान्यजनको खुब सम्झना आउँथ्यो।
दसैंमा आआफ्ना कम्पनीहरू र आआफ्ना गाउँलेहरूबीच भोज गरिन्थ्यो। टिकाका दिनमा सबैलाई लाइनमा राखेर गोर्खा मेजरले टिका लगाइदिन्थे।
माछामासु, मदिरा सबैकुरा पल्टनले व्यवस्था गथ्र्यों। तिनताका म रक्सी पिउँदिनथें। पिउँनेलाई रक्सीको सुविधा पनि हुन्थ्यो। हामी नाचगान पनि गथ्यौँ। केटालाई महिलाको लुगा लगाइदिएर ‘मारुनी’ बनाउँथ्यौं। अनि मादल घन्काउँदै गाउँथ्यौं, लाहुरे दाइको रेलिमाई फेसनै राम्रो...।
हामी नेपाली र हिन्दी गीतमा नाच्थ्यौं।
एउटा कुरा, त्यतिबेला सबै गोर्खाको धर्म ‘हिन्दु’ लेखिएको हुन्थ्यो। हामीलाई दिइएको परिचयपत्रमा नाम, पल्टन नम्बर, कम्पनी र धर्म हिन्दु लेखिएको हुन्थ्यो। यसरी गैरहिन्दुलाई पनि कागजी रुपमा जबरजस्ती हिन्दु बनाइन्थ्यो।
हामी भर्तीमा जाने बेला न पासपोर्ट बनाउने चलन थियो न नागरिकताको परिचय पत्र नै चाहिन्थ्यो। पल्टनमा भने परिचय पत्र बनाइदिन्थ्यो।
मैले वि.सं. २०४१ सालमा पासपोर्ट बनाएँ। नेपाली नागरिकताको प्रमाणपत्र चाहिँ दोस्रो पटक छुट्टीमा आउँदा वि.सं. २०३६ सालमा बनाइसकेको थिएँ। पासपोर्ट बनाइसकेपछि पनि सुरुसुरुका दिनमा जहाजमा यात्रा गर्दा पासपोर्टको खासै खोजी हुन्न थियो।
तिनताका हामीले वर्षमा १४ दिन छुट्टी पाउँथ्यौं। पुरै बटालियनको एकै पटक बिदा हुन्थ्यो। बिदामा हामी घुमघाम गथ्र्यौं।
दिनहरू बितिरहेका थिए। मेरो सार्जेन्ट हुने पालो पनि आएको थियो। यसो विचार गरें, सार्जेन्टमा बढुवा भएर अरु दुई÷तीन वर्ष नोकरी गर्नुभन्दा पेन्सनमा निस्केर सेकेन्ड करियर सुरु गर्दा पो फाइदा होला !
म वि.सं. २०४४ पुस २१ गते पेन्सनमा घर फर्कें। नोकरीमा हुँदै पोखरामा जग्गा किनेर सानो घर बनाएको थिएँ।
काठमाडौंको कोटेश्वरमा पनि घँडेरी किनिसकेको थिएँ। पेन्सनमा फर्कने बित्तिकै कोटेश्वरमा घर बनाएँ। काठमाडौंमा घर बनाउन पैसा चाहिएकाले पोखराको जग्गा बेचें।
बेलायती सेनाबाट पेन्सनमा आउँदा म भर्खर ३३ वर्षको थिएँ। भर्तीमा छँदै सेकेन्ड करियरका लागि ब्रुनाई जाने सपना देख्थें। लाहुरेले ब्रुनाईको सेकेन्ड करियरमा पैसा कमाउँथे किनकि त्यहाँ तलब र सुविधा बढी पाइन्थ्यो।
जीवनको रङ्गमञ्चमा अझै प्रभावकारी भूमिका निर्वाह गर्नु थियो। परिवारलाई सुखी बनाउने सपना पुरा गर्नु थियो। त्यसैले मैले पनि ब्रुनाईको गोरखा रिजर्भ युनिट (जी.आर.यु.)मा निवेदन पठाएँ।
९ म्याग्दीको करबाकेली क्षेत्रका सामाजिक अभियन्ता चाम बहादुर पुनको पुस्तक ‘लाहुरेको संघर्ष, करबाकेलीको सेवामा दुई दशक’ बाट