आज जेठ ५ गते, अवकाशप्राप्त प्रहरी महानिरीक्षक (आइजिपी) स्वर्गीय खड्गजीत बरालको दोस्रो स्मृति दिवस। उहाँ नेपाल प्रहरी जगतका मात्र नभएर समग्र राष्ट्रकै प्रेरक व्यक्तित्वका रूपमा चिनिनुहुन्छ। उहाँको कार्यशैलीबाट म पनि प्रभावित भएको छु।
म नेपाल प्रहरीमा प्रवेश गर्ने मुख्य प्रेरणा मेरो पारिवारिक पृष्ठभूमि थियो। किनभने मेरा दुई जना दाइ पूर्वआइजिपी स्वर्गीय हेमबहादुर सिंह र पूर्वडिआइजी बलेन्द्रबहादुर सिंह नेपाल प्रहरीका अधिकृत हुनुहुन्थ्यो।
उहाँहरूको खाकी प्रहरी पोसाक मलाई ज्यादै आकर्षक लाग्थ्यो। त्यस्तै, उहाँहरूलाई तल्लो दर्जाका प्रहरी अधिकृत तथा जवानहरूले अभिवादन गरेको देख्दा पनि मलाई लोभ लाग्थ्यो।
नेपाल प्रहरीमा सेवारत रहँदा मैले ९ जना आइजिपीको मातहतमा काम गरेँ। मैले २०२३ माघमा नेपाल प्रहरीमा प्रवेश गर्दा सङ्गठन प्रमुख आइजिपी रोमबहादुर थापा हुनुहुन्थ्यो।
त्यतिबेला एसपी खड्गजीत बराल सदर प्रहरी तालिम केन्द्र (महाराजगञ्ज) को कमान्डेन्ट (प्रमुख) हुनुहुन्थ्यो। मेरो आधारभूत तालिमको टोलीमा मोहनबहादुर पाण्डे, दिगमबहादुर बस्नेत, रोहिणी कुमार सिंह र रामेश्वर खरेल आदि मेरा ‘ब्याजी’ थिए।
सदर प्रहरी तालिम केन्द्रको कमान्डेन्ट (प्रमुख)
आधारभूत तालिमको दौरानमा बराल साहबले हाम्रो इन्टरपोल (अन्तर्राष्ट्रिय प्रहरी) र सामान्य ज्ञानको क्लास लिनुहुन्थ्यो। यसमा उहाँले लागुऔषध नियन्त्रण, काउन्टरफिट (करेन्सी (जाली मुद्रा) र एन्टी-हाइज्याकिङ लगायतका विषय पढाउनुहुन्थ्यो।
बराल साहबले सदर प्रहरी तालिम केन्द्रको गतिविधि बुझ्न कमसेकम हप्तामा दुई पटक आकस्मिक निरीक्षणु गर्नुहुन्थ्यो। यसलाई उहाँले आफू आइजिपी भएपछि पनि निरन्तरता दिनुभयो।
२०२३/०२४ सालमा बराल साहब सदर प्रहरी तालिम केन्द्र (महाराजगञ्ज) को कमान्डेन्ट हुँदा नेपाल प्रहरीको आत्मरक्षाका लागि उहाँले हामी लगायतका प्रहरीको तालिममा ‘अन-आर्म्ड कम्ब्याट ट्रेनिङ्ग’ (मार्सल आर्टस्) समावेश गराउनुभयो। सो तालिममा आफ्नो आत्मरक्षा कसरी गर्ने, कसरी प्रत्याक्रमण गर्ने र शत्रुलाई कसरी ‘न्युट्रलाइज’ गर्ने लगायतका कुरा सिकाइन्थे।
बराल साहब मध्यक्षेत्र डिआइजी हुँदा
२०२७ सालमा बराल साहब भृकुटीमण्डपस्थित नगर प्रहरी भवनमा अवस्थित मध्यक्षेत्र डिआइजी कार्यालयका प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो। त्यतिबेला म त्यहाँ काजमा खटिएको थिएँ। उहाँले त्यहाँ ‘हवल्दार कोर्स’ सुरु गर्नुभयो।
उहाँले सो कोर्सको सुरुआत गरी गस्ती गर्ने, धरौटीमा छुटेका अपराधीमाथि निगरानी गर्ने र सुराकी गर्ने नयाँ तरिका तथा चौकी कमाण्डरका काम, कर्तव्य आदि सम्बन्धी प्रशिक्षण दिने कार्यको प्रारम्भ गर्नुभयो। त्यसमा सर्वसाधारणलाई समेत सहभागी गराई अपराधी र आगलागी आदिबाट कसरी जोगिने जस्ता कुरा पनि सिकाइन्थे। त्यतिबेला म पनि सो कोर्सको प्रशिक्षक थिएँ।
युवा प्रहरी अधिकृत हुँदै बराल साहबले नेपाल प्रहरीका सन्तानको सहज पठनपाठनका लागि प्रहरी विद्यालयको परिकल्पना गर्नुभएको थियो। २०२७ सालतिरै म सोह्रखुट्टे लाइन-इनचार्ज थिएँ। एकदिन तत्कालीन डिआइजी बरालले मलाई आफ्नो भृकुटीमण्डपस्थित कार्यकक्षमा डाक्नुभयो।
नेपाल प्रहरी विद्यालय स्थापना गर्ने अभिप्रायले उहाँले मलाई बुढानीलकण्ठमा उपयुक्त जग्गा खोज्न निर्देशन दिनुभयो। उक्त निर्देशनको पालना गरी फर्केपछि मैले उहाँलाई सविस्तार जाहेर गरेँ। दुर्भाग्यवश तत्कालीन सरकारबाट आर्थिक सहयोग नभएकाले त्यतिबेला नेपाल प्रहरीका लागि छुट्टै विद्यालय स्थापना गर्न सम्भव भएन।
बराल साहब आइजिपी हुँदा
२०२९ सालमा बरालसाब नेपाल प्रहरीको प्रमुख पद- प्रहरी महानिरीक्षक (आइजिपी) मा नियुक्त हुनुभयो।
आइजिपी बरालको ६ वर्षे कार्यकाल (विसं २०२९-०३५) मा म प्रहरी प्रधान कार्यालयस्थित अपराध महाशाखा, बझाङस्थित धूलि चेकपोस्ट, जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुख, काठमाडौं उपत्यकाको सदर ट्राफिक प्रहरी कार्यालय र दरबारमा तत्कालीन राजा वीरेन्द्रको शाही पार्श्ववर्ती (एडीसी) मा कार्यरत भएँ।
बेलायती प्रशिक्षण
२०३२ सालमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुख हुँदा मैले करिब ६ महिनाका लागि विदेशमा तालिम गर्ने मौका पाएँ। म संयुक्त अधिराज्य बेलायतको वेस्ट यर्कशायर (वेकफिल्ड) स्थित मेट्रोपोलिटन पुलिस एकेडेमीमा जेनरल पुलिस ड्युटिस कोर्स फर ओभरसिज स्टुडेन्टुका लागि आइजिपी बरालको मनोनयनबाट जान पाएँ।
बराल साहब एसपी हुँदा उहाँले पनि त्यही एकेडेमीमा सो तालिम गर्नुभएको थियो।
उहाँले सो संस्थाबाट तालिम गर्नुभएको करिब एक दशकपछि मैले त्यहाँ तालिम गरेँ। त्यतिबेला सो एकेडेमीका तत्कालीन डेप्युटी-सुपरिन्टेन्डेन्ट (एकेडेमीको मर्यादा क्रममा तेस्रो व्यक्ति) श्री टिम्स हुनुहुन्थ्यो। उहाँले ‘उनी धेरै टाठा अधिकृत थिए’ भनेर बराल साहबका बारे प्रशंसा गर्नुभएको स्मरण हुन्छ।
प्रहरी भवनको आधुनिकीकरण
आइजिपी बरालको कार्यकालको प्रारम्भसम्म अरू बाहिरी जिल्लाको त कुरा छाडौं, काठमाडौं उपत्यकामै अधिकांश प्रहरी कार्यालय पाटी र सत्तलबाट सञ्चालित हुन्थे। भक्तपुर र ललितपुरका जिल्ला प्रहरी कार्यालय पनि पछिसम्म मन्दिर र जनताको घरबाट सञ्चालित थिए भने अन्य प्रहरी चौकी र थानाको के हालत थियो होला? स्वतः अनुमान गर्न सकिन्छ।
यसलाई ध्यानमा राखेर उहाँको कार्यकालमा शिखरमा एक गजुर भएका पेगोडा शैलीका प्रहरी भवनको निर्माण कार्यको राष्ट्रव्यापी अभियान सुरु भयो। धेरैजसो प्रहरी भवन जनसहयोग र प्रहरी जनशक्तिबाट निर्माण भए।
मलाई आज पनि ताजा स्मरण छ, ०३४ को जेठ १५ को कुरा हो। सिन्धुपालचोकस्थित बलेफी प्रहरी चौकीको उद्घाटन कार्यक्रममा म पनि सहभागी थिएँ। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आइजिपी बरालले भन्नुभयो-
‘कहिलेकाहीँ केही व्यक्तिबाट प्रहरी र जनताको सम्बन्ध राम्रो नभएको भन्ने सुनिन्छ। तर यो कुरा सत्य भएको भए यहाँका जनता आफैंले आर्थिक स्रोत र श्रमदान जुटाई प्रहरी भवन निर्माण गरेर आउनुहोस् पुलिस दाइ, हामीलाई शान्ति सुरक्षा दिनुहोस् भनी किन भन्थे र?’
जिल्ला निरीक्षण भ्रमण वा प्रहरी भवनको उद्घाटन समारोहमा जाँदा आइजिपी बरालले बिल्ला र फुली आफूसाथ लिएर जानुहुन्थ्यो। राम्रो काम गर्ने प्रहरीलाई प्रोत्साहन गर्न तत्काल प्रमोसन गरी दर्ज्यानी चिह्न लगाइदिनु हुन्थ्यो।
२०३२ सालतिरको कुरा हुनुपर्छ। म जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुख थिएँ। त्यहाँको नगर निर्माण समितिले जग्गा प्लटिङ गर्न सुरु गरेको थियो। त्यसका लागि सो समितिले त्यहाँका प्रहरी गुल्म, क्षेत्रीय प्रहरी तालिम केन्द्र र कारागार सदरमुकामबाट अति टाढा सार्ने निधो गरेको थियो।
यसबारे मैले आइजिपी बराललाई जाहेर गरेँ र सम्बन्धित इन्जिनयरहरूलाई प्रहरी प्रधान कार्यालय लगी बराल साहबसँग भेट्ने व्यवस्था मिलाएँ।
आइजिपी बरालले उनीहरूलाई भन्नुभयो, ‘प्रहरीलाई भन्ने बित्तिकै यथाशीघ्र परिचालन गरी यथास्थानमा पुर्याउनुपर्छ। त्यसैले नजिकैको क्षेत्र मिलाइदिनू होला।’ त्यसपछि मात्र सो निर्णयस्वरूप हालका सुर्खेतका सबै प्रहरी कार्यालयको व्यवस्था भयो।
म २०३३ सालमा सदर ट्राफिक प्रहरी कार्यालयमा सरूवा भएँ। त्यतिबेला आइजिपी बरालको आदेशानुसार उपत्यका भवन निर्माण कार्यालयको सहयोगबाट ट्राफिक प्रहरीका घोडाका लागि तबेला निर्माण गरेँ। यो नै नेपाल प्रहरीको पहिलो घोडा तबेला थियो।
देशकै सीमित आर्थिक स्रोतको अवस्थामा त्यतिबेला नेपाल प्रहरीले धेरै के गर्न सक्थ्यो र? त्यही पनि आइजिपी बरालको कुशल नेतृत्वमा नेपाल प्रहरीले चौतर्फी विकास गर्यो भन्न करै लाग्छ। जस्तो कि-
१) नेपाल प्रहरीका सम्पूर्ण अधिकृत तथा जवानका लागि निःशुल्क रासन (२०३० साल) र पोसाक (२०३३ साल) को व्यवस्था भयो।
२) स्वावलम्बी पेगोडा शैलीका प्रहरी भवनको निर्माणको थालनी भयो।
३) नेपाल-भारत सीमामा पहिलोपटक सीमा प्रहरी चौकी स्थापना भए। त्यसका अतिरिक्त सीमा सुरक्षाका लागि २०३२ सालदेखि ‘सुरक्षा जिल्ला प्रहरी कार्यालय’ पनि स्थापना भए। यी दुवै प्रकारका कार्यालय पनि जनसहयोगको सहकार्यमा पेगोडा शैलीमै निर्माण भए।
४) नेपाल प्रहरीका सन्तानको सहज पठनपाठनका लागि प्रहरी विद्यालयको अवधारणाको विकास भयो र त्यसको स्थापनार्थ प्रयास भयो।
५) नेपाल प्रहरी र प्रहरीका परिवारका लागि छुट्टै अस्पतालको अवधारणा र त्यसको निर्माणको योजनाको विकास भयो। भारत सरकार र नेपालस्थित भारतीय सहयोग मिसन ‘आइसिएम’ (इन्डियन कोअपरेसन मिसन) सँग समन्वय गरी नेपाल प्रहरी अस्पताल स्थापना गर्ने योजना अघि सारियो।
६) २०३३ सालमा डा. प्रेमलाल श्रेष्ठको नेपाल प्रहरीको डिएसपी पदमा स्थायी नियुक्ति भयो। उहाँपछि नेपाल प्रहरी अस्पतालको प्रमुख हुनुभयो।
७) २०३२ सालमा प्रहरी प्रधान कार्यालयलमा कुकुर शाखा स्थापना भयो।
८) प्रहरी प्रधान कार्यालयमा फरेन्सिक ल्याब्रेटोरी (विधिविज्ञान प्रयोगशाला) निर्माण भई २०३५ सालमा आइजिपी बरालबाट उद्घाटन भयो।
९) नेपाल प्रहरीका जुनियर तथा सिनियर अधिकृतहरूका लागि स्वदेशी र विदेशी तालिमको व्यवस्था भयो।
१०) नेपाल पुलिस माउन्टेनियरिङ एन्ड एडभेन्चर फाउन्डेसन स्थापना भयो र त्यसबाट २०३३ सालमा ६,९२० मिटर उचाइको टुकुचे हिमालको सफल आरोहण भयो।
११) तत्कालीन महेन्द्र पुलिस क्लबमा नेपाल प्रहरीको मूलभूत आदर्श ‘सत्य सेवा सुरक्षा’ बाट परिलक्षित ‘प्रथम प्रहरी कवि सम्मेलन २०३४’ आयोजना भयो। सो समारोहको प्रमुख अतिथिमा प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति नाट्यसम्राट् बालकृष्ण सम आमन्त्रित हुनुभयो।
१२) नेपाल प्रहरीमा पुरस्कार र सजायको सन्दर्भमा तत्कालै कारबाही हुने परिपाटीको व्यवस्था भयो।
बराल साहब स्वच्छ छवि भएका, हक्की, प्रस्टवक्ता, कसैसँग नझुक्ने, यथार्थवादी, समयलाई चिन्ने र आफ्नो सङ्गठन र पेसाप्रति सदैव चिन्तन गर्ने एक साहसिक र उदारवादी प्रहरी अधिकृत हुनुहुन्थ्यो। उहाँ सुशिक्षित हुनुका साथै उहाँको कार्यशैली सही ढंगको र विषय केन्द्रित हुन्थ्यो। त्यसैले तत्कालीन मन्त्री, दरबारका सचिव, भारदार लगायतका अन्य उच्च पदस्थ पदाधिकारीसमेत उहाँका बोली र व्यक्तित्वबाट प्रभावित हुन्थे।
त्यतिबेला नेपाल प्रहरीमा एउटा विशेष परम्परा थियो। प्रहरी सेवाबाट अवकाश पाउनु केही समयअघि प्रहरी प्रमुखले पूर्वदेखि पश्चिमसम्म नेपाल भ्रमण गरी बिदाइ हुने चलन थियो।
२०३५ सालको प्रारम्भतिर आइजिपी बरालको नेपाल भ्रमणपछि प्रहरी प्रमुखको हैसियतले उहाँको तत्कालीन राजा वीरेन्द्रसँग गोकर्णस्थित सम्झना सदनमा भेट भएको थियो। म त्यतिबेला राजाको एडीसी (अंगरक्षक) थिएँ।
प्रहरी सेवाबाट निवृत्त भएपछि बराल साहबले बर्मा, कम्बोडिया, भियतनाम, लाओस, मलेसिया आदि देशका लागि नेपालबाट राजदूतको जिम्मेवारी बहन गर्नुभयो। राजदूतको कार्यकाल समाप्त भएपछि २०४३ सालमा उहाँ राष्ट्रिय पञ्चायतको सदस्य (सांसद) हुनुभयो।
(लेखक अशोक सिंह नेपाल प्रहरीमा २०२३ देखि २०५५ सालसम्म कार्यरत अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक (डिआइजी) हुन्।)
तस्बिर सौजन्य: प्रहरी प्रधान कार्यालय, पूर्वआइजिपी खड्गजीत बराल र पूर्वडिआइजी अशोक सिंह।