थानकोटकी एकजना सडक कुकुर स्याहार्नु हुने बहिनीलाई टोलभरिको मानिसको सधैं प्रताडना सुन्नु र सही बस्नुपर्छ। कारण उनले रेखदेख तथा बन्ध्याकरण गराइदिएको एक सडक कुकुरले अचेल कहिलेकाहीँ नयाँ मान्छे देखे टोकिदिन्छ।
दिसा गर्यो, फोहोर गरायो, खुवाएर कुकुर पल्काए लगायत थप आरोप लगाउँदै आएका थिए। अहिले टोले मिली यो विवाद जानाजान बढाए, उनको नयाँ घर बनाउनु पर्ने सधियारहरूले सही गरी दिएनन्। यसले गर्दा नक्सा पास रोकिन गई जग हाल्न समेत पाएनन्।
उनको बुवा हैरान भई 'समाजमै बस्न दिइनस्, यी तेरा कुकुरहरू लैजा, तँ पनि कता जाने हो कुकुरहरूसँगै जा' भनेर आफ्नै छोरीप्रति लाचारी आक्रोश पोखे।
तार्केश्वर १० कालो ट्यान्कीको एक हुर्कौलो फुच्चे सडक कुकुरलाई ज्यामीहरूले कुट्ने गरेको भएपछि टोकाहा हुँदै गयो। तारकेश्वर हिलेडोलको सेते टाटेलाई, आफ्नो सेतो स्यानो कुकुर घुमाउन ल्याउने एक ठालुले रोजै सुतेको बेलामा पनि छडीले हानेर कुट्ने र छिमेकहरूले खान नदिने गरी टोकाहा बनाए।
अझ गाली, ढुंगा बर्साउने, बस्न र खान कसैले नदिने, हेप्ने गरेर मान्छेहरूले सडक कुकुरलाई पूर्ण खतरनाक बनाइदिन्छन्। उनीहरू नै यताउता आफू चोखो पल्टी कुकुरलाई उल्टै दोस थोपारेर गुनासो गरी हिँडिरहेका हुन्छन्।
सबले बोलाउने, खान दिने, छोइ-चलाइ गर्ने, माया, अपनत्व देखाउने गरेको भए उसलाई सबै मानिस मित्र जस्तो लाग्ने थियो। उसको हरेक डर पनि सानैदेखि भाग्ने थियो र कुकुर पूर्ण रुपमा सामान्य भएर टोल सडकमा बसिरहने थियो।
ऊ जन्मे बसेको आफ्नो बासस्थानबाट कुकुर हटाउन कानुनी बन्देज रहेको छ। जबर्जस्ती गरेर हटाउँदा अर्को ठाउँमा पनि उसको नौला स्थानीय कुकुरसँग झडप पर्दै ऊ मान्छेहरूलाई पनि टोक्ने हुनसक्छ। टोक्न सक्ने भएकाले उसलाई ध्यान दिन, सम्झाउन, सिकाउन, शान्त बनाउन सही समाधान तरिका अभ्यास गर्न जरुरी हुन्छ।
अझ यस्ता कारणको आडमा कुकुर मारे तीन महिना जेल सजाय व्यवस्था कानुनमै छ। यदि नगरपालिका पशु विभागका प्राविधिकले जाँच गराएर कुकुरलाई रेबिज भएको ठहर गरिएको मेडिकल रिपोर्ट राखेका छैनन् भने आफूखुसी कुट्ने, पिट्ने, धपाउने नगर्दा बेस हुन्छ।
नेपालभरि प्रायः सडक कुकुरमार्फत कुनै न कुनै समय ठूलो-सानो अप्रिय घटना, रोग बिमार आदि समस्या परिरहने अवस्था छ। वर्षमा ९०० मानिस रेबिज लागि मर्दछन् भने टोकाइ सामान्यदेखि गम्भीरसम्मका हुन्छन् र घातक हुन सक्छन्। मानव स्वयमकै कारण बाहेक कुकुर सामान्यतया डर वा चिन्ताले आक्रामक हुन्छ। कसैलाई डराउने, तर्साउने, हानी वा नियन्त्रण गर्ने कुकुरको इच्छा हुँदैन।
यदि तपाईंलाई कुकुरले बाटोमा टोकेको छ भने, तपाईंले चाँडो होटेल रेस्टुरेन्टमा पसेर भए पनि टोकेको ठाउँ निचोरी केही रगत फ्याल्ने, टोकेको ठाउँमा पटक-पटक साबुन लगाइ मिच्दै पखाल्दै कम्तीमा १०/१५ मिनेट यसो गर्नुपर्दछ। चाँडो डाक्टरलाई भेट्नुपर्छ र टिटानस र एन्टिरेबिज इन्जेक्सन लिनुपर्छ।
टोकेको ठाउँमा घाउ नसुक्दासम्म लगाउन डाक्टरले लेखेको एन्टिबायोटिक मल्हम र पाउडर लिनु पर्दछ। कुकुरले टोकेको ४८ घण्टाभित्र एन्टिरेबिज इन्जेक्सन सुरु गरिसक्नु पर्ने भनेर सल्लाह दिइन्छ।
दैनिक १५० जना जवान कुकुरले टोकेर उपचारका लागि शुक्राराज हस्पिटल पुग्ने गरेको विगतकै तथ्यांक छ। कुनै व्यक्तिले चिस्यान टुटेको औषधि सुई लिँदा काम गर्दैन। त्यसैले भरपर्दो स्थानमा एन्टिरेबिज सुई लिनु पर्दछ।
सम्पूर्ण सडक कुकुरहरूलाई वार्षिक रूपमा एन्टिरेबिज इन्जेक्सन दिन पशु विभागलाई आदेश दिनु र आवासीय घरपालुवा जनावरहरूलाई वार्षिक रूपमा खोप लगाइएको जाँच गर्नु सबै नगरपालिकाहरूको जिम्मेवारी हो।
सडकका कुकुरहरू गन्नै नसकिने भएमा र जनसङ्ख्या बढ्दै गएको अवस्थामा नगरपालिकाले सबैलाई एन्टिरेबिज इन्जेक्सन लगाइदिन सम्भव हुँदैन। छुटपुट भई जान सक्ने हुँदा सबै पोथी कुकुरलाई बन्ध्याकरण गराइदिने प्रमुख जिम्मेवारी नगरपालिकाको पशु विभागलाई तोकिएको छ। टोलबाट नियमित लिखित निवेदन दर्ता गराई माग भएको अवस्थामा यो सेवा रोक्न मिल्दैन।
जनस्तरबाट बन्ध्याकरणको माग प्रवर्द्धन गराउन नगरपालिकाले चेतनामूलक पोस्टर, रेडियो सन्देशहरू प्रसारण गराउनु पर्दछ। सडक कुकुरहरूको व्यवस्थापन गर्न र तिनीहरूबाट उत्पन्न हुने अप्रिय चुनौतिहरूको सामना गर्न देशभरि समुदायको क्षमता अभिवृद्धि यसरी गराउन सकिन्छ-
गम्भीर प्रकृतिका आक्रामक सडक कुकुरको व्यवहारलाई रूपान्तरण गर्न नगरपालिकाले आफ्नै उद्धार र तालिम केन्द्र निर्माण गर्नुपर्छ वा केही उद्धारकर्ता र प्रशिक्षकहरू भएको संस्थासँग सहकार्य गर्ने सम्झौता गर्नुपर्छ।
आक्रामक कुकुरहरूलाई व्यवहार परिवर्तनको लागि प्रशिक्षकहरूसँग एक वा दुई हप्तासम्म हिरासतमा राख्न सकिन्छ र त्यसपछि तिनीहरूलाई आफ्नै समुदायमा फिर्ता छाड्न पर्ने हुन्छ।
बाहिरी सहयोग नपाएको अवस्थामा समुदायका केही घरले आक्रामक कुकुरलाई सडकबाट हटाउन कसैको घर कम्पाउन्डभित्र लगेर राख्न र केही समय यसरी पाल्तु जस्तै गराउन उचित हुन्छ। बिहान र साँझ उग्र हुने कुकुरलाई त्यो समयमा कुनै स्थानीय बासिन्दाको घर कम्पाउण्डभित्र राख्ने वा केज किनेर राख्ने, व्यवस्था गर्नु सजिलो समाधान उपाय हो।
यो कुरामा इच्छा नभए पनि अन्य विकल्प नहुँदा यस्तै गर्नुपर्ने हुन्छ। आफूले खान नदिएर बेवास्ता गरी हरेक टोलमा टोकाहा कुकुर बनाउने अनि राज्यले त्यसलाई सधैंको लागि हटाइदिनु पर्ने जिम्मा नगरपालिका वा कुनै निजी संघ-संस्थाले लिन सक्दैन।
सडकका कस्ता कुकुरहरू आक्रामका हुन्छन् वा मानिसलाई टोक्न सक्छन्?
आक्रमण नियत लिएको कुकुरले गर्धनको रौं ठाडो पारेको हुन्छ। उसको मुद्रा कडा, हेराइ सोझो र गुर-गुर आवाज निकालेको हुन्छ। दारा किटेर तपाईंतिर अघि बढेको हुन्छ। यो याद गर्न महत्त्वपूर्ण छ कि सबै सडक कुकुरहरू आक्रामक छैनन् र धेरै मित्रवत र हानीरहित छन्।
यदि तपाईंले यी कुनै पनि संकेतहरू देखाउने सडक कुकुरलाई भेट्नु भयो भने कुकुरलाई प्रशस्त ठाउँ दिनु र त्यसको नजिक पुग्नबाट जोगिन उत्तम हुन्छ।
यदि तपाईं टोलको नौलो भएर हो वा अरु कारण बाटोमा भेट्दा दैनिक कुनै कुकुर जङ्गिन्छ भने एक पुडिया बिस्कुट आफूसँग राखेर हिँडनुहोस् र जहिले भेट हुँदा त्यो कुकुरलाई केही बिस्कुट खान परबाट फ्याली दिनुहोस्। छिट्टै उसले तपाईंलाई मित्र वा मालिकको रुपमा व्यवहार गर्न थाल्नेछ।
किन कुनै सडक कुकुर आक्रामक हुनसक्छ र टोक्ने कुकुर बन्ने समस्या समाधानका उपाय के हुन्?
बच्चामा मानिस, जनावरहरू सब बुझ्न, संगत गर्न नपाउँदा पछि त्यस्तो कुकुर आत्तिने हुन्छ। केही कुराले ऊ डराएमा, बाइक वा मान्छेले हानेर, पुच्छरमा टेकेर दुखाइदिएमा, उसको क्षेत्रमा नौला मानिस झोला ओसारपसार गरेमा उसले टोक्न सक्छ।
बन्ध्याकरण
टोलको सडकमा रहेका कुकुरहरूको जनसन्ख्या सीमित गराइदिँदा खाना अभाव कम हुन गई झैंझगडा घट्न जान्छ। अनि बल्ल उनीहरू शान्त भई बस्ने, हल्ला नगरी रातभरि सुत्ने, आक्रोशित नहुने वातावरण विकास हुनसक्छ। तर यस्तो बनाउने कि टोकाहा बनाउने भन्ने कुरा समुदायकै हातमा छ।
त्यसैले कुकुरहरूलाई जहाँबाट भए पनि बन्ध्याकरण गराइदिनु अत्यावश्यक छ। एक कुकुर्नी बन्द्याकरण गर्न छुटेमा ऊ र उसका सन्तानबाट चार वर्षमा ४०० वयस्क बच्चाको जन्म हुन जान्छ। उनीहरूको जनसंख्या सीमित गराइदिँदा तिनीहरू आक्रामक हुने र क्षेत्राधिकारको लागि लडाइँ गर्ने व्यवहार कम गराउन मद्दत पुग्नसक्छ।
भारतको इन्दौर सहरमा मात्र वार्षिक चालिस हजार कुकुरले टोक्ने केसहरू हुन्छन्। यस सन्दर्भमा अहिले मुम्बई हाइ-कोर्टले भनेको छ- सडक कुकुरलाई खाना, पानी दिनू र हेरचार गर्नू अनि उनीहरू आक्रामक हुँदैनन्।
समाजीकरण र प्रशिक्षण
कुकुरहरूलाई मानव र अन्य जनावरहरूको वरिपरि अझ सहज बनाउन, अपनत्व विकास गराउन, समुदायको प्रायः सबैले उनीहरूलाई दैनिक केही खान दिने, माया गर्ने, बोल्ने, चलाउने, देखरेख, वास्ता मतलब गर्नुपर्ने कुरा जरुरी छ।
खोप
रेबिज र अन्य रोगहरू विरुद्ध कुकुरहरूलाई नगरपालिका पशु शाखाले वार्षिक खोप लगाइदिनाले उनीहरू स्वास्थ्य शान्त रहने साथै मानवको लागि जोखिम घट्ने र आक्रामक नहुने वातावरण बन्छ।
पहिचान र ट्र्याकिङ
समुदायका सबै कुकुरहरूको नाम राख्ने, पहिचान मिलाउने गर्नाले कुकुरहरू सबै टोलबासीले चिन्न तथा सबैले आक्रामक कुकुरको पहिचान पनि राख्न र उसलाई सुधार गराउन आवश्यक सहजीकरण कार्यहरू गर्न टोलबासीलाई मद्दत पुग्न सक्छ।
सामुदायिक शिक्षा
सामुदायिक शिक्षाले समुदायलाई जिम्मेवार तरिकाले सामुदायिक तथा पाल्तु जनावरको स्वामित्व कसरी ग्रहण गर्ने, कसरी सुरक्षित रूपमा कुकुरहरूसँग अन्तरक्रिया गर्ने र आक्रामक कुकुरहरूको पहिचान्, सुधार र कुकुरको टोकाइबाट बच्न के-के गर्ने बुझ्न मद्दत गर्न सक्छ।
सडकमा दिनहुँ भेटिने टोकाहा वा आक्रामक कुकुरबाट कसरी बच्न सकिन्छ?
टोक्ने कुकुर बाटोमा भेट भइहाले, आफू सुरक्षित रहन यसो गर्नुहोस्-
प्रत्यक्ष आँखा सम्पर्क नगर्नूस्। केही गरी नजिकै रहेछ भने शान्त चुप रहनूस्, नकराउनूस्। हडबड नगर्नूस्। नभाग्नुस्, नफर्की विस्तारै पछि हटनू। टोक्नै आए छाता, ब्यागप्याक केही भए त्यसले छेक्नूस्। स्थानीयसँग मद्दत खोज्नुहोस्।
यदि तपाईंले सडकमा नियमित रूपमा टोक्ने कुकुरको सामना गर्नुहुन्छ भने त्यो क्षेत्रबाट बच्न वा वैकल्पिक मार्ग खोज्नु राम्रो हुन्छ। यदि यो सम्भव छैन भने तपाईं थप सुरक्षाको लागि सतर्क भई हिँडनुपर्छ।
स्थानीय बासिन्दा टोल, युवा समितिलाई आस्थायी रुपमा त्यो कुकुरलाई कुनै घर कम्पाउण्डभित्र राख्न भन्नुहोस्। प्रशिक्षित पशु नियन्त्रण पेसेवर वा अन्य छन् भने मद्धतको लागि कल गरी कुरा गर्न भन्नुहोस्। प्रमाणिक बहुला कुकुर हो भने नगरपालिका पशु शाखाको दस्तालाई फोन गरी अविलम्ब मद्दत माग्नु पर्दछ।
स्थानीय नगरपालिका पशु शाखा अधिकारीलाई पशु आक्रामक कुकुरको नियन्त्रणलाई रिपोर्ट गर्नु पनि राम्रो विचार हो। किनकि उनीहरूले समुदायलाई सुरक्षित राख्न कदम चाल्नपर्ने हुन्छ, र जानिफकार संस्था झिकाउन पनि सक्दछन्।
इन्टर्नेट, वेबसाइटमा खोजी हेरेर नगरपालिक, पशु शाखा, अन्य संघ-संस्थाको फोन नाम, नम्बर, मेसेज पठाउने ठाउँ सब एक मिनेटमा आफैंले पत्ता लगाउन सकिन्छ। खबर आदानप्रदान गर्न पनि सकिन्छ।
(लेखक नेपाल स्ट्रीट डग म्यानेजमेन्ट अर्गनाइजेसनका संयोजक हुन्।)