जब म सरकारी कार्यालय लगायत विभिन्न क्षेत्रमा भएका भ्रष्टाचारका समाचारहरू सुन्छु वा प्रत्यक्ष देख्छु, म आफैंमा चिन्तित हुन्छु। विचलित हुन्छु।
म भ्रष्टाचारबाट आत्तिसकेको थिएँ। यता हेर्यो भ्रष्टाचार, उता गयो भ्रष्टाचार। प्रत्येक पाइला-पाइलामा पैसाको लागि मात्र काम गर्ने कर्मचारीहरू देख्न थालेपछि पीडितको दु:ख र कर्मचारीको उच्च महत्वकांक्षाको अनुभव लिएर समाधान खोज्नेतर्फ लागें। किनकि म देशको नागरिक हुँ र कर्मचारी पनि।
जुन दिन मैले भ्रष्टाचारीलाई चोर भनेको थिएँ, त्यो दिन मलाई मेरो नाम सोधिएको थियो। मेरो घर सोधिएको थियो। सायद उहाँलाई मेरो दिमागले त्यति काम गरेको जस्तो नलागेर होला। उहाँको दृष्टिमा चोरलाई सज्जन भनेर सम्बोधन गर्नुपर्ने थियो।
चोरेको प्रत्यक्ष स्वयम प्रमाण छु। तर पनि त्यहाँ प्रमाण चाहिन्थ्यो। प्रमाण नभएपछि बेइमानलाई चोर भनेको हुनाले मन्थरजीले मलाई साइकोको उपनाम दिनुभएको थियो। भ्रष्टाचार विरुद्ध बोल्दा साइकोको संज्ञा मिल्छ भने त्यसमा पनि छुट्टै आनन्द मिल्दो रहेछ।
मेरो उत्तर पनि त्यस्तै थियो साइको पाराको- 'जसको घरै छैन उसलाई तपाईंको घर कहाँ हो अरे!'
अहिलेको जुन जन्म घर छ, त्यो वास्तवमा मेरो घर होइन। यदि त्यो घर वास्तविक हुन्थ्यो भने मृत्युपछि किन हतार गरेर त्यही घरबाट, त्यही पनि आफ्नैले बाहिर निकाल्थे?
मैले एकदिन लोक सेवा अध्यक्षलाई मेसेज पठाएको थिएँ- 'म भ्रष्टाचार विरुद्ध करिब दुई वर्षदेखि बोल्दै आइरहेको छु र भ्रष्टाचार विरुद्ध बोलिरहनेछु। उनीहरूले गरेका भ्रष्टाचारका प्रमाणहरू मसँग पर्याप्त छन् र कति चिजका प्रमाणहरू साक्षी बाहेक अरु नहुँदा रहेछन्। त्यसकारण म तपाईंलाई भेट्न चाहन्छु।’
यसको कुनै प्रतिउत्तर आएन। कुनै प्रतिउत्तर नआएपछि मैले अध्यक्षलाई काठमाडौं नै गएर भेट्छु भन्ने दृढ मनस्थिति बनाएँ। केन्द्रबाट आउने धेरैजसो केन्द्रीय प्रतिनिधिहरूलाई पनि कुरा सुनाउन थालेँ- 'म जसरी भए पनि अध्यक्षज्यूलाई भेट्न चाहन्छु।’ तर उहाँसँग भेट हुन परिस्थितिले दिएन।
मैले उहाँलाई भेटेर आफ्नो कुरा राख्ने पूरै तयारी गरिसकेको थिए। उहाँसँग चार प्रश्नहरूको बारेमा आफ्नो मनमा लागेका विचारहरू राख्न म एकदमै आँतुर थिएँ। किनकि म भ्रष्टाचारबाट आत्तिसकेको थिएँ। यस्तासम्म मान्छेहरू देखें कि सरकारी कार्यालयलाई पैसा कमाउने थलोको रुपमा मानेका।
पहिलोचोटि एकदम उत्साहका साथ भ्रष्टाचारका विरुद्ध, बेथिति र बेसंगती विरुद्ध बोल्न अध्यक्षलाई भेट्छु भन्दै काठमाडौं प्रस्थान गरें। पोखराबाट काठमाडौं पुग्ने बेलासम्म रातभरि मनमा अनेकौं विचारहरू खेले।
देशमा भ्रष्टाचार किन बढिरहेको छ? भ्रष्टाचार गर्न हुन्न भन्ने पनि सबैलाई थाहा छ। भ्रष्टाचार गरेको व्यक्ति पतित हुन्छ भन्ने कुरा थाहा नभएको होइन। देशमा कर्मचारी मात्र होइन। सबैले आ-आफ्नो ठाउँमा कर्तव्य निर्वाह गर्ने हो भने देशले विकासको फड्को मार्न समय नै लाग्दैन।
देशलाई कुन दिशामा लाने भन्ने कर्मचारीको हातमा छ। नेता त आउँछन् जान्छन्। नेताले गल्ती गरे जनताले फ्याँक्छन्। तर कर्मचारीहरू स्थायी छन्, पढेका छन्, शिक्षित छन्, बौद्धिक छन्, बुझेका छन्, अनुभवी पनि छन्। तर भ्रष्टाचार रोकिने छाँटकाँट कहिँ कतै देखिदैन। किन?
यदि सबैले म भ्रष्टाचार गर्दिनँ, म देशप्रति बेइमान गर्दिनँ। म आर्थिक प्रलोभनमा परी चोरी गरेर, झुट बोलेर, बेइमान गरेर पैसा कमाउन्न भनेर दृढ संकल्पका साथ सबैले आ-आफैं कसम खाने हो भने के भ्रष्टाचार रोकिन्न होला त? मनमा चोरी, बेइमानी, भ्रष्टाचार गर्ने भाव छ भने कागजमा सपथ खाएर के गर्ने?
काठमाडौं पुगेपछि पहिलो मेरो काम थियो अध्यक्षलाई फोन गर्ने। उहाँ कहाँ हुनुहुन्छ थाहा पाउनु थियो। कतै व्यस्त हुनुहुन्छ कि। कतै काममा निस्कनु भएको छ कि। मैले एक महिना कुर्न परे पनि उहाँलाई नभेटी र आफ्नो कुरा नराखी पोखरा फर्किन्नँ भन्ने दृढ लक्ष्य बनाएर घरबाट निस्केको थिएँ।
मैले अध्यक्षसँग भ्रष्टाचारीहरूको लिस्ट लिएर गएको थिएँ। उहाँसँग ५ वटा प्रश्नहरूको बारेमा आफ्नो मनमा लागेका विचारहरू राख्न म एकदमै आँतुर थिए।
(१) ती व्यक्तिहरू जसले भ्रष्टाचार गरिरहेका छन्, भ्रष्टाचारीहरूको सूची।
(२) तिनीहरूले कहाँ-कहाँ भ्रष्टाचार गरिरहेका छन्, ती स्थानहरू।
(३) तिनीहरूले कसरी भ्रष्टाचार गरिरहेका छन्, ती क्रियाहरू।
(४) तिनीहरूले किन भ्रष्टाचार गरिरहेका छन्, यसको कारण र यसको समाधान के हो?
भ्रष्टाचार गर्ने व्यक्तिहरू, भ्रष्टाचार हुने स्थान, भ्रष्टाचार गर्ने क्रिया, भ्रष्टाचार हुनुको कारण र यसको समाधान। मात्र २५ मिनेट भेटेर आफ्नो कुरा राख्ने तीव्र प्रतीक्षामा थिएँ। किनकि ऐन, नियम, कानुन, नीति आदि बनाउने उहाँहरूले नै हो।
सरुवा, पुरस्कार वा आफ्नो व्यक्तिगत स्वार्थको लागि भए अरुसँगै कुरा राख्थें होला तर मैले भ्रष्टाचारको जड नै फ्याक्न चाहन्थें। नीति-नियम उहाँहरूले नै बनाउने भएको हुनाले उहाँलाई नै भेट्न चाहन्थें।
जसले ऐन, नियम, कानुन सबै पढेर जनताको सेवा गर्ने उद्देश्यका साथ सेवा प्रवेश गर्छन्। त्यसपछि कसरी भ्रष्टाचारमा अभिमुख हुन्छन्? कसरी भ्रष्टाचारमा प्रेरीत हुन्छन्। किन कर्मचारीहरूले कानुनको गलत व्याख्या गर्छन्।
र, अन्त्यमा फोन पनि गरें- 'श्रीमान् प्रणाम!’
उताबाट नमस्कारको प्रतिउत्तर पाएँ- 'को बोल्नुभएको होला?’
मैले उहाँलाई अफिसकै परिचय दिनुपर्ने थियो। त्यही गरेँ।
'ए... फेसबुकलगायत सामाजिक संजालमा के-के लेख्नुहुन्छ नि, त्यो तपाईं नै हो?’
'हो हजुर’ भनें।
'त्यसो भए तपाईं लोक सेवाबाट सरुवा भएर गइहाल्नू।’
'होइन श्रीमान, म तपाईंलाई एकचोटि भेट्न चाहन्छु।’
'बढ्ता कुरा नगर्नू। मसँग समय छैन। हजुर सचिवज्यूलाई भनेर लोक सेवा छोडेर गइहाल्नू।’
त्यो संवादले मलाई स्तब्ध बनायो। के भन्न आएको थिएँ, के भयो। आफ्नै संस्थामा काम गर्ने एउटा सामान्य कर्मचारी जसले मोबाइलमा त्यस्तो मेसेज पठाएको छ। त्यस्तो व्यक्तिले भेट्न खोज्दा अफिस नै छोडेर सरुवा भएर जानू भनेपछि मैले के बुझ्ने? के हजुरले भ्रष्टाचारीहरूको नाम सुन्न नचाहेर हो श्रीमान? कि भ्रष्टाचार विरुद्धका आवाजहरू सुन्न नसकेर हो?
फेसबुक लगायत सोसल मिडियामा त मैले भ्रष्टाचार विरुद्ध या बेथिति, बिसंगती, ढिला सुस्ती, अनियमितताका कुराहरू मात्र लेख्छु।
कमसे कम एकचोटि तल्लो तहको कर्मचारीकै कुरा भए पनि सुन्नु पर्ने थियो। सुन्दैमा के जान्थ्यो र! के भ्रष्टाचार नगर्ने हो भने, बेइमान, झुट, कपट नगर्ने हो भने, पदीय दुरुपयोग नगर्ने हो भने, बिल मिलाउन नजान्ने हो भने, किर्ते गरेर पैसा नखाने हो भने, अझ जनतासँग कर्मचारीहरूले कार्यालयमा कस्तो व्यवहार गर्छन् त्यो मैले भन्नै पर्दैन।
कर्मचारीहरूको जनतासँग गर्ने व्यवहार कस्तो हुन्छ भन्ने कुरा त जनताले नै अनुभव गरेका छन्। के यी सबै गुणहरू नहुने हो भने अफिसबाट सरुवा भएर जानुपर्ने हो अध्यक्ष? होइन भने म यी नै गुण भएका कर्मचारीहरूका गुनासा लिएर त आएको थिएँ नि। गुनासा मात्र होइन, यसको समाधानको पनि सक्षमता राख्छु। यदि कर्मचारीमा यी गुणहरू हुनुपर्छ भने सरुवा मात्र होइन श्रीमान्, म निजामतीबाटै बाहिरिन पनि तयार छु।
२०७९ साल पुस ६ गते संचालन भएको सहसचिवको परीक्षामा उपसचिवहरूलाई यही प्रश्न त सोधिएको छ।
'कर्मचारीहरूमा नैतिकताको खडेरी पर्दै गएको अवस्था छ। भ्रष्टाचार, रुखो व्यवहार, लोभलालच, स्वार्थ बाझिने कामहरू बढ्दै गएको देखिन्छ। निकै सम्भावना भएका युवाहरू सार्वजनिक पदमा पुगेको छोटो अवधिमा नै भ्रष्टाचारमा संलग्न भई कारबाहीमा परेको समाचार सुनिन्छ। विभिन्न निकायहरूले गरेको सर्वेक्षणहरूमा अनैतिक व्यवहार, भ्रष्टाचार, अनियमितता कर्मचारीहरूमा बढ्दै गएको देखिएको छ।’
यो प्रश्नको उत्तर दिने उपसचिवहरू जिल्लामा सिडिओ भएर जाने सक्षमता राख्नुहुन्छ। खै यसको प्रयोगात्मक समाधान? सिद्धान्त त कति पढें, कति लेखें। मात्र किताबमा पढेर भएन। कुनै विधि या फर्मुला पत्ता लगाएर जसरी भए पनि समाधान निकालेर जनतालाई पहिला विश्वास दिलाउन सक्नु पर्यो।
भ्रष्टाचार निवारण गर्ने या कमी गर्ने ठोस आधारहरू प्रस्तुत गरेर कार्यान्वयनमा ल्याउनु पर्यो। यो विधिबाट भ्रष्टाचार कम हुन्छ भन्ने प्रतिबद्धताका साथ तीन करोड जनतालाई विश्वास दिलाउन सक्नुपर्यो।
विश्वास मात्र दिलाएर भएन। निश्चित समयपछि सबै जनतालाई महसुस हुनुपर्यो कि देशमा अहिले भ्रष्टाचार कमी भएको छ। कागजमा प्रतिवेदन देखाएर मात्र होइन। यहाँका प्रत्येक नागरिकलाई अनुभूति हुनुपर्यो।
देशमा सुव्यवस्था कायम छ। भ्रष्टाचार कमी भएको छ। सुशासन लागु भएको छ। त्यस्तो प्रतिवेदन तयार गरेर सार्वजनिक गर्नुहुन अनुरोध गर्दछु। देशमा जति पनि भ्रष्टाचारमा मुछिएका कर्मचारीहरू छन्, ती सबै लोक सेवा पास गरेर सेवा प्रवेश गरेका कर्मचारी हुन्। यसको समाधान पनि हजुरले निकाल्नु पर्छ। स्वाभावलाई परिवर्तन गर्न त्यति सजिलो छैन। तर, सम्भव छ।
हजुरले त सुन्न चाहनुभएन। नसुने पनि केही छैन। तर सारा नेपालीलाई यी चार वटा प्रश्नको उत्तर दिन चाहन्छु। त्यो पनि प्रत्यक्ष क्यामराको अगाडि, म हजुरसँग बहस गर्न तयार छु श्रीमान्। सबैलाई थाहा होस् कि आखिरी ती चार वटा प्रश्नको उत्तर के थियो भन्ने कुरा।
सुशासन, सुव्यवस्था कायम गर्ने कर्मचारीहरूले हो। हामी देशका नोकर हौं, जनताका सेवक हौं। मालिक होइनौं। मालिकको हित सोच्नु नै नोकरको कर्तव्य हो। मालिक जनता हुन्।
मालिकलाई लुट्नु, ठग्नु, झुट बोल्नु, बेइमान गर्नु, अपमान गर्नु, पीडा दिनु, अनावश्यक दु:ख दिनु कदापि हुनुहुन्न। र, मालिकबाट यस्तो कदापि सह्य हुनुहुँदैन। अब मालिकमा विचार परिवर्तन हुनु आवश्यक छ। गल्ती गर्ने कर्मचारीलाई संरक्षण होइन, कारबाही हुनुपर्छ।