प्रिय कमरेड मदन भण्डारी
अभिवादन!
जेठ ३ गते आउँदै गर्दा तपाईंको याद आएकोले हो कि, हिजो राति तपाईंलाई झल्यास्स सपनामा भेटें। अनि करिब ३ दशक अगाडिको तपाईंको दिव्य मुहार साक्षात्कार भएँ।
हुन त मलाई थाहा छैन मैले लेखेका अक्षरहरू तपाईंले पढ्न पाउनु हुन्छ कि हुँदैन। तपाईंलाई आफूले छाडेर गएको देश र पार्टी कस्तो होला भन्ने पक्कै उत्सुक्ता होला। त्यही भएर अहिलेको अवस्था अवगत गराउन चाहान्छु। तर पनि म तपाईंलाई यो पत्र लेखिरहेको छु।
म यता ठिकै छु। तपाईं पनि त्यता ठिकै हुनुहोला भन्ने आशा गर्दछु। सायद तपाईंले मलाई बिर्सिसक्नु भएको पनि होला तर मैले भने तपाईंलाई बिर्सेको छैन।
मैले तपाईंलाई पहिलो पटक महेन्द्रनगरमा भेटेको हो जुन बेला म ९ कक्षामा पढ्थें। अहिले म ठूलो भैसकें, डाक्टर भएको छु। मानसिक रोग विशेषज्ञ भएको छु, सह प्राध्यापक भएको छु। अलि कुरा बुझ्ने भएको छु, देशको अवस्थाबारे जानकार छु।
मलाई सम्झना छ तपाईंसँगको पहिलो भेट। तपाईंसँगै तपाईंका पार्टीका कमरेड माधव नेपाल तथा अन्य साथीहरू र पत्रकारसहित १२–१५ जना जति हाम्रो घरमा आउनु भएको। तपाईं आँउदा हामी धेरै नै उत्सुक थियौं।
युवा नेता, प्रखर वक्ता, जसका भाषाहरू अडिओ टेपमा सुन्दथ्यौँ, उहाँ आफै आउने थाहा पाएपछि हाम्रो खुसीको सिमाना नै थिएन।
भर्खर घर पुग्नुभएको बेलामा तपाईंले के लगाउनु भएको थियो याद छैन तर सबै जनासँगै लाइनमा बसेर स्वागत गरेको अनि तपाईंले मसँग पनि हात मिलाउनु भएको थियो। साँझपखको समय थियो। सायद जाडोको मौसम थियो। तपाईं सधैं ट्रयाकसुट लगाएर बस्नुहुन्थ्यो अनि कालो टोपी, कालो मोटो चस्मा र घाँटीमा गलबन्दी।
तपाईंहरूलाई खाने-बस्ने व्यवस्था गर्नतिर आमाबुवा लाग्नु भएको थियो। मलाई पनि आफन्तहरूकहाँ भाँडाकुँडा खोज्न पठाउनुभएको थियो। कसैको घरबाट डिनर प्लेट, कसैको घरबाट कचौरा, चम्चा मैले पनि ल्याएको थिएँ।
तपाईंहरूलाई खाना खुवाउने पकाउने सर्दामको जोहो गर्न लागियो। आफ्ना घरमा १५–२० जनालाई खाना पकाउने भाँडो नभेटिएपछि हाम्रो भैँसीलाई कुँडो पकाउने भाँडामा भात पकाउने निधो गरियो। मलाई अझ पनि त्यो भाँडाको सम्झना छ। आल्मोनियमको त्यो भाँडो पकाउने र सधैं नधुनेले गर्दा बाहिर पूरै कालो थियो र भित्र माथिल्लो भागमा अलि सेतो तर तल्लो भाग पूरै कालो।
बाहिर केही इँटाहरू राखेर बनाएको चुलोमा तपाईंहरू सबैजना मिलेर खाना पकाउने, आफै पस्किने, आफ्नो थाल आफै धुने गर्नुभएको थियो। मलाई त पिकनिक गएजस्तै अनुभूति भएको थियो।
तपाईंलाई याद छ त्यो कोठा जसमा एउटा मात्र खाट थियो? अर्को खाट, डस्ना, तन्नाको जोहो गर्न नसकेपछि माधव नेपाल भुइँमा डस्नामा सुत्नु भएको र तपाईं खाटमा तन्ना मात्र ओछ्याएर सुत्नु भएको। एक मात्र तकिया तपाईंहरूबीच खोसाखोस भएको अहिले झलझली आँखा अगाडि आँउछ।
उहिले कार्यकर्ताहरूले आफ्नो नेताहरूलाई घरमा जे जति छ त्यसमा नै प्रबन्ध गर्ने गर्थे। अहिले भने पार्टीमा कार्यकर्ताहरू व्यापारी छन् , ठेकेदार छन्। त्यही भएर उहाँहरू पर्टी नेताहरूलाई होटलमै व्यवस्था मिलाउनु हुन्छ।
अनि तपाईंलाई याद छ अछामको एउटा घटना? तपाईं दिनभरि पार्टी विस्तारमा पहाड, डाँडाकाँडा हिँडेर बेलुकापख खाना खाने जोहो गर्दै गर्दा एउटा पसलमा दाल-चामल किन्न खोज्दा पसलेले कम्युनिष्टलाई सामान नबेच्ने भनेर भोकै सुत्नु परेको!
तपाईंलाई मेरा साथी समकक्षीहरूको अवस्था कस्तो छ भन्ने पनि जिज्ञासा पक्कै होला। सबै जनाको राम्रै अवस्था छ। कति जना प्रधानमन्त्री नै भैसके, कति जना धेरैपटक मन्त्री भैसके, अहिले त सबै जनाको भेट पनि बाक्लै नै छ। किनभने सबै जानाको काठमाडौँमा नै घरजम छ।
फेरि तपाईंले जस्तो पहिले साइकलमा हिँड्नु पर्ने पनि बाध्यता छैन। सबैजनासँग मोटरगाडी छन्, सबैजनाका छोराछोरी डाक्टर-इन्जिनियर छन्। सबैको राम्रै छ। तपाईं हुँदा तपाईंले नचिनेकाहरू पनि थुप्रै तपाईंको पार्टीमा आएका छन्। झन् उहाँहरूको अवस्था त पूराना तपाईंका साथीहरूभन्दा पनि धेरै राम्रो छ।
अनि तपाईंलाई फोटोमा मात्र देखेको तर तपाईंको विचारका प्रखर सर्मथक विद्यार्थीहरूको अवस्था पनि राम्रै छ। गाडी-बंगला त केही होइन, उहाँहरूको त स्कुल र कलेजमा पनि राम्रै लगानी र शेयर छ। तपाईंले चिन्ता लिनु पर्दैन। सबै साथीभाइहरू र तपाईंका विचारलाई सर्वोपरि भन्ने सबैजानाको राम्रै व्यवस्था छ।
तर म अहिले वरिष्ठ चिकित्सक भइसक्दा पनि कसैको सहायता बिना घर गाडी जम्मा गर्न सक्छु भनी आत्मविश्वासका साथ भन्न सक्दिनँ। लाग्दैछ म पनि काठमाडौँमा आलिशान महल-गाडी जोड्न पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेर नेतृत्व नहत्याइकन सम्भव छैन।
खैर! यी सबै त मनका तीतामीठा पोख्नका लागि बगेका व्यंग्यगाथा मात्र न भए।
तीन दशकअघिको त्यो त्रासदीपूर्ण घटना नघटेको भए अनि मेरा आदर्श ‘मदन’ अझै पनि भौतिक रुपमा हामीमाझ भई रहेको भए सायद म पनि मेरो पार्टीमा गर्वकासाथ आवद्ध भइरहन सक्ने थिएँ होला कि?
अनि आफ्नो क्षेत्रामा क्षमता हासिल गरेको, विभिन्न सिप सिकेका, आफू र आफ्नो परिवारलाई अझ केही गर्न बाँकी नरहेका, देशको खस्कँदो अवस्था र विश्व परिवेशमा खस्कँदो आत्मसम्मानप्रति चिन्तित र देशको लागि थोरै केही गरुँ भन्ने मनसाय भएका देश र देश बाहिर रहेका देशभक्त नेपालीलाई एकीकृत गरी पार्टी र देश बनाउन आह्वान गर्नुहुन्थ्यो कि?
फेरि अहिलेको परिवेशमा पूर्णकालीन राजनीति गर्नु कत्तिको आवश्यक छ भन्ने पनि हो। २००७ सालतिर राणा शासन र पञ्चायती व्यवस्थासँग लड्नुपर्ने बेला पूर्णकालिन राजनीतिज्ञहरूको खाँचो थियो होला, आजको एक्काइसौँ शताब्दीमा पूर्णकालीन राजनीति गर्ने सानो उमेरबाट नै जीवनभर राजनीति गर्नुपर्ने छ जस्तो लाग्दैन।
आफ्नो शीक्षा दीक्षा, आय, आर्जन घर-परिवारको आवश्यक्ता पूरा गरिसकेपछि मात्र केही निस्वार्थ भावनाले समाज र देशलाई केही समय दिन्छु भन्नेले मात्र राजनीतिमा लाग्नुपर्छ जस्तो लाग्छ।
त्यही भएर अब पार्टीहरूले आफू बन्न होइन, देश बनाउन खोज्ने असल र दक्ष मान्छेलाई राजनीतिमा आउन वातावरण बनाउने हो कि या फेरि विद्यार्थी कालदेखि नै ढुङ्गा-मुडा हानेको नै चाहिने हो? यस विश्व परिस्थितिमा समाजलाई बुझ्नसक्ने, सिप, ज्ञान भएको विश्वका नेतासामु उभिन सक्ने एउटा वौद्धिक समाजलाई राजनीतिक पार्टीहरूमा अवसर प्रदान गर्ने हो।
तसर्थ आजको यो आदर्श सिद्धान्त विकृत भएको समयको संघारमा प्रिय मदन कमरेड, यहाँको के सुझाव रहनेछ होला?
के म आजको पार्टीमा पूर्णकालीन राजनीतिक कार्यकर्ता बनौं?
या त, यहाँको त्यो आदर्शलाई जीवित नै राखेर आफ्नै कार्यक्षेत्रमा अनवरत लागि नै रहौँ?
सपना नै सही, यहाँको प्रत्युत्तरको कामनासहित,
उही
डा. दीपक कुँवर।