साँझतिर किनमेल गरेर फर्कने बेला छोरीहरूले स्टारबक्स जाउँ न भन्न थालेपछि गाडी त्यतै मोडें। सडक अलि व्यस्त थियो, गाडीको चापले। मौसम राम्रो थियो।
राम्रो मौसम भएको बेला प्रायः मानिसहरू बाहिर निस्कन्छन्। त्यही भएर होला, पार्किङ लट नछिर्दै ड्राइभ-थ्रुको लागि गाडीहरूको लामो लाइन थियो। करिब १५-२० मिनेट जति कुरेपछि हाम्रो पालो आयो।
‘हाई, वेलकम टु स्टारबक्स। ह्वाट क्यान आई गेट यु टुडे?’ म ड्राइभ-थ्रु मा अर्डर गर्ने बुथ नजिक पुगिसकेपछि भित्रबाट अर्डर लिनेले सोध्यो।
‘वान स्मल चाय टि लाट्टे, हट। टु स्मल स्ट्रबेरी फ्रापचिनोज, प्लिज,’ मैले भनें।
‘एन्ड योर नेम अन द अर्डर, सर?’
आजसम्म ड्राइभ-थ्रुमा नाम सोधेको थाहा थिएन। आज अलि भिड भएर होला सोधेको भन्ने लाग्यो।
‘नरेश- एन-ए-आर-ई-एस-एच,’ मैले स्पेलिङसहित भनें।
धेरैले नाम मात्र भन्दा बुझ्दैनन्, त्यसैले स्पेलिङसहित भन्ने गर्छु प्राय:। उसले दोहोर्याएर सोधेन, बुझ्यो होला भन्ने लाग्यो।
‘ओके, योर टोटल इज १४.६४, एट द नेक्स्ट विन्डो प्लिज!’ भित्रबाट उसले भन्यो।
मैले ‘थ्यान्क यू!’ भन्दै गाडी अगाडि बढाएँ।
प्राय: शनिबार वा आइतबार कतै बाहिर निस्केका बेला स्टारबक्स जाउँ भन्छन् छोरीहरू। त्यहाँको फ्रापचिनो, पिंक ड्रिन्क, ड्रागन ड्रिन्क मन पर्छ उनीहरूलाई। आज फ्रापचिनोको पालो थियो। म भने सधैं चाय टी लाट्टे अर्डर गर्नेगर्छु।
गाडी अलि अगाडि बढाएर सिसा बन्द गर्दै थिएँ, प्रणभीले पछाडिबाट ब्यंग गरेजस्तो गर्दै भनी- ‘आई नो, दे विल गेट योर नेम रङ अगेन!’
नारेस, नरीश, नेरिश, नेरेश- प्राय: मानिसहरूले मेरो नाम उच्चारण गर्दा यी नै चार वटामध्ये एउटा गर्छन्। थोरैले मात्र नरेश उच्चारण गर्छन्। भण्डारी त कसैले सही उच्चारण गर्नै सक्दैनन्। यस्तो प्रायः हुनेगर्छ।
एक त यिनीहरूलाई हाम्रो नाम भन्न यसै गाह्रो, त्यसमाथि आफ्नो अंग्रेजी बोलाइ नेपाली पाराको। धेरैजसोले एउटा भन्यो, अर्कै सुन्छन्। त्यसैले नाम भन्नुपर्ने ठाउँमा मैले प्रायः स्पेल्लिङसहित भन्ने गर्छु। तर पनि कतिपयले ठ्याक्कै नरेश भनेर उच्चारण गर्नै सक्दैनन्। यस्ता केही प्रसंग छन्।
कलेजको पहिलो दिन नयाँ आउने विद्यार्थीहरूको लागि स्वागत तथा ओरिएन्टेसन कार्यक्रम राखिएको थियो। ओरिएन्टेसनको अन्त्यतिर विभागीय प्रमुख जुलीले हाजिरी लिँदा ‘नरीस बहन्डेरी’ भन्दै मतिर हेरिन्।
मैले सच्याउँदै ‘इट्स नरेश भण्डारी’ भनें।
‘ओह, आएम सरी,’ भनेर उनले फेरि नाम भनिन्।
नरेश भनेको त मिल्यो तर भण्डारी भन्दा अझै अकमकिएर जस्तो गरेर ‘बन्डरी’ भयो। त्यसपछि उनले अरुको नाम लिन थालिन्। दुई जना दक्षिण भारत तिरका थिए, उनीहरूको नाम लिँदा पनि त्यस्तै अकमकिएकी थिइन् उनी।
एकदिन कलेजबाट फर्केर घर पुग्नासाथ एउटा फोन आयो। मैले हेल्लो भनेपछि उताबाट ‘मे आई स्पिक टु नेरीश?’ भनेर सोध्यो। पढाइ सकिनुभन्दा तीन महिना अगाडि नै यहाँको हेल्थ डिपार्टमेन्टमा ‘डाटा एनालिस्ट’ पदको लागि निवेदन दिएको थिएँ। सोहि पदमा अन्तरवार्ताको समय मिलाउन फोन गरेको रहेछ।
मैले म नै हुँ तर नेरीश होइन, नरेश हो भनेपछि उसले ‘आई अपोलोजाइज’ भन्दै अर्को पटक सही उच्चारण गरेको थियो।
अरुले मात्र होइन, म आफैले पनि अरुको नाम सही उच्चारण नगरेका केही प्रसंग छन्।
ढोकाबाट छिर्ने बित्तिकै हल्का मुस्कानसहित रिसेप्सनमा बसेकी युवतीले ‘हाउ क्यान आई हेल्प यु?’ भनेर सोधेपछि मैले भनें- ‘आई एम हियर टु सी प्याट्रिस।’
एउटा प्रोजेक्टको डाटा सम्बन्धी केही काम गर्नुपर्ने भएकोले भेट्न गएको थिएँ। सुपरभाइजरको आग्रहमा मलाई दिइएको भिजिटिङ कार्डमा ‘Patrice Greenwalt’ लेखिएको थियो। ऊसँग मेरो पहिले भेट या कुराकानी भएको थिएन।
रिसेप्सनिस्टले मतिर हेरी र प्रश्नवाचक लवजमा भनी- ‘प्याट्रिस?’
‘प्याट्रिस ग्रीनवल्ट!’ सुपरभाइजरले दिएको भिजिटिङ कार्ड देखाउँदै मैले पूरा नाम भनें।
‘ओह, यु मिन पट्रीइस?’ कार्ड हेर्दै उसले अलि सच्चाएको लवजमा भनी।
मैले एस भनें। नाम सही उच्चाहरण गरेनछु भन्ने मैले बुझिहालें। पट्रीइस भन्नुपर्ने रहेछ, प्याट्रिस भनेछु।
सुरुमा यता आउँदा मैले काम गर्ने ठाउँमा सँगै काम गर्ने एकजना गोरो-गोरो केटो थियो। उसले लगाउने ब्याजमा ‘Jose’ लेखिएको हुन्थ्यो। कहिलेकाहीँ भेट्दा हात उठाएर ‘हाई, जोज’ भन्थें मैले। ऊ अलि कान कम सुन्ने भएकोले होला, हात उठाएर हाई गरेको संकेत त दिन्थ्यो तर मुखले खासै फर्काउँदैनथ्यो।
म्यानेजर एकजना नेपाली थिए। एकपटक म्यानेजरले ‘भाइ, गएर होजेलाई लन्च ब्रेकमा जान पालो देऊ न आज’ भनेर अह्राए। तर मैले ‘को होजे? म त चिन्दिनँ होजेलाई’ भनेपछि उनले सँगै लिएर गए र त्यही जोजलाई देखाउँदै ‘ऊ नै जो होजे’ भनेर चिनाए।
त्यसपछि बल्ल थाहा भयो जसलाई मैले जोज भनिरहेको थिएँ, उसको नाम त होजे पो रहेछ। ऊ स्पेनिस रहेछ। स्पेनिसमा ‘जे’ को उच्चारण ‘ह’ हुने रहेछ।
कतिले नाम लिनभन्दा पहिले नै तेरो नामको सही उच्चारण के हो भनेर सोध्छन्। कतिले गलत उच्चारण गर्छन् अनि ‘सरी, इफ आई मिसप्रोनाउन्स्ड योर नेम’ भनेर माफी पनि मागिहाल्छन्।
***
लाइन विस्तारै अगाडि बढिरहेको थियो। एकछिनपछि हाम्रो पालो आउँदा अर्डर तयार भैसकेको थियो। क्रेडिट कार्डले लागेको तिरें। पहिला फ्रापचिनो लिएर छोरीहरूलाई दिएँ अनि मेरो अर्डर लिएर कप होल्डरमा राखें अनि गाडी अगाडि बढाएँ।
ड्राइभ-थ्रुबाट बाहिर निस्कँदै गर्दा पछाडिबाट प्रणभीले भनी- ‘दे स्पेल्ड योर नेम रङ्ग, बाबा! सी, आई टोल्ड यु! हा हा!!!’
‘हो र? के लेखेछन्?’
‘नायस- एन-ए-आई-इ-एस-एस’ उसले हाँस्दै स्पेलिङसहित भनी। सँगै बसेकी परिधी पनि गलल्ल हाँसी र फेरि आफ्नो ड्रिन्क पिउन थाली।
आर हुनुपर्नेमा आई र एच हुनुपर्नेमा एस भएछ।
‘दे अल्वेज गेट योर नेम रङ्ग’ प्रणभीले फेरि भनी।
त्यही त भन्या, नामै फेर्नुपर्छ क्या हो बरु? माइक, ज्याक, जन यस्तै कुनै सजिलो नाम राखौं त?’ मैले हल्का ठत्यौली पारामा भनें।
मलाई सम्झाए जस्तो गर्दै प्रणभीले फेरि भनी- ‘नो, योर नेम इज गूड, दे आर जस्ट नट युज्ड टु आवर काइन्ड आफ नेम्स। इभन माइ टिचर्स गेट माई नेम रङ, समटाइम्स। नाव आई एम युज्ड टु ईट।’
उसको कुरा पनि ठिकै थियो। उनीहरूले जसरी सुने बुझे पनि, जे भने पनि म ‘म’ नै त हुँ। अनि सेक्स्पियरले ‘ह्वाट्स इन अ नेम?’ भनेको सम्झिँदै गाडी घरतिर जाने सडकतर्फ मोडें।