‘अब सिङ आउँदैन, जुरो आउँदैन। उमेर पुगिसक्यो बिहे गर्नुपर्छ अब त!’
सुन्न चाहे पनि नचाहे पनि अचेल कानमा परिराख्ने कुरा।
कसैको बिहेमा जन्ती गयो, अब त तेरो पनि बेला भयो नि भन्ने सुन्न परिहाल्छ। यसो फेसबुकमा कोट लगाएको झिल्के फोटो अप्लोड गर्यो, ल अब दुलाहा बन्ने बेला भएछ है भन्ने खालको कमेन्ट आउँछ।
धेरैपछि भेटिएका आफन्ती भन्छन्- 'ओहो! पहिले त सानै थियो, अहिले त बिहे गर्ने भैसकेछ बाबु त।'
सबैले बेला भयो भनेको सुन्दा आखिर बेला कहिले हो त भनेर यसो घोतलिँदै थिएँ, बाटोमा 'बिहेवारी २० वर्ष पारि' भनेर लेखेको बोर्ड पो देखिन्छ। ३० वर्ष पुग्न दुई वर्ष बाँकी भएकालाई २० वर्ष लेखेको देख्दा त बेला हैन अबेला नै भएको हो कि क्या हो जस्तो पनि लाग्दो रहेछ।
बिहेको कुरा सपनामा पनि नदेख्ने मान्छेले विस्तारै आफ्नो शब्दकोषमा बिहे भन्ने चिज छिराएँ। ल अब १/२ वर्षमा चाहिँ गर्नुपर्छ भन्ने लाग्यो तर कसरी कोसँग गर्ने त? प्रेम विवाह गर्ने कि मागी विवाह?
फेरि गाउँतिर सुनिन थाल्छ, अचेल त केटी मागेर पाइन छोड्यो। केटी आफैं खोज्न पर्छ।’
अब केटी खोज्ने खुबी चाहिँ कहाँ खोज्न जानु? सजिलो त्यही फेसबुकमा खोज्ने त होला नि, बाटोमा भेटेकोलाई आँखा झिम्क्याउन पनि त मिलेन नि।
हेर्दा पावरवाला चस्मा लगाउने, पढ्ने, गम्भीर जस्तो देखिए पनि रमाइला गफ त नआउने हैन नि! मेसेन्जरले हरियो देखाएकाहरूसँग मेसो पर्दा यसो कुरा अगाडि बढाउन खोज्छु अनि फेरि सोच्छु- कहाँ यसरी हुन्छ, जबर्जस्ती मनपराउन खोजेर पनि हुन्छ त? जिस्किएर पनि हुन्छ? माया त मन बाटै आउने हो नि? अलि गम्भीरतापूर्वक लिनुपर्छ यो कुरालाई!
गम्भीर हुन खोजेर मोबाइल चलाउँदै थिएँ, ‘युवतीले कस्ता केटा मनपराउँछन् त?’ भन्ने लेख टाइमलाइनमा टुप्लुक्क आइपुग्यो। यस्सो लिंक खोलेर पढें, फन्नी टाइपका केटाहरू मनपराउँछन् भन्ने देख्छु।
एकैछिन अगाडिको गम्भीर हुने निष्कर्षलाई छोडेर अलि फन्नी टोपलिनुपर्छ भन्ने लाग्यो। यसरी बोल्न खोज्दा फेरि फ्लर्टी-बोई, प्ले-बोई के-के भइँदो रहेछ।
ए यार! २८ लागिसक्दा पनि एकजना भेटिएको छैन, यस्तो शंका गरेको देख्दा त समर ब्ल्याङकेटले मुख छोपेर रुन खोज्छु। तराईको गर्मीमा चलाइएको ७ को स्पिडको पंखाले ब्ल्याङ्केट उडाउन खोज्छ, यसरी हरेस खाएर हुँदैन फन्नी टोपलिने फर्मुलाले काम नगरेको हो, अब अलि व्यवहारिक गफ रमाइलो तरिकाले गरेर इम्प्रेस्ड पार्नुपर्छ भन्ने लाग्यो।
कुरा कताबाट सुरु गर्नु? पढाइबाटै सुरु गर्नुपर्यो भन्ने लाग्छ। फेरि ब्याक-पेपर कति छन् भन्दा एक हातले देखाउन नमिलेर दश औंला जोडेर सिधैं नमस्ते गर्नुपर्ने अवस्था छ। मैले पढाइको कुरा गर्न खोज्नु नि बेकार नै थियो।
स्नातकमा झुत्ती खेलेकालाई स्नातकोत्तर भेटिएपछि सुरुमै आफूले आफैंले रिजेक्ट हान्नुपर्ने हुने! बच्चैदेखि लभ पर्या भए पो पढाइलाई कम्प्रमाइज गर्थे होलान्, अब खोज्नेले त शैक्षिक योग्यतालाई हेर्छन भन्ने लागेर पछाडि हटियो। १० कक्षासम्म पायल चप्पल पड्काएर स्कुल ओहोरदोहोर गरेको मान्छेले मन्टेश्वरीमा लिन छोड्न जाने गरी पढेकासँग कुरा गर्ने आँट कसरी गर्नु?
पहिलो गफमै पिटिई/आइएलटिएस गर्दैछु भन्नेसँग त झन् तर्सिहालिने! कतै डिभी परिहालेर विदेश भासिहालिन्छ कि भनेर कहिल्यै भरिएन। आइएलटिएसको मिति गुज्रेको सर्टिफिकेट पनि कहाँ फालिसकियो। आँधिखोला तिर मिल्क्याएको भए बरु त्यो चाहिँ बग्दै विदेश पुग्यो होला, आफू यतै छु।
देशप्रतिको अगाध माया त नभनौं किनकि नपत्याउने कुरा के गर्नु? एक किसिमको मनभित्रको पागलपनले देश छोड्न मन लाग्दैन।
श्रीमतीले टारीको बरको चौतारी दाहिने घुमेर गैरी खेतसम्म खांग्रे डोकोमा मल पुराओस् भन्ने अपेक्षा पनि त छैन नि। तर नेपालमा माटो त घुलनशील भेटिसक्यो, केटीले म अलि एन्टिसोसियल छु है भन्ने बित्तिकै कुरामा पूर्णबिराम लाग्ने नै भयो।
धनसम्पत्तिको असीमित मोह भएको समाजमा सम्पत्तिको फूर्तिले नि काम गर्न सक्थ्यो होला तर के गर्नु? दालभात खान पुग्ने नोकरी लाखु नाच्ने वनको बीचमा घरबाहेक केही छैन।
अब तराईमा ३ बिघा जग्गा छ, पोखरामा दुई वटा घडेरी छ भनेर भन्नलाई त्यही कसैको फोन आउँदा उठाउन मन नलागेर साइलेन्टमा थियो भन्ने बाहेक अरु कुरामा झुट बोल्ने बानी पनि खासै परेन।
रुपै हेरे पनि कहाँ उतिसारो गतिलो छ र? हेर्दा मान्छेको इमान्दारी देखिँदैन। फेरि फेसबुकमा आदर्श छाट्दैमा आफू इमान्दार छु भन्ने पनि त कहाँ छ र? आफैंभित्र यत्रो विरोधाभाष छ, अरुले के बुझुन खै!
धेरै सोचेर पो हो कि भन्दै फेरि सोच्यो, जिन्दगी काट्ने कुरा हो नि सोच्न त परिहाल्यो नि। उतिखेरै मनले चित्त बुझाउँछ। मनभित्रको अन्तर्द्वन्द्वले मान्छेको लक्ष्य, उदेश्य उसको पृष्ठभूमि र स्वभाव मिल्दोजुल्दो भए मात्रै सम्बन्धले सार्थकता पाउँछ भन्ने निष्कर्ष निकाल्यो।
आफू जस्तो छु त्यस्तै भएर प्रस्तुत हुनुपर्छ। यो नै उत्तम फर्मुला हो पक्कै, काम गर्छ भन्ने सोच्न थालियो। साझा मनोविज्ञान भएका नभेटिएका होइनन् तर आफूले फर्मुला प्रयोग नगर्दै उता अर्कोले हिसाब हल गरिसकेर पास भैसकेको हुने रहेछ।
साइन्टिफिक क्याल्कुलेटरभन्दा पनि छिटा मान्छे भएको दुनियाँमा औंलाले हिसाब गर्न खोज्ने म पछि पर्ने नै भएँ। लभ पार्ने जुक्ती फुरेन कि संयोग जुरेन, खै लभ परेन! वर्षौंदेखि चलिआएको मागी विवाहको भर नै छैन त भनिएन तर रहर चाहिँ छैन।