जीवनको यात्रा त्यति सरल र बस्नतमय नहुँदो रहेछ। जीवनका अनेकन यात्राहरू सदैव कहाँ पो अविरल रूपमा गतिशील हुँदा रहेछन् र?
धेरै आरोह अवरोह, चुनौती,समस्या,अप्ठ्याराहरूको सामना गर्नुपर्ने हुन्छ। मेरो जिन्दगी पनि यो यात्राको एक अर्थपूर्ण उदाहरण बन्न पुगेको छ।
हुन त आखिर यात्रा न हो जिन्दगी कुन मोडमा ठोकिन्छ पत्तै हुन्न। फरक यति हो जिन्दगीको यात्रा कसैको सहजपूर्ण हुन्छ त कसैको सकसपूर्ण।
स्वयर कल्पनाको कवि जसरी सोच्दासोच्दै जिन्दगीमा गरौंला, त्यो गरौंला, उसलाई आफ्नो बनाउला, खुसी दिउला भन्दाभन्दै जिन्दगीमा पूर्णविराम लागेको पत्तै नहुँदो रहेछ।
सबै इच्छा र आकांक्षा पूरा गर्न कठिन हुँदो रहेछ। कुनैदिन म पनि कसैका लागि बाँचेको थिएँ। मेरा लागि पनि कोही बाँचेको थियो। मेरो खल्ती रित्तिँदा उसको माया र करूणाले मेरो खल्ती भरिएको थियो।
म बजारका बहुमूल्य सामग्री निस्फिक्रीका साथ किन्न सक्थें तर आज म आफ्नै साधारण जीवन चलाउन पनि नसक्ने भएको छु।
आज म काम नलाग्ने वस्तु जस्तै कुनै गोदाममा थन्किएको छु। छोडेर जानेहरूलाई के थाहा माया गर्नेहरूको पीडा। मरेर जानेहरूलाई के थाहा उसको यादमा बाँच्नेहरूको पीडा।
हुन त जन्ती जानेलाई थाहा हुँदैन मलामी जानेको पीडा। मलामी जानेलाई थाहा हुँदैन जन्ती जानुको खुसी।
कुरा धेरै पहिलेको थिएन केही हप्ता अघिको मात्रै थियो। जो अहिले आलो घाउ बनेर पोल्दै छ। म उच्च शिक्षा सकेर स्नातक तह अध्ययन गर्न काठमाडौं आएको थिएँ। म परिवारको एक्लो छोरो थिएँ। परिवारको जिम्मेवारी मेरो काँधमा थियो। जीवनलाई गहनरूपमा अनुभव गर्ने दिग्गजहरू जीवनलाई सादा कागजको रूपमा लिन्छन्। तिनै सादा कागजलाई आफूले जिन्दगीमा देखेका अनेकन रंगीन सपनाहरूले सुसज्जित गरी एउटा गतिलो आकार दिने आशमा घरका निर्गतिला खाबा सम्झी म सहरको भिडभाडमा लगभग त्यहाँको जनसंख्याभन्दा बढी संवेदनशील भावनाहरू बोकेर सहर पसें।
हजारौं सपना संगालेर कलेज जीवनको मीठो यात्राको आरम्भ गरेको दिन मलाई अझै याद छ। सबै जना विद्यार्थीहरू कोही पनि कसैसँग नबोली चुपचाप बसी रहेका थियौं। एकैछिनमा एक जना सर आउनु भयो। त्यसपछि झन् वातावरण शान्त बन्यो। सरले पालैपालो साथीहरूको नाम, ठेगाना सोध्नुभयो।
सुन्दर अनुहार, मिलेका आखीभौ, लालुपाते ओठ भएकी एउटी कथाकी परी जस्तै युवती मुस्कुराउँदै भन्छे नाम सबिना उपाध्याय, ठेगाना भैरवा।
कहिले पनि नसुनेको नाम थियो, कहिले नदेखिएको अनुहार थियो। थुप्रै नौला अनुहार बोकेका साथीहरू थिए। कसैमाथि ध्यान गएन तर सबिनामा मात्रै यो मन मस्तिष्क गैरहेको थियो।
खै कसरी ऊ मेरो मनको एक कुनामा डेरा बनाएर बसी मलाई पत्तै भएन। पहिलै नजरमै उसले मेरो मुटु चोरेर लगेकी थिई। प्रत्येक दिन मलाई उसलाई भेट्ने हतारो हुन्थ्यो।
उसलाई देख्ने बित्तिकै संसारकै सबभन्दा बढी खुसी भएको अनुभव हुन्थ्यो। साथीहरूलाई सबिना मलाई मन परेकी छे भनेर सुनाउँदा अझ रमाइलो लाग्थ्यो, दिनहरू बित्दै थिए। सबिनासँग फेसबुकमा पनि जोडिन पुगें।
सबिनासँग म दैनिक कुरा गर्न थालें। एकदिन पनि कुरा गर्न छुट्यो भने खाना खान मन लाग्दैन थियो। हालको बेहाल हुन्थ्यो। केही बहुमूल्य सामग्री हरायोजस्तो कस्तो कस्तो हुन्थ्यो। साथीहरूले पनि मलाई सक्दो साथ दिँदै थिए।
एकदिन एकाबिहानै भगवानले पनि किन हो त्यो दिन सुनौलो उपहार दिनुभयो। सबिनाले म्यासेजमा भनेकी थिई, ‘ डिएर पागल हजुर मेरा लागि सधैं पागल हुनुहुन्छ रे अबबाट मेरा लागि मरिहत्ते नगर्नु तर जिन्दगीभर साथ दिनु मैले आजबाट मेरो मुटु सधैंका लागि हजुरलाई सुम्पिएकी छु। हजुरकी प्यारी सबिना’
यतिपढिसकेपछि मुटुको आयातन झन् जोरले बढ्न थाल्यो। त्यहीँ दिन थियो होला म जिन्दगीको सबैभन्दा बढी खुसी भएको दिन।
समय आफ्नो नियमित सुत्रमा परिवर्तन हुँदै थियो, समय बदलिँदै थियो। हाम्रो कलेज जीवनमा पनि पूर्णविराम लाग्यो। अब मेरो सोचाइ भनेको उसंग विवाह गरेर सुन्दर जीवन जिउनु थियो। ऊ पनि मलाई पाएकोमा सारै खुसी थिई र म पनि खुसी नै थिए।
भनिन्छ धेरै प्रेम गर्यो भने दैवको पनि आँखा लाग्छ रे! त्यसैले होला सायद हामी बीचको प्रेमले यस कुरालाई न्याय गर्यो र हामी दुईलाई अन्याय।
एकदिन उसले मेरो अगाडि रूँदै असहज कुरा व्यक्त गरी।
परिवारलाई हाम्रो बारेमा भनेको तर परिवारका कुनै सदस्यले पनि चासो नदेखाएको र यसलाई गम्भीरतापूर्वक नलिएको कुरा पोखी। हजुरसँग विवाह गरे भने मलाई पछि दु:ख हुन्छ रे। त्यसकारणले हाम्रो विवाह नगरी दिने भए। मलाई त अमेरिका पठाइदिने रे। उतैको ग्रीन कार्ड भएको केटासँग विवाह गरिदिनु हुन्छ। उसले यति कुरा भने पछि मलाई यो धर्ती भासिएजस्तो लाग्यो। त्यतिका समय खर्चिएर, विश्वास र प्रेमले बनाएको धरहरा उसको परिवारको असहमतिको कम्पनले एकछिनमै भग्नावषेश अवस्थामा पाएँ।
यो संसार नै तहसनहस भएकोजस्तो लाग्यो। आँखाका डिलमा आसु थामिन सकेनन् र मेरो गालालाई शितल पार्दै चिउडो तल बाटो बिराएर भुइँमा खसे। मलाई उसँग कुनै प्रश्न थिएन।
मैले यति मात्र भनें, ‘तिमीले मलाई छोड्न सक्छौ?’
उसले लामो सास तान्दै भनी, ‘छोड्न त मलाई पनि कहाँ रहर थियो र? यो सब समयले गर्दो रहेछ। यो जिन्दगी परिवन्द रहेछ अरूको परिधीभित्र बाधिनुपर्ने।’ मैले थप कुरा यति मात्र भनें, ‘तिमीलाई मेरो जिन्दगीबाट गएर खुसी मिल्छ भने जाँदा हुन्छ मेरो शुभकामना छ। तिमी जानु मबाट धेरै धेरै टाढा यो टाढा भन्ने कहिले नजिक नआओस्।’
कुनैदिन हामी एउटै नदीजस्तै थियौं। आज त्यही नदीको वारि र पारिको किनार भएका छौं। जो कहिल्यै एक हुन सक्दैन। सायद प्रेम भनेको यस्तै हुँदो रहेछ। हुन त प्रेम गरेर विवाह नै गर्नुपर्छ हुँदैन। कृष्णको पनि राधासँग कहाँ पो विवाह भएको थियो र!
विवाह गर्नका लागिमात्र प्रेम गरिँदैन प्रेम त आत्मा सन्तुष्टिका लागि गरिन्छ। त्यो ठाउँबाट म आफ्नो कोठातिर फर्किएँ सधैं झिलीमिली लाग्ने सहर आज अन्धकारमय लाग्न थाल्यो।
घर छोड्दा बारीको तल्लो कान्लाबाट फर्किएर हेर्दा निर्गतिला खाबा देखेको थिएँ। त्यस्तै आज सहरको पढाइ सकेर घर जाने क्रममा आफूलाई त्यही निर्गतिलो खाबाजस्तो पाएँ, जहाँ मेरा अनेकन सपनामा धमिरा लागि मन दुखी र जीवन कमजोर भएको थियो।
-