इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडिभी)को नतिजा भर्खरै सार्वजनिक भएको छ।
यस वर्ष अमेरिकाले तीन हजार आठ सय (३८००) जनाभन्दा बढी नेपाली छनोट गरेको छ।
के डिभी पर्नेबित्तिकै अमेरिका आइहालिन्छ त? त्यसो होइन अझै धेरै प्रक्रिया, कागजात र स्वास्थ चेकजाँचमा सफल भएपछि मात्रै भिसा लाग्ने छ।
प्राय: जसोको प्रश्न र मनमा लागेको कुरा अब अमेरिका गइहालिन्छ, नेपाली नागरिकता प्रमाणपत्र त्याग्नुपर्छ अमेरिकामा सरकारले काम पनि लगाइ दिन्छ, घर पनि दिन्छ, भन्ने कुराको सामना गरेर अमेरिका आएको हुँ तर अमेरिकाले केही पनि कसैलाई दिँदैन बरू उल्टै भिसा र ग्रीनकार्डको पैसा हामीबाट लान्छ। प्लेन भाडा पनि आफैं तिर्नुपर्ने हुन्छ।
अमेरिकाले हामीलाई सहज रूपमा आउने र स्थायी बसोबासका लागि मात्रै अनुमति दिएको हो। त्यसैले यी यावत कुराहरूको पछि नलागेर सबैं आफैं गर्नुपर्छ।
अहिले आफूले जुन काम गरिरहनु भएको छ। त्यो नछाड्नुहोस् सबै प्रक्रिया मिलिहाल्छ, छिटोमा ६ महिना लाग्छ सुरूको केस नम्बर हुनेहरूको। नेपाली नागरिकता त्याग्नुपर्ने नियम र बाध्यता छैन। यदि आफूले अमेरिकी नागरिकता लिन चाहेमा अमेरिका प्रवेश गरेको ४ वर्ष ९ महिना पूरा गरेपछि सम्बन्धित विभागमा आवेदन दिन सकिन्छ।
नेपालमा जस्तो सजिलो र आफूले सिकेको जानेको काम पाइँदैन। शून्यबाट सुरू गर्नुपर्छ। नेपालमा जति ठूलो पद र जिम्मेवारीमा भए पनि यहाँको काम र जिम्मेवारीसँग अर्थ राख्दैन। आएर सुरूमा ९५ प्रतिशतले काम गर्ने भनेको ग्यास स्टेसन, पेट्रोल पम्प, ग्रोसरी स्टोर, सेभेन इलाभेन र विभिन्न रेस्टुरेन्टमा वेटर वा हेल्पर हो। सुरूमा देखाइ, भोगाइ र अनुभवको काम नै हुँदैन। भाषा जानिँदैन, जानेको अंग्रेजी पनि उच्चारण र भ्वाइस (स्वर) बुझिँदैन।
नेपाली शैक्षिक प्रमाणपत्रले काम गर्दैनन् गरेपनि एक लेवल तल्लो मान्यता पाइन्छ। पढ्नको लागि पैसा उत्तिकै महङ्गो लाग्छ। सिङ्गल आउनेले २/४ वर्ष पढ्छु कमाउला भन्न मिल्छ तर परिवारसहित आएकाले परिवार पाल्न र पढ्नको लागि पैसा जुटाउन एकदम मुस्किल पर्छ।
आफू पनि इडिभी लोटरीमार्फत् अमेरिका आएको हुनाले आफू र आफ्ना केही साथीहरूले भोगेका यथार्थ कुरा हजुरहरूसामु ल्याउन खोजेको छु ताकि यहाँ आउने जो कोहीले पनि म र मेरा साथीहरूले भोगेजस्तो समस्या भोग्न नपरोस् भनेर केही अनुभव साट्दैछु।
कुनैलाई इडिभी परिहाल्यो भन्दैमा आफूले गरिराखेको रोजगार, व्यवसाय, अध्ययन कुनै पनि नछोड्नुहोस्। जे गरिरहनु भएको छ सोसँगसँगै एउटा आफ्नो सबै सत्य व्यक्तिगत तथा पारिवारिक विवरण अनलाइनमार्फत् भर्नुपर्ने हुन्छ जुन फर्मको नाम हो डि.एस. २६०। यो फार्म आफैंले भर्न सक्नुहुन्छ। यो फर्म भर्नु भन्दा पहिला आवश्यक कागजातहरू जुटाउनुपर्ने हुन्छ।
ती हुन् इपासपोर्ट नभएको भए तुरून्त बनाउने, यदि तपाईं एकल वा अविवाहित हो भने आफ्नो नागरिकता, जन्मदर्ता, पासपोर्ट, राहदानी, जन्मदर्ता प्रमाणपत्र, शैक्षिक कागजात न्यूनतम प्लस टुको ट्रान्सक्रिप्ट प्रमाणपत्र, बाबु र आमाको नागरिकता प्रमाणपत्रहरू र ६ महिना म्याद भएको पुलिस रिपोर्ट र इडिभी परेको पहिलो लेटर जो डिभी भर्दा हालेको इमेलमा आएको हुन्छ र अमेरिका कुन स्टेटमा जाने हो। रिसिव गर्ने एक जना स्थायी बसोबासको अनुमति पाएको व्यक्ति (स्पोन्सर) को नाम, ठेगाना र फोन नम्बर। तथा विवाहित र परिवारसहित हो भने आफूहरू दुवै जनाको राहदानी, नागरिकता प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र, दुवै जनाको बावुआमाको नागरिकता प्रमाणपत्र र जसको नाममा इडिभी परेको हो। उसको कम्तीमा प्लस टुको प्रमाणपत्र र सेलेक्ट भएको पहिलो लेटरको कपी र बच्चाबच्ची पनि छन् भने १६ वर्ष भन्दा मुनिकाको हकमा नाबालक परिचयपत्र र राहदानी, १६ वर्षभन्दा माथि र २१ भन्दा कमका भए उनीहरूको नागरिकताको प्रमाणपत्र र राहदानी र पुलिस रिपोर्ट र स्पोन्सरको आवश्यकता पर्दछ।
माथिका कुनै पनि कागजात इडिभी पर्नुभन्दा पहिल्यै छन् भने ती कुनै नेपालीमा हुन सक्छन्। नेपालीमा भएको कागजातहरूलाई नोटरी पव्लिकको कार्यालयमा गएर अंग्रेजीमा ट्रान्सलेट गरेर प्रमाणित गराउनुपर्ने हुन्छ। यति गरिसकेपछि लगभग डि.एस.२६० फर्म भर्नको लागि कागजात पुग्नेछ। डि.एस.२६० फर्म भर्दा माथिका सबै कागजातहरू स्क्यान कपी पठाउनु पर्छ। माथिका सबै कागजात जुटेपछि फर्म जानेपछि आफैं र नि:शुल्क भर्न सकिन्छ आफूमा शंका लागे राम्रो र भरपर्दो कन्सल्टेन्सीबाट गर्दा पनि हुन्छ। आजभोलि च्याउजस्ता उम्रिएका कन्सल्टेन्सीले तपाईंहरूको कागजात दुरूपयोग पनि गर्न सक्छन् वा बार्गेनिङ गर्न सक्छन्। सबमिट गरेपछि पहिलो चरणको काम सकिने छ र दोस्रो लेटरको पर्खनु पर्ने हुन्छ।
दोस्रो लेटरको केस नम्बर र कति चाँडै डि.एस.२६० फर्म भर्नुभयो त्यसैको आधारमा आउने गर्छ। डि.एस.२६० फर्म जति सक्यो चाँडै भरेको राम्रो हुनेछ। सेकेन्ड लेटर आएपश्चात् उक्त लेटरको निर्देशन र दिएको नम्बरमा फोन गरेर स्वास्थ्य चेकको लागि मिति बुक गर्नुपर्छ।
स्वास्थ्य जाँचमा सफल भएपश्चात् मेडिकल रिपोर्ट र माथि उल्लेख गरिएका कागजातको ओरिजिनल कपी लगेर जानुपर्छ।
यसरी पनि फसाउन सक्छन्:
कुरा २०७८ सालको हो। म र मेरो साथी आफैंले डि.एस.२६० फर्म भर्न अलि आँट गरेनौँ किनभने धौ धौ पाएको अवसर फर्म भर्दा बिग्रियो भने के गर्ने, हामी दुवै जनाको कागजातमा सामान्य नाम र मिति फरक परेका थिए यस्तो समस्या जो प्राय:लाई परेको हुन्छ।
मेरोमा नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति फरक र जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्रहरू नेपालीमा थियो भने साथीको उसले विवाह ४ वर्ष अगाडि गरेर छोरी साथमा रहेको र विवाह दर्ता गरेको थिएन। हाम्रा कुरा विभिन्न कन्सल्टेन्सीलाई बतायौं। कुनैले ५० हजार कुनैले एक लाखसम्म पनि लाग्छ भने। एउटाले कतिसम्म भन्यो भने, मलाई शैक्षिक कागजात नक्कली भनेर रिजेक्ट पनि गर्न सक्छ र उहाँलाई डिभी भर्नेबेला एक्लै भर्नी अहिले श्रीमती छ बच्चा छ भनेर झूटो विवरण किन भरिस् भनेर उल्टै कारबाही गर्न र अमेरिकामा आजीवन प्रतिबन्ध लगाउन सक्छ भनेर कुरा सुनायो। ओहो होला त क्यारजस्तो पनि लाग्यो। अनि हामीले एकै स्वरमा भन्यौं 'के हुन्छ त समस्याको समाधान' भन्दा उसले 'अमेरिकन दूतावासमा मेरो साथी छ उसलाई केही पैसा बुझाएपछि मिलाउन सकिन्छ' भन्यो।
अर्कोले भन्यो, 'मेरो एक जना बहिनी छ। हजुर र त्यसको विवाह गरेर लगिदिनुहोस् बरू मन नलागे अमेरिका गएर डिभोर्स गरे भैहाल्छ जे जे खर्च लाग्छ जे जे कागजात आवश्यक पर्छ मिलाउछौं, खर्च पनि हामी व्यहोर्छौं भन्यो र सँगै स्पोन्सर छ कि छैन ? 'छैन' भनें सिंगलको स्पोन्सर गरेको ५लाख लाग्छ अनि दुई जनाको ८ लाख लाग्छ र अझै बढी परिवारको संख्या बढेपछि प्लस हुँदै जान्छ। हजुरहरूलाई चाहिने भए हामी खोजिदिन्छौं भन्यो।
लाग्यो सानो मिति मिस्टेकले अमेरिका जाने अवसर गुम्ने त होइन। दुवै तनावमा भयौं र डिभी परेर अमेरिका आएका धेरै जनाको अनुभव सरसल्लाह लियौं। प्राय:ले अनलाइन फर्म डि.एस.२६० भर्न जानेर पनि बिगारिहालिन्छ कि भनेर कन्सल्टेन्सी वा परामर्शदाता खोजेका रहेछन्। धेरै जनाको सुझाव अनुसार हामीले पनि कन्सल्टेन्सीमार्फत् गर्ने निधो गर्यौं र धेरै कन्सल्टेन्सीको कुरा र व्यवहार अनुसार मध्येको राम्रोलाई छान्यौं र उसैमार्फत् काम गरायौं।
हजुरहरू जो सुकैको डिभीसम्बन्धी चाहिने कागजात नेपालीमा भए अंग्रेजीमा ट्रान्सलेट गरेको पेज र शव्दअनुसार सामान्य पेजको प्रति पेज पाँच सय लाग्छ सो काम नोटरीबाट मात्रै प्रमाणित गरेकोलाई मान्यता दिन्छ, आफ्ना नेपालीमा भएका कागजातहरू लगेर आफैं नोटरी पव्लिकको कार्यालयमा गएर प्रमाणीकरण गर्न सकिने छ।
कन्सल्टेन्सी शुल्क ५ हजारदेखि १० हजारसम्म लाग्ने छ। त्यसबाहेक अन्य विषयवस्तु र शुल्कको विषयमा केही थप कुरा घुमाउन खोज्ने कन्सल्टेन्सीमाथि गलत सूचना दिँदैछ भन्ने बुझ्न जरूरी छ।
यदि डिभी लोटरी र आप्रवासीसम्बन्धीमात्रै धारको पत्रकारिता गर्ने नेपालीद्वारा अमेरिकाको न्युयोर्कबाट सञ्चालित अनलाइन पत्रिका खसोखाससँग पनि जोडिन सक्नुहुनेछ।