मानिसको आ-आफ्नो स्वभाव हुन्छ। स्वभावले म अन्तरमुखी, मेरा धेरै साथी हुँदैनन्। पहिलेदेखि नै ‘पहिला परिवार’ वाला स्वभाव।
म नेपालमा हुँदा पनि हातमा गन्न सकिने मात्र साथीहरू थिए, निकै आत्मीय प्रकारका। अमेरिकाको करिब १० वर्षे बसाइँमा केही बिग्रिएका, बिग्रिन खोजेका, कमजोर बनेका नेपाल सम्बन्धको याद आयो।
सुरू गर्छु अमेरिका बसाइँको पहिलो पाँच वर्षबाट। अमेरिका आएको दुई महिना नबित्दै एउटा प्यारो भाइले सम्पर्क नगरेको भनेर चित्त दुखाए। यो क्रम अरु केही साथीहरू र आफन्तहरूसम्म पुग्यो।
आफूलाई भने यता बस्ने र खाने कुराको टुंगो भइसकेको थिएन। उहाँहरूलाई चित्त दुख्न सुरु भैसकेको थियो, म ठूलो भएँ रे। अहिले पनि कोही-कोही राम्रोसँग बोल्न मन गर्नुहुन्न। यो मायाको अर्को रुप भनि सम्झेको छु।
विश्वविद्यालय भर्ना हुने निर्णय गरेका कारण सुरुका केही वर्षसम्म पैसा कमाउन सकिएन। कमाए जति क्याम्पसमा बुझाउँदै ठिक्क हुन्थ्यो। आफू अमेरिका भएर पनि घर-परिवारका सबै आवश्यकता र मनोकांक्षा पूरा गर्न सकिएन।
उता नेपालमा भने पैसा कमाएर उतै राखेको, नपठाएको, नहेरेको भनेर हल्ला चलिसकेको थियो। आफ्नै आत्मीय दाइसहित परिवारका केही सदस्यहरू रिसाउन थालिसक्नु भएको थियो।
त्यही समयको बीचमा एकजना आत्मीय मित्र अस्ट्रेलियाबाट अमेरिका घुम्न आउने कुरा गरे। मैले प्रोत्साहन स्वरुप अमेरिका आएपछि घुमफिर र रमाइलो गर्नुपर्छ भनें।
उनले अमेरिका आएपछि गर्ने सबै तालिका सुनाए। मेरो बोल्ने ठाउँ रहेन। म महँगो शुल्क ऋण गरेर कलेज गैरहेको थिएँ। बचत हुने कुरै भएन, समयले चेपिएको थिएँ।
मेरो कुरा सुनेपछि उनी रिसाए। गल्ती मेरो पनि थियो, त्योभन्दा बढी गल्ती समयको थियो।
अमेरिका आएको दोश्रो पाँच वर्ष
कलेजको पढाइ सकेपछि कम्पनीमा कम्प्युटर चलाउने काम पाइयो। विवाह गरियो, विस्तारै बुढी पनि काम गर्न थालिन्। जोईपोइको मेहनतले पैसा विस्तारै जम्मा हुन थाल्यो।
केही समयपछि परिवारका एक ठूला मान्छेबाट राम्रो क्यामराको माग गर्नुभयो। उपहारस्वरूप क्यामरा दिएँ तर उहाँले भनेजस्तो ब्रान्ड नभएर होला उहाँको मन खल्लो भएको देखिन्थ्यो।
केही समयपछि परिवारका एक ठूला मान्छेबाट (कोही असाधारण, विश्वसनीय, आदर्श तथा प्रतिभाशाली) एउटा राम्रो आइफोनको माग गर्नुभयो। उहाँले भनेको पूरा गर्न सकिनँ, अहिले उहाँ बोल्नु चाहनुहुन्न।
केही वर्ष आगाडि नेपालमा सँगै कोठामा बस्ने एकजना साथीले कुनै व्यवसाय गर्न सहयोग चहियो भन्यो। उसले भनेजति दिन नसके पनि धेरथोर पठाइदिएँ। केही वर्षपछि पैसाको कुरा गर्दा व्यापारमा घाटा भएकोले फिर्ता गर्न नसक्ने कुरा गर्यो। सम्बन्ध सकियो।
केही समयपछि फेरि अर्को एकजना साथीले कुनै कार्यको लागि पैसा आवश्यक परेको कुरा गर्यो। यसपटक पुरानो आनुभबाट पाठ सिकेर अहिले अलि गाह्रो छ मात्र के भनेको थिएँ आवश्यकतामा साथ नदिने मित्र के काम भन्दै फोन बन्द भयो। सम्बन्ध सकियो।
यो प्रक्रिया अरु केही चलिरहेछ।
केही वर्षपछि बुढाबुढीको सल्लाहअनुसार नेपालमा एउटा घर किन्ने निश्चित गरियो। अनलाइनमा बेच्न राखेको एउटा घर हेरेर सबै कुरा उचित लागेपछि आफ्नो परिवारभित्रैका कोही आफन्त (असाधारण, विश्वसनीय, आदर्श, प्रतिभाशाली तथा जान्नेसुन्ने मन्छे) लाई घर हेर्न पठाइन्छ। घर हेर्न मात्र पठाइयो, आफूलाई १५ लाख कमिसन मिल्नुपर्ने भनेको सुनेपछि सम्बन्ध सकियो।
सोचिरहेको छु, यस्तै पाराले अबको १० वर्षपछि नेपाल जाँदा कुन सम्बन्ध बाँकी रहला? फेरि सोचिरहेको छु, बाँचेका केही सम्बन्धहरू बचाउन चाहिँ के गर्नुपर्ला?
पैसा र सम्बन्धको कुरा। मलाई लाग्छ, पैसा एउटा भौतिक अस्थायी दौलत हो। सम्बन्ध एउटा अव्यक्त, चिरस्थायी, अभौतिक ‘अपनत्व र सामीप्यता’ सँग सम्बन्धित शब्द। तर पनि सम्बन्ध पैसाको अगाडि मूल्यहीन बन्दछ।
केही सम्बन्ध पैसा दिँदा कमजोर भयो, केही सम्बन्ध पैसा नदिँदा।
केही सम्बन्ध अरुलाई सहयोग गर्यो भन्दै दुब्लो भयो, केही आफूलाई सहयोग भएन भन्दै।
केही सम्बन्ध, सम्बन्ध बचाउनको लागि पैसा दिँदा टाढा भयो। केही सम्बन्ध बचाउन पैसा नदिँदा।
पैसा नहुँदा त सबै साथी साथमा थिए, आज पैसा हुँदा त्यही पैसा घाडो भयो।
यो समस्या मेरो मात्र नहुन सक्छ, धेरै लामो समयपछि नेपाल गएकाहरू पनि घर-परिवार, आफन्तसँग भन्दा पनि घुमफिरमा समय बिताएको देख्छु। अनि लाग्छ यो मेरो मात्र निजी समस्या हैन। यो हाम्रो साझा समस्या हो।
दुई दिनको जिन्दगानी कर्कलाको पानी। जिन्दगी के हो? जिन्दगीसग पैसाको कति सम्बन्ध छ? अनि जिन्दगी र सम्बन्धहरूको सम्बन्ध नि? कुन ठूलो? तरबार कि कलम?
धेरै साथीभाइहरू बनाउन नसक्ने म, भएकाहरू गुमाउनुपर्दा पनि दुःख लाग्छ। जुनसुकै बहानामा आफ्नी आमा, जननी, जन्मभूमिबाट टाढा हुनुहुन्न।
जननी जन्मभूमिसँगको सामीप्यतालाई कसरी मिलाएर लैजाने? परिवार, आफन्त, तथा साथीभाइसँग कसरी नजिक भइरहने? खोजीमै छु।
समय, पैसा र जवानी एकै ठाउँमा बस्न सक्दैनन् भन्ने सुनेको थिएँ। मलाई त समय, पैसा र सम्बन्ध एकै ठाउँमा बस्न सक्दैनन् जस्तो लग्न थालेको छ।
उता फेरि बुज्रुकहरू ‘जस्तो कर्म, उस्तै फल’ अथवा ‘जस्तो दृष्टि, उस्तै सृष्टि’ भनिहाल्छन्! म भने जस्तो दृष्टि, उस्तै सृष्टि अथवा जस्तो सृष्टि, उस्तै दृष्टि रणभुल्लमा नै छु।
त्यसो त जिन्दगीको यो उमेरसम्म आइपुग्दा जिन्दगीको बारेमा धेरै कुरा सुनियो, धेरै पढियो, अनुभव गरियो तर धेरै कुरा बुझ्न सकिएन।
जीवन, खुसी, सम्बन्ध र पैसाको खास अर्थ के हो? समय, पैसा र सम्बन्ध एकै ठाउँमा बस्न नसक्ने नै हो?