विश्वभरका रोजगारदाताहरूले कामदार पाउने ठाउँ भनेको विश्वविद्यालयबाट उत्पादित जनशक्ति नै हुन्। रोजगारदाता र विश्वविद्यालयहरूबीच राम्रो सम्बन्ध हुन्छ र हनुपर्छ। कामदारहरूले आवश्यक पर्ने ज्ञान र सीप शैक्षिक संस्थाबाट पाउँछन्।
नेपालको सन्दर्भमा विश्वविद्यालय र क्याम्पसहरूबाट विद्यार्थीहरूले चाहेको कुरा पाएका छैनन्। श्रम बजारलाई आवश्यक पर्ने सीप र ज्ञान विश्वविद्यालयले विद्यार्थीहरूलाई प्रदान गर्न सकिरहेका छैनन्। पाएको ज्ञान र सीप पनि कामदारले व्यवहारमा उतार्न सकिरहेका छैनन्।
नेपालमा सबैभन्दा ठूलो शिक्षालय त्रिभुवन विश्वविद्यालय अहिले लथालिङ्ग अवस्थामा छ। नेपालका अन्य विश्वविद्यालयको अवस्था पनि कमजोर नै छ। व्यवस्थापन राम्रो छैन। वार्षिक कार्यतालिका कार्यान्वयनमा आउँदैन।
तीन वर्षको स्नातक तह उत्तीर्ण गर्न समयमा पढाइ नहुँदा चार वर्ष र नतिजाका लागि थप एक वर्ष कुर्नुपर्ने अवस्था छ। अबको समयमा चार वर्षे स्नातकका लागि ६ वर्ष त कम्तीमा लागिहाल्छ, कसैले लाग्दैन भने पनि। यसरी विश्वविद्यालयहरूले विद्यार्थीहरूलाई पीडा दिएका छन् र अविभावकलाई ऋणको बोझ थमाएका छन्।
दैलेखबाट काठमाडौं पढ्न आएकी प्रज्ञाले यस्तै भोगिन्। तीन वर्षमा मानविकीको स्नातक तह सकिन्छ भन्ने सोचेकी उनलाई पाँच वर्ष लाग्यो। कास्कीका टेकराजलाई स्नातकको दोश्रो वर्षको परीक्षाफलका कारण पहिलो र तेस्रो वर्ष पास भए पनि स्नातकोत्तर पढ्न पाएनन्।
दोश्रो तहको नतिजा निकाल्न त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई १४ महिना लाग्यो र त्यो समयमा स्नातकोत्तरको भर्ना सकिएको थियो। लामो समयदेखि त्रिविको परीक्षा फारममा दुई खण्ड भए पनि पहिलो र दोश्रो वा दोस्रो र तेस्रो वा तेस्रो र चौथो तहको परीक्षा फारम त्रिविले भराउँदैन।
यो बहसको विषय हो र गम्भीर पनि छ। यस बारेमा विश्वविद्यालयका पदाधिकारीहरू मौन छन्। सरकारलाई यो विषयमा कुनै चिन्ता छैन। यसबाट सबैभन्दा निरास हुने भनेको विद्यार्थी र अभिभावक नै हुन्।
४ वर्षको कार्यक्रममा ६ वर्ष लाग्छ भने विद्यार्थीको हालत कस्तो होला? देशका नागरिकालाई दुःख दिनु राज्यको कमजोरी हो। नागरिकलाई दुःख दिएर कुनै देशले प्रगति गरेको इतिहास छैन र पनि यो कुरा नेपालमा किन बुझ्न खोज्दैनन्?
समयको फेरबदलसँगै क्षमतामा विकास नगर्नु त्रिविको ठूलो लापारबाही देखिन्छ। यही कारण सक्नेका छोराछोरीहरू त पढ्न अमेरिका, युरोप, अष्ट्रेलिया जालान्। उनीहरूले सोच्नु पर्छ आर्थिक अवस्था कमजोर हुनेका छोराछोरीले के गर्ने? कतै उत्तर भेटिँदैन।
उनीहरूका मनमा अब म के गरुँ? के म मेरो सपनाको जीवन पूरा गर्न सक्दिनँ? मेरो शैक्षिक तह पूरा गर्न मास्टर डिग्रीको लागि म के गरूँ भन्नु पर्ने समस्यामा लाखौं विद्यार्थीहरू छन्। यी प्रश्नहरू जुन विद्यार्थीहरूले सोध्छन् तिनीहरूले विरलै समस्या समाधान हुने जवाफ पाउँछन्। उच्च शिक्षा क्षेत्रले अगाडि बढेर यो खाडल तुरुन्त भर्नुपर्छ।
साथीहरू र मेरो आफ्नै अनुभवहरूबाट मैले विद्यार्थीहरूका समस्या देखेको छु। उनीहरूले विश्वविद्यालयहरूबाट के चाहन्छन् यो कुरा पूरा गर्न नेपालका विश्वविद्यालय र सरकार तुरुन्त लागि पर्नुपर्छ।
नेपालमा विद्यार्थीहरू स्नातकपछि जागिर चाहन्छन् र कसैले स्नातकोत्तर तहमा पढ्न चाहन्छन्। तर पनि ती सपनाहरू विरलै पूरा हुन्छन्। यसमा कमजोरी कसको हो? अवश्य समीक्षा हुनुपर्छ। कमजोरी पहिचान गर्ने गरी पारदर्शी ढंगले काम गर्नु नसक्ने पदाधिकारीले बाटो प्रशस्त गरेर निकास दिनुपर्छ।
आर्थिक अवस्थाका कारण थोरै विद्यार्थीहरूले कलेजमा जाने खर्च गर्न सक्छन्। कति त बाध्यताले ऋण र धन गरेर जानुपर्ने अवस्था छ। तर यो बाध्यतामा नेपालका विश्वविद्यालयले धेरै खेलवाड गरेका छन्।
यदि विद्यार्थीहरूको शिक्षाको स्वाभाविक चाहनामा नेपालका क्याम्पसले विद्यार्थीहरू करियरलाई ध्यान दिन सकेको खण्डमा सप्रने भनेको समाज र देश नै हो। तर पनि हामीले सोचे जस्तो त्रिवि बन्दैन किन?
२०१८ पछिको आर्थिक संकट र विश्वव्यापी महामारीको बीचमा विद्यार्थीहरूको पढाइ नै तहसनहस भयो। यतातिर कसले सोचेको छ? सरकारले नेपालको शैक्षिक गुणस्तर र शैक्षिक व्यवस्थापनमा किन ध्यान दिन सकिरहेको छैन?
कोभिड–१९ ले रोजगारी बजारलाई असर गरिरहेको रिपोर्टहरूले देखाए। विद्यार्थीहरू अनलाइन कक्षाहरूले करियरमा पार्ने प्रभावको बारेमा चिन्तित छन्। उनीहरूको गुमेको समयको क्षतिपूर्ति दिन त्रिविले समयमा पढाइ गर्ने, परीक्षा लिने र ६ महिनामा नतिजा निकाल्ने प्रतिबद्धता गर्नुपर्ने हो। यसो हुन नसक्नु दुःखको कुरा हो।
त्रिविमा सबैभन्दा सरकारी क्याम्पसभित्रै निजी ढंगले पढाइ हुने विषय व्यवस्थापन संकायमा छन्– बिबिए, बिबिएम, बिटिटिएम, बिएचएम आदि।
अभिभावकहरूके ऋणधन गरेर छोराछोरीलाई ती विषय पढाउँदा पनि समयमा परीक्षा र नतिजा प्रकाशन हुन नसक्नुको जिम्मेवारी कसले लिने? एउटा सेमेस्टरको पढाइ सकेर अर्को तहमा पुग्दा पनि नतिजा किन हुँदैन?
डिन कार्यालयले यी परीक्षाको जिम्मा लिएपछि पढाइदेखि नतिजाको जिम्मा लिने पनि उसले नै हो। डिनले सेमेस्टरको नतिजा तीन महिनामा हुने गरेको छ भने पनि त्यस्तो हुने गरेको पाइँदैन। डिन एक्लैले बोलेर हुँदैन, हजारौं विद्यार्थी यही पीडामा परेका छन्।
डिन कार्यालयले नै झुट बोलेर विद्यार्थीहरूलाई आन्दोलनमा लाग्न उत्प्रेरित गरेको छ। तेस्रो वा पाँचौं सेमेस्टरमा पढाइ भएको एक महिना बित्दा पनि पहिलो र तेस्रो सेमेस्टरको नतिजा ननिस्केको उदाहारण दिन कति विद्यार्थी चाहिने हो सबै यहीं सुरक्षित छन्।
अर्थशास्त्रदेखि व्यवस्थापनका परीक्षाका प्रश्नपत्र हुबहु दोहोरिनुमा जिम्मेवारविहीन विभागीय प्रमुख र डिनकै कारण हो। अब कि रजिष्ट्रारले परीक्षामा सुधार ल्याउन पर्यो वा आफ्ना मातहतका मानिसलाई कारबाही गरेर विद्यार्थीहरूका माग पूरा गर्न अब ढिला गर्न हुन्न।
संसार अहिले कृतिम बुद्धिमत्ताको कुरा गरेर अघि बढेको बेला हामीले किताब पढ्छौं भन्दा समयमा नपढाउनुलाई हामीहरूले के बुझ्ने? विद्यार्थीहरू क्याम्पसका निर्णयकर्ताहरूले आफ्नो बजेटमा नयाँ कार्यक्रमहरू र प्रविधिहरूमा लगानी गरून भन्ने चाहन्छन्।
२०२२ मा क्याम्पस भर्ना भएको विद्यार्थीले २०२६ मा करियरका लागि तयार हुन सक्ने वातावरण त्रिविले दिनैपर्छ। नेपालका विश्वविद्यालयहरूले सामना गर्नुपर्ने एउटा महत्वपूर्ण मुद्दा भनेको विद्यार्थीको अनुभव परिवर्तन गराउन सक्नु हो।
जबसम्म विश्वविद्यालयहरूले अनुसन्धानको माध्यमबाट आफ्ना समस्याहरू आफैं बुझ्दैनन् तबसम्म नेपालका विश्वविद्यालयमा देखिने समस्या भनेको बन्द, हड्ताल, धर्ना, तालाचाबी नै हो। सिधा अर्थमा भन्दा यी कुनै पनि कुरालाई जायज मान्न नसकिएला। तर विश्वविद्यालयको कक्षाकोठा, परीक्षा प्रणाली, नियमित नतिजा कहिलेदेखि ठाउँमा आउँछ हामीले खोजेको उत्तर यी नै पश्नहरूको हो।
संसारमा केही विश्वविद्यालयहरूले पहिलेदेखि नै विद्यार्थीहरूको अनुभव वृद्धि गर्न पहलहरू गरिसकेका छन्। यसमा थप परिस्थितिगत शिक्षा, र क्याम्पसमा विचारहरू विकास गर्ने क्षमता समावेश छन्। धेरै विश्वविद्यालयहरूले शिक्षण मोडेलहरू नयाँ नयाँ जारी राखेका छन्।
आजको डिजिटल अर्थतन्त्रलाई प्रतिबिम्बित गर्न आफ्नो शिक्षण विधिहरू समायोजन नेपालमा कहिले हुने त्रिविका पदाधिकारीहरूसँग उत्तर खोजे पाइँदैन। विकसित देशमा विद्यार्थीहरूलाई क्याम्पस बाहिर पनि अध्ययन गर्न सजिलो बनाएका छन् र यो प्रविधिको विकासले सबै सम्भव भएको छ।
हामीहरूले आवश्यक मात्रामा ज्ञान र सीपहरू बारे जान्न चाहन्छौं। समयमा पढाइ सकेर नयाँ जीवनमा प्रवेश गराउन उद्दत विद्यार्थीहरूलाइ बन्द हड्तालमा लाग्नुपर्ने अवस्था किन आउँछ?
विश्वविद्यालयहरूले हामीलाई समाज कल्याण र समाज सेवा, आर्थिक वृद्धिको महत्त्वको बारेमा पनि सिकाउनुपर्दछ। हाम्रा टुटेका भावनाहरूलाई देशको विकासका लागि व्यवस्थापन गर्न र अरूसँग कसरी सकारात्मक सम्बन्ध राख्ने जस्ता सकारात्मक अभ्यासहरूमा प्रस्ताव गर्नुपर्छ।
सबैभन्दा महत्वपूर्ण काम भनेको हामीले जीवनमा अर्थ कसरी खोज्ने भन्ने कुरा सिक्ने स्थान नै विश्वविद्यालय हो। यदि कसैले हामीलाई त्यो सिकाउँदैन र हामी जीवनको बारेमा बुझ्न आफै भौतारिनु परेमा अनावश्यक रूपमा संघर्ष गर्दै जीवन बिताउँछौं। यस्तै भएको छ खाडीमा काम गर्नेहरूको अवस्था।
समाज र परिवारले मानसिक स्वास्थ्य सेवाहरूमा थप लगानी गरेको छ। परिवार छिन्नभिन्न भएको छ। हामी युवाहरूले पनि आफ्नो देशको प्राथमिकताको विषय र भोलिको सम्भावनालाई हेरेर यहीँ गुणस्तरिय शिक्षा लिन चाहेका छौं।
आज व्यवहारोपयोगी शिक्षाका लागि उचित छात्रवृत्ति र सहुलियतपूर्ण विद्यार्थी ऋण र रोजगारीको सुनिश्चितता हुनुपर्दछ।