हरेक वर्ष अक्सफोर्ड इङ्लिस डिक्सनरी वा मेरियम वेब्सटर्स डिक्सनरीमा लेक्सिकोग्राफर (शब्दकोशका लागि शब्द संकलन गर्ने व्यक्ति) हरूले शब्दहरू थप्ने वा हटाउने काम गर्छन्। डिक्सनरीमा भएको कुनै शब्द प्रयोग अनुचित भए त्यो पनि जानकारी दिन्छन्।
नेपालमा भने यस्तो व्यवस्था भएजस्तो लाग्दैन। छ भने पनि मेरो जानकारीमा छैन।
कहिलेकाहीँ महिला, जनजाति, यौनिक अल्पसंख्यक आदिका बारेमा लेखिएका शब्दहरू, उखान-टुक्काहरू अलि अपमान गर्ने खालको देखिँदा 'यस्तो नलेखौं न' भन्दा शब्दकोशमा भएका शब्दहरू भन्न नपाउने वा लेख्न नपाउने भन्ने कहाँ लेखेको छ भन्ने (कु) तर्कसँग भिड्नुपर्छ।
नेपाली समाजमा आजका दिनमा पनि महिलालाई होच्याउने शब्दहरू छन्, यस्ता उखान-टुक्का पनि थुप्रै छन्।
यो आलेखमा त्यस्तै केही उखान-टुक्काबारे चर्चा गरेकी छु।
करिब तेह्र वर्षअघि मैले कसैले लेखेको कुरामा प्रतिक्रिया जनाउँदै एउटा नेपाली उखान लेखेँ– लुटको धन फुपूको श्राद्ध भनेको यही होला!
वर्षौंदेखि महिलाविरूद्ध हुने ज्यादती, हिंसा र भेदभावविरूद्ध कलम र आवाज दुबै माध्यममार्फत कुरा उठाउँदै आएको यो दिमागमा उक्त उखानले पनि महिलाविरूद्ध भेदभाव गरेको भन्ने तथ्य घुसेकै रहेनछ!
आँखा उघारिदिनुभयो इन्जिनियर वसन्त गौतमले।
उहाँले शालीन शब्दमा सचेत गराउँदै लेख्नुभयो– दिदी, हामीले यस्ता उखान-टुक्काहरूलाई हटाउँदै जानुपर्छ। यसले पनि महिलामाथि विभेद गरेको छ। किनभने एउटै आमाबाबुको सन्तान काका र बाबुहरूको श्राद्ध गर्न हुने फुपूहरूको नहुने किन?
यो प्रसंग कोट्याउनुको कारण हामीले हाम्रो दैनिक जीवनमा जानी वा नजानीकनै विभेदकारी कथन, उखान र टुक्काहरू प्रयोग गर्दा रहेछौं भन्ने प्रमाण पेस गर्नु हो।
हुन त हालैका दिनहरूमा यस्ता उखान-टुक्काको प्रयोगमा थोरै भए पनि कमी आएको मान्नैपर्छ। यसो भए पनि पुरूषहरूले गरेको नकारात्मक काम या बोलीको विरूद्धमा 'धोती लाइदिन्छु', 'चुरा लाइदिउँला' आदि भनेर महिलालाई होच्याउने भाषा प्रयोग गर्न छाडिएको छैन।
अहिलेका सञ्चारमाध्यम र युवापुस्ता भाषाको प्रयोगमा पहिलेका भन्दा अलिक संवेदनशील भएको मान्नैपर्छ तर यस्ता व्यक्तिको संख्या न्यून छ।
सञ्चारमाध्यमले पनि पहिलेजस्तो पुरूष नेताहरूलाई महिलाको लुगा लगाइदिएर कार्टुन बनाउन छाडेका छन्। केही क्षेत्रमा अलिअलि सुधार हुन थालेको देखिए पनि सामाजिक सञ्जालमा महिलाहरूलाई यति धेरै शाब्दिक अपमान र दुर्व्यववहार हुन्छ कि अलिक कमजोर मुटु हुने त डिप्रेसनमा जानेसम्मको अवस्था आउँछ।
आफूलाई शिक्षितको श्रेणीमा राख्ने हुन् वा सडकको भाषा बोल्ने व्यक्ति नै किन नहुन्, उनीहरू यति धेरै विभेदकारी कथन प्रयोग गर्छन् कि आफूलाई शिक्षित भन्न रूचाउनेहरू कस्ता शिक्षित हुन् भन्ने प्रश्न उठ्छ।
यहाँ एक दुई वटा उदाहरण पेस गर्छु।
केही समयअघि सामाजिक सञ्जालमा धमाधम लेखिन्थ्यो– भ्रष्टाचारीकी बुढी बहुलाओस्! त्यसकी प्यारी छोरी पोइला जाओस्!
सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्न चाहने र यसो गर्न जान्ने व्यक्तिलाई अशिक्षितको कोटीमा राख्न सकिँदैन। ती व्यक्ति शिक्षित हुन् भने शिक्षाले यस्तै ज्ञान प्रदान गरेको होला त? कुनै भ्रष्टाचारीले गरेको गलत कामको परिणाममा उसका श्रीमती र छोरीलाई किन संलग्न गराउनु?
पुरूषले घुस लिनुअघि 'म घुस खाऊँ कि, नखाऊँ' भनेर घरसल्लाह गरेको हुन्छ भन्ने प्रमाण वा तथ्यांक कतै प्रकाशन भएको वा रेकर्ड गरेर राखिएको हुन्छ र?
अर्को अत्यन्तै आपत्तिजनक वाक्य संविधान सभाबाट संविधान बन्न नसकेको समयमा देख्न पाइन्थ्यो– संविधान नबनाउने सभासदका छोरी बहिष्कार गरौं!
यसरी पनि महिलाकै अपमान!
यस्ता कुरा लेख्दा र बोल्दा ती व्यक्तिहरू यसरी छोरीहरूको अपमान गर्नु आदिमकालीन समाजको सोच हो भन्ने किन बिर्सन्छन्?
त्यति बेला त पढेलेखेका भनिने ती दिमागमा कसरी स्वच्छ विचार भित्र्याउन सकिएला भनेर आफ्नै दिमाग खल्बलिन्थ्यो। यतिले नपुगेर आफूहरूसँग सम्बन्धित नै नभएको युवती–महिलाको फोटो राखेर जथाभावी लेख्ने, भद्दा र अश्लील मजाक बनाउने कृत्यलाई रमाइलो मान्ने व्यक्तिहरूको पनि कमी छैन।
यस्ता कुत्सित विचारहरूसित कहिलेसम्म तर्क गर्दै हिँड्नुपर्ने? नपढेका व्यक्तिहरूलाई त शब्द र वाक्यको अर्थ सम्झाएर सकारात्मक सोच भर्न सकिएला। बुझ्नै नसक्ने र बुझ पचाउने पढेलेखेकालाई के भनेर सम्झाउने?
नेपाली भाषामा थुप्रै उखान-टुक्का विभेदकारी छन्। तिनले महिलाको अपमान गर्छन्। सबैभन्दा आश्चर्य त त्यस बेला हुन्छ जब कुनै व्यक्तिले अर्कोलाई गाली गर्नुपर्दा हदैसम्मका नीच शब्दमा उसकी आमाको अपमान गरिरहेको हुन्छ।
अरू केही उखान-टुक्का यहाँ उल्लेख गर्न चाहन्छु जुन आजको समय र परिप्रेक्ष्यमा महिलाको आत्मसम्मानमा ठेस पुर्याउने खालका छन्।
'छोरीको जन्म हारेको कर्म' ले छोरीहरूलाई निरूत्साहित गर्छ। पुरूषसँग काँधमा काँध मिलाउँदै घर, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा समेत विद्वता हासिल गरिरहेको परिप्रेक्ष्यमा यस्तो उखान असान्दर्भिक भइसकेको छ।
अर्को उदाहरण, 'खुट्टा भए जुत्ता कति कति, मर्दका हजारवटी' भन्ने उखान नेपालमा बहुविवाहको प्रचलन रहेका बेलाको होला। कानुनले बहुविवाहमा बन्देज लगाएकै तीन दशक भइसकेको छ तर उखान जस्ताको तस्तै प्रयोगमा छ।
महिलालाई होच्याउने र उनीहरूको अस्तित्व नकारेर खुट्टामा लगाउने जुत्ताको रूपमा तुलना गर्ने काम आज पनि भएकै छ। यस्तो उखानले त बहुविवाह या बहुसम्बन्ध स्थापित गराउन प्रोत्साहित गर्छ। कुत्सित विचारको परिणाम पनि हो यस्तो उखानको प्रयोग। यस्तो उखान सभ्य भनिने समाजमा सुहाउँदैन।
'छोरी हुनेले तुजुक गर्नु हुँदैन' भन्ने उखान हालेर भन्न के खोजेको होला?
छोरी र छोरा एउटै कोखका सन्तान हुन्। बढ्ने–हुर्कने क्रममा केही सानाठूला गल्ती गरिहाले पनि छोराले छुट पाउने, छोरीको कारणले मानमर्दन खप्नुपर्ने अवस्था छ। यही हो समाजको न्याय? यही हो मानवताको धर्म? अवश्य होइन तर विभेद कायम छ।
'आइमाईको रूद्रघन्टी हुँदैन' भनेर लेख्ने एक पुरूषलाई केही दिनअघि प्रश्न राखेकी थिएँ– यो कुरा लेख्दा दिदी, बहिनी, आमा कसैको पनि विचार आएन?
जवाफ आयो– तीबाहेक भनेर लेखेको छु।
आफ्नो घरबाहिरका महिलालाई चाहिँ जे भने पनि हुन्छ, जे लेखे पनि हुन्छ भन्ने सोच पुरूषको दिमागमा कसरी घुस्दो होला? पुरूषको रूद्रघन्टी चाहिँ कति बलियो होला?
'पुरूषको भाग्य र नारीको चरित्र दैवले पनि जान्दैन' भन्ने अर्को उखान छ। पुरूषको चरित्र मात्रै कसले बुझेको हुन्छ र?
'ढिलो होस्, छोरो होस्', 'छोरो जन्मे खसी खाऊँला, छोरी जन्मे फर्सी' जस्ता उखानहरूले विभेदरहित समाज निर्माण गर्ने कुराको धज्जी उडाउँछन्।
'पोथी बासेको अलच्छिन हुन्छ' भनेर महिलाको बोल्न पाउने अधिकारमाथि धावा बोलिन्छ। 'पोथी बासेको घर' भनेर महिलालाई अग्रसर र निर्णायक हुन निरूत्साहित गरिन्छ। मार्गरेट थ्याचर, इन्दिरा गान्धी, बेनजिर भुट्टो, एन्जेला मार्केल, सोनिया गान्धी, हिलारी क्लिन्टन जस्ता 'पोथी' बासेर 'भाले' को कुभलो भएन, सबैको भलो नै भयो। तैपनि यस्ता पुरातनवादी उखानहरू अझै चल्तीमा छन् केवल महिलाई अपमानित गर्न।
'तीन गोरूको हल बलियो, दुई स्वास्नीको घर बलियो' भनेर बहुविवाहलाई प्रश्रय दिनेहरू अझै भेटिन्छन्।
'राँडीलाई लान्छु नभन्नू' भन्ने उखानले एकल महिलामाथि हेयको दृष्टि राखेको छ।
दोस्रो बिहे गर्नमा पुरूषहरू नै बढी अग्रसर रहन्छन् तैपनि महिलाकै मानको धज्जी उडाउन छाड्दैनन्।
'आइमाईको सिप रछ्यानमा' भन्ने उखानले महिला घरमै सीमित रहनुपर्छ, ऊ आफ्नै क्षमताले गरिखान अघि सर्नु पर्दैन भन्छ। यति हुँदाहुँदै पनि आफ्नो खुबीले वैज्ञानिक, शिक्षाविद, डाक्टर, इन्जिनियर, प्राध्यापक, न्यायाधीश आदि बन्न महिलाहरू सफल भएका छन्। उनीहरूको सिप रछ्यान गएको छैन।
समाजमा सहजै बोलिने, लेखिने र मजाकका विषय बनाइने यस्ता नकारात्मक शब्द, वाक्य र उखानहरू खोज्दै जाने हो भने निकै ठूलो ठेली तयार हुन्छ। यो एउटा लेखमा त केही उदाहरणहरू मात्र पेस गरिएको हो।
हरेक वर्ष अंग्रेजी शब्दकोशहरूमा कतिपय शब्दमाथि प्रतिबन्ध लगाइन्छ। अमेरिका, बेलायत जस्ता मुलुकमा विभेदकारी कथनहरू बोल्ने व्यक्ति निकै ठूलो समस्यामा पर्न सक्छ।
त्यसैले, समयअनुसार आफ्नो विचार पनि सभ्य बनाउँदै लानु आवश्यक हुन्छ।
(अमृता लम्सालका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @AmritaLamsal