म सानी हुदाँ भनुँ कि अझ थाङ्नामा सुत्दै गर्दा भनुँ, मेरा बाले मलाई छोडेर हिँडेका हुन् रे। आमाले मलाई एक्लै हुर्काइन्। कहिले पिठ्युँमा बोक्दै, कहिले कोक्रामा छोड्दै। एवं रितले दिनहरू बित्दै गए। मैले आफ्नो उमेर बढाउँदै गएँ।
तोते बोली लिएर स्कुल जान थालें। स्कुलमा सबैले आफ्ना बाबु-आमाका कुरा गर्दथे। कसैका बाबु विदेश गएका हुन्थे, कसैका सहर। उनीहरू सबैले समय-समयमा आफ्ना छोराछोरीलाई राम्रा उपहारहरू पठाउने गर्थे। कोही राम्रा घडी टल्काउँथे। कोही पत्रैपत्रा परेका जामा लगाउँथे। कोही त रंगिविरंगी गुडिया लिएर स्कुल आउने गर्थे।
मेरो बाबुको भने अत्तोपत्तो नै थिएन। बा छैनन् कसैले भनेनन्। तँ बाबुबिनाको सन्तान होस् पनि कसैले भनेनन्। तर सबैजना मिलेर तेरा बा हराएका हुन् भन्थे।
सबैले आफ्ना आमाबाबुका कुरा गर्दा मैले मेरा बाको कुरा कहिल्यै गर्न पाउँदैनथें। किनकि मलाई बाको बारेमा केही थाहा नै थिएन। मलाई यो कुराले दिनहुँ चोट दिइरहन्थ्यो।
घर आएर आमालाई सोध्थें- ‘आमा, मेरो बा कहाँ छन्?’
आमा केही बोल्दिन थिइन्। मैले दोहोर्याई तेहेर्याई सोधें भने झर्किने गर्थिन्। कहिलेकाहीँ त पिट्थिन् पनि।
मलाई पिटेपछि आफैं धुरुधुरु रुने गर्थिन्। अनि म पनि डराएर कुना पसी रुने गर्थें। बा साथमा छैनन् भन्ने पीर त छँदै थियो। त्यसमाथि आमा पनि नभए के होला भन्ने डर मनभित्र बास बसिरहेको हुन्थ्यो। त्यसपछि के गर्ने उपाय केही थिएन आफैं चुप हुन्थे। आमा डोको नाम्लो बोकेर बारीतिर लाग्थिन्। हरिदेवी कोइरालाको गीत ‘पाइनँ खबर’ धेरै नै गुनगुनाउने गर्थिन्।
यत्तिकैमा एकदिन राति भइसकेको थियो। मेरो घरमा एकजना लोग्ने मानिस आयो। धेरै दुब्लो पातलो त्यो मान्छे सरासर भान्छामा गयो। आमासँग धेरै सम्वाद गर्यो। मलाई त्यो मानिस धेरै मन परेन। तर त्यो मानिसले मलाई काखमा लिन खोज्यो। म जान मानिनँ।
आमाले सुस्तरी भनिन्- ‘यसरी नरिसाऊ न नानी। तिमीले सधैं मलाई मेरा बा खोई भन्थ्यौ नि, हेर त तिमीलाई भेट्न तिम्रो बा आउनु भएको।’
म खुसीले सास नै फेर्नै नसक्ने जस्ती भएकी थिएँ। आमाको वाक्यले मलाई अचम्मको सुकुन दिलायो। त्यो सुकुनको लागि म जन्मदेखि नै प्रतीक्षामा थिएँ। अनि त मैले मख्ख हुनुको उचाइ कहाँसम्म छ पत्तो पाउन सकिनँ।
उनको काखमा लुटुपुटु परिरहन मन लाग्यो। मलाई त्यो दिन भात खान पनि मन लागेन। भात खान बस्दा बा हराउँछन कि भन्ने पीर पर्थ्यो।
बासँग यसरी बसिरहँदा बाले केही उपहार दिएनन् भन्ने लाग्दै लागेन। साथीहरूले स्कुलमा ल्याएका रंगिविरंगी ती गुडियाहरू यादमा आएनन्। त्यो पत्रैपत्रा परेको जामा मलाई एकदमै मन परेको थियो। तर त्यो जस्तै जामा खोइ भन्ने तिर मेरो ध्यान किन गएन? कुनै पनि त्यस्ता सामाग्रीको लोभको पछाडि मेरो मन किन भागेन?
यो त अहिले वयस्क समयमा बुझ्दछु कि मलाई त मात्र बाको प्यास लागेको रहेछ। मेरा बा छन् भन्ने देख्न पाउँदा स्वर्गमा पुगेको अनुभूति भएको रहेछ। बाको उपस्थितिभित्र ती सबैको मूल्य एकदमै कमजोर रहेछ।
बाको काखमा बसेर भित्र-बाहिर गर्दा पाएको आनन्दले मलाई ती सामाग्रीको मोहबाट मुक्त बनायो होला। मलाई त त्यो काख यति प्यारो लाग्यो कि बाले चकलेट, जामा र खेलौना उपहार ल्याइदिएभन्दा पनि। मेरा बा हराएका रहेनछन्। अरुका जस्ता मेरा पनि बा छन्।
उनले मलाई काखमा लिन्छन्, भात खुवाइदिन्छन् भन्न पाउँदा झन् डबल आनन्द आएको रहेछ। यति भएपछि मलाई के चाहियो र! बाले र मैले सँगै बसेर भात खायौं। बा र म सँगै सुत्यौं। त्यो दिन मलाई बाको काखमा निदाउन पाउँदा यति खुसी मिल्यो कि सायद यति खुसी योभन्दा पहिले म कहिल्यै थिइनँ होला।
भोलिपल्ट बिहान म ढिलोसम्म निदाएछु। उठ्दा त बा मेरो वरपर हुनुहुन्थेन। मैले चारैतिर हेरें, कहीं छैनन् मेरा बा। आमालाई सोधें। आमाले त्यतै माथितिर जानु भएको छ भनिन्। त्यसपछि खाना खाएर स्कुल लागें।
म ज्यादै नै खुसी थिएँ। किनकि मैले सबैलाई मेरा बाको किस्सा सुनाउनु थियो आज। मेरो फूर्तिफार्ती आज अघिपछिभन्दा फरक थियो। सरले परैबाट नियालिरहनु भएको थियो।
वहाँले मलाई बोलाएर सोध्नुभयो- ‘नानी कति खुसी हौ तिमी!’
मैले तुरुन्तै जवाफ दिएँ- ‘सर, मेरा बा हराएका छैनन् नि। म त हिजो बेलुका बाको काखमा बसें। बाले नै मलाई भात खुवाउनु भयो। बासँगै म सुतें।’
सर झस्किनु भयो। केही पनि बोल्नु भएन। मलाई हेरिरहनु भयो।
त्यो दिनभरि मैले मेरा साथीहरूसँग बाको कुरा गरें। कुनै साथीले पनि के ल्याइदिए तँलाई भनेर सोध्न सकेनन्। उनीहरूले सधैं हराएका छन् तेरा बा भन्थे। तिनै बासँग मैले बिताएका पलहरू सुनाएँ। उनीहरूलाई लाग्यो होला यसका बाले पनि यसलाई धेरै माया गर्छन्। आखिर बा भनेको बा नै हुन् नि।
त्यतैमाथि तिर जानु भएका मेरा बा महिनौंसम्म हराउनु भयो। फर्किनु भएन। बरु एकदिन स्कुलबाट सर घर आउनु भयो। सरले आमासँग कुरा गर्दा मैले सुनें- ‘बच्चाले स्कुलभरि हल्ला पिटे। सबैले थाहा पाए। यसरी नहिँड्ने भन्नुपर्छ। लुकेर हिँड्न जान्नुपर्छ। नत्र असुरक्षा हुन्छ उनको ज्यानलाई।’
मैले यी सुरक्षा र असुरक्षाका कुरालाई बुझ्न सकिनँ। त्यहाँ अरु पनि थुप्रै कुराहरू भए। तर म भने मेरा बा किन यसरी लुकेर हिँड्नु पर्यो भन्ने सोच्न थालें।
दिनहरू यसरी नै कट्दै गए। बा नआउने दिन बढीरहे। बरु घर वरपर सुरक्षाकर्मीको पहरा दिनहुँ बढ्न थाल्यो। तर किन? केही थाहा थिएन मलाई। आउँथे र आमासँग बारम्बार सोधी खोजी गरिरहन्थे। आमाले के भन्थिन् कुन्नी उनीहरू घर बाहिर घुमिरहन्थे। हाम्रो घरको छेउछाउ छोड्दैनथे।
यस्तै-यस्तैमा एउटा नराम्रो हल्लाले गाउँ प्रवेश गर्यो। मेरा बालाई पुलिसले पक्रिए अरे। बालाई उनीहरूले हत्कडी लगाएर हिरासतमा राखेका छन् अरे। किन पक्रिए मेरा बालाई पुलिसले? हत्कडी लगाउनु पर्ने के काम गरे होलान्? मलाई खुल्दुली भइरहन्थ्यो।
गाउँभरि हल्ला थियो अब उनलाई भित्रै राख्छन्। खोइ जिउँदो देख्न पाइएला कि नपाइएला! किन माओवादी हुन परेको त्यसलाई? ओहो! अब मैले बल्ल अलिकति भेउ पाएँ। माओवादी भएका कारण मेरा बा लुकीलुकी हिँड्दा रहेछन्। मेरा बा त माओवादी आन्दोलनको एक हिस्सा पो रहेछन्।
कापी कलम समाएर राम्रा अक्षर लेख्ने बेलामा, मिठा पकवानहरू खाँदै आमाबाबुसँग मस्ति गर्ने बेलामा, सानो-सानो कुराले पनि मनलाई आनन्दित तुल्याउनु पर्नेमा मैले के सुनिनँ होला?
चारैतिर अन्धकार भएको कोठामा राख्छन अरे। ट्वाइलेट जान पनि मिल्दैन अरे। उनीले डाँका डकैती पनि गरे अरे। यो डाका र डकैती भनेको के हो मैले राम्रोसँग बुझ्दैनथें। परिवारका सदस्यसँग भेट गर्न मिल्दैन रे।
यस्तै-यस्तै धेरै कुराहरू गाउँभरि चलिरहेका थिए। आजभोलि सम्झना गर्दा पनि कहाली लाग्छ। म त्यो मनै हल्लिने समयको साक्षी बनेकै थिएँ त्यो बेलामा।
म स्कुल जाने आउने गर्दा मान्छेहरूसँग कम बोल्ने गर्न थालें। सबै मानिसहरूले भनेजस्तै मेरा बाले ठूलो बदमासी गरे भन्न मेरो बाल मस्तिष्कले भन्दैनथ्यो। मेरा बा हुन्, उनी गलत छैनन्। मेरो मनले यस्तै भन्थ्यो। आमा लगायतका कुनै इष्टमित्रहरूले बालाई त्यस्तो बदमास भनेको मैले कहिले सुनिनँ।
एउटा गरिब परिवार। सधैं खान र लाउन धौधौ हुने। दसैं आए पनि राम्रो लाउन र मिठो खान पेटभरि नपाएका मेरा बा। गरिब र दीनदुखीहरूप्रति अत्यन्तै सद्भाव राख्दथे। सबैको सुख दुःखमा सामेल हुन्थे।
गरिबीको चपेटामा आफू एक्लै मात्र छैन। मजस्ता अरु पनि धेरै छन्। उनीहरूलाई पनि मलाई जस्तै समस्या छ भन्ने नजिकबाट नियाल्न सक्ने क्षमता राख्थे। जातीय र लैंगिक विभेदको चर्को मारका बारेमा पनि धेरै जानकार थिए। सामन्ती शासन प्रणालीको आजीवन विरोधी नै थिए र हुन्।
यस्तैमा आफूलाई पढाएका एकजना मास्टरसँग एक दिन बाको भेट भयो। उनी भित्र-भित्र माओवादी पार्टीको आन्दोलनमा लागेका रहेछन्। उनले बालाई आन्दोलनको रुपरेखा बारे बताएछन्। त्यहाँभित्रका मर्मस्पर्शी विषयवस्तुले मेरा बालाई नपगाल्ने कुरै भएन। पगाली छाड्यो।
त्यसपछि बा घरको भन्दा बाहिरको काममा बढी व्यस्त रहने। विस्तारै घर आउने जाने क्रम घट्दै गयो। आमालाई पार्टी बारे धेरै जानकारी त थिएन। तर बा पार्टीको काममा लागेको कुरा भने थाहा थियो।
अत्यन्तै दयनीय आर्थिक अवस्था थियो। झन् शैक्षिक अवस्था त आमाको आर्थिक अवस्था जस्तै थियो। त्यस्तोमा आमाको एक्लो जीवनको सहारा म बनेँ, उनकी छोरी।
यी सबै कुराहरू पछि आमाले मलाई बताइन्।
म जन्मिएपछि बा घरभन्दा पार्टी काममा बढी लाग्दै गए। त्यसपछि मेरा बा घर आउने क्रम पहिलेभन्दा झनै घट्न थालेको रहेछ।
आमा जस्ती भए पनि सन्तानको लालनपालनको एकल जिम्मेवारी पूरा गर्न हिचकिचाएकी कहिले पनि होइनन्। बाले देश र जनताको खातिर केही गर्न घर छोडे। आमाले मैं हुँ भन्नेसँग पैंठेजोरी खेल्दै हामीलाई हुर्काउने उत्तरदायित्व पूरा गर्न थालिन्।
आमा मसँग रुने गर्थिन्। म उनीसँग रुने गर्थें। आमा केही बुझेर रुन्थिन्। म आमा रोएको देखेर रुन्थें। आमाका आँसु पानी बनेर बर्सने गर्थे।
मेरा बा जेल चलान भए। उनीसँग कहिले कहिले भेट गर्न सकिन्थ्यो। त्यो पनि धेरै जस्तो आमाले हो भेट्न जाने। म मन नलागी-नलागी स्कुल जाने गर्थें। मेरा बा जेल परेपछि बाहिर आन्दोलन झन् तीव्र रुपमा बढ्यो। चारैतिर आन्तरिक युद्ध आक्रमक तरिकाले फैलिएको थियो, सरुवा रोग हैँजा जसरी।
छिमेकका अकंलहरू बालाई भेट्न जाँदा मेरा बा प्रफुल्ल मुद्रामा थिए भन्ने खबर लिएर आउँथे। किनकि उनले लुकीलुकी संगठन विस्तार गर्न सुरु गरेका थिए। त्यति मात्र कहाँ हो र? मेरा बाले पहिलो टेको बनेर पार्टी र आन्दोलनका खातिर आफ्नो परिवारलाई त्यागेका थिए।
हो, त्यो पार्टीले बाहिर ठूलो आकार ग्रहण गर्दै अघि बढिरहेको थियो। त्यो सुन्दा मात्रै पनि मेरा बालाई आराम मिल्थ्यो होला सायद। त्यही कारण उनी प्रफुल्ल मुद्रामा हुन्थे होलान्।
क्रमशः