कसो गाडी नछुटेको, थ्याङ गड!
मनमनै भगवानलाई धन्यवाद दिएँ। म बसपार्क पुग्दा गाडी स्टार्ट भैसकेको थियो। सिट चेक गरेँ। साइड बिको ५ नम्बरमा अर्थात् छेउतिर। कुन चाहिँ भाग्यमानी परेछ झ्यालतिर, आउँदै नआइपुगेको सहयात्रुको ईर्ष्या लाग्यो। गाडी हिँड्ने बेलासम्म पनि नआइसकेको साथी सायद कलंकी वा थानकोटबाट चढ्ने होला भन्ठानें।
पिठ्युँमा बोकेको झोला झिकेर बसको र्याकमा राखेँ। ज्याकेटको पकेटबाट एयर फोनको तार झिकेर फोनमा लगाएँ। सिट हल्का फोल्ड गरेर गीत सुन्दै ढल्किएँ।
बसमा लगाइने गीतहरू मेरो रूचि अनुकूल नहुन पनि सक्छन्। त्यसैले जहिले पनि म बसमा यात्रा गर्दा इयर फोनको प्रयोग गरेर गीत सुन्दै नाचेको कल्पना गर्दै यात्रा गर्छु। न त पसिना, न त थकाइ। मात्र आन्नद। बसले ब्रेक लगाउँदा पनि गीतकै बिटमा परेको जस्तो लाग्छ।
'हैन यो जाम कति बेला खुल्छ, कस्तो भोक लागिसक्यो?' भर्खरकी केटीको आवाज सुनियो।
'जाम छ भनेको होइन त्यही खाऊन' पुरूष आवाज सँगसँगै बसभरि हाँसो गुन्जियो।
मलाई त जाममा परेको छु भन्ने पनि ख्याल थिएन नाचमै मस्त थिएँ। जाम शब्द पनि भन्दा पनि नजाम भन्ने शब्द ठिक हुँदो रैछ यस्तो अवस्थामा जाम किन भनेको होला।
बसपार्कबाट छुटेको दुई घन्टामा बल्ल बस थानकोट पुग्यो।
'खै अलिकति बाटो छोड्नुहोस् त म आफ्नो सिटमा बसिहाल्छु'
मधेशी लवजले मेरो तन्द्रा खुल्यो। हल्का कालो वर्णको अन्दाजी ३५/४० वर्षको मधेशी समुदायको व्यक्ति मेरो झ्याल तिरको सिटमा बस्नुभयो।
'तपाईंको घर कता छ?'
कानमा एयर फोनमा राख्दा पनि उहाँको चर्को आवाजले मेरो कानै खायो।
'वीरेन्द्रनगर, सुर्खेत'
'ओ नाम त मैले सुनेको छु। हामी स्कुल पढ्दा रेडियोले समाचारको अन्त्यमा वीरेन्द्रनगरको अधिकतम तापक्रम र न्यूनतम तापक्रम भन्थ्यो हरदिन तै बेलादेखि हामीले वीरेन्द्रनगर पैचानेको'
'उफ्! लास्टै गफाडी साथी पर्नुभएछ आज रातभरि न त सुत्न न त गीत सुन्न पाइने भो' मनमनै भनें।
'हाम्रो बसमा गाह्रो हुन्छ। म भोमिट नहुने औषधी खाएर सुतिहाल्छु। यो टेलिभिजन किएर गरिदिनुहोस् है। मैले विदेशबाट ल्याएको। मान्छे तलमाथि गर्दा धक्का मारिदिन सक्छ।'
साथीले काँधमा बेरेको कालो गम्छा टाउकोमा बाँध्नुभयो। आँखा छोपिने गरेर। मास्क पनि कालै थियो तर नाक नछोपिएको। अनुहार सबै छोपियो नाकबाहेक। कस्तो हाँस उठ्दो देखियो।
साथी औषधि खाएर सुत्नुभयो। मलाई पनि सोचेकै जस्तै भयो। गाडी पनि रफ्तारले गुड्न थाल्यो।
खाना खाने ठाउँमा गाडी रोकियो। साथी मस्त निन्द्रामा हुनुहुन्थ्यो। उहाँलाई मैले नै उठाएँ। हामी दुवै जना खाना खान गयौँ।
'विदेशबाट आएको भन्नुभयो कुन देशबाट होला?'
'ओइत हमी विदेशबाट आएछु।' साथीले खाना चपाउँदै भन्नुभयो।
'विदेश त विदेश कुन देशबाट भनेको?'
'विदेशबाट त भनिरहेछु के नाम भन्छ अअअअ'
'उफ्! आफैं गएको देशको नाम पनि थाहा छैन। कि विदेश नगएरै काठमाडौंबाट फर्किनुभयो।'
'अब थाहा पाइत हाल्नुभयो के छुपाउनु विस्तारमा सबै बताइहाल्छु।'
'ओ माई गड! मैले त जोक पो गरेको थिएँ, साँच्चै तपाईं विदेश नै नगई विदेश गएको भन्नुभएको हो?'
'आजभन्दा चार वर्षअगाडि जब म गाउँमा थिएँ। प्रत्येक घरको एक जना मानिस जाने लहर चलेको थियो। जो मान्छे घरमा छ उसको कोही पनि इज्जत गर्दैन भन्छ कि विदेश जान नसकेर घर बसेछ। माई बाप बुढिया सबले कर गर्यो। मलाई त कोही इच्छा थिएन गाउँमै तरकाली खेतीबाट सबै खर्च वर्च चलिरहेथ्यो गर्ने मान्छे यही कमाइ छ। विदेश जाँदैमा कमाइ हुन्छ भन्ने पनि केही छैन।'
'अनि किन विदेशको सोच बनाउनु भयो त?' मैले बीचमै प्रश्न सोधेँ।
'एकछिन है हात धुएर आइहाल्छु।' साथी हात चुठ्न जानुभयो। गलामा बरेको गम्छाले मुख पुछ्दै पुनः त्यही ठाउँमा आएर बस्नुभयो। गाडी हिँड्ने कुनै छेकछन्दै थिएन। सायद गाडी स्टाफको लागि विशेष खाना बन्दै थियो होला।
'वहि त भनिरहेछु। परिवार, समाज र देशको कारण अहिलेको युवालाई विदेश जान बाध्यता छ। मेरो पनि विदेश जाने भनेर पासपोर्ट बनाएँ। दलाललाई पैसा बुझाएँ। मलाई उडाउन उसले काठमाडौं बोलायो। तर म आएकै दिन दलाल गायब। न फोन लाग्छ न मान्छे भेट्छ। गाँउ फर्कन नैतिकताले दिएन त्यतिका पैसा खर्च भयो। छोरा वैदेशिक रोजगारीको लागी गएको खुसी कसरी मार्नु। अहँ म गाउँ फर्कन सकिनँ।'
'अनि के गर्नु भो त!' साथी बोल्दा बोल्दै रोकिएको देखेर मैले सोधें।
'अनि काठमाडौंमा कवाडी संकलनको व्यापार सुरू गरेँ।'
'एकक घर घरमा गएर कवाडी संकलन गरेर बेच्ने?'
'होइन नि तेसो गरे त कोही न कोही चिनेको मान्छेले भेटेर घरमा कुरा लगाइहाल्छ नि मैले त कवाडी होलसेलको व्यापार सुरू गरेँ। एकै ठाउँमा मात्र बसिरहने मास्क लगाएर। अरूहरूले घर-घरमा गएर कवाडी संकलन गरेर मेरोमा ल्याउँछ मैलै बाहिर पठाउने। मैले व्यापार सुरू गरेको केही दिनपछि कोरोनाको कारण लकडाउन सुरू भयो। अरू सबै व्यापार चौपट मेरो मालामाल। के भयो भने घर घरमा मानिस बिरामी। स्टोर कोठा खाली गरेरै भए पनि बिरामीलाई अलगै राख्नु पर्न अवस्था आयो।अनि त घरबेटीहरू नै बोराका बोरा कबाडी स्कुटरमा गाडी लोड गर्दै मेरोमा पुर्याउन आए।'
'एए तेसो भए त विदेश गएकोभन्दा पनि राम्रो आम्दानी भएछ। घरका पनि खुसी भए होलान् है? टन्न पैसा पाएपछि।'
'कहाँ पैसा पठाउनु पैसा पठाएपछि त पठाएको ठेगानाबाट म काठमडौं भएको पोल खुलिहाल्छ नि फेरि घरमा खान लाउनु पुग्ने आम्दानी छ नि खेतीपातीबाट। पैसा पठाउनुको कुरा छोडिदिऊँ फोन पनि मेसेन्जरमा मात्र गर्थे कुनै शंका नहोस् भनेर मेरो फोनमा सिमनै राखिनँ। घरमा के भन्थे भने मैले पैसा अलि अलि गर्दै पठाए भने यतिकै खर्च हुन्छ म तीन वर्ष पुगेपछि टन्नै पैसा लिएर फर्किन्छु अनि पक्की घर बनाउने।
मेरो कुराले सबै खुस कोहीले पनि शंका गर्दैन थिए। म तीन वर्ष लुकेरै बसेँ। जीवनमा लामो यात्राको गाडी चढेको यो दोस्रो पटक हो पहिलो पटक तीन वर्ष अगाडि काठामाडौं आउँदाम दोस्रो पटक आज त्यसैले शरीर बानी परेको छैन। औषधि खान परिहाल्छ। प्लेन चढ्न नपाए पनि पैसा विदेश जानले भन्दा राम्रो कमाएँ।'
यसो भनिरहँदा साथीको अनुहार उज्यालो भो।
'आज तपाईंसँगको रमाइलो च्याट भयो खुसी लाग्यो' मैले भनें।
'च्याट, च्याट भनेको त म्यासेन्जरमा लेखेर गर्ने होइन र?' साथीले आश्चर्यभावले मेरो अनुहारमा हेर्नुभो।
'च्याट भनेको कुराकानी चाहे लेखेर गर्नुहोस् चाहे बोलेर। अंग्रेजीमा च्याट, नेपालीमा कुराकानी'
'अच्छा नयाँ कुरा जाने आज। तपाईं अंग्रेजीको टिचर हो कि क्या'
'होइन विद्यार्थी' मैले भनेँ।
गाडीको हर्नले हामी दुवै झस्कियौं। हतार हतार गाडी चढ्यौँ। साथीले सिटमा बस्ने बित्तिकै औषधी खाएर झ्यालतिर कोल्टे परेर आखाँ चिम्लिनुभयो। सायद निदाउनुभयो।
बिहान छ बजेतिर बस कोहलपुर पुगेपछि एक्कासि झस्केर उठेर भन्नुभयो।
'तपाईंको नाम के छ?'
'उफ् सारा वृत्तान्त बताइसकेपछि बल्ल मेरो नाम सोध्ने' हल्का हाँस्दै भनें, मेरो नाम? मेरो नाम रेशा, रेशा भट्टराई'
'हाम्रो जति पनि च्याट भएको सबका सब गोप्य राखिदिनुहोस् है मेरो इज्जतको सवाल छ।'
'हस्' मैले टाउको हल्लाएँ।
कोहलपुर चौराहामा झर्ने बेला मलाईं राम्रोसँग सुर्खेत जानुहोस् है भन्दै ओर्लनुभयो।
ओहो मैले त साथीको नाम नै सोध्न बिर्सेछु।
होस् च्याट नै गोप्य राख्नु परेपछि नाम किन जान्नुपर्यो!