‘ओई तँसँग मलाई मिल्ने कुनै गहना छ भने दे न। मलाई अफिसबाट एउटा बिहेमा जानुपर्ने भयो। सबै गहना लकरमा राखेको छु निकाल्न नभ्याउने भए। फेरि नलगाई पनि के जानु पार्टीमा म मात्रै अड हुन्छु होला।’
मेरो साथीको यो कुरा सुन्दै गर्दा मलाई हाम्रो सामाजिक सोच र त्यसबाट कैंयौ मध्यम वर्गीय परिवारहरूलाई आइपरेका समस्या अनि उनीहरूले भोग्नुपरेका अप्ठ्यारा परिस्थितिहरूको बारेमा कुरा गर्न मन लाग्यो।
कुनै पार्टी, बिहे भोज, व्रतबन्ध तथा अन्य जमघटमा गहनाले झकिझकाउ भएर पुग्नुपर्ने बाध्यताले यस्ता कति परिवारहरूको निन्द्रा कति रात अगाडि नै गायब हुन्छन् होला अनि कति त बरू नजानै ठीक भनेर जाँदै नजाने गरेका पनि छन् होला।
अब यहाँ तपाईंहरू भन्नुहोला- गहना नलगाएरै गए पनि त हुन्छ। किन गहनालाई यतिविधि महत्व दिइरहनुभएको छ त? नदिने पनि कसरी? बस्ने यही समाजमा हो, यिनै मानिसहरू, यिनै नातेदारको बीचमा हो।
समाजसँगै जोरी खोजेर कतिन्जेल बस्ने, यहाँको तौरतरिकामा नढलेर कसरी गुजारा गर्ने? सिधै मुखमा केही भन्न नसक्लान् कसैले तर उनीहरूको हेराइमा नै हजारौं प्रश्न भेट्न सकिन्छ जसको उत्तर दिने क्षमता हरकोहीसँग हुँदैन।
एक जोडी सुन नहुँदा कहीँ जानै अप्ठ्यारो मान्नुपर्ने, सानो गहना लगाउँदा आफूलाई अरूभन्दा कमजोर पारिवारिक स्तरको मान्ने, कसैले अलि ठूलो झपक्को गहना लगाएको छ भने लगाउनेलाई नै असहज महसुस हुने गरी घाँटीमै ट्वाल्ल परेर हेर्न पर्ने, कति सुनप्रेमी भएका हौँ हामी? गहनामोह किन यति धेरै हामीमा? गहना नभएकै कारणले कसैको खुसीमा सामेल हुन नसक्ने वातावरण कत्तिको स्वस्थ हो?
औसत नेपालीको घरमा हुने गहना भनेको एक सरो नेकलेस, तिलहरी, औंठी, कानको झुम्का र एक वा दुई वटा बाला नै हो।
सामान्यतया यति गहना घरमा हुनु भनेको समाजमा हुने खाने एउटा मध्यम वर्गीय परिवारको परिभाषामा पर्नु हो।
योभन्दा बढी गरगहना हुने हैसियत नेपाली समाजमा कमैको मात्र हुन्छ।
अझ आफ्नो आर्थिक अवस्थालाई सहज बनाउनको लागि कतिपय परिवारले त्यही भएको आफ्नो सुन, गहना बेचेर अनेकन समस्या समाधान गर्ने गरेको उदाहरण पनि हाम्रै समाजमा भेटिन्छन्।
अनि त्यही आफूसँग गहना नभएको बेला घर आफन्तमा कुनै कार्यक्रम पर्यो भने सुन नभएको कुरा अरूले थाहा पाउँछन् भनेर त्यो निम्तो मान्न नै नगएको कुराहरू पनि हामीले सुनिरहेकै हुन्छौं। त्यो अवस्थामा एउटा गहना नहुनुको मूल्य खुसीको क्षणमै सामेल नभइकन तिर्नुपर्ने हो र? हो भने कति महंगो पर्ने रहेछ त त्यति गहना नहुँदा कुनै परिवारलाई, कसरी चुकाउनुपर्ने रहेछ त्यसको मूल्य?
हालसालै म एउटा बिहेमा गएको थिएँ। आफ्नै नजिकैको मान्छेको। त्यहाँ पुग्ने बेलामा गेटमै पुग्दानपुग्दै मेरो छोरीको हातले मैले लगाइरहेको हार चुँडियो।
मेरो मुटुमै झट्का लागेजस्तो भयो त्यो बेला। हुन त त्यति ठूलो कुरा होइन तर पनि मलाई यति अप्ठ्यारो लाग्यो कि अब म त्यहाँबाट घर नै जानुपर्ने भयो भन्नेसम्म पनि सोचिसकेको थिएँ।
तर पछि त्यहीँ कसैको मद्दतले पछाडि गाँठो पारेरै भए पनि पूरा दिन म त्यो चुँडिएको गहना लगाएरै बिहेमा सरिक भएँ। त्यो दिनभर मेरो ध्यान बिहेमा, सानी छोरीमा भन्दा पनि गहनामै बढी थियो।
कतै फेरि चुँडिने पो हो कि? हराउने पो हो कि? न त मैले त्यो गहना फुकालेर पर्समा नै राख्न सकें, त बिहे छोडेर फर्किन नै। अन्तिममा बिहे सकेर घरमा आएर बल्ल गहना खोलेर राखें।
अब सोच्दा मेरो पनि गल्ती होला किनकि आफ्नै भनिने मान्छेको बीचमा, आफ्नाहरूको बीचमा हुँदाहुँदै पनि किन मैले चुँडिएको गहना लगाइराखेको होला भनेर।
तर हाम्रो समाज अनि हामीमा हावी भएको सोचलाई मैले मात्र कसरी नटेर्न सकूँला र?
हामी जति ठूला ठूला आदर्शमा कुरा गरे पनि कुरा जब हामीमा, हाम्रो परिवारमा आउँछ त्यो बेला हामी यति संकुचित र संकीर्ण हुन्छौं कि पहिला अरूलाई पर्दा विरोध गरेका ती रूढीवादी र परम्परागत कुराहरू नै हामीलाई प्रिय लाग्न थाल्छन् अनि आफ्नो सोचको दायरा त्यतिभन्दा बाहिर लाने हामी कल्पना पनि गर्दैनौं।
जहाँ जुनसुकै कार्यक्रममा पनि आफ्नो बुहारी झपक्क गहना लगाएर सबैको मेख मार्ने गरी जाओस् भन्ने हरेक सासूलाई हुन्छ, आफ्नो छोरी माइतको कुनै भेटघाट या भोजभतेरमा आउँदा चट्ट परेर गरगहनामा सजिएर आओस् भन्ने हरेक आमालाई पनि हुन्छ।
गहनाको महत्व हाम्रो समाजमा यति धेरै छ कि कसैले पनि बिना गरगहना यस्तो कार्यक्रममा गयो भने त इज्जत नै गयो, खत्तमै भयो, दुनियाँले केके नै भन्लान् अब हाम्रो परिवारलाई भन्ने कुराहरू सामान्य नै भए।
यस्तो अवस्थामा कुनै छोरी या बुहारीले मलाई अहिले अलि अप्ठ्यारो परेर गहना बैंकमा धितो राखेकी छु या बेचेको छु भनेर भन्यो भने त हाम्रा अग्रजहरूको पैतालामुनिको जमिन नै भासिन्छ होला।
भन्न त खुलस्त रूपमा नै भन्न पाउनुपर्ने हो कि मलाई धेरै गहना लगाउन खासै मन पर्दैन त्यसैले म कमै लगाउँछु।
यो त मेरो इच्छाको कुरा हो। तर झुक्किएर कहिले दुई वटा गहना लगाउन पर्ने ठाँउमा एउटा लगाइदिएर पुग्यो भने र त्यहाँ गएको फोटो फेसबुकमा हाल्यो भने भोलिपल्ट आमा या सासूआमाको फोन नै आउन पनि बेर लाग्दैन, ‘किन हो केही पनि नभएको जसरी त्यति थोरै गहना लगाएर गएको? के भन्लान् मान्छेले पनि? कुरै बुझ्दैनौ तिमीहरू’।
गहभरि आँसु भए पनि गहना झपक्क लगाएपछि सारा दुःख पिरहरू छोपिन्छ भन्ने सोच छ कि खै हाम्रो नेपाली समाजमा, मनको शान्तिभन्दा बाहिरी आवरण र झकिझकाउपनलाई धेरै प्राथमिकता दिने मानिसहरूको संख्या घट्नुको सट्टा झनझन बढ्दै गएको छ। ओठको मुस्कानले ल्याउन नसकेको मुहारको चमक, चम्किलो गहनाले ल्याउँछ भन्ने सोच नै व्याप्त छ हामीमा।
त्यसैले त होला समाजमा चेलीबेटीहरू यति धेरै पिल्सिएरै बाँच्न बाध्य हुनुपरेको, उनीहरूको लागि भन्दा पनि उनीहरूविरूद्ध नै समाज अझ बढी खनिइरहेको।
आफ्ना मनका कुरा खुलेर छोरी या बुहारीले भन्न सक्ने वातावरण बनाउने भनेको नै उनीहरूको लागि सबैभन्दा बहुमूल्य गहनाको उपहार दिनु हो भन्ने कुरा हरेक बुवा-आमाले बुझ्न जरूरी छ। सुन्दरता भनेको कुनै गहना या श्रृंगारमा होइन असल आचरणबाट पहिचान गरिन्छ भन्ने ज्ञान हुनु जरूरी छ।
यसरी बनेको समाजले आउँदो पुस्तालाई यस्तो वातावरण दिन्छन्। जसमा उनीहरूले एक-अर्कालाई खुलेर आफ्ना कुराहरू भन्न सक्छन्, बाहिरी आवरणभन्दा भित्री सुन्दरतालाई महत्व दिनेछन् साथै साधारण जीवनको परिभाषा बुझ्न सक्ने हुन्छन्।