छिट्टै जिन्दगीको २९ औँ वसन्तमा प्रवेश गर्दैछु। बुबाले छोरो ३० वर्ष पुगिसक्यो भन्ठान्नु भएको २/३ वर्ष नै भइसक्यो।
दुई जना दाजुहरूको २० र २५ वर्षको उमेरमा लगनगाँठो कसाइसक्न सफल हुनु भएका मेरा बुबालाई छोरो छिप्पियो, अब नि बिहे नगर्दिए त यत्तिकै बुङ्गै मर्छ कि क्या हो भन्ने लाग्नु स्वभाविकै हो।
बुबा अचेल पूरै आफन्त, छरछिमेकी सबैतिर व्याप्त रुपमा छोराको लागि उपयुक्त कन्याको खोजिमा हुनुहुन्छ र जसरी पनि छिट्टै यो मोहपाशमा मलाई होम्न तत्परताको साथ जुट्नुभएको छ।
व्यक्तिगत रुपमा विवाह प्रणालीप्रतिको आलोचक भएको तर बुबासँग ठाडै वैचारिक लडाइँमा भिड्ने आत्मविश्वासको कमिले गर्दा कतै न कतै अलमल्लमा त छँदै नै छु।
फेरि बेलाबेलामा ‘म त डाँडापारिको घाम हुँ, म छँदै तेरो व्यवहार सक्दिन पाए’ भनेर भावनात्मक तीरहरूले मलाई घायल पार्ने प्रयास पनि बुबाले गरी नै रहनुहुन्छ तर ती तीरहरूलाई जसोतसो छलिरहेकै छु।
यता छरछिमेक, नातागोता, इष्टमित्र आदिहरू विभिन्न प्रस्ताव अनि प्रश्नहरूसहित अगाडि आइरहन्छन्। आएका पाहुनालाई घरमा आफैंले चिया पकाएर खुवाए 'एउटा चिया पकाउने त ल्याउनुपर्यो, सुहाएन आफैं चिया पकाएको' भन्ने गर्छन्।
अनि चिया पकाएर नदिए चिया पकाएर खुवाउनुपर्छ भन्नेसम्मको व्यवहारिकता छैन, बिहे नगरी सुध्रन्न है यो त भन्दिने। मान्छेको मुख न हो, थुन्न कसै गरे नसकिने।
मेरो प्रश्नको कडी खास कसले के भन्ने तर्फ होइन बरु वैवाहिक प्रणाली अब पनि अनिवार्य नै हुनुपर्ने हो र भन्नेमा हो। स्कुल पढ्दा ९ कक्षामा जसरी ऐच्छिकमा भूगोल लिने कि अतिरिक्त गणित लिने भन्ने थियो नि, त्यसरी नै विवाह पनि अब स्वेच्छिक हुन जरुरी छ।
एउटा समान्य मध्यम वर्गीय जीवनमा मान्छेल सोच्ने भनेको एउटा सामान्य जागिर वा पेसा व्यवसायमा अल्झिएर दुई गाँस, छत अनि मजेत्रो जोहो गर्दै एउटा मिल्दो उमेरमा आफ्नै हैसियतको कोहीसँग विवाह गरेर भोलिका दिनमा दुई वटा जति बच्चा पाएर बँचेको सारा जीवन उनीहरूकै पालनपोषण र खुसीका लागि व्यतित गर्दिने भन्ने नै हुन्छ। वा भनौँ समाज यसरी नै चल्दै आइरहेको छ।
शारीरिक, सामाजिक, मानसिक सम्पूर्ण रुपले सुरक्षित रहने प्रणाली पहिले-पहिले विवाहले जसरी पूरा गर्न सक्थ्यो, त्यो अब आजको दिनमा त्यति नै सुरक्षित अघि बढेको छ भन्ने पनि देख्दिनँ म।
तपाईंले छान्नु भएकी सङ्गती सही नै पर्छ भन्ने ग्यारेन्टी कसले दिन सक्छ? चाहे त्यो मागी, भागी या प्रेम जुनसुकै प्रकारको विवाह नै किन नहोस्। व्यक्तिको चाहना, भावना, मन, तन कस्तो हुन्छ कहिल्यै पनि पूर्णरुपमा बुझ्न सम्भव छैन र यी चिजमा फस्न तयार हुनु आफैंमा दुःखदायक छ।
आजको युगमा कुनै एउटाले मात्र सपना देख्दैन। भागदौडपूर्ण समाजमा सबै आआफ्नो सपनाको लागि कुदिरहेका छन् र कसैको सपना सानो/ठूलो भएकै आधारले अर्काको खुसीको लागि आफ्नो पाइला खुम्च्याउनु बाध्य बनाउने यो वैवाहिक प्रणालीमा धेरै समस्या पनि देख्छु।
आफ्नो खुसी र आफ्नो सपनाको लागि बाँच्दा अर्कोलाई आफ्नो जीवनमा जोडेर उसको लागि आफ्नो चाहनाको बलिदान दिए जस्तो नाटक किन गर्ने?
म आफैंमा एउटा पुस्तक प्रेमी हुँ र लेखाइमा पनि उत्तिकै रुचि छ। मैले मेरो जिन्दगीमा पुस्तकसँग, मेरो लेख्य मोहसँग जिन्दगी बिताउने हक किन नपाउने? एउटा स्त्रीसँग विवाह गर्छस् या पुस्तकसँग भन्ने एच्छिक प्रणाली किन विकसित हुँदैन? अनि मैले पुस्तक रोज्दा समाजलाई केही चासो नहुने प्रणाली किन विकसित हुँदैन?
समाज त उसै पनि बिहे नगरुन्जेल टोकिरहन्छ। बिहे गर्दा केटी त खासै राम्री छानेन भन्दिन्छ। भोजमा खसीको मासुमा नुन चर्को थियो भन्दिन्छ। पर्सिपल्टदेखि वास्ता गर्न छोड्दिन्छ। त्यो समाजले मेरो लेखाइ खास छैन भनेर कुरा काटेको हेर्न चाहन्छु न कि विवाह गर्यो/गरेन भनेर।
आजको दिनमा तपाईं हामीलाइ दुखी तुल्याउन सक्ने जति चिज छन् नि, उति नै खुसी दिलाउन सक्ने चिज पनि छन्। बस् हामी खोज्दैनौँ र मात्रै।
घुम्न सिङ्गै संसार बाँकी छ, भोग्न धेरै अनुभव बाँकी छन्, धेरै चिज अन्वेषण गर्न पनि बाँकी नै छन्। दुनियाँले सधैं गर्दै आएर सधैं प्रश्नै मात्र गरेको यो निरस वैवाहिक प्रणालीमा किन फस्ने? यो सबै चिज एक्लै नै गर्दा पनि चल्छ, फोकटमा दुई व्यक्ति जोडिएर अनावश्यक मोहको सागरमा फस्नै पर्ने त्यस्तो खास अभिप्राय म देख्दिनँ पनि।
अनि एउटा यस्तो देशमा बसेर जहाँ एउटा सन्तान जन्माएर छोरी भए उसलाई बिहेदान गरेर पठाउनु पर्ने, छोरा भए पनि विदेशमा श्रम गर्न बेच्नुपर्ने परिवेशमा बुढेसकालमा पाल्छन् या साहरा बन्छन् भनेर विवाह गर्ने परिपाटी पनि अब थोत्रो भयो।
बरु मेरो पुस्तक प्रेमले मबाट अर्को पुस्तक जन्मिएला या नजन्मिएला तर त्यसले मलाई मेरो जीवनभर खुसी या सन्तुष्टि दिन सक्छ भने म त्यो किन नरोजुँ?
यो कुरा गर्दैगर्दा म २९ नजिकमा छु र उमेरले सिकाउने पाठहरू मैले पनि धेरै पढेको र बुझेको छु। एउटा सत्य के हो भने मेरो जीवनको सत्य अर्कोको जीवनमा सत्य नहुन पनि सक्छ।