मलाई अहिले पनि राम्रोसँग याद छ दसैंमा बा र काकाहरू खसी किन्न जाँदाको क्षण।
‘योपालि रातो खसी किन्नुपर्छ, रातो खसीको मासु मिठो हुन्छ,’ बा मुख मिठ्याउँदै भन्नुहुन्थ्यो।
सानो फुच्चे मलाई बालाई देखेर खसी किन्न जाने ठूलो रहर हुन्थ्यो। तर रहर हुँदा कहिले जान पाइनँ म।
उमेरले काका र नाताले दाइ पर्नेले भन्नुहुन्थ्यो, ‘मासु खाएर खसी चराउन जालास्, नरो अहिले।’
म फुरुङ्ग हुन्थें, मासु खाएर खसी चराउन मेरो मन पाखाहरूमा दौडिसकेको हुन्थ्यो। तर ठूलो भइसक्दा पनि मासु खाएर खसी चराउन कहिले पाइनँ। खसी हुँदा मासु थिएन, मासु हुँदा खसी। यो साधारण लाग्ने कुरा बुझ्न झन्डै एक दशक समय लाग्यो मलाई।
समयसँगै रहरहरू बाध्यतामा परिणत भए। काका र बाहरू बुढा भए, दाइ र म जवान। खसी किन्ने र घरमा दसैं ल्याउने जिम्मा दाइ र मेरो भयो। मोबाइल हेरेर किनमेल गर्न सिकेका हामी, गुगल म्याप हेरेर खसी बजार गयौं।
खसी बजारको परिदृष्य रोचक र उत्साहजनक थियो। मोलमोलाइको गन्धले माहोल तोतेको थियो।
‘आउनुस्-आउनुस्, घादिङे खसी हो फ्रेश छ।’
परबाट अर्को आवाज सुनिन्थ्यो- ‘घर-गाँउको जडिबुटी खाएको खसी हो, बोसो पटक्कै छैन।’
कोही ग्राहक भन्दै थिए- ‘यसको त ३२ वटा दाँत नै छैन, कलिलो रहेछ, मासु मिठो हुन्न।’
अर्को चस्मा लगाउने दाइ थप्दै थिए- ‘यो त मधेसको खसी हो, मासु पर्दैन’ यस्तै-यस्तै।
हामी दुई भाइले खसीलाई खसी बजार बाहेक अन्त देखेको छैनौँ। दसैं र माघे संक्रान्तिमा बाहेक खसीको मासु बिरलै पाक्छ घरमा। अनुभव नभए पनि जोशै जोशमा हेर्छौं रातो खसी, कालो खसी, मधेसी खसी, लामकाने खसी आदि इत्यादि।
अन्दाज नभए पनि बोक्छौं खसी र तौलको अन्दाज ठोक्छन् ३२ केजीभन्दा बढी छैन। मासुको भेउ नभए पनि हड्डी छामेर मासुको अनुमान गर्छौं, दाना खाएको खसी रहेछ। यस्तै तरिकाले छानिन्छ खसी जानेर नजानेर। कुनै वर्ष मासु राम्रो पर्छ त कुनै वर्ष बोसो।
भर्खरै गएको चैते दसैं र पर रहेको ठूलो दसैंको बीचमा आएको खसी सम्बन्धी लेख समय सान्दर्भिक नलाग्न सक्दछ। तर नयाँ वर्षको नयाँ लगनमा परिवारबाट बिहेका लागि छानिने युवा-युवतीको हालत खसी बजारको खसीजस्तै छ। बजारका खसीजस्तै उनीहरू तौलिन्छन्, नापिन्छन्, मोलिन्छन् र कहीँकतै झुक्याइन्छन् पनि।
कोही डाक्टर, कोही इन्जिनियर, कोही सम्पत्ति भएका कसैको खानदान, कसैको काठमाडौंमा घर त कसैको ठूलो इज्जत। यस्तै-यस्तै योग्यता र क्षमताअनुसारको ट्याग भिरेर बसेका छन् युवाहरू आफ्नो जीवनसाथी खोज्नलाई।
आफन्तीले बनाइदिएको फूलबुट्टे ट्याग साह्रै सुन्दर। केटो साह्रै सज्जन, केही खाँदैन, जीउ पनि सर्लक्क मिलेको, एक्लो छोरा र जग्गा जमिन भएको। केटी साह्रै राम्री, सधैं मठ-मन्दिर जाने र जागिर पनि खाने। आहा! क्या बात।
सबै सुन्दर छन्, सबै सक्षम। खसी बजारको खसीको भन्दा चर्को सुनिन्छ छोराछोरीको बखान। आफ्नो सन्तान नराम्रो कसले भनोस्? परीक्षाको फारम आफैं भर्न नजान्ने मास्टर गरेकी छोरीको शिक्षाको बखान भएकै छ। बाउको पैसाको चुरोट मुखमा हालेर बाउलाई गाली गर्ने छोराको संस्कारको तारिफ पनि भएकै छ।
जात, शिक्षा, सम्पत्ति परिवार संख्या आदिका आधारमा छुट्याइन्छन् युवा-युवतीको दर्जा। बढी पढाइ र सम्पत्ति भएका उच्च केटीका सानो परिवारले आँट्नै नसक्ने। व्यवहार मिलाउन नसक्ने मास्टर गरेकी केटीलाई मास्टर गरेकै केटा चाहिने, जागिरे केटोलाई जागिरे केटी।
बुहारी र ज्वाइँको छनोट प्रक्रिया दसैंमा खसीको छनोट जस्तै हुन्छ। बालाई इज्जत सुहाउँदो ज्वाइँ चाहिन्छ, आमालाई घर सुहाउँदी बुहारी। कसैलाई मधेसको मान्छे चाहिन्छ, कसैलाई काँठको। कतै खान बनाउन शिक्षित बुहारी चाहिन्छ, कही देखाउनलाई काठमाडौंको ज्वाइँ।
अर्को गहिरो खाडल त पारिवारिक मानसिकतामा छ। छोराछोरीले आफैं खोजेको दौँतरी, परिवारलाई चित्त बुझाउनै गाह्रो। जात मिल्नु पर्यो, संस्कार मिल्नु पर्यो, परिवार मिल्न पर्यो, के-के हो के-के। माया बस्दा कसैले न जात सोध्छ न त परिवार। माया गर्दा न त उसको सम्पत्ति हेरिन्छ न हैसियत नै। तर प्रेमलाई विवाहमा परिणत गर्न ठूलो लडाइँ लड्नुपर्छ आफ्नै परिवारसँग।
भर्खरै काम सुरु गर्दा एक सहकर्मी मेरो राम्रो साथी बने। उमेर र सोचाइ उस्तै-उस्तै भएकाले सहकर्मीबाट मित्रताको दूरी तय गर्न खासै लामो समय लागेन हामीलाई।
उहाँ विगत पाँच वर्षदेखि प्रेम सम्बन्धमा हुनुहुन्छ। केटी पक्षले नमानेका कारण प्रेम विवाहमा परिणत भइसकेको छैन। जात मिल्ने, केटो सज्जन र सक्षम तर केटीको बाले आफ्नो जिल्ला काटेर छोरी नदिने रे। भगाएर बिहे गरौं इज्जतको डर, नभागौं बाउ मान्ने अवस्थामा छैनन्। साह्रै अप्ठ्यारो अवस्थामा छन् उनी।
अर्को परिवारिक मापदण्ड जसलाई पहिलो चोटि सुन्दा म झस्किएँ। मेरो फुपूको दुई जना छोरी हुनुहुन्छ। पढाइ सकेर जागिर गर्ने जेठी छोरीको विवाहको कुरा चल्दा केटा पक्षले मानेनन् रे। कारण थियो भोलिको समयमा छोराछोरीले मामा भन्न पाउँदैनन् रे। समय फेरियो तर मानसिकता भने फेरिएन।
विवाह परिवारिक कार्य हो तर यसमा सामाजिक हस्तक्षेप आवश्यकताभन्दा बेसी छ। केटाकेटीको शिक्षा र सम्पत्तिभन्दा महात्वपूर्ण उनीहरूको चरित्र हो। चरित्रको आधारमा मान्छे जाँचिनु पर्छ। जडियाको छोरा जडिया नहुन सक्छ र पण्डितको छोरा संस्कारी नहुन सक्छ।
सबैमा आफ्नै किसिमको खासियत हुन्छ। सबैलाई सबै मन पर्नु सम्भव हुँदैन। हामी मानव पूर्ण हुने कल्पना पनि गर्न सकिँदैन। भगवान रामसँग पनि चौध कला मात्र थियो।
विवाहका लागि व्यवहार र परिवार मिल्नुभन्दा केटाकेटीको मन र भावना मिल्नुपर्छ। यस वर्षको विवाह लगनले दुई मन र दुई परिवार एक बनाउन सफल रहोस्।