बिहान करिब ११ बजेको थियो, आफूलाई बन्द कोठाबाट बाहिर निकालेँ। आँगन, दलान र पुरानो घरभरि दाजुभाइ, आमाहरूको हल्ला सुन्न सक्थेँ। सायद भोलिको तयारी होला।
म सिधैं आफ्नो कोठामै फर्किन्छु। सिरानी काखमा राखेर रुन थाल्छु। भोलि मेरो बिहे। मेरो बिहे बलजफती हुन लागेको होइन तर पनि मन भारी-भारी छ।
यत्तिकैमा कोठामा आमाको प्रवेश हुन्छ।
‘देवका किन रुन्चेस बा? बीस दिन भयो राम्रोसँग केही खाएकी छैनस्। मेरो त ९ वर्षकी बालखमै बिहे भाको। तिमीहरू बुझ्ने भैसक्यौ, पढालेखा छौ। छोरीको जात अर्काको घर नगई नहुने। खाना खा, ज्यान नसुका,’ यति भनेर पटुकाबाट फ्रुटी निकालेर मलाई दिनुहुन्छ र आमा रुँदै जानुहुन्छ।
कुनैबेला त्यही पटुकाबाट म र भाइलाई मिस्री, गुँड दिनुहुन्थ्यो मेरी आमा। म पुन: बलिन्द्र धारा आँसु खसाल्दै बिस्तरामै पल्टिन्छु। लाग्छ कि मलाई कुनै गह्रुंगो भारीले थिचिरहेछ। मन खुसी रत्तिभर छैन।
आखिर हुनेवाला श्रीमानप्रति मेरो कुनै सिकायत थिएन। न पढाइ, न उमेर, न स्तर वा अरु केही। राम्रोसँग न मान्छे देखेकी थिएँ वा बोलेकी नै। हाम्रो जमाना फरक, परिवारको विचार मिल्यो त बिहे पक्का। त्यसमा मेरो कुनै अवरोध थिएन।
मलाई लागिरहेथ्यो, मेरो जन्मघरमा आज अन्तिम दिन। आमाकी कान्छी छोरी पनि भोलिदेखि पराई हुन्छे। आखिर आमा एक्लै। हुन त के एक्लै, तीन तीन भाउजूहरू हुनुहुन्छ, बुवा हुनुहुन्छ तैपनि म एक्लै देख्छु, मेरो अनुपस्थितिमा एक्लै।
फेरि केहीबेरमा भाइ आउँछ। उमेरले भाइ हो, मभन्दा पाको। स्प्राइट गिलासमा खनाउँदै भन्छ, ‘दिदी, तपाईंले र मैले खानी।’
म निःशब्द आँखाबाट आँसु खसाली मात्र रहन्छु। थोरै स्प्राइट खान्छु अनि भाइ ‘दिदी, एकछिनपछि आउँछु है’ भन्दै जान्छ।
सबै जम्मा भैरहेछन्। दिदीहरू, भाइ, आफन्त। केहीबेरमा साथीहरू पनि आउँछन्। ‘मनमा लड्डु फुट्दै होला’ भनेर जिस्काउने साथीहरूको पुरानै बानी।
फेरि माइली भाउजू हातमा चिया र नास्ता लिएर आउनुहुन्छ। म आफूलाई सम्हाल्न सक्दिनँ, भाउजू पनि मेरो मुखमा हेर्ने हिम्मत गर्नुहुन्न। तैपनि रुन्चे स्वरमा भन्नुहुन्छ- ‘देवका, कति दिन भयो केही खानु भएको छैन, यति त खानू।’
सानै छँदा भित्रिएका मेरा ठूली र माइली भाउजू आमाभन्दा कम हुनुहुन्न। थाहा छैन कहिलेदेखि मेरो लागि यसै गरेर चिया नास्ता बोकिरहनु भएको छ। म ऋणी छु उहाँहरूको। अब त्यो जिम्मेवारी भोलिबाट मेरो काँधमा आउँदैछ, सफल हुन्छु वा हुँदिनँ भगवानलाई थाहा होला।
भाउजूहरू त सानैमा बुहारी हुनुभएको। हामी कति धेरै भाइबहिनी, यति धेरै नन्द-आमाजू, देवर-जेठाजु, सासू-ससुरा भाको घर पनि सहजै सम्हाल्नुभयो।
विस्तारै सबै जना कोठामा आउँदै जान्छन्। दिदीबहिनी सबै एकजुट भएपछि एकछिन रुवाबासी चल्छ। माइली दिदीले भन्नुहुन्छ ‘देवकाको बिहे अन्तै हुने कुरा थियो अचानक रिडी, म त झसंग भएँ।’
एकछिन तर्क वितर्क भए। अविवाहित केटी मान्छेका कुरा, प्रसंग धेरै ठाउँमा चल्छ, अन्त्यमा जोसँग लेखिएको हुन्छ उसैसँग साइनो जुर्छ।
दिन पनि कति छिटो बित्छ। रात पर्दा दिदीहरू माला बनाउनतर्फ लाग्छन्। साइली भाउजू ‘देवकालाई मेहेन्दी लगाउनु पर्यो’ भन्दै आउनुहुन्छ।
अहिले जस्तो हल्दी, मेहेन्दी हाम्रो पालामा नहुने। हल्का कोर्न जानेकोले यसो हात भरिदिए पुग्यो।
फेरि मेरो रुवाइ सुरु हुन्छ अनि भाउजू पनि। गिद्धले पखेटा फिजाएजस्तै मैले दुई हात खुट्टा छोडिदिन्छु। मानौं म एउटा मूर्ति हो र मूर्तिकारले खोपिरहेछ, हान्दै अनि खोप्दै एउटा आकार दिनको लागि।
साइली भाउजू र म लगभग उहीँ उमेरका, हाम्रो रुचि एउटै। कुनैबेला खुब मिल्थ्यौं, सँगै सुत्थ्यौं। अब म यी साराबाट टाढा हुँदैछु। मलाई चम्चाको सहारामा जबर्जस्ती ‘भोलि खाने कतिबेला हो’ भन्दै खुवाइन्छ।
सबै सुत्ने तर्खरमा हुन्छौं। तिर्सना आउँछे। तिर्सना मेरो माइलो दाइकी छोरी, सानैदेखि मसँग सुत्छे। उसलाई देखेर अनायासै मेरो आँखा भरिन्छ।
कोसँग सुत्ने होली तिर्सना? दिदीको घरमा जाँदा त रुन्छे, अब त म सधैंको लागि जाँदैछु। उसमा मेरो बिम्ब छ। साथीहरू तिर्सनाको आनिबानी तेरो जस्तो छ भन्छन्। ऊ मेरो परान हो।
हुन त सबै भाइबहिनी मेरा परान हुन् तर ऊ बेग्लै। बल्लतल्ल सुत्ने प्रयास गर्छु। तिर्सना पनि निदाएकी छैन। दिदीहरू निदाइसके वरिपरि। मेरो मनमा अनेकन कुरा खेलिरहन्छ्न्।
आज त मेरो जन्मघरमा अन्तिम रात हो। अब त मेरो आगमन पाहुनाजस्तै हुनेछ, जसरी दिदीहरू आउँछन्। भोलिदेखि यो कोठा मबिना शून्य रहला। यो बिस्तरा मौन रहला। विजय भाइ ‘बेका दिदी’ भन्दै पछि लाग्छ।
बाको दौरा-सुरुवालमा इस्त्री कसले लगाइदेला? आमाको छेउछाउ को बस्ला? दाइहरू पनि मलाई ‘देवका मिठो चिया बनाइदे न!’ भन्छन्, पक्कै मलाई मिस गर्लान् नि!
यो घर, त्यो बगैँचा हरेक बोटबिरुवामा मेरो माया छ। यी सबै बिना म कसरी जिउँला?
हुन त कति साथीको बिहे भैसक्यो। म सानी छैन तर किन यति गाह्रो भैरहेको यो रात? भोलि त दाइले सबेरै नुहाएर होटेल जाने भन्नुभएको छ। सबैजना मिलेर कन्यादान गर्नेछन्। मेरो घर, मेरो थर, मेरो गोत्र मेरो रहनेछैन।
म सबैदेखि पराई भएर नयाँ साइनो के गरी निभाउँला? नयाँ ठाउँ र नयाँ मान्छेसँगको दैनिकी कस्तो होला? मलाई नयाँ संसार बनाउनु छ, नयाँ बगैँचा शृंगार्नुछ। भगवान शक्ति दिनू मलाई, मेरै दुनियाँ बनाउनुछ।
निदाउन प्रयासरत रहन्छु।