केही समय अगाडि सुशिल देवकोटाले ट्वीटरमा ज्ञानवर्धक सामाग्री ‘टिनएजरको मानसिक अवस्था: एक लहरो’ ट्वीट गरेका थिए। उक्त लहरोको अन्त्यमा उनले लेखेका थिए, ‘अंग्रेजीमा भनाइ छ– इट रिक्वायर्स अ भिलेज टु रेज अ चाइल्ड। यो हाम्रो सामाजिक दायित्त्व हो।’
म यो लेख यही अफ्रिकन उखानबाट सुरु गर्दैछु। बच्चा हुर्काउन गाउँ चाहिन्छ भन्नुको अर्थ बच्चालाई सुरक्षित र स्वस्थ्य वातावरण प्रदान गर्न एक जना वा एक परिवार मात्र होइन, धेरै मानिस वा समुदाय चाहिन्छ भनिएको हो।
बालबच्चाले सुरक्षित र स्वस्थ्य वातावारण पाए मात्र उनीहरूको उचित विकास हुनसक्छ र उनीहरू फस्टाउन पाउँछन्। अनि मात्र उनीहरूको आशा र सपनाले साकार रुप लिन सक्छ।
हामी केटाकेटी हुँदा जब गाउँमा मकैबारी बढ्थ्यो, केटाकेटीको असुरक्षाको कथा आगो झैं फैलन्थ्यो; बच्चा चोर गाउँ पसेको छ रे! मकैबारीमा लुकेर बसेको छ रे! एक्लो बच्चा भेट्यो कि बोरामा हालेर लैजान्छ रे! आदि इत्यादि।
आमाहरू भन्नुहुन्थ्यो- ‘बालबालिका खेल्ने, चाहर्ने ठाउँ असुरक्षित भएको गाउँ राक्षस पसेको गाउँ हो। हाम्रो गाउँमा बर्खा लागेपछि राक्षस पस्छ, र बालबच्चा तथा परिवारलाई आतंकित बनाउँछ।’
आमाकै भनाइमा पहिले राक्षस पसेपछि गाउँ असुरक्षित हुन्थ्यो, अहिले त गाउँठाउँ राक्षसको घर जस्तै भएको छ जहाँ बाल-बृद्ध दुवै असुरक्षित छन्।
बालबालिका हुर्कन मात्र होइन, वृद्धवृद्धाले जीवनका अन्तिम वर्षहरू सहज, सुरक्षित र सम्मानित रुपमा कटाउन पनि सिङ्गै गाउँ चाहिन्छ। हाम्रो समाजमा जेष्ठ नागरिक धेरैतर्फबाट उपेक्षित समूह हो। यो उमेर समूह घरदेखि राज्यसम्मले अनुत्पादक मानेको समूह हो, र यो समूहसँग भरोसाको भरपर्दो विकल्प पनि हुँदैन।
उनीहरूसँग जानका लागि अर्को ठाउँ प्रायः हुँदैन र भए पनि स्वागतयोग्य हुँदैन। त्यसकारण पनि कयौं वृद्ध आमाबाहरू उपेक्षा सहेर बस्न बाध्य छन्।
घरभित्र हुने सल्लाहमा जेष्ठ नागरिकलाई सामेल गराउन आफ्नै छोराछोरीले आवश्यक ठान्दैनन्, उनीहरूसँगको संचार त झन् परिवारलाई जरुरत नै लाग्दैन। परिवार, समाजले वृद्धवृद्धाहरू दिएको खाएर चुपचाप घरमा बस्ने समूह हो भन्ने मान्यता राख्दछ।
यो कुरा लेख्दै गर्दा केही समय अगाडिको एउटा बहसको सम्झना आयो। काठमाडौंको आकाशे पुल र बाटो काट्ने बटुवाको बारेमा अनौपचारिक बहस चलिरहेको थियो। आकाशे पुलबाट नहिँडेर आकाशे पुलकै तलबाट बाटो काट्ने बटुवाको प्रसंग उठाउँदै काठमाडौंको ट्राफिक अभ्यासप्रति सामूहिक चिन्ता व्यक्त हुँदै थियो।
यसै क्रममा आकाशे पुल अपांगता भएका व्यक्ति, वृद्धवृद्धामैत्री नभएकोले उनीहरूलाई आकाशे पुलबाट रोड क्रस गर्न सम्भव नै छैन भन्ने प्रसंग पनि उठ्यो।
त्यही प्रसंगमा एकजना प्रतिष्ठित व्यक्तिले भन्नुभयो- ‘नसक्ने मान्छे किन हिँड्नु पर्यो त! चाहिएको ल्याइदिने छोराछोरी, बुहारी भएपछि घरमै बसिराखे भएन? बिरामि भए, नगई नहुने काम परे बाआमालाई बोकेर पनि लगिहाल्छन्।’
हाम्रो समाजले वृद्धवृद्धालाई गर्ने सामान्य व्यवहार यही हो। उनीहरू कहाँ जाने, कहाँ नजाने, के खाने, कसरी खाने, कुन लुगा लगाउने, कसरी लगाउने, कोसँग बोल्ने, कोसँग नबोल्ने, बोले कसरी बोल्ने सबै कुराको निर्णय सक्नेले आफ्नो सुविधाअनुसार गरिदिने हो।
यतिसम्म कि परिवारका सदस्यहरू कहाँ जाँदैछन्, त्यो कुरा घरका जेष्ठ नागरिकले थाहा पाउनु पर्छ भन्ने धेरैलाई लाग्दैन। मैले देखेको छु कति आमाबाहरूले हाम्रा छोरा-बुहारी कहाँ गएका हुन्, तिमीलाई थाहा छ भन्दै छिमेकीलाई सोधेको।
छिमेकीले त्यो कुरालाई सहज बनाउनुको सट्टा झन् कठिन बनाइदिएको घटना पनि सामान्य जस्तै छन्। हतारमा भन्न बिर्सेका होलान्, जहाँ गए पनि बेलुकी त आइहाल्छन् नि। केही सहयोग चाहिएमा म घरमै हुन्छु, मलाई भन्नु होला भनेर सामान्य बनाउन सक्ने कुरालाई तपाईंको घरका मान्छे कहाँ गएको तपाईंलाई थाहा हुन्छ कि मलाई? जस्ता प्रतिप्रश्न गरेर जेष्ठ नागरिकलाई झन् निराश बनाउने गरेका कथा पनि प्रशस्तै छन्।
अझ घरका सदस्य फर्किएपछि उनीहरूसँग आमाबाका थप कुरा गरेर आन्तरिक कलह पैदा गरेका कथा पनि कम छैनन्। समुदाय छरछिमेकमा कसैको कारणले जेष्ठ नागरिकहरूलाई थप जोखिममा पारिनु मानव अधिकारको हनन् हो।
जेष्ठ नागरिकहरूसँग सकारात्मक र सम्मानजनक अन्तरक्रिया गर्नु समाजका हरेक व्यक्तिको सामाजिक जिम्मेवारी हो। यसकारण जेष्ठ नागरिकलाई सुखद र सम्मानित वृद्धावस्थाको लागि सिङ्गै गाउँ चाहिन्छ भनिएको हो।
वृद्धावस्थामा परिवार, नातेदार, समाजबाट हुने उपेक्षाको कुरा गर्दा पितृसत्तात्मक समाजको लैङ्गिक नियम र शक्ति सम्बन्धको बारेमा कुरा नगर्ने हो भने त्यो बहस अधुरो नै रहन्छ।
झण्डै १० वर्ष अगाडिको कुरा हो, कपिलवस्तुको कुनै गाउँमा सामाजिक अनुसन्धानको क्रममा जाँदा भेटेको एकजना वृद्ध आमाको कथा मेरो सम्झनामा अझै ताजा छ। वृद्धावस्थाको कारण निकै कमजोर बनिसकेकी ती आमालाई बाख्राको खोर छेउमा परिवारले बस्ने व्यवस्था मिलाइदिएको थियो।
हामी जाँदा घरको बरण्डामा बुहारी र नाति-नातिनीहरू आफ्नै काममा व्यस्त थिए भने आमा आफ्नै सुरमा केही बोल्दै थिइन्। आमाको छोरा भने खेतमा काम गर्न गएका रहेछन्, जोडीसँग छलफल गर्नुपर्ने हुनाले हामीले उनलाई कुर्यौं। छोराछोरीले हामी आएको जानकारी दिएपछि उनी घर आए।
छोरा आएको देखेर आमाले निकै आशालाग्दो आँखाले हेरिरहिन् तर छोराले कुनै प्रतिक्रिया दिएनन्। हाम्रो अनुसन्धानको विषय फरक थियो त्यसकारण हामी आमाको छोराबुहारीसँग कुराकानी गर्न थाल्यौं, उता आमा भने बीच-बीचमा के-के भन्दै थिइन्।
हामीलाई अलि असहज भएपछि भन्यौं, आमाले के भन्दै हुनुहुन्छ सोधेर आउनुस् न।
परिवारका सबैजनाले उहाँको मानसिक अवस्था ठिक नभएकोले एक्लै बोलिरहने जवाफ दिए। अनि यस्तो अवस्थामा किन बाहिर यसरी एक्लै राखिदिनु भएको त भन्दा राति कराएर कसैलाई पनि सुत्नै नदिने भएकोले बाहिर राखेको बताए।
यो उमेरमा, अझ यो अवस्थामा राति एक्लै बाहिर छोड्दा तपाईंहरूलाई डर लाग्दैन मात्र के भनेका थियौं बुहारीले चर्केर भनिन्- ‘यो त मलाई दिएको दुःखको पाप हो। उनले पहिला दिएको दुःख सम्झने हो भने त मुख पनि नहेर्नु पर्ने हो, धन्न मैले त घरमा बस्न, खान दिएको छु।’
यी र यस्ता प्रकृतिका कथा हरेक गाउँ समाजमा छन्। पितृसत्तात्मक समाज शक्तिको गलत अभ्यासको समग्र रुप हो। यो समाजले महिला-पुरुष सबैलाई विभिन्न तहमा विभाजन गरेको छ, र त्यसैअनुसार शक्तिको अभ्यास गर्न सिकाएको छ। जसको शक्ति उसकै भक्ति, कहिले सासूको पालो कहिले बुहारीको पालो जस्ता शक्तिको गलत अभ्यास गर्न सिकाउने भनाइ हाम्रो समाजमा व्याप्त छन्।
सासूहरूले आफूलाई घरको शासक मानेर बुहारीहरूमाथि गर्ने व्यवहार होस् वा बुढेसकालमा शारीरिक र मानसिक रुपमा कमजोर, र विकल्पविहीन सासूहरूमाथि बुहारीहरूले बदलाको भाव राखेर गर्ने व्यवहार, दुवै शक्तिको गलत अभ्यासका उदाहरण हुन्। र, यो पितृसत्तात्मक सत्ताकै चरित्रको निरन्तरता हो।
वृद्धावस्थामा मिठो खान र राम्रो लाउनभन्दा पनि आफ्नाहरूको साथ पाउन तड्पने उमेर हो। ९० को दशकमा हिँड्दै गरेकी मेरी आमा भन्नुहुन्छ, ‘अब मलाई खान लाउनको खोजी छैन। घरमै भका लुगा लाउन भ्याउने हो कि होइन थाह छैन, नयाँ थपेर के गर्ने? खान पनि शरीरले माग्न छोड्यो, एक गाँस बढी खायो भने पेटले धान्दैन। अब मलाई चाहिने साथ हो, बुढेसकालमा आफ्नै शरीरले त साथ छोड्दै जाने रहेछ अरु कसको साथ पाउनु?’
मेरी आमाको लागि म धेरै आर्थिक र कम सामाजिक छोरी हुँ, म आफैं आमालाई चाहिएको बेला साथ दिन नसक्ने प्रतिनिधि पात्र हुँ। फेरि पनि म यी पछिल्ला वर्षहरूमा धेरै वृद्ध मनहरूसँग नजिक छु, धेरैका उपेक्षाका कथा नजिकबाट देखे सुनेको छु। उपेक्षा, अपमान र द्वेषका कथा गाउँबाट सहर आएका, सन्तानलाई अंश वा सम्पत्ति जोडिदिन नसकेका, एकल वृद्ध आमाहरूसँग झन् धेरै छन्।
वृद्धवृद्धा उपेक्षित र बालबालिका असुरक्षित हुने समाज सभ्य समाज हुनै सक्दैन। बालबालिका जस्तै जेष्ठ नागरिकहरूको हेरचाह एक व्यक्ति वा परिवारको मात्र नभई सिङ्गै गाउँ समाजको जिम्मेवारी हो।
बस्तु बुढो भए भिर खोज्छ, मान्छे बुढो भए निहुँ खोज्छ जस्ता जेष्ठ नागरिक द्वेषी भनाइलाई सामान्य मान्ने र उनीहरूको हरेक चाहना र आवश्यकतालाई नकारात्मक दृष्टिकोणले हेर्ने समाज जेष्ठ नागरिक मैत्री समाज होइन। यस्तो समाज एक्काइसौं शताब्दीको मानव सभ्यतालाई नसुहाउने पूर्वाग्रही र गैरजिम्मेवार समाज हो।
वृद्धावस्था हाम्रो गाउँघरमा भन्ने जस्तो दिन बिताउने काल पर्खने दुःखद् समय होइन, मानव जीवनप्रति यतिसम्म असंवेदनशील भाष्यको निरन्तरता सभ्य समाजको लागि लज्जाको विषय हो।
सुरक्षित र सम्मानित रुपमा बाँच्न पाउनु हरेक नागरिकको विश्वव्यापी मौलिक आधिकार हो भने हाम्रा घर-समाजका जेष्ठ नागरिकको संरक्षण गर्नु तपाईं हामी सबैको दायित्त्व।