धेरै लामो यात्राको थोरै अंशको रूपमा चिनिएको म। हो, त्यही म जो आफ्नो भविष्य कोर्नका लागि आमाको गलाको तिलहरी बेचेर सहर पसेको थिएँ।
मलाई थाहा भएसम्म मेरा शिक्षकहरूले एकदमै राम्रो शिक्षादिक्षा गाउँमा दिनु भएको थियो। तर यो समाजको विवशता भनौं कि के भनौं गाउँमा खेतै खेतको बीचमा रहेको सानो मेरो विद्यालयमा प्राय: असार, साउनको बेलामा शिक्षकहरू बिदा बस्ने गर्नु हुन्थ्यो। स्कुल आइ हाले पनि सुरूवाल सुर्किएर नै हात गोडामा माटोका धब्बाहरू सहितै हाम्रो कक्षाकार्य चेक गर्नका लागि आउनुहुन्थ्यो। जसोतसो स्कुले जीवन गाउँमै सकेर क्याम्पस पढ्ने धोको बोकेर, हातमा आमाको गलाको तिलहरी र मनमा अनेकौं सपना बोकेर सहर पसेको थिएँ।
काठमाडौं सहर यस्तो होला भनी परिकल्पना गरे भन्दा निकै भिन्न पाएँ मैले। त्यहाँ न मैले मेरा गाउँको जस्तो लगनशील र सहयोगी साथी पाएँ, न इष्ट मित्र नै। यही बाबजुत पनि म संघर्षदेखि कहिल्यै पछि हटिनँ र लागि नै राखें।
बल्ल तल्ल केही दिन आफन्तको घरको बसाइपश्चात मैले एउटा भने जस्तो कोठा त पाएँ तर खोजे जस्तो आनन्द पाइनँ।
आमाको तिलहरी बेचेर बचेको पैसाले काठमाडौंका गल्ली गल्लीमा क्याम्पस खोज्न थाले कहीँ कतै इन्ट्रान्स मेरो लागि बाधक बनिदियोे त कतै पैसा।
त्यही पनि भविष्य खोज्न त्यति सजिलो भने छैन भन्ने लागेर केही दिनको लगातार मेहनतपश्चात काठमाडौंको नाम चलेको कलेजमा नै भर्ना हुने अवसर मिल्यो।
कलेजका सम्पूर्ण क्रियाकलापहरू व्यवहारिक रूपमा मिलाउँदै आएँ। अब पालो आयो दैनिक गुजारा चलाउनको लागि सोच्नुपर्ने दिनहरूको। १/२ दिन गर्दा गर्दै कलेजमा साथीहरू बने। कोही साह्रै बदमास थिए भने कोही दुःख बुझ्ने खालका थिए।
एक जना मसँगै पढ्ने साथी थियो मलाई साह्रै अप्ठयारो परेको छ केही दिनको लागि मलाई थोरै सापटी दिन आग्रह गरें।
मेरो जस्तै समस्या परेको होला भनेर आमाको तिलहरी बेचेर कापी कलम किन्न साचेको पैसा फिर्ता पाउने आशमा दिएको थिएँ। तर भाका गरेको दिनहरू गए उसलाई जति सम्झाउँदा पनि मेरो साथीले पैसा फिर्ता दिने निर्णय गरेन बरू मसँग रिसाएर बोलचाल नै बन्द गर्यो।
दिनैदिन मलाई मेरा समस्याहरूले निहाल्न थाले। मेरो छेउबाट चिहाउन थाले र मलाई पढ्नभन्दा कामको खोजीमा लाग्नको लागि मेरो पाइला मोडिन थाले। बाबाको फाटेको जुत्ता र आमाको च्यातिएको चोलीले मेरा निद्राहरू बिथोल्न थाले।
पढाइको चपेटा एकातिर र काठमाडौंजस्तो सहरमा बस्नको लागि गर्नु परेको संघर्षको कथा अर्काेतिर थियो।
साँझ बिहान नभनी काम खोज्न थाकिनँ त्यसैले केही समयको बाबजुद मैले बल्ल तल्ल एउटा कम्पनीमा जागिर खाने अवसर पाएँ।
भविष्य सम्झिएर कहिले थाकिनँ किनकि त्यो आमाको तिलहरी गलाबाट फुकालेर ल्याउँदाको क्षण एकदमै पीडादायिक थियो।
संघर्षको यात्रा चलिनै रहेको थियो, मेरो मेहनतले पनि सफलता प्राप्त गर्दै गएको थियो।
एकदिन मसँगै एउटै कम्पनीमा काम गर्ने साथी थिए। मैले गरेका कामहरूबाट उनी एकदमै प्रभावित भएर सिइओसम्म मेरा सफलताका कथाहरू पुर्याउने रहेछन्।
कम्पनीको वार्षिक उत्सवको समयमा मलाई थप हौसला प्राप्त होस् भनेर होला मेरो सम्मानको कार्यक्रम राख्नुभएको रहेछ। जुन मेरो लागि एकदमै खुसीको क्षण थियो।
स्टेजमा प्रमाण पत्र र सम्मानका माया पाउँदा म भावविह्वल भएको थिएँ। तर त्यहाँ मलाई माया गर्ने मान्छे थोरै मात्रामा देख्थें भने मेरो दुःख हेर्न चाहनेको संख्या धेरै देखिरहेको थिएँ।
जिन्दगीमा पाएको दुःखलाई बिर्साउने एउटा सफलताको चिनो बोकेर म कोठामा जाँदै गर्दा बेलुकाको ७ बजेको थियो। मेरा सहकर्मी मित्रहरूलाई मेरो सफलताले असह्य पीडा दिएको हुनुपर्छ मलाई चारैतिरबाट घेरेर मेरो प्रमाणपत्रहरू फुटाइदिए र मलाई उठ्न नसक्ने गरी लडाएर सबै जना हिँडे।
दुःखदेखि निडर रहेर पछाडि नहट्ने म सहकर्मी मित्रहरूको त्यस्तो व्यवहारले धेरे दिनसम्म ओछ्यानको ओछ्यान लड्न बाध्य भएँ।
वल्लो कोठामा मान्छे मर्दा पल्लो कोठामा थाहा नहुने ठूलो सहरमा थिए म। तर मलाई के भयो भनेर सोध्ने मेरा कोही थिएनन्।
हो यस्तै रहेछ सहरको जिन्दगी।
हाम्रै गाउँमा अन्तरे दाइको घरमा बारूलाले घेर्दा ४ कान्ला नाघेर अन्तरे दाइको स-परिवारलाई बचाउने हामी। यो सरहमा त पल्लो ढोकामा मान्छे अचेतन अवस्थामा हुँदा नि सोध्न नमिल्ने रहेछ।
आपतकालीन घडीबाट केही दिनपछि बल्ल उठ्न सफल भएँ। यस्तै गर्दागर्दै केही दिनहरू बित्न थाले। कलेजको पहिलो वर्षको पनि रिजल्ट राम्रो आएछ दोस्रो वर्षमा भर्ना हुनको लागि पनि राम्रै स्कलरसीप पाएँ। यो मेरा जिन्दगीको रमाइलो क्षण हो।
फेरि एकदिन दुई दिन गर्दागर्दै जागिरको शिलशिलामा दौडिन थालें। भाग्यको खेल राम्रै भएर होला अर्काे स्थानमा जागिर खाने अवसर पाएँ। यो बेला मलाई यो ज्ञान भइसकेको थियो कि धेरै राम्रो काम गर्दा पनि आफ्नो साथीभाइद्वारा लुटिने र कुटिनु पर्ने विवशता हुने रहेछ।
आफ्नो बुद्धि जस्तो छ त्यस्तै चेतनाको व्यवहार गर्छ भन्ने समग्र तीता मिठा अनुभवहरूलाई एकत्रित गरी, त्यस्तै गरी ज्ञान र बुद्धि विवेक प्रयोग गरेर त्यही अनुसार काम गर्न थालें।
महिनाभरिको कमाइले आफ्नो खर्च धान्न मलाई एकदमै मुस्किल भएको थियो।
सहरको त्यो महंगी, आमाबाबाको त्यो सपना पूरा गर्न यतिले पुग्दैन भन्ने लाग्यो र म भविष्य खोज्न आएको यो ठूलो सहरमा निराशता, अभाववै अभाव र घृणा र कुदृष्टिका आकारहरू मात्र देख्न थाले।
अभावलाई प्रभावमा बदल्न म आफ्नो पाइला निरन्तर अगाडि बढाउन थालें तर जहाँ जाँदा पनि घमण्ड र नैतिकता नभएको मानिसहरू देख्न पुगें र भविष्य खोज्न सहर छोडेर वैदेशिक रोजगारमा लाग्नको लागि निरन्तर प्रयासरत रहे र अन्तिम भविष्य विदेशमा गएर पसिना चुलाउने निर्णय गरें।