प्यारी साथी कल्पना (नाम परिवर्तित), स्कुले जीवनका प्यारा साथी हामी। सामाजिक सञ्जालमा पनि जोडिएका रहेनछौं।
अस्ति बजारमा एक्कासि भेटेर अंगालेपछि खुसीको आँसु आयो। शायद बाल्यकालको साथी भएर होला। हामीबीच लुकाउनुपर्ने, देखाउनुपर्ने अथवा अप्ठ्यारो मान्नु पर्ने केही पनि कुरा थिएन।
सिधै एकअर्काको जीवनमा के भइरहेको छ, कसरी चलिराखेको छ भनेर कुराकानी सुरू भयो। त्यो पार्कमा बसेर बिताएको दुई घन्टा मेरा लागि ठूलै महत्व राख्छ।
कुराकानीकै क्रममा कति पटक हाँसियो, कतिपटक रोइयो त कति पटक मौन पनि बसियो।
तिम्रो जीवनका धेरैजसो भोगाइ मलाई लाग्छ तिम्रा मात्रै हैनन् अरू धेरैको भोगाइ हुनसक्छन् र फेसबुकमा पोस्ट नगरी मनले मानेन। सबै कुरा यसरी हुबहु लेखेकी नभने है साथी। मेरो पोष्ट देखेर तिमीले आफैं बुझ्ने छौ।
तिमीले बोलेका शब्दहरू जस्ताको तस्तै:
सामान्य गाउँले जीवनमा जन्मे हुर्केका हामी, जिउनको लागि ठूला सपना केही पनि थिएनन्। बिहान बेलुका घाँस दाउरा गरेर बुवा आमाको काममा सघाएरै पढियो। एसएलसी दिँदा सोह्र वर्षकी म, तिमीलाई थाहै छ म टपर थिएँ त्यसपछि हामी छुट्टियौं। प्लस टु पढ्दा पनि राम्रै अंक आयो, अठार वर्षको उमेरमा स्नातक पहिलो वर्षमा भर्ना भएँ।
यो उमेर भनेको धेरै चंचल, जता हेरे पनि रमाइलो, नाङ्गो डाँडाकाँडा पनि वाउ सो क्युट! साथीहरूसँग सामान्य गफ हुँदा पनि धेरै हाँसो लाग्ने। फेरि मेरो माइतीमा धेरै हाँसेको बाबाआमालाई मन नपर्ने। गाउँघरतिर छिटो बिहे गर्ने चलन थियो। १८ वर्षे म के गरे ठीक के बेठीक खासै समझ थिएन। थोरै धेरै किताबी ज्ञान थियो, जहाँ समस्या हुन्छ त्यहाँ उपाय पनि हुन्छ भनेर हाँसिन्थ्यो। सानै उमेर भए पनि विवाहको रिस्ता आइरहन्थे गाउँघरमा, पढाइको लागि भनेर कति रिस्ता त मना गरें आफैं।
माइतीमा अभावमा हुर्केको भएर होला रंगीन सपनाहरू पनि कहिल्यै देखिनँ बरू बिहे पछिको आफ्नो जीवन कस्तो हुने होला, को होला मेरो सपनाको राजकुमार, यस्तै यस्तै कुराले काउकुती लागिरहन्थ्यो। कहिलेकाहीँ सोच्थें, बिहेपछिको जीवन त कति सुन्दर होला, केही नबोले पनि मनको कुरा उसले बुझ्ला, उसको कुरा मैले।
हरेक दु:ख सुखमा साथी भइएला। सानो घरलाई मायाको महल बनाउला। अरू के चाहियो र जिन्दगीमा। फेरि अर्को ठाँउबाट बिहेको कुरा आयो, राम्रो घरपरिवार र पढेलेखेको केटा छ रे,अब बिहे गर्नुपर्छ भनेर पारिवारिक निर्णयमा म पनि राजी भएँ। त्यतिखेर टीकाटालो भन्ने पनि थिएन। अपरिचित हामी एक झल्को देखेकै भरमा विवाह भयो। अब सुरू भयो नयाँ जीवन।
माइतीमा बुवाआमाहरू धार्मिक लाइनमा भएकाले हामीले भान्सामा काम गर्नु परेन। कहिलेकाहीँ केही पकाइहाले पनि कति मिठो पकाउनी भनेर प्रशंसा मात्र गर्नुहुन्थ्यो। घरमा आएको भोलिपल्टबाट भान्साको काम मेरो ठेक्कामा पर्यो। सासूससुरा त ठीकै उमेरका हुनुहुन्थ्यो तर म बुहारी बनेर आएपछि सासूले भान्साको काम छाड्नुभयो, ससुरा बाले घाँस काट्न र गोबर फाल्न छोड्नुभयो।
एक्कासि मेरो दैनिकी परिवर्तन भयो। आमाले पस्केको थाल तानेर खाएकी म अब दिनदिनै आफ्नै हातले पकाएर सबै परिवारलाई खुवाउँथें। तर उहाँहरूलाई खाना पटक्कै मन परेन, बल्ल बल्ल गर्दै पकाएको खाना कहिले चर्को, कहिले अल्नो कहिले गिलो त कहिले पिरो भनेर खोट लगाइरहनुभयो। भान्साको काम सकाएर घाँस काट्ने र गोठको काम गर्थें।
बिहे गरेपछि एक कप चियासम्म अर्काको हातबाट खान पाइनँ। श्रीमानजी पनि पढाइ त भएको तर बेरोजगार हुनुहुन्थ्यो। यसो कहिलेकाहीँ घरबाट बाहिर निस्कम न त भन्दा उहाँसँग पैसा नहुने। मलाई घरको कामले फुर्सद पनि नहुने। कहिलेकसो फ्याट कतै निस्किइहाले पनि सासूससुराले आँखा तरेर बाइकतिर हेर्नुहुन्थ्यो। घरभित्र, गोठ र करेसाबारीमा सधैं काम गरें। कहिल्यै मलाई ५ मिनेटसम्म फुर्सद भएन। घन्टा गनेर काम गर्ने कामदारलाई झैं एकपछि अर्को काम देखाइयो।
सानै उमेरकी छ यो यसलाई पनि थकाइ लाग्ला, नराम्रो मान्ली भन्ने पनि मेरो लागि कोही भएन। बरू मेरो सानो गल्तीलाई ठूलो बनाएर फिजाइन्थ्यो। आफू भन्दा ठूलालाई सम्मान र सानालाई माया सबै गर्थें मैले।
पाहुनालाई सत्कार आफूले जानेको गरें। त्यही पनि पाइला पाइलामा गाली खाएँ। यही फरक थियो माइतीघरमा जहाँ बाबाआमाले गल्ती भए स्याबास छोरी बनेर सजाय दिनुहुन्थ्यो तर यो घरमा सानो गल्तीलाई हजार गाली बर्साइन्थ्यो।
म शब्द शब्दमा क्षत विक्षप्त हुन्थें तर पनि चुपचाप आफ्नै गल्ती ठूलो मानेर सहन्थे। बिहेपछि घरमा माया र ममता के हो अनुभूति नै गर्न पाइनँ।
एकदिन कुरै कुरामा मलाई धोएको कपडा उठाउन सारै रमाइलो लाग्छ, सफा कपडा, सरफको हरहर बासना आउने मात्र के भनेकी थिएँ नन्द र देवरले खै के बुझ्नुभएछ आ-आफ्नो सबै कपडा मलाई धुन दिनुभयो। भन्नुहुन्छ- भाउजूलाई त कपडा धुन सारै मन पर्छ रे। ल त्यो त ठीकै हो, भान्साको काम कहिल्यै नगरेकी म, भाउजूलाई भान्साको काममा सघाउँछु कहिल्यै भन्नुभएन। दिनहरू बित्दै गए, म पनि थपिएको जिम्मेवारी सम्हाल्दै अगाडि बढिरहेका थिए। भान्सामा आउँदा आमाको सारै याद आउथ्यो। एकान्तमा बसेर घ्वाघ्वा रूँनुबाहेक अर्को विकल्प थिएन।
श्रीमानज्यू पनि साथीभाइसँग समय बिताएर घर आउने, घरको सानोतिनो कामलाई काम हो नै नभन्ने, यस्तो त सामान्य हो जसले नि गर्छ भन्नुहुन्थ्यो। मेरो कुनै पनि मुद्दाहरू उहाँलाई कहिल्यै ठूलो लागेन। कहिलेकाहीँ माइत गएँ भने दुई दिन मै फर्किहाल भनेर फोन आउथ्यो। मेरो माया त कसलाई पो लाग्थ्यो र! श्रीमानज्यूको रतिराग, अरूलाई खाना पकाउन, सरसफाइ गर्न, घाँस काट्न र गोबर फाल्न गाह्रो, ममा निर्भर जो थिए।
माइतीमा पनि यस्तो छ, उस्तो छ भनेर खुल्ने ठाउँ थिएन। सबैको यस्तै हो नि भनेर सहनुपर्छ, सहेजस्तो राम्रो अरू केही छैन भनेर सिकाइयो। यस्तै वैरागी र निराशाजनक दिनहरू बितिरहेका थिए। कत्रो सपना बोकेर बिहे गरेकी म, आखिर कसैको घरको कुनामा नोकरको भन्दा पनि खराब जिन्दगी थियो मेरो। अर्को वर्ष त मैले पनि थातिराखेको पढाइ सुरू गरें।
बिहान बेलुका घरमा जस्तो वातावरण भए पनि दिउँसोमा कलेजका साथीहरूसँग हाँस्न पाउँथें। कसैलाई मेरो फिकर नै छैन घरमा। ज्वरो आयो भने आरामको त कुरै छैन, हत्त र पत्त औषधी किन्न जान्थे मेरा श्रीमान ताकी खाएर घरको सबै काम समयमै समाल्न सकूँ। कुनै दिन बिहान उठ्न ढिलो भयो भने उठ्न नपाउँदै म अलच्छिनी हुन्थें।
सबैलाई मिठो खाना चाहिएको छ, सफा घर चाहिएको छ, आराम चाहिएको छ। आखिर किन सोचिँदैन यो समाजमा, बुहारी पनि कसैले माया गरेर हुर्काएकी छोरी हुन्।
उनलाई पनि धेरै थोरै माया, मनोरञ्जन र आरामको खाँचो छ। नयाँ मान्छे, सानै छ, थकाइ लाग्ला अप्ठ्यारो मान्ली भन्ने मेरो लागि कोही पनि भएन। सबैको समस्यालाई सधैं मैले हल गरिदिनुपर्ने।
समय बित्दै गयो दुई बच्चाबच्ची पनि भए, अब जिम्मेबारी ठ्याक्कै दोब्बर भयो।
दुई बच्चाको स्याहारसुसार र घरको काम मेरो ठेक्कामा परेको छ बेशक उहाँले आर्थिक भार उठाउनु भएको छ। जसोतसो बच्चासँगै पढाइ पनि पूरा गरेँ।
पढाइ त पूरा भयो तर केही काम गर्नलाई घरमा बच्चाको रेखदेख गर्ने मान्छे छैन। सासूससुराको कपडा मैलो भयो भने बुहारीले धुन्न र? घर फोहोर भयो भने बुहारीले के गरेकी? बच्चाले फोहोर शब्द बोल्यो भने बुहरिले के सिकाइ छे? बच्चा दुब्लो पातलो भयो भने ढङ्ग नभएकी बुहारी? यो सबै कुरामा म भिजेर अहिले बानी परिसकें।
अब त उमेर पनि सानो रहेन ३०/३१ वर्ष भएँ। खै कसरी भन्नु साथी सानै उमेरमा बिहे गरेकोले यौन जीवन र यौन सन्तुष्टिको बारेमा मलाई केही थाहा थिएन। मैले श्रीमानबाट दुई बच्चा त पाएँ तर यौनसन्तुष्टि पाएकी छैन। यो विषयमा मैले मेरो श्रीमानलाई नभनेको पनि हैन, उहाँले यो कुरालाई मोड्नु हुन्छ, सबैको यस्तै त हो भन्नुहुन्छ।
एक त लामो समयपछिको सम्भोग, त्यसमाथि श्रीमान दुई मिनेटमै उम्किनु हुन्छ। बिहेको सुरूसुरूमा श्रीमान बेरोजगार भएर घरबाट बाहिर निस्किन सकिएन अहिले त श्रीमानको राम्रो जागिर छ, पैसा राम्रै आउँछ तर उहाँसँग मेरो लागि समय पटक्कै छैन।
शनिबार पनि मिटिङ र सेमिनार, अरू बार त सधैं काम नै भैहाल्यो। बिहे गरेको १५ वर्ष भयो न त कतै हनिमुन गैयो, न त कतै एक रात होटलमा बास बसेको रेकर्ड छ!
आखिर मैले मेरो हकको माया र प्रेम पाउनलाई पनि भिख माग्नु पर्यो। कसैलाई नआउने वैंश आउँदोरहेछ भनेर भन्नसम्म भ्याउनुहुन्छ उहाँ।
म त्यो खम्बालाई सबैथोक मानेर बसेकी छु जसले मेरो शारीरिक र मानसिक जरूरत पूरा गर्दैन। उसलाई यिनी जरूरतहरू पूरा गर्नुपर्छ जस्तो पनि लाग्दैन। जसलाई आफ्नो पैसा, समाज र इज्जतसँग मतलब छ न कि मेरो संवेदना र रोदनसँग। कस्सो मलाई दाइजोको बारेमा टर्चर छैन अनि म बिरामी पर्दा हस्पिटलसम्म कसैले नभने पनि आफैं लैजानुहुन्छ।
यसलाई म के सम्झौं, के बिरामी पर्दा उपचार पाउनुमात्र जिन्दगी हो? के मैले ढोकाभन्दा बाहिर सपना देख्न मनाही छ? के सधैं माया(प्रेम पाइनँ भनेर रोएर, भिख मागेर जिन्दगी चल्छ? के मेरा अधुरा असन्तुष्टि कहिल्यै पूरा हुँदैनन? )१६ वर्षकी हुँदा जहाँ इच्छा त्यहाँ उपाय भनेर रमाउने म यसको सवालमा उपायविहीन भएकी छु। मेरो यो हालत हुनुमा खै कसको कमजोरी रह्यो। बच्चाको मात्रै मुख हेरेर जवानीको आगो निभाउन गाह्रो हुँदोरहेछ साथी! बिहेपछि खोसिएका मेरा खुसीहरू खोज्न अब कता जाऊँ म?
म जीवनको दोसाँधमा छु। न त यो मान्छेलाई छाडेर एक्लै बस्न सक्छु। बच्चाको बिजोग सम्झिन्छु। न त अर्को नयाँ घरबार गरेर फेरि यस्तै भूमरीमा फेरि पर्ने हिम्मत छ!
बिहेअघिका त्यत्रा सपनाहरू सबै चकनाचुर भए। चोक्टा खान गएकी म झोल मै डुबेर मरें। सायद मेरो भाग्यमा यही लेखिएको थियो नानी तिमी एक पिन्जडाबाट अर्को पिंजडामा जाँदैछौ केही पनि सपना नदेख्नु।
साँझ पनि पर्न थालेछ अब त छोराछोरी पनि आइसकेका होलान् घरमा। मलाई फेसबुकमा एड् गर साथी कुराकानी गर्दै गरौंला नि है बाई।’
मैले पनि बाई भन्दै हात हल्लाएँ।
उनको कथा सुनेपछि म स्तब्ध र नि:शब्द भएँ।