कताबाट लेखुँ? के नै बिर्सिसक्नु छ र? सम्झनाका मालामा बेरिएका सुख दुःखका यादहरू।
हजुर आमाबुबाको कान्छो छोरा, म कान्छी छोरी।
स्कुलमा कसैले मलाई चिन्थे भने सरोज नेपालकी बहिनी भनेरै चिन्थे।
‘सरोज नेपाल’ स्कुलको फर्स्ट ब्वाइकी बहिनी वसुधा नेपाल भनेर सरहरूले पनि मलाई उधुम पुलपुल्याएर प्रेम गर्थे। म त सुनेरै फुरूक-फुरूक।
यद्यपि मलाई हजुर स्कुल पढ्दाको एउटा क्षण मात्र कता-कता सम्झना छ। हजुर सायद एसएलसीको विद्यार्थी हुनुपर्छ, त्यो बिहान बुवा आत्तिँदै खोज्न हिँड्नुभयो। कसैले उता दक्षिणतिर जाँदै गरेको देखेको भनिदिएछन्। बुवा बैरगनीया ट्रेन स्टेशनसम्म पुगेर फर्किनुभयो।
आमा रून थाल्नुभयो। त्यति देखेपछि म नरूने कुरै भएन। म उत्तरतिर लागेँ, सीताबाबुको घरनिर मात्र पुगेकी थिएँ, सान्दाजु हातमा किताब बोकर निहुँरिएर आउँदै गरेको देखेँ।
मैले त्यहीँमाथि हेर्दै हात च्याप्प समातेर सोधेँ, ‘आमाबुवालाई केही नभनी कहाँ जानुभएको? छोरा हरायो भनेर आमा रोइराख्नु भएको छ।’
‘म भाइजी सरसँग ट्युसन पढ्न गएको थिएँ, सधैं त जान्छु नि,’ सान्दाजुले भन्नुभयो।
मैले प्याट्ट पिटेँ।
भएको के रहेछ भने, हिजो बेलुका घर नजिकै बजारमा सान्दाजु कब्बाली हेर्न साथीसँग जानुभएको रहेछ। बुवाले थाहा पाएर एसएलसीको विद्यार्थी नपढेर कब्बाली हेर्न जाने भनेर गाली गर्नुभएको रहेछ।
अनि त उहाँलाई के चाहियो र? पुल्पुलिएर हुर्किएको कान्छो छोरो बिहानै पाँच बजे नै उठेर ट्यूसन पढ्न गइदिनु भएछ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पहिलो लटमै नाम निकालेपछि उहाँ काठमाडौंमै बसेर पढ्न थाल्नुभयो।
हिरो माफिक जुल्फी पालेर मेरो सान्दाजु बेलाबेला छुट्टीमा गौर आउनुहुन्थ्यो। घर आउँदा राम्रा-राम्रा लुगा, जिन्सको पाइन्ट बदली-बदली लगाउनुहुन्थ्यो। सधैं फेसनेबल लुगा किन्न सायद आमा-बुवाले पैसा दिनुहुँदो हो।
म पनि एसएलसी पास गरेपछि काठमाडौं गएँ। कामरेड दाजुहरूसँग लगनमा बस्थेँ। सान्दाजु त्यतिखेर जागिरको सिलसिलामा दार्चुलामा हुनुहुन्थ्यो। म काठमाडौं आएको थाहा पाएपछि सान्दाजु पनि आउनुभयो।
भर्खरै एसएलसी पास गरेकी मलाई देखेर उहाँ औधि खुसी हुनुभयो। मेरो पनि भुइँमा खुट्टा थिएन। मलाई विशालबजार लिएर जानुभयो। त्यहाँको एउटा पसलमा लगेर घडी देखाउनुभयो। पसलेले दुई वटा घडी निकाल्यो। मैले एउटा रोजेँ।
‘बहिनीले त महँगो घडी मन पराउनु भयो,’ पसलेले भन्यो।
विचरा मलाई के थाहा, कुन घडी महँगो? मैले सिको घडी मन पराएछु।
सान्दाजुले भन्नुभयो, ‘सिको घडी लिने भए घडी मात्र किन्दिन्छु। अर्को घडी लिने हो भने लुगा पनि पाउँछेस्। मलाई लुगाको पनि लोभ लाग्यो र मैले म सिटिजन घडी नै लिन्छु भनेँ।
नयाँ घडी र लुगा पाएर म पुलकित भएँ।
एक दिन घरमा सान्दाजुको बिहेको कुरा चल्यो। म मार्फत् नै केटीको फोटो देखाएर उहाँले आमा, बुबा र दाजुहरूलाई राजी गराउनु भयो। म चाहिँ कुरो मिलाइदिने, केही कुरो नमिल्यो कि रोइदिने।
रसियाको तासकन्दमा इन्जिनियरिङ पढ्दै गरेका सान्दाजुले बिहे गरेर भाउजूलाई यतै छोडी पढ्न जानुभयो।
निरू भाउजू कहिले गौर त कहिले काठमाडौंमा मसँगै रहनुहुन्थ्यो। हामी खुब मिल्थ्यौं र रमाइलो गर्थ्यौं। फुर्सद मिल्यो कि न्यूरोड गइहाल्ने। हामीलाई जुद्ध सडकको क्वालिटी आइसक्रिम औधि मनपर्थ्यो। तृप्ति भन्ने रेस्टुरेन्टको समोसा चाट पनि छुट्दैन थियो।
जे होस् हाम्रो बुवाले बुहारीलाई असाध्यै माया गरेर राम्रोसँग राख्नु भएको थियो। छोरा विदेश भए पनि उहाँहरूले नेपालमा बुहारीलाई खुसी राख्नु भएको थियो। तत्कालीन समयमा हाम्रो परिवार एउटा आदर्श परिवारकै नमुना थियो।
सान्दाजु बेलाबेलामा नेपाल आउनुहुन्थ्यो। काठमाडौं आएपछि मलाई ‘तँसँग भएको नेपाली पैसा दे न, म रसिया फर्कँदा तेरो पैसा सबै दिन्छु नि,’ भन्नुहुन्थ्यो।
म पनि बुवाले दिएर आफूसँग बचेको पैसा सबै दिन्थेँ। तासकन्द फर्कने बेलामा बाँकी रहेको नेपाली, रसियन जति जे जति हुन्थ्यो सबै दिनुहुन्थ्यो।
यसरी हरेक सुखदुःख सधैं सँगै रहेँ। विवाह गर्ने माध्यम पनि म नै थिएँ भने विवाह गरेर भाउजूलाई पहिलो पटक काठमाडौंदेखि गौरसम्म नयाँ बेहुली लैजाँदा उहाँसँगै थिएँ। यसरी हँसाउने पनि मै थिएँ भने रूने पनि मै।
कुनै कार्यक्रममा म ढिलो पुगेँ भनेँ सान्दाजु गाला फुलाएर बस्नुहुन्थ्यो। मैले ‘कथी भेलै?’ भन्यो भने जवाफमा फहरिस्त पठाउनुहुन्थ्यो, म्यासेजमा।
एकचोटि त्यस्तै भयो, म अलिक ढिलो पुगेँ। आँखा रातो-रातो, टिलपिल-टिलपिल। गोरो मान्छे रातो-रातो गाला। मैले बुझिसकेकी थिएँ।
‘किन ढिलो आएको,’ रिसाएर भन्नुभयो।
मैले भनेँ, ‘अफिसमा छुट्टी मागेर हिँड्न अप्ठ्यारो भयो।’
मलाई पनि नमिठो लाग्यो, आँखा रसाएर आयो।
केही समयपछि घर फर्किएँ। उहाँको लामो म्यासेज आयो- 'मेरो हरेक उतार-चढाव, दुःखसुख तिमीले देखेकी छौ। आज आमाको श्राद्धमा तिमी बिहानै नआएकोले मलाई एकदम चित्त दुख्यो।'
म पनि यो म्यासेज पढ्दै खुब रोएँ, अनि रूँदै रिप्लाई गरेँ।
यस्ता कयौं छन् सम्झानाहरू, खुसी अनि आँसुका सँगै बिताएका पलहरू।
रातो किताब गौरको सफडीमा बसेर सान्दाजुले सारेका कुरा होस् या त्यो यटखामा रहँदाको कुरा होस्। पुलिसको आँखा छल्दै म चिठी पुर्याउन जान्थेँ। यसले यस्तो अवसर पाएकी छे, त्यही पनि राजनीतिमा आउँदिन भनेर मलाई गाली गर्नुहुन्थ्यो।
म चाहिँ अण्डरग्राउन्ड दाजु कमरेडहरूसँग बस्दाबस्दा पुलिससँग यति त्रसित थिएँ कि, कुन बेला थाहा पाएर मलाई पनि लगेर थुनिदिने हो भन्ने डर थियो।
जब दाजु कमरेडहरू खुला जीवनमा आउनुभयो। त्यसपछिको आम चुनावका हरेक क्याम्पेनमा म दाजुहरूसँगै रहन्थेँ। खुसीमा सँगै गला मिल्यो भने दुःखमा सँगै दुखी भइन्थ्यो।
कोटेश्वरमा त राम-लक्ष्मण जस्ता दाजुभाइ भए। ठूल्दाजु माधव नेपालले यसो, ल अब यो तयारी गर्नुपर्यो भनेर बोली झर्न पाएको हुन्थेन भाइले तत्काल तयारी गरिहाल्ने।
यस्तो प्यारो भाइ, देवर, सानोबुवा, सानोमामा, सबैको माया मात्र पाएर हुर्किएको कान्छो छोरा, कान्छो भाइ, मेरो प्यारो सान्दाजु- के छ र बिर्सिने बहाना?
एउटा रमाइलो प्रसंग. दिल्लीमा मेरो क्यान्सरको अपरेसनपछि हस्पिटलबाट डिस्चार्ज भएर दिल्लीको डेरामा फर्केपछि सान्दाजु पनि हामीसँगै हुनुहुन्थ्यो। त्यही बेलुका चिकन रोष्ट किनेर ल्याउनुभयो।
‘ल आज बहिनीको अपरेसन सफल भएर घर फर्केको उपलक्ष्यमा हामी रमाइलो गरौं। ल बहिनी तिमी पनि खाऊ, अब केही हुँदैन। सबै रोग फालिसकियो, अब त रमाइलो गर्नुपर्छ।’
यसरी जिन्दगीको कठिन समयमा पनि हामी सबैलाई सहज बनाउने, रमाइलो गराइरहनु हुन्थ्यो।
हजारौं माइल परको समुन्द्रपारि म रहेको बेला त्यो कस्तो बिमान आयो जसले मेरो सान्दाजुको हंस लिएर गइदियो।
६ मार्च (फागुन २२, २०७९) त्यो एकाबिहानै मैले मेरो प्यारो सान्दाजु अब यो संसारमा हुनुहुन्न भन्ने पीडादायी खबर कसरी पत्याउन सक्थेँ र?
त्यो दुःखद सत्य स्वीकार्न नसके पनि सांसारिक सत्य मान्नै पर्यो।
नेपालमा कसैसँग बोल्न सक्ने स्थिति नै थिएन।
नेपालमा सान्दाजुको अन्तिम कार्यहरू भइरहँदा अष्ट्रेलियामा रहेकी मलाई चट्याङ परेजस्तै भइरहको थियो। दिमागले केही सोच्नै सकेको थिएन। आँखा जोडले कसेर चिम्लिन खोजे पनि आफूलाई सम्हाल्न सकिरहेको थिइनँ।
एउटै आमाको कोखबाट जन्मेको हामी सन्तान भएर पनि यस्तो हुन्छ कि थाहा भएन तर मलाई त्यो दिन जे भयो अक्षरमा लेख्न सक्दिनँ।
त्यसपछि म कसरी नेपाल पुगेँ मलाई केही थाहा भएन। मलाई यति गाह्रो त पूर्ण आयु बाँचेर जानुभएको मेरो आमा-बुवा बित्दा पनि भएको थिएन।
तेह्र दिनभित्रका काम भइरहँदा प्यारी निरू भाउजूको अवस्था, छोरीहरू संस्रिता र सन्मिताभित्र देखिएका पीडाले हामी सबै स्तब्ध थियौं।
समवेदनाको लागि जब सान्दाजुको योगदानको विषयमा कुरा चल्थ्यो, ठूल्दाजु भक्कानिएर रूनुहुँदा सबै माहोल नै स्तब्ध हुन्थ्यो। जुनै बेला पनि, जे गर्दा पनि सँगै डोर्याएर लाने भाइ यो संसारमा नरहेको कुराले माल्दाजु पनि एकदम भावुक देखिरहनु भएको थियो।
सान्दाजुको फोटो राखेको समवेदना पत्र बोकेर बिहानैदेखि आउने मानिसको ताँती देख्दा अचम्मको आभास हुन्थ्यो। अनि लाग्थ्यो- यति छोटो समयमा पनि धेरै काम गरेको भएकाले होला उहाँलाई श्रद्धान्जलीको लागि पो मान्छे यसरी आएका त। मुटु गाँठो परेर आउँथ्यो।
ढोकामै राखिएको ठूलो तस्बिर हेर्ने हिम्मत कहिल्यै भएन मलाई। फेसबुक र सोसल मिडिया त हात लगाउन पनि सकिनँ।
कोही सरोज कमरेड हाम्रो गार्जियन जस्तै हुनुहुन्थ्यो भन्थे। कोही, हामीलाई कुनै काम परे पनि उहाँसँगै सोध्न आउँथ्यौं भन्थे। कसैले यो मनहरा क्षेत्रको सबै पर्खाल सरोज सर आफैं खटेर बनाउनुभएको, कोटेश्वरको कृष्ण मन्दिर पनि सरोज सरले नै बनाउनु भएको भन्थे।
पार्क बनाउने प्लानमा काम हुँदै थियो। यो पार्कको नाम ‘सरोज स्मृति पार्क’ राख्नेसमेत प्रस्ताव लिएर मानिसहरू आउँथे।
आफ्नो कामप्रति अत्यन्त बफादार, कुनै कामको योजना गरेपछि आफैं दिनरात लागेर काम फत्ते गर्ने स्वभावको सान्दाजु, बालकदेखि वृद्धसम्म सबैको प्रिय हुनुहुन्थ्यो।
उहाँ आफैं अध्यक्ष भएको आफ्नै नेसनल इन्जिनियरिङ कलेजका शुभचिन्तक मित्रहरूले भन्दै थिए- कलेजको हरेक काम अप्ठ्यारोमा सरोज सरले नै समाधान गर्नुहुन्थ्यो, हामी त पूरै अभिभावकविहीन भयौं।
हाइड्रो पावरको काममा सरोज दाजुले जस्तोसुकै विकट ठाउँ, अवस्थामा पनि दिलोज्यान दिएर काम गर्नुभएको हामीले देखेका छौँ।
सान्दाजु, आफू संलग्न भएको हाइड्रो पावरमा पनि सम्पन्न गरेर बिजुली उत्पादन नहुँदासम्मको अविरल मेहनतको सम्मान पक्कै कम्पनीले पनि गर्नेछ भन्ने मलाई विश्वास छ।
सधैं कर्मशील, राष्ट्र, पार्टी र समाजको लागि सधैं कार्यरत, सान्दाजु सरोजकुमार उपाध्यायको योगदान राष्ट्रले पनि सम्झना गर्नेछ भन्ने विश्वास छ।
सधैं अरूलाई राम्रो मात्र गर्ने, डाउन टु अर्थ स्वभावको, परिवार साथीभाइसँग सधैं रमाइलो गर्नुपर्ने हामी सबैको प्रिय सान्दाजुलाई कति छिटो हामीसँग खोसेर लग्यौ भगवान।
निरू भाउजु भन्नुहुन्छ, ‘हरेक बिहान सान्दाजुको फोटो अगाडि बसेर म एक घण्टा कुरा गर्छु नानु,’ मलाई यसो भनिरहँदा भाउजुका सहस्र धारा आँशु बगिरहन्छन्। अनि यो हेरेर मलाई आफैं रून आउँछ।
छोरीहरू पनि बुवा अहिले हजुरबुवा-हजुरआमासँगै हुनुहुन्छ होला भन्छन्। आफ्नो बुवालाई मन पर्ने चिज सम्झ्यो कि आँसु थाम्नै सक्दैनन् र भक्कानिन्छन्।
‘कति रमाइलो गर्दै भाउजू भन्दै आउनुहुन्थ्यो, सम्झ्यो कि लल्याकलुलुक हुन्छु। केही काम पनि गर्न मन लाग्दैन, मिठाई कति मनपर्थ्यो,’ सरोजबाबुको नाम आयो कि भक्कानिनुहुन्छ कान्छो देवरकी प्यारी भाउजू।
अहो! कस्तो त्यो अदृश्य पुष्पक विमान आयो, हामी सबैको प्यारो सबैको मायाले ओतप्रोत भएको सान्दाजुको हंसलाई राखेर उडेर गै गयो, अब कहिल्यै यो धरतीमा अवतरण नगर्ने गरी। उफ! यो सत्य स्वीकार्न साह्रै गाह्रो भएको छ सान्दाजु।
आज वैशाख ५, २०८०। हजुरको पैतालिसौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली यो बहिनीको तर्फबाट।
फेरि सोच्छु, ‘मन बुझाउन’ फेरि सोच्छु, सान्दाजु घर सरेर जानुभयो ‘क्षितिज पारी आकाशमा, जहाँ आमाबुवा हुनुहुन्छ त्यहीँ।’
आमाबुवाकै काखमा उही पुल्पुलिएको छोरा भएर बस्नु भएको होला। त्यहाँ पनि आँगन, फूलबारी होला। मिठाई पसल पनि होला, अरू साथीसंगी पनि होलान्। रमाइलोसँग बस्नू, सबैलाई हँसाइरहनू है।
छोरीहरू पनि ‘बुवा अहिले हजुरबुवा-हजुरआमासँगै हुनुहुन्छ होला है,’ भन्छन्। ‘बुवालाई छायामा मात्र देख्न पाए पनि हुन्थ्यो नि सान्दिज्जु भन्छन्’।
आफ्नो बुवालाई मनपर्ने चिज सम्झ्यो कि आँसु थाम्नै सक्दैनन् र भक्कानिन्छन्।
मैले लेखेको यो कुरा आमाबुवालाई पनि सुनाइदिनु होला। हामी सम्पूर्ण परिवार हजुरहरुलाई हरपल हरक्षण सम्झिरहन्छौं। धेरै माया गर्छौं। अब त सम्झनामा मात्र बाँकी रह्यो मेरो प्यारो सान्दाजु।
हजुरलाई धेरै-धेरै माया गर्ने बहिनी।