हाम्रो बिहे भएको करिब चार महिना जति भएको थियो होला, गाउँमा एकजना दिदीको बिहेको टपरी गाँस्न मेरी सासूआमा जानुभएको थियो। घरमा म एक्लै थिएँ, यत्तिकैमा उहाँकी आमा अर्थात् हाम्रो हजुरआमा आउनुभयो।
मैले गर्नुपर्ने स्वागत-सत्कार र चियानास्ता सबै गरेँ। तर उहाँलाई छिट्टै घर फर्कनुपर्ने भएकाले एकपटक छोरीसँग भेट्न पाए हुन्थ्यो भन्ने मनोभाव जनाउनुभयो। म हतार-हतार आमा गएको घर गई उहाँलाई घरमा आउन भनेँ।
उहाँ गएको धेरैबेर भएको थिएन। त्यसैले गाउँका अन्य काकी अनि ठूलीआमाहरूले यसरी बीचमै हिँड्न पाइँदैन भनेपछि उहाँले मलाई 'तिमी बस, म जान्छु’ भनि अह्राउनुभयो।
सासूआमाले बुहारीलाई गरेको 'तिमी’ सम्बोधनले त्यहाँ बसेका कसैलाई चित्त बुझेको रहेनछ। त्यसबीच एकजना हजुरआमाले 'बुहारीलाई पनि केको तिमी भन्छेस्?’ भनेपछि प्रायःको मौनताको बाँध भत्कियो।
सबैले असन्तुष्ट भाव जनाइरहँदा एकजना काकीले अझैं कडा भन्नुभयो- 'नयाँ-नयाँमा तिमी/तपाईं भनेर नाटक गर्ने पछि वर्ष दुई वर्ष पुग्दा झगडा गर्दै कपाल लुछालुछ गर्ने त होला?’
ती नकारात्मक टिप्पणीहरू हामी सासू-बुहारी दुवैका लागि भारी परेका थिए। बिहेअगाडि यस किसिमका प्रश्नहरूबाट बेखबर म यस्तो बेला के बोल्ने भनेर अलमल्ल परिरहेकी थिएँ। त्यसैले पनि बुहारी हुनुको सालिनता जनाउँदै आफू मौन बसेर कौतूहलता पूर्वक सासूआमाको जवाफ पर्खिएँ।
त्यसपछि उहाँले 'मेरा लोग्नेले पनि उसलाई तिमी भन्नुहुन्छ, सासूले पनि तिमी भन्नुहुन्छ, मैले मान्ने यी दुई पात्रले नै तिमी भनेपछि मैले पनि त्यही सिकेँ’ भनेर सरल उत्तर दिई कसैसँग कुनै विवाद नगरी आफू त्यो परिस्थितिबाट बाहिरिनुभयो।
हुन त अरु राम्रो व्यवहार नगरेर बोल्दा मात्रै तिमी भन्नुको कुनै अर्थ लाग्दैनथ्यो तर मैले उक्त सम्बोधनसँगै उहाँहरूको माया र आत्मियता पाइरहेकाले मलाई मन परिरहेको थियो। यसकारण म गाउँका ती काकीआमाहरूप्रति कहीँकतै असन्तुष्ट थिएँ। यद्यपि म सासूआमाको आज्ञा अनुरुप केहीबेर त्यहाँ बसेर टपरी गाँस्ने प्रयास गरें।
बेलुका घर फर्किँदै गर्दा मेरो मन भारी भैरहेको थियो। आमाको मनमा ती कुराले कस्तो असर पारे होलान् भनेर म डराइरहेकी थिएँ। तर उहाँ त सदाझैं सामान्य हुनुहुन्थ्यो। गाउँघरका यस किसिमका टिप्पणीप्रति अभ्यस्त उहाँ यस कुराले मात्र चिन्तित हुनुहुँदो रहेछ कि ती काकीले भनेजसरी भोलिका दिनमा हामी सासूबुहारीको सम्बन्धमा कुनै तीक्तता नआओस्।
त्यसैले उहाँले मलाई सम्झाउँदै भन्नुभयो- 'गाउँका मानिस देख्लास्-पख्लास् भन्दै हाम्रा गतिविधि नियालिरहन्छन्, देखिहालेऊ नि त्यही तिमी भनेकोमा कसरी खनिए, हाम्रो यो मायालाई कहिल्यै डगमगाउन नदिनू है।’
म उहाँकी जेठी बुहारी थिएँ, रहरकी बुहारी। आफूले समाजका अनेक खिचातानीसहित पितृसत्तात्मक समाजको बुहार्तनको शोषण सहेकी ग्रामीण परिवेशकी महिलालाई उक्त बुहारीमाथि आफ्नै भोगाइ लाद्ने या उसलाई माया अनि स्वतन्त्रता दिएर यस किसिमका दलदलबाट मुक्ति दिलाउने भन्ने दुई फरक विकल्प थिए।
अझै प्रस्ट्याउनु पर्दा गाउँमै जन्मी-हुर्की, एक कक्षा समेत नपढी ग्राहस्थ जीवनमै रुमल्लिएकी एक महिला जसलाई वरिपरिको समाजले बुहारीमाथि शासन गर भनेर हौस्याइरहन्छ, त्यही लहलहैमा लागेर आफ्नो पुरानो भोगाइको बदलासरी ऊमाथि हैकम जमाउने, कि ती सबको विरुद्धमा गएर बुहारीलाई अघि बढ्न साथ अनि हौसला दिने भन्ने दुई बाटा उहाँसामु थिए।
यस अवस्थामा उहाँले कसैका कुरा नसुनी आफ्नो स्वविवेक प्रयोग गरी मेरो हात थाम्नुभयो।
'मैले नपढ्नाले जुन संघर्ष गर्न विवश हुनुपर्यो तिमीले त्यसो गर्नुपर्ने छैन। पढेर आफ्नो सपनाको दुनियाँमा बाँच, हाम्रो छोरा अनि हामीलाई मायाले समेट्नू। बुहारी हुनुका अन्य कर्तब्य अनि धर्म सकेसम्म निभाउनू, तिम्रो व्यवहारले समाजमा हाम्रो शिर निहुँराउने नबनाओस्, त्यति भए पुग्छ,’ भन्नुभयो।
उहाँको यो कुराले म एकदमै प्रफुल्लित भएँ। एक समझदार व्यक्तिसँग आफूखुसी बिहे गरेकाले लोग्नेको मायाको कमी त थिएन मलाई, त्यसका साथै यति बुझ्ने सासू मिल्नु मेरो भाग्यकै कुरा थियो।
हुर्कंदो उमेरका हामी टिनेजर केटा बुझ्ने भए त पुगिहाल्यो नि भन्ने भ्रममा पर्छौं तर बिहेपछि बल्ल थाहा हुन्छ कि बिहे दुई व्यक्ति मात्र नभई परिवारको मिलन हुँदोरहेछ। अझ हाम्रो समाजिक संरचना अनि संस्कारमा सासूबुहारीको सम्बन्ध कति महत्त्वपूर्ण हुँदोरहेछ भन्ने कुरा बढ्दो उमेर अनि भोगाइसँगै छर्लंग हुँदै जाँदो रहेछ।
सासूको रुपमा नयाँ आमा मिलेसँगै मैले पनि हरेक सम्बन्धहरूलाई आफ्नो मान्दै इमान्दारिता एवम् प्रेमपूर्वक निभाउने प्रयास गरेँ। गाउँले परिवेशमा अझै पनि बुहारीलाई कति काम गर्न सक्छे या जान्दछे भनि गुणी या अबगुणी भन्ने गरिन्छ। जरुरी नै नभए पनि बुहारीको कमी खोतल्दै ऊ सँगसँगै उसको माइतीको संस्कारमा प्रहार गर्ने कतिपय सासूहरूको डरलाग्दो नियत पनि हुन्छ।
सामान्य भान्सा र सरसफाइ बाहेक अन्य धेरै नजानेकी मलाई मेरी सासूले कहिल्यै निचो देखाउनुभएन, न त मलाई कुनै सीप सिक्नै पर्छ भन्ने जोड नै गर्नुभयो। उहाँ केवल मेरी अभिभावक बनेर मेरा इच्छासँगै रमाउनुभयो।
छोरो सुनौलो भविष्य खोज्दै विदेशिएको अवस्थामा समेत उहाँले ममाथि भरोसा राखेर एक्लै पनि घरदेखि टाढा बसेर पढ्ने माहोल बनाइदिनु भयो। लोग्ने विदेश भएका महिलाहरूमा अनेक कुदृष्टि राख्ने अनि उनीहरूलाई चरित्रहीन ठहराउने यस समाजमा अनेक मानिसका अनेकन प्रश्नको सामना गरेर मेरो स्वाभिमान समेत बचाइ मलाई एक शिक्षित अनि सक्षम व्यक्ति बनाउने हात म ती महान् आमाको नै देख्छु।
किनकि यदि घरकी अग्रज महिलाले नै अर्की महिलाको विरोधमा बोलेकी भए परिवारका अन्य मानिसको मन पनि नकारात्मकता तर्फ मोडिन्थ्यो जसकारण या त हाम्रो सम्बन्ध बिग्रिन्थ्यो या मेरो भविष्य। तर उहाँले मलाई योसँगै अन्य घरायसी कुरामा समेत एक गुरुआमाले जस्तै सिकाउँदै जीवन नै सहज पारिदिनु भयो।
यति सब भन्दै गर्दा नकारात्मक पक्ष पनि नभएका हैनन्। सँगै सुत्दा लात्ती लाग्छ भनेझैं हाम्रा परिवारमा पनि केही तिता पलहरू पक्कै आए। कहिलेकाहीँ हाम्रो सोच्ने शैली अनि बुझाइ फरक पर्दा हाम्रा मनहरू अमिलिएका पनि थिए। तर महत्त्वपूर्ण के हुँदोरहेछ भने कमजोर बनेको सम्बन्धको डोरीलाई चुँडाइदिने या मर्मत गरेर अझ मजबुत बनाउने। यस बिषयमा मलाई उहाँको शैली मन पर्यो।
उहाँले ससाना कुरामा खबरदारी गर्दै बोलिहाल्नु भन्दा कतिसम्म सहने र एउटा लेभल पुगेपछि आफ्नो असन्तुष्टि पोख्ने भन्ने सीमा राख्नुहुँदो रहेछ। तर आफ्नो विचार राखिसकेपछि कसैसँग रिसाइरहने या नराम्रो व्यवहार गर्ने उहाँको बानी नै रहेनछ। यसो गर्दा एकार्काबीचको नकारात्मक भ्रम हट्ने र जस्तोसुकै असमझदारी पनि संयमतापूर्वक टर्दो रहेछ।
मैले पनि शब्दभन्दा उहाँको व्यवहारलाई नजिकबाट नियालेर यो बानी राम्रो मानी अपनाउन थालें। त्यसो गर्दा अरुले जे सोचे पनि आफूमा कसैप्रति नकारात्मक भाव पलाउँदो रहेनछ र आफ्नो अधिकारसँगै कर्तव्यको पनि पालन गर्नाले आफ्नै मन शान्ति अनि सन्तुष्टिले स्फूर्त हुँदोरहेछ।
मेरी आमाको छोरी मान्छेले सहनैपर्छ भन्ने ज्ञानले मलाई कैयौंपटक रुवाएको छ। खालि सहँदा मात्र मनभित्रका कुण्ठा बढेर आफैलाई हानी हुने अवस्थामा आफ्नो असन्तुष्टि पोख्न पनि जरुरी छ भनि सासूआमाको सिको गरेको यो ज्ञान मेरा लागि सबैभन्दा फाइदाजनक बन्न पुग्यो। जसकारण म मानसिक रुपमा पनि स्वतन्त्र हुन सिकेँ।
यस किसिमको ज्ञान मैले पढेका किताबमा कतै थिएन, न कुनै गुरुले नै सिकाउनुभयो। यस अर्थमा दुनियाँले अनपढ देखे पनि मैले मेरी सासूआमाको बौद्धिकता कुनै विद्यावारिधिभन्दा कम देख्दिनँ। किताबी ज्ञान लिन पछि परे पनि अनेक आरोह तथा अवरोहको सामना गर्दै सिंगो जीवन पढ्दै विज्ञ बनेकी उहाँ मेरा लागि गुरु र पाठशाला दुवै हुनुहुन्छ।
यस्ती नारीको काख मैले सासू साइनोमा भेटें र आज हाम्रो बिहे भएको करिब १ दशक बित्दा पनि हामीबीच एकदमै आत्मीय र प्रगाढ सम्बन्ध कायम छ। आज पनि मलाई उही 'तिमी’ सम्बोधन गर्नुहुन्छ र यतिबेला म ती झगडाको भाविष्यवाणी गर्ने काकीको कुरा गलत साबित भएकोमा खुसी छु, उहाँ पनि प्रसन्न नै हुनुहुन्छ होला।
अधिकांश परिवारमा आमा र श्रीमती बीचको अन्तरविवादमा पिल्सिएका अनेक पुरुष देखिरहँदा हामी सासू-बुहारी मिल्नाले उहाँको छोरा या मेरो लोग्नेको जीवन तनावरहित बन्नु अर्को सकारात्मक पक्ष हो। जसको फाइदा स्वरूप हामी दुवै उहाँको माया र समय पाएर खुसी जीवन बिताइरहेका छौं। यी कुराहरूले गर्दा मलाई हाम्रो परिवार सबैले परिकल्पना गर्ने स्वर्ग नै बनेको जस्तो लाग्छ।
आमालाई भगवान मान्दै गर्दा सासूआमालाई कहीँकतै हाम्रो समाजले हाउगुजी जसरी प्रस्तुत गरेको छ भने बुहारीलाई पनि नबुझी अपजस दिने प्रचलन हामीमाझ हाबी छ। त्यसैले यस किसिमका गलत विचारहरूप्रति आँखा चिम्लिएर अगाडि बढ्न जरुरी छ।
सासू-बुहारी दुवैले आफ्नो तर्फबाट सम्बन्ध सुमधुर बनाउन प्रयास गर्नुपर्छ। आफ्ना बाबुआमाका बोली अमृत अनि सासूससुराका बोली विष मान्ने प्रवृत्ति बुहारीमा हुनुहुँदैन र असन्तुष्टि बढेका बखत सासूससुराको ठाउँमा आफ्ना बाबुआमालाई राखेर उक्त परिस्थितिलाई मनन गर्यौं भने गाली ठानेका ती कुरा सामान्य लाग्नेछन्।
यस्तैगरी सासूले पनि बुहारीको गल्ती कमजोरी मात्रै केलाउनुभन्दा केही गल्ती नै भए पनि छोरीले गरेको भए कसरी सच्याउथेँ या माफी दिन्थें भन्ने सोची अन्य बेला माया दिन सक्यो भने प्रायः परिवारको कलह नै रहँदैनथ्यो।
सम्बन्धमा दरार हामी कोही चाहँदैनौँ तर आफ्ना नकारात्मक सोच नत्याग्नाले एकअर्कालाई दोषी देख्न पुग्छौं। आपसी बेमेलमा कसैले पनि सहज जीवन जिउन सक्दैन। त्यसमा पनि घरका महिलाहरू नमिल्नु नै पारिवारिक फुटको कारण बन्ने गर्छ।
त्यसकारण हाम्रो मिलापसँगै पारिवारिक शान्तिले जुन आनन्द दिएको छ, त्यो सबै परिवारमा सम्भव छ भन्न पनि मलाई मेरी सासूआमाको कथा सुनाउन मन लागेको हो।