आफूमा परेको दु:ख, आफूमा परेको पीडा, आफूले भोगेको बिछोड मात्रै ठूलो लाग्दो रहेछ। सायद मानव स्वभाव यस्तै हुन्छ क्यारे।
स्मृतिमा धमिलो किरिङमिरिङ बिम्बमा बाँकी छ, आमाको यादहरू। क्षितिजपारि आकाशमा बसेको पातलो एक धर्सो तुवाँलो जस्तै।
आमाविहीन ३९ वटा मातातिर्थ औंसीहरू कटाइसकेछु। अब छिट्टै चालिसौं मातातिर्थ औंसी नजिकिँदै छ।
आमा यो सुन्दर दुनियाँ उपहार दिने दानी। माया, ममता अनि करुणाको खानी। आमाको मुख हेर्ने दिन ओल्लो घरको दाजु पल्लो घरको दिदी टाढादेखि आमालाई भेट्न, आमाको मुख हेर्न झोलाभरि कोसेली अनि हृदयभरि प्रेम बोकेर आएको देख्दा अनायास आँखा श्रावण बनिदिन्छ।
बेलुकी सुत्नु अगाडि आमाको धेरै याद गरेर सुत्छु। आमा सपनाभरि आउनुओस् अनि सपनाभरि आमालाई मिठो मिष्ठान भोजन र हृदयभरिको प्रेम दिन पाइयोस् भनेर। तर मेरो कल्पना सपनामा पूरा हुँदैन। अधुरो सपनाको चाहना विपनाभरि नयन बाँध भत्केर मनको मनमा भिषण पहिरो गैदिन्छ। म त्यहीँ पहिरोसँगै बगेर मेरो जीवनको बालापनको वरिपरि पुगेको पाउँछु।
आमाबिनाको मातातिर्थ औंसी निरास र निर्जन लाग्दो रहेछ। निरास अनि निर्जन भएर आमाको यादमा थुप्रै नबोल्ने निर्जीव मूर्तिको सामीप्यमा बत्ती बाल्छु, आस्थाको बिम्ब सम्झेर।
बौद्ध स्तुपामा पुग्दा आमाको नाउँमा ॐमाने पद्मे जपेर बाल्छु बत्ती, आमा जानू भएको देवलोकमा कहिल्यै अँध्यारो नछाओस भनेर। मठमन्दिरमा पुग्दा रामनाम जप्छु, आमाको यात्रामा बाधा अवरोध नआऊन भनेर।
मलाई यो प्रिय दुनियाँ उपहार दिने मेरी आमाको गर्भमा प्राकृतिक नियमले तोकेको समयसम्म बस्ने सौभाग्य पाएँ। कोक्रोमा आनन्दित भएर आमाको लोहरी सुन्दै आउँदा, दूध नआउँदा रगत पनि खाएँ होला।
अबोध थिएँ केही थाहा थिएन, आमाको काखमा लुटुपुटु हुँदै स्यानो पैतालोको स्यानो लात्तीले ड्याम-ड्याम छातीमा हानी-हानी दूध पिएँ, स्वर्गीय आनन्दको अनुभव संगाली। समयसँगै बग्दै बामे सर्दै टुक-टुकु हिँड्न सक्ने बनाउनु भयो आमाले।
मेरो सानो बिमारमा रातरात जागाराम बसेर धामीको मन्त्रलाई मात खुवाउँदै डाक्टरी ओखतीमा आमाको प्रेम मिसाएर खुवाउँदै निको बनाउनु हुन्थ्यो। यति मिठो आमाछोरा न्यानो प्रेममा छिट्टै दैवको आँखा लाग्यो।
खै! भाग्यले भनौं या दुर्भाग्यले, मैले पाएको जुनीले आमाको माया धेरै लामो समयसम्म पाउन सकिनँ। आमाले पनि छोराको माया कस्तो हुन्छ भन्ने कुराको अनुभूति संगाल्न नपाउँदै उहाँ शाश्वत सत्य मृत्युको कुबेलाको छनोटमा पर्नुभयो।
विसं २०४१ जेष्ठ ४ गते, मेरो ममतामयी आमाको जुनीले भोगेको अन्तिम दिन। मृत्युको कारण पहिचान हुन नसकेको रोग। रिठ्ठे धामीले भनेअनुसार वीर र वायु मिलेर खोसेको रे मेरो आमाको जिन्दगी।
आमाले यो सुन्दर दुनियाँलाई सदाको लागि छोडेर जाँदै गर्दा उहाँले भोगेको उमेर केवल तीस वर्ष थियो। जीवन केवल सुरुआत भएको थियो उहाँको। आमालाई गुमाउँदै गर्दा म मात्रै पाँच वर्षको थिएँ रे।
आमाको अल्पायुले के-के खती गरे, के-के क्षेती गरे त्यो बेलाको जरजर मन टुट्ने कथा लेखेर लेख्न सकिन्न। कठोर कालरात्री जस्तै थियो। घनघोर जंगलको निष्पट अँधेरी रातजस्तै।
मेरो जिन्दगीको आरम्भ। खोइ के-के गरेर, कसो-कसो गरी हुर्काइ बढाए अनि पढाए मेरा एक्लो मेरो बाले। भलै आमाको जस्तै माया दिन सक्नुभएन होला। तर उहाँको हैसियतले भ्याएसम्मको कर्तव्य पूरा गर्न कसर राख्नु भएन। आफू बाँचुन्जेलको जिन्दगी पूरै ममाथि लगानी गर्नुभयो मेरो बाले।
आमा विस्तारै धमिलो हुँदै गएको यादमा हुनुहुन्छ। आमाले बिर्सिंदै गएको पुरानो सम्झनाको आँखीझ्यालबाट टोलाएर मलाई नै नियालिरहेको जस्तो लाग्छ। सपनाहरूमा आकलझुक्कल आउनु हुन्छ। उस्तै मलाई छोडेर जानुभएको उमेरको जस्तै।
गुलाबी रंगको चोली, गाउनको फरिया अनि खाँडिको पटुकीमा सजिएकी, मेरो यादै यादको शून्य, मेरो मनलोकको निजी काल्पनिक जीवनमा मृत्युपश्चात बाँचिरहनु भएको छ मेरी आमा। कहिल्यै बुढी हुनुपर्दैन मेरो आमाले। म जत्तिको बुढो पनि हुनुपर्दैन।
नियतिले तय गरेको नियम उलंघन गर्न नमिल्ने रहेछ। नसक्ने रहेछ। सहनु पर्नेरहेछ। सहनुको विकल्प एक्लै-एक्लै भएर रुनु, कराउनु, चिच्याउनुसिवाय अरु केही गर्न नसकिने रहेछ।
मेरो जिन्दगीबाट ममतामयी आमालाई दैवले खोसेको एक दशक पुग-नपुग हुँदै गर्दा फेरि दैवको आँखा लाग्यो मेरो संसारमा। दैवको आँखा मेरो बाको जीवनमा पर्यो। उहाँलाई अघि बड्न दिएन। उहाँलाई ठाउँको ठाउँ रोके। उहाँले फेर्ने सास खोस्यो। उहाँको कल्पना, सपना सबै-सबै खोस्यो। छोरालाई असल मान्छे बनाएर छोराको पौरखामा बाँच्ने रहर लुटे। आमालाई जसरी खोसिछाडे मबाट।
आमा बितेको केही समयपछि भएको बाको मृत्युले मेरो जिन्दगी खण्डहर जस्तै बनेको थियो। आगोले खाएको भग्नावशेष जस्तै बनेको थियो। आगोले पोल्न, जल्न नसकेको फुङ्ग उडेको गारो जस्तै। मसँग मेरो बाको बा-आमा हुनुहुन्थ्यो। त्यसपछि डाँडापारि पुगेको घामजस्तै उमेर भएको बाजे-बजुसँग बाँच्न थाले। उहाँहरूको पाको मायाको साथ पाएर।
बाँच्दै-बाँच्दै अहिले म जिन्दगीको आधा बाटोतिर आइपुगी सकेको छु। जन्म, मृत्युबारे बुझ्ने भएको छु। तर जुन बेला मबाट मेरो प्रिय मान्छेहरू पालैपालो गुमाउनु पर्दा के भयो होला मेरो मनमा? कसरी गुजारेँ होला ती कठोर दिनहरू? अहिले सम्झँदा जीउभरि काँडा उम्रिन्छ।
खैर छोडिदिउँ, जे हुनु थियो भैसक्यो। बितेको कुरालाई याद गरेर सम्झनु सिवाय के नै गर्न सकिँदो रहेछ र? मेरोजस्तै कथा हरेक मानिसमा पर्छ।
भोगाइ फरक-फरक हुन्छ होला। त्यसैले त लाग्दो रहेछ आफूमा परेको पीडा संसारकै सबैभन्दा ठूलो। सम्झिन्छु, सम्झनु सिवाय के गर्न सक्दो रहेछ र?
कल्पिन्छु, अहिलेसम्म मेरा आमा-बा मसँगै हुँदा हुन् त कति खुसी जीवन हुन्थ्यो होला! जसरी भए पनि आमाको माग पूरा गर्थें। आमालाई मनपर्ने कुराहरू पूरा गर्थें। आफन्तको भनाइअनुसार मेरी आमा धेरै आस्थिक हुनुहुन्थ्यो रे। अहिले भएको भए चार धाम घुमाउन लग्थें।
जुन बेला मसँग मेरो बा-आमा हुनुहुन्थ्यो, मसँग केही थिएन उहाँहरूको लागि केही गर्न। आज मसँग केही छ। उहाँहरूलाई केही गर्न सक्छु, उहाँहरूको इच्छा र चाहना पूरा गर्न सक्ने भएको छु तर उहाँहरू मसँग हुनुहुन्न। हुनुहुन्छ त केवल सम्झनामा, यादमा, मेरो मनमा।
पटक-पटक सम्झनामा कल्पनाले आमासँग भेटाइदिन्छ। तर यथार्थमा न मैले आमालाई भेट्न सक्छु, न आमाले मलाई। वर्षहरूको खातले आमासँग बिछोड गरिदिएको समयको दूरी टाढा-टाढा बनाउँदैछ। टाढिँदै गएको दूरीले मलाई बुढो बनाउँदैछ।
बुढो भएर म पनि आमा-बा जसरी मृत्युको प्रिय हुन्छु। जीवनको शाश्वत सत्यसँग हातेमालो गर्छु। अनि लाग्छ मनमा मृत्यु उपरान्त भेटिन्छ होला कि भेटिँदैन होला मेरो बा-आमासँग? मेरो भ्रम हो यो। मेरो कोरा कल्पना हो। अलि छिट्टै वियोगान्तको सत्यकथाले गाँजेको मेरो जिन्दगीको अनुभूति हो यो।
यथार्थमा म बाँचेको छु। उहाँहरू बिनाको अधुरो परिवारसँग। साथमा मसँग केबल याद छ। अनि जीवन बुझ्न नपाएको उमेरमा डराएर आमा र बालाई दागबत्ती दिएर जलाएको चिसो चिहान छ। हार्दिक श्रद्धासुमन बा-आमा।