गुनासो तिमीसँग हैन, म आफैंसँग छ। तिमी बदलिनुको के दोष, दोष मेरो हो म आफैं बदलिन सकिनँ।
म आफ्नो भाग्य देखेर बाल्यकाल स्मरण गर्छु। म सानो छँदा आकाशतिर ढुंगा फाल्ने गर्थें, आज लाग्दैछ त्यो ढुंगाले सायद भगवानलाई लागेको हुनुपर्छ त्यहीँ भएर भगवानले पनि मप्रति प्रतिशोध साँधेको हुनुपर्छ, कसैलाई माया गर्नु र त्यसको सट्टा माया नै पाउनु मेरो भाग्यमा कहिले भएन। अन्जानबाट सुरू भएको हाम्रो सम्बन्ध ज्यानभन्दा नि प्यारो भएर अन्त्य हुँदैछ भने मेरो लागि यो भन्दा दुर्भाग्य अरू के नै हुन सक्छ र?
भविष्य कस्ले देखेको छ र? जे पनि त हुन सक्छ, हामीसँगै पनि त हुन सक्छौं नि भन्ने लाग्थ्यो। तर अफसोस सम्भावनाहरू झन् बिस्तारै हराउँदै गएका छन् आजकाल। माया पाउन जोडबलले गरेका प्रयासले कहिले उपलब्धि हासिल गरेनजस्तो लाग्दैछ।
तिमीमा झनै डर र त्रास उत्पन्न हुँदै गएको महसुस गर्दैछु। तिमीले पनि सोच्न त मेरै लागि सोचेर भनेको हौला ‘पछि गएर छुट्टिनु भन्दा अहिले नै आफ्नो आफ्नो बाटो लाग्दा सहज हुन्छ।’
तिम्रो लागि नयाँ बाटो सहज छ होला। तर मैले कुनै बाटो भेट्टाउनै सकिनँ। म तिम्रो मायामा यसरी अलमलिएको रहेछु, आफ्नो गन्तव्य नै बिर्सिन पुगेछु। मलाई कतै जानु छैन। अब मेरो लागि गन्तव्य नै अलमल भइसकेको छ। मैले तिमीसँग देखेका सपनाहरू सबै मलिन देख्दै छु। मैले तिमीबिना बाटो देख्नै छोडेँ। चारैतिर केबल अन्धकार मात्रै देख्छु।
मैले सुरूमै भनिसकेको छु, मलाई कुनै गुनासो छैन तिमीसँग र कत्ति पनि दोष दिन चाहन्नँ तिमीलाई।
तिमी साँच्चिकै दुरदर्शी रहेछौ। धेरैपछि हुने कुरालाई तिमीले समयमै बुझाउन धेरै कोसिस गरेकी थियौ। तर मेरो जिद्दीको प्रतिफल भोगिरहेको छु। अझै भोग्न तयार छु किनकि मेरो माया सत्य छ साँचो छ। अनि त जिद्दी गरेँ। मलाई अझै धेरै पीडा दियोस् यो मायाले भन्ने लाग्छ।
उदाहरणको एक पात्र बनुँ जस्तो लाग्छ साँचो माया गर्नेहरूका लागि। यस्तो भनिरहँदा भावनामा बहकिएको जस्तो सुनिन सक्छ। तर सत्य यही हो। यदि मायामा पीडा हुँदैन र माया गरेको मान्छेलाई गुमाउँछु कि भन्ने डर हरेक पल हुँदैन भने त्यो के माया? कहिलेकाहीँ हामीले पढ्ने कथा उपन्यासमा जस्तै मायाको उदाहरण म हुन पाउँछु भने त्यो माया असफल किन नहोस् म गर्व गरिरहन्छु।
मान्छेको जिन्दगी कति नै लामो हुन्छ र! एकदिन त सबैलाई यो संसार छोड्नु नै छ। केको रिसराग केको घमण्ड गर्नु बाँचुन्जेल। मैले तिमीलाई सुरूआती दिनदेखि नै आफ्नो बनाउनको लागि कोसिस गरिरहे। कहिले फकाए होला, कहिले जिद्दी गरे होला। तर सबै प्रेमका खातिर थियो। मलाई मात्रै तिमी चाहिएको थियो, तिम्रो साथ चाहिएको थियो।
तिमीले कति बुझ्यौ, कति मैले बुझाउन सकिन होला। बुझाउँदा बुझाउँदै पनि समय बितेको पत्तै भएन। हेर त कति धरै समय भइसकेछ। अब हामीलाई चिन्ता भनेको आफ्नो भविष्य सुनौलो बनाउने त हो नि हैन र?
भविष्य त हामी दुवै मिलेर बनाउन सक्छौं। समस्या पनि छन् थुप्रै। हामी दुवैका समस्याहरू पनि हामी मिलेर समाधान गर्न सक्छौं। तर हामी बीच त्यो संकल्प हुनुपर्याे। त्यो विश्वास हुनुपर्याे। कमीकमजोरी त हरकोहिमा हुन्छ नि! हामीसँग पनि थुप्रै छन् होला तर हामी साहास गर्न सक्नु पर्याे। हिम्मत गर्न सक्नु पर्याे सफल अवश्य हुनेछौं।
मलाई थाहा छ तिमी थाकिसकेकी छौं। यो यात्रालाई अगाडि बढाउने हिम्मत गर्न सकेकी छैनौ। तिमीलाई शंका छ म फेरि हिँडे भने लड्छु फेरि थाक्छु, तर तिमीसँग थकाई मार्दैमार्दै म जिन्दगी भर तिम्रो हात समाएर हिँडिरहन चाहन्छु।
तिमी लडेको बेला उठाउनलाई र थाकेको बेलामा हौसला दिनलाई म कहिले तिम्रो साथ छोड्ने छैन। एकपटक विश्वास गरेर हेर न। तिम्रो विश्वास कहिले टुट्न दिने छैन। जस्तोसुकै परिस्थिति आओस म तिमीलाई कहिले निराश बनाउने छैन। हर कोसिस गर्नेछु तिमीलाई खुसी बनाउन। तिम्रा इच्छा चाहनाहरू पूरा गर्न। हामीले खोजेको चाहेको पनि यस्तै होइन र?
किन सबै कुराहरू थाहा हुँदाहुँदै पनि मनको कुरा खोल्ने कोसिस गर्दैनौं हामी? मलाई तिमीबाट अरू कुनै कुराको आश छैन तिम्रो साथ भैदिए पुग्छ। तिमी खाली भएर आऊ शून्य भएर आऊ हामी फेरि शून्यबाटै प्रेमको सुरू गरौं।
यो मेरो अनुरोध हो तिमीलाई, कृपया पागलपन नसम्झनु। मैले धेरै समय लगाएर सोच विचार गरी लिएको निर्णय हो यो। मैले भोगेको छु, तिमी बाहेकका दिनहरू। तिमी सम्पर्कविहिन हुँदाका पलहरू। तिमी कल्पना मात्र गर्न सक्छौं म शब्दमा बयान गर्न सक्दिनँ। मैले गल्तीहरू धेरै गरेको हुन सक्छु। तर गल्ती यहाँ कसले गरेको हुँदैन र?
म तिमीसँग फेरि माफी माग्न चाहन्नँ। किनकि यो गरे भने तिमीले फेरि दोहोर्याउने छौ, ‘जहिल्यै गल्ती गर्ने बेला ख्याल नगर्ने अनि माफी मागेर सबै ठिक हुन्छ र?’
किन यति कठिन लाग्छ जिन्दगी जति सरल बनाउन खोज्दा पनि? मैले त्यस्ता ठूला-ठूला सपनाहरू पनि कहिले देखिनँ। एउटा मात्रै ठूलो सपना देखेँ- तिमीलाई आफ्नो बनाउने। म हर कोसिस गरिरहन्छु नथाकेसम्म नहार्दासम्म।
तिमीले कुनै संकोच मान्नु पर्दैन तिमी जसरी चल्न चाहन्छौ चल्नु। मलाई कुनै मतलब नै नगरे पनि केही फरक पर्दैन।
तिमीले मेरो बारेमा सोच्नु पनि पर्दैन। मलाई बिचरा पनि देख्नु पर्दैन। जब कुनै दिन तिम्रो मनमा मेरो लागि थोरै भए पनि माया पलाउने छ बस त्यही दिन भन्नु ‘म तिमीसँग जिन्दगी बिताउन तयार छु।’
तिमीले यो कहिले भन्छौ भन्ने आशामा छु। प्रार्थना गर्छु। यो मेरो चाहना पूरा होस् भनेर। यदि भएन भने पनि कुनै दोष दिने छैन। बरू तिम्रो जिन्दगी बाट सदाको लागि टाढा भइदिने छु। तर तिमी आफ्नो खुसी नभेटाउँदासम्म मात्र। यदि कहीँकतै भेटाएछौ भने म तिमीलाई कहिले रोक्न कोसिस गर्ने छैन।
तिमीले निर्णय गर्नुभन्दा अगाडि सोच विचार गरेर निर्णय लिनु म जस्तो धेरै भेटाउन सकौला तर म भेटाउने छैनौं। माया गर्ने जति पनि भेटाउँला तर म जस्तो गर्ने माया भेटाउने छैनौं।
म बितेका कुरालाई अब धेरै सम्झन चाहन्नँ जेजे भए केही राम्रोको लागि भए होलान् केहिी नराम्रोको लागि। अब आउने दिनहरू कसरी सहज बनाउन सकिन्छ? हामी के कुरामा खुसी हुन सक्छौ? जस्तै म तिमीले माया गरे पनि नगरे पनि बस तिमीसँगै बोलिरहन पाउँदा खुसी हुन्छु। एउटा राम्रो साथी बनेर हरेक सुख दुःखमा साथ दिन पाउँदा खुसी हुन्छु।
बाँकी तिम्रो मर्जी।