आफ्ना बालबालिकासँग यौनका बारेमा कुरा गर्नु आमाबाबु र अभिभावकका लागि निकै सकस हुन्छ। यो पक्ष निकै संवेदनशील मानिन्छ। यसै कारण साना तथा हुर्कँदा छोराछोरीसँग यौन शिक्षाको कुरा नै हुँदैन।
सानो उमेरदेखि नै बालबालिकालाई आफ्ना शरीरका अंगहरूका बारेमा बुझ्ने र जान्ने चाहना हुन्छ। उमेर बढ्दै गएपछि यौनको बारेमा बुझ्ने चाहना बढ्दै जान्छ। बालबालिकाको आवश्यकता मात्र हेर्नुभन्दा पनि उनीहरूलाई कुन कुन उमेरमा आफ्नो शरीरका अंगहरूका बारेमा जानकारी र यौनसम्बन्धी शिक्षा कति उमेरमा कसरी दिने भन्ने कुरा अभिभावकले जानिराख्न आवश्यक हुन्छ।
उनीहरूलाई खुल्दुली लागेका कुराहरू बाबुआमाले सजिलोसँग सरल शब्दमा बुझाउने प्रयास गर्नुपर्छ।
यौन भन्नेबित्तिकै सम्भोग अर्थात 'सेक्स' भन्ने धेरैको बुझाइ हुन सक्छ। यौन भनेको सम्भोग मात्र होइन, हरेक व्यक्तिको आआफ्नो शरीरको अनुभव हो। अरूसँग नजिकिनु, टाँसिएर बस्नु वा नजिकिन नचाहनु पनि यौनसँगै जोडिएको पक्ष हुन सक्छ।
यौन शारीरिक पक्ष मात्र नभई मानसिक स्वास्थ्यसँग पनि जोडिएको हुन्छ।
यौन हरेक मानिसको परिचय (आइडेन्टिटी) बनेको हुन्छ। प्राकृतिक रूपमा बालबालिकाको यौन क्षमता गर्भदेखि नै विकसित हुन्छ। निकै सानो उमेरदेखि नै बालबालिकामा यौन क्षमता हुन्छ। कहिलेकाहीँ ससाना बालकको लिंग दरो भएको देख्नुभएको होला। यसो हुनु यौन क्षमताकै प्रकटीकरण हो।
पहिलेपहिले ९–१० वर्षकै उमेरमा बिहे हुन्थ्यो र १३–१४ वर्षमै बच्चा जन्माउँथे भनेको सुन्नुभएको होला। अहिले पनि यस्तो कथा भन्ने धेरै हजुरआमाहरू छन्। मानिसमा यौनको भाव जन्मदेखि नै हुन्छ र मृत्युपर्यन्त रहन्छ।
धेरै पुरानो समयमा बालमनोविज्ञानका विविध पक्षहरूबारे मानिसमा साह्रै सीमित ज्ञान थियो। विज्ञान र अनुसन्धानका नयाँ तथ्यहरू थिएनन्। अनुभवमा आधारित ज्ञान थियो। शारीरिक विकास लगायत यौन सक्रियताका अनेक पक्षहरूबारे धेरै थाहा थिएन। यसको विकास क्रमको ज्ञान पनि सीमित थियो।
यो एक्काइसौं शताब्दीमा विज्ञान र अनुसन्धानले धेरै पक्षमा उथलपुथल ल्याएको छ। कुन उमेरमा कस्तो यौन चाहना हुन्छ र त्यस्तो चाहना परिपूर्तिको भरपर्दो उपाय के हुन्छ भन्ने पनि वैज्ञानिक अनुसन्धानले पत्ता लगाएको छ।
अनुसन्धानबाट प्रमाणित भएका कुराको ज्ञानबाट बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सकिन्छ। बालबालिकाहरू करिब चार वर्ष पुग्दासम्म यौन सम्बन्धमा जिज्ञासा देखाउँदैनन् तर आफ्नै वा अरूको यौन अंग हेरेर के हो र कस्तो छ भनेर जान्न चाहने हुन सक्छन्।
सामान्यतया ५–६ वर्षको उमेरसम्म बालबालिकाले आफ्नो लिंगका बारेमा सोधेको अवस्थामा ‘सु गर्ने ठाउँ’ भनिदिँदा भइहाल्छ। यसपछि भने जिज्ञासा बढ्दै जान्छ। यौन अंगका बारेमा जान्ने इच्छा हुन्छ। विशेष गरी केटा र केटीको ‘सु गर्ने ठाउँ’ किन फरक छ भन्ने जिज्ञासा हुन्छ।
बच्चा कसरी जन्मिन्छ अर्थात म कसरी जन्मेँ भन्ने कुरा जान्ने उत्सुकता हुन्छ। यही अनुसारको प्रश्न पनि गर्छन्।
यौन शिक्षाबारे खुला छलफल र कुराकानी गर्ने आमाबाबु–अभिभावकबाट बालबालिकाले आफ्नो जिज्ञासाको जवाफ पाउन सक्छन्। बालबालिकाका यस्ता जिज्ञासाहरूमा कुनै अप्ठ्यारो नमानी सजिलो तरिकाले तत्कालै बुझाउने बानी गर्नु राम्रो हुन्छ। उचित जवाफ पाएपछि उनीहरूले चित्त बुझाउँछन्।
उमेर बढ्दै गएपछि बालबालिकाले यौन सम्बन्धी आफ्ना जिज्ञासाहरू र आफूले थाहा पाएका कुराहरू सजिलो गरी भन्न सक्ने हुन्छन्। नौ–दस वर्षको उमेरसम्ममा बालबालिकाहरू यौन अंगका बारेमा राम्रोसँग थाहा पाउने भएका हुन्छन्। यो उमेरमा यौन अंगबारे अनेकथरीका भावना पैदा हुन सक्छन्।
हरेक मानिसका फरक फरक भावना र चाहना हुन्छन्। शरीरका अंगहरू, तिनका महत्व, यौन चाहना र आकर्षण फरक हुन्छ भन्ने कुरा पनि बालबालिकालाई बुझाउन आवश्यक हुन्छ। यो उमेरमा उनीहरू यौन अंगहरूका बारेमा बढीभन्दा बढी जान्न इच्छुक हुन्छन्।
यस्ता कुरा सिक्न घरको वातावरण अनकूल छैन भने आफ्ना जिज्ञासा र यौन सम्बन्धी कुरा लुकाउने पनि हुन सक्छन्। यसो हुनु राम्रो होइन। यसले नकारात्मक परिणाम दिन पनि सक्छ। मनमा आएका भावनाहरू आफ्ना आमाबुबा–अभिभावकलाई सहज ढंगले सोध्न र भन्न सकेनन् भने उनीहरूमा नकारात्मक असर पर्न सक्छ।
बालबालिकाहरूमा यही उमेरतिर सामाजिक मूल्यमान्यताले पनि प्रभाव पार्न सुरू गर्छ। सामान्यतया उनीहरूलाई यो उमेरमा आफ्ना केटासाथी वा केटीसाथीसँग खेल्न, घुलमिल गर्न प्रेरित गर्नुपर्छ।
नेपाली समाजमा विशेष गरी केटालाई केटासँगै र केटीलाई केटीसँग मात्र खेल्न र घुलमिल हुन प्रेरित गर्ने चलन छ। यसो गर्दा उनीहरू आफ्ना भावना विपरीत लिंगीलाई सुन्ने–सुनाउने अवसरबाट वञ्चित हुन्छन्। लिंगका आधारमा नभई साथित्वका आधारमा मिश्रित रूपमा खेल्ने र घुलमिल हुने अवसरले जोसँग भावना मिल्छ उसैतिर मिल्ती हुन्छ।
बालबालिकाहरूलाई उनीहरूको यौन भावना प्रकट गर्नबाट रोक्नु हुँदैन, प्रकट गर्न प्रेरित गर्नुपर्छ। उनीहरूको निश्छल मन प्रकट हुन दिनु पर्छ। यौनसम्बन्धी उनीहरूका जिज्ञासालाई सामान्य मान्नुपर्छ। सही जवाफ दिनुपर्छ। उनीहरूलाई उपयुक्त तरिकाले यौन अंगका नाम भन्न सिकाउनुपर्छ।
नौ–दस वर्ष पूरा भएपछि यौवन अवस्थाका संकेतहरू देखिन थाल्छन्। शारीरिक विकासले फड्को मार्छ। यो अवस्था १५–१६ वर्षसम्म रहन्छ। केटीको तुलनामा केटामा अझ ढिलो गरी यौवन अवस्थाका लक्षणहरू देखिन्छन्।
शारीरिक वृद्धिसँगै यौन अंगको विकास पनि तीव्र हुने गर्छ। केटाहरूमा स्वर परिवर्तन हुने, वीर्य स्खलन हुने यही उमेरमा सुरू हुन्छ। केटीहरूमा स्तन बढ्ने र रजस्वला हुने हुन्छ। यौनांगको वरिपरि रौं उम्रने पनि यही उमेर हो। यौवन अवस्था विकासको यो समय जीवनभरिकै सबभन्दा संवेदनशील समय मानिन्छ।
शरीरमा यौन हर्मोनको मात्रा बढ्ने भएकाले आफ्नो शारीरिक परिवर्तनले आफैं चकित पर्ने हुन्छ। कतिपयलाई त आफ्नै शारीरिक परिवर्तनले नकारात्मक असर पार्न पनि सक्छ। कहिलेकाहीँ त आफ्नो पहिचानमै पनि अलमल हुन्छ।
यौवन अवस्थाका परिवर्तनबारे आफ्ना बालबालिकालाई आमाबाबु–अभिभावकले राम्ररी बुझाउनु पर्छ। वीर्य स्खलन किन हुन्छ, रजस्वला हुनुको अर्थ के हो भन्ने कुरा पनि बुझाउन सक्नुपर्छ। स्तन बढ्नु र यौनांगमा रौं उम्रिनु सामान्य प्रक्रिया हो भन्ने कुरा र यसो हुनुको अर्थ बुझाउन सक्नु निकै राम्रो हुन्छ।
सम्भोग अर्थात सेक्सका बारेमा उनीहरूको जिज्ञासा छ भने राम्ररी बुझाउनुपर्छ। यही उमेरमा सम्भोगको अर्थ र सुरक्षाका बारेमा पनि जानकारी दिनुपर्छ। यस्तो विषयमा आमाबाबु–अभिभावकसँगै खुलेर कुरा हुन सक्यो भने राम्रो हुन्छ।
यौवन अवस्थामा प्रवेश गर्दै गरेको उमेरमा यसबारे बुझाउन सक्दा दुर्व्यवहारमा पर्ने सम्भावनाबाट पनि बचाउन सकिन्छ। यौनका बारेमा जानकारी दिनु भनेको सम्भाव्य नकारात्मक परिणामबारे सचेत गराउनु पनि हो। यसकारण यौनका बारेमा असल व्यवहारतर्फ प्रेरित गर्नुपर्छ।
दुर्व्यवहार भनेको के हो र यसबाट कसरी बच्ने भन्ने कुरा पनि जानकारी गराउनुपर्छ। आफूमाथि कुनै दुर्व्यवहार भएको छ भन्ने लागेमा आमाबाबु–अभिभावकलाई भन्न सक्ने आँट र भरोसा पनि दिनुपर्छ।
यौन शिक्षामा आमाबाबु–अभिभावकसँगै विद्यालयको पनि निकै महत्वपूर्ण भूमिका हुन्छ। नेपालको शिक्षा प्रणालीमा यौन शिक्षा निकै कमजोर देखिन्छ। बालबालिकाको उमेरगत मनोविज्ञानका आधारमा प्राथमिक कक्षादेखि नै यौन शिक्षा दिनुपर्छ।
युरोपेली मुलुकहरूमा बालबालिकालाई पूर्वप्राथमिक तहमै यौन शिक्षा सुरू गरिन्छ। स्विडेनमा यस्तो व्यवस्था छ।
बालबालिकामा उत्पन्न हुने जिज्ञासा र ग्रहण क्षमताका आधारमा शिक्षण सामग्री बनाउनुपर्छ। उनीहरूलाई यौनसम्बन्धी छलफल गर्न प्रेरित गर्नुपर्छ। नेपालमा यसतर्फ ध्यान पुगेको देखिँदैन। माध्यमिक तहमा पुगेपछि थोरै शिक्षण हुने भए पनि आवश्यकता अनुसार प्रभावकारी छैन।
(डाक्टर दिपराज थापाले स्विडेनमा बालबालिकाको प्राथमिक उपचार र स्वास्थ्य प्रवर्द्धन सम्बन्धी विशेष नर्सका रूपमा विद्यावारिधि गरेका छन्। उनी त्यहीँको एक विश्वविद्यालयमा प्राध्यापक पनि हुन्)
ट्विटर @DrDipRajThapa
(दिपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)