मस्त निद्रामा थिएँ। ढोका ढकढक बज्यो। ‘खिम सर’ भनेकोझैं सुनें। कसैले बाहिरबाट बोलाएझैं लाग्यो। ‘हजुर!’ निद्रैबाटै बोलें। आँखा खोलें। झ्यालको चर छेडेर मार्तडीको बडिमालिका मन्दिरको कुनाबाट निस्केको सूर्यको किरणले भित्तामा बिहानी संकेत गरिसकेको रहेछ।
ढोका उघारें। प्रेम पुन सर पो रहेछन्। सेभ द चिल्ड्रेनका स्टाफ। ‘डिभीको रिजल्ट आयो रे खिम सर’भन्दै भित्र छिरे।
‘ल्यापटप खोल्दै गर्नुहोस् है, म कनफर्मेसन नम्बर खोज्छु’, भन्दै आफ्नो कोठा छिरें। इलेक्ट्रोनिक किटलीमा तातो पानी बसालें। इन्टरनेट स्लो भयो। चलेन। पुन सरको ढुकढुकी फास्ट भयो। वेगले चल्यो।
‘हैट! यही बेला इन्टरनेट चल्दैन यार। जतिबेला इन्टरनेटको आवश्यकता बढी भएको हुन्छ। जहिले यस्तै हुन्छ स्लो हुन्छ’,फतफताउँदै भित्र/बाहिर गरे।
इन्टरनेटको हालत उस्तै थियो।
पुन सरको हालत पनि उस्तै थियो।
पुन सरले रिजल्ट नहेरी खानै खान्न कि झैं लाग्यो मलाई।
अफिस जाने समय भइसक्यो। पुन सरले त्यो कन्फर्मेसन नम्बरवाला फर्म मलाई थमाइदिए। डिभी परे/नपरेको खबर गर्ने जिम्मा दिए।
आफू अफिसतिर हिँडे। म पनि झोला बोकेर अफिसतिर हिँडें। हामी दुबै सुदूरपश्चिमको बाजुरा जिल्लामा थियौं। हाम्रो अफिस फरक थियो। डेरा लिएर बसेको घर एउटै थियो।
अफिसको गेटमै पुग्दै थिएँ अफिसका स्टाफ साथीहरूले लिस्ट नै तयार पारेर बसेका रहेछन् डिभीको रिजल्ट हेर्ने।
मनमनै सोचें नेपाल बस्ने मन कसैलाई रहेनछ यार।
अफिसको इन्टरनेट पनि स्लो नै थियो। त्यही समयमा घरबाट श्रीमतीको फोन आयो। डिभीको रिजल्ट आएको खबर सुनाउन रहेछ त्यो कल।
‘लौ कन्फर्मेसन नम्बर टिपिस्यो है। हेरेर खबर गर्नु ल। अहिले राखे स्कुल लागिसक्यो।’ फोन राखिन्।
सबभन्दा पहिला प्रेम सरको नम्बर राखेर रिजल्ट चेक गरें। ‘योर नम्बर ह्याज नटविन सेलेक्टेड’ देखायो।
पुन सरलाई अफलाइन म्यासेज पनि छोडें। बिस्तारै अफिसका स्टाफहरू चेक गर्दै गए। सबैको एउटै देखायो। मतलब कसैलाई परेन डिभी।
फोनको म्यासेज बक्समा दर्जनौं म्यासेज आएका रहेछन्। डिभीका नम्बरहरू। त्यो समय जहाँ कतै इन्टरनेटको सुविधा थिएन। भैहाले कछुवाझैं स्लो।
मान्छेहरूलाई रिजल्ट भने खरायोको गतिमा चाहिने। गाह्रो थियो। जतिको हेरे कसैको परेन। सबको पालो सकियो। पालो मेरो थियो। नम्बर टाइप गरें। यु ह्याभबिन सेलेक्टेड देखायो। सुरूमा विश्वास लागेन। नम्बर पो गल्ती थिचेको कि झैं भयो। फेरि दोहोर्याएर हेरें नम्बर सही थियो। डिभी परेको कन्फर्म भयो। अफिसका सबै स्टाफले बधाई दिइहाले तात्तातै।
धन्यवाद त भन्न परिहाल्यो। धन्यवाद दिए सबैलाई एकमुस्ट।
‘अब सर त अमेरिका जानु हुने भयो। सरका सुखका दिन आए। दु:खका दिन गए। कस्तो भाग्यमानी हुनुहुँदो रहेछ सर। पार्टी चाहिँ भव्य गर्नुपर्छ है’,एकजना स्टाफले भने।
सबैले हो मा हो मिलाए।
मैले ‘हवस्’ मात्र भनें।
अफिस सकेर रूम आएँ। पुन सर पहिले नै रूममा आइसकेका रहेछन्। पुन सरले अर्को बधाई थपे।
‘अब हजुरको त अमेरिकाको ढोका खुल्यो। आफूले त अझै यही झोला बोक्ने लेख्या छ यार।’पुन सरले कुन्ठा पोखे।
‘यो त पहिलो चरण हो रे सर। अमेरिका जाने निश्चित कहाँ छ र! झन्डै एक वर्ष लाग्छ रे। ग्यारेन्टी पनि त हुँदैन। अमेरिकन एम्बेसीको अगाडि डिभी भिक्टिम पूरै धर्ना दिएर बसेका हुन्छन्’ मैले कति न सबै जाने जस्तो गरी पुन सरलाई एकै सासमा सबै सुनाएँ।
हुन त मैले सुनेको पनि त्यहीँ थिए।
साँझ घरबाट सबिनाको फोन आयो। पासपोर्ट छिटो बनाउनु पर्छ रे। छिटो प्रोसेस गर्नेको छिटो नै सेकेन्ड लेटर आउँछ रे। यस्तो कुरा गर्दै थिइन् कि यो कुनै लभ लेटर हो जति छिटो पठायो उति नै छिटो रिप्लाई आउँछ। ननस्टप यति कुरा भ्याइन्। मैले सुनिमात्र रहें। हुन त विचरा उनलाई पनि कसैले सुनाइदिएको थियो होला। त्यही कुरा मलाई भनिन्।
‘पासपोर्ट बनाउनको लागि अफिसमा बिदा मिलाइस्यो है। सक्दो छिटो गरिस्यो।’ सबिनाले हल्का प्रेसर दिइन्।
‘नाइँ’ पनि कसरी भन्नूँ। अब प्रोसेसमा जानै पर्यो। मसँग नाइँ भन्नलाई विकल्प थिएन। त्यसैले ‘कोसिस गर्छु भन्दिएँ’ उनलाई।अफिसमा कुरा राखें। बिदा बढीमा तीन दिनसम्मको मात्र सहजै मिल्ने खाले थियो।
जिल्लाका संयोजकलाई क्षेत्रीय संयोजकले तीन दिनसम्म बिना स्पेशल कारणबिनै बिदा छोड्न मिल्थ्यो। अब तीन दिनको बिदाले घर(दाङ) गएर सबिना र छोरालाई लगेर काठमाडौं जाने सम्भावना न्यून थियो। मार्तडीबाट अत्तरिया पुग्नै रातभर लाग्थ्यो। रातको बसको यात्रा मलाई धेरै डर लाग्थ्यो। नगरी नहुने फेरि। यात्रा पहाडको तर हकाइ तराईको हुन्थ्यो।
तुफान उड्थे बस। खासमा गुड्न पर्ने हो। सधैं यात्रा गर्दा पशुपतिनाथ सम्झन्थें। घर परिवार सम्झन्थें। सबै देवीदेवता सम्झन्थें। तेत्तीस कोटी देवतै सम्झन्थें।
मैले सुदूर र कर्णालीमा यात्रा गर्दा सधैं सम्झिने मान्छे हुन्,धनिराम न्यौपाने।
पहाडको घर कालीकोट। अहिले कोहलपुरमा घर छ। हामीसँगै कालीकोटमा काम गर्यौं झन्डै दुई वर्ष। एउटै घरमा थियो डेरा।
उनी महिना/दुई महिनामा कोहलपुर झर्थे। म्याडम राजनीति गर्नुहुन्थ्यो। राजनीति उनी पनि गर्थे फुर्सद मिलेसम्म। तर प्रोजेक्टको आचारसंहिताले बाँधेको थियो। धनिराम र म्याडम एउटै बस चढेर कर्णालीको यात्रा गर्दो रहेनछन्। यसरी सँगै यात्रा नगर्नु रहस्य जान्न चाह बढ्यो। मैले अनुरोध गरें। अनुरोधलाई धनिरामले सहजै स्वीकारे।
‘घरमा छोराछोरी छन्। बाआमा छन्। कमाएर खुवाउने हामी बुढाबुढी हौं। कर्णाली राजमार्गमा धेरै नै गाडी दुर्घटना हुन्छ। दुर्घटना परे बाच्ने सम्भावना कमै हुन्छ। बाटो त्यस्तै छ। गाडी खसे सिधै कर्णालीमा हो। शरीर भेट्न पनि गाह्रो पर्छ। फरक फरक गाडीमा यात्रा गर्यो भने कमसेकम सँगै दुर्घटनामा परिन्न। दायाँबायाँ केही भैहाल्यो एक जना त सकुशल भैइन्छ। घरको बिचल्ली त हुन्न भन्ने आशामा हामी यात्रा सँगै गर्दैनौं।’ लामो सुस्केरा हाल्दै धनिरामले बडो मार्मिक कुरा सुनाए।
मुटु र्याउ गर्यो। उनको कुरा तीतो यथार्थ थियो।
कुनै समयको कर्णाली राजमार्गमा यस्तै दुर्घटना हुन्थ्यो। साँघुरो बाटो। पुराना गाडी। चेकजाँच कम। क्षमताभन्दा दोब्बर यात्रु बोक्नु नै प्रमुख कारण थिए दुर्घटनाका।
पछि यी सबै कुरामा केही कडाइ भयो। केही हदसम्म दुर्घटना न्यूनीकरण भयो। यात्रा भने जोखिम नै लाग्थ्यो कर्णालीको राजमार्ग सम्झेपछि।
पहिलो पटक कालीकोटको यात्रा गर्दा म चढेको जिप पनि दुर्घटनामा परेको थियो। झन्डै एक सय बीस मिटर तल खसेको थियो। ठूलो रूखले रोक्यो जिपलाई र बचायो तिला कर्णाली नदीबाट।
पाँच जना सिट क्षमता भएको जिपमा मान्छे नौ जना थियौं। जिपको पछाडि पूरै तरकारी र किताबले भरेको थियो। जिपले क्षमताभन्दा धेरै लोड बोकेको थियो। प्रहरी चौकी आयो। ड्राइभर इन्ट्री गर्न गए। मलगायत अरू तीन जनालाई गाडीबाट झार्यो। प्रहरी चौकी काटेर पारी कुर्न लगाइयो। ड्राइभर इन्ट्री गर्न झरे कालीकोटको हुल्म भन्ने ठाउँमा। केही कदम मात्र के गएको थिएँ,जिप पछाडि ब्याक भयो। आँखै अगाडि बाटोबाट जिप खस्यो। मैले जीवनमा देखेको सडक दुर्घटना पहिलो थियो।
प्रहरी चौकी नजिकै हुनु, रूखमा जिप अड्कनुले गर्दा मान्छेहरूलाई चोटपटक लाग्यो। ठूलो दुर्घटनाबाट बचियो। उद्धार समयमै भयो। त्यो समय धेरै डरलाग्दो थियो। शरीरमा अहिले पनि काँडा उम्रन्छ त्यो पल सम्झँदा।
यात्रा त गर्नु नै थियो मलाई। एउटा उपाय सम्झें। समय किफायत गराउने। खर्चिलो भने थियो। धनगढीबाट जहाजमा काठमाडौं जाने। सबिना र बाबु दाङबाट काठमाडौं आउने। त्यही अनुसार नै काठमाडौं हिँडें। पासपोर्ट बनाइयो। फर्केर कर्मथलो बाजुरा आएँ। बाजुरा,मार्तडीमा धेरैले थाहा पाए,डिभी परेको कुरा। अफिसका स्टाफबाट चारैतिर हावासरी फैलिसकेको रहेछ।
खाना खाने होटलमा। साँझ बिहान चिया खाने पसलमा। बजारमा। जहाँ जसले भेट्यो, ‘कहिले हो फ्लाइट सर?’ धेरैले यसरी सोध्न थाले।
‘सर हाम्लाई नबिर्सनू है।’-कतिले जिस्काउन लागे।
सबैको रेडिमेड प्रश्नका लागि मेरा केही रेडिमेड उत्तर तयार थिए। हवस् बिर्सन्न। भैहाल्छ नि। नबिर्सनू है। पार्टी कहिले खुवाउने भनेर सोध्नेहरूको लागि।
डिभी परेको दिनदेखि नै आमाको आँखा रसाउन सुरू गरेको थियो। सबिनाले फोन गर्दा सुनाउँथिन्। जति पटक काठमाडौं गएर घर आउँथें आमाको मन धमिलो देख्थें। आमालाई लाग्दै थियो अब कान्छाका परिवार आफूलाई छोडेर टाढा जाँदैछन्।
आमालाई नातीको माया औधी थियो। आमाकै काखमा हुर्केको थियो,दिक्षान्त।
आमाको आँखामा आँसु देखेपछि त्यो भन्दा दोब्बर मेरो आँखा आँसु भरिन्थे। आमाको आँखामा घाम लाग्न छाड्यो। मेरो आँखा बादलले भरिन लाग्यो। सम्पूर्ण परिवारमा बाहिर खुसी थियो। भित्र सबै दुखी थिए। आफ्नो घरको सदस्यलाई आफूबाट टाढा भएको कसलाई खुसी लाग्छ? फरक यति थियो अरूले दबाए, आमाले सकिनन्।
दिन बित्दै गयो। डिभीको सेकेन्ड लेटर आयो। फेरि बाजुराबाट काठमाडौं जानुपर्ने भयो। रातभरको यात्रा सम्झें। एकछिन झस्कें। यात्रा त गर्नै थियो। मार्तडी छोडें साँझको पवनदूत एक्सप्रेस यातायातबाट।
यो पटक दाङ गएर सबिना र बाबुलाई सँगै लगेर जानु थियो। घर पुगें। बाहिर पूरै घाम थियो। आमाको आँखामा बादल थियो। एकछिनमै झरी बनेर झर्यो। आमाको आँखामा निलो आकाश हेर्ने चाहन्थें म। आमालाई सम्झाउन पनि मेरो ल्याकतले भ्याउँदैनथ्यो। न आफैंलाई सम्झाउनै सक्थें म।
अन्तरवार्ता र मेडिकल सबै सकियो। एक महिना नहुँदै भिसा आयो। अमेरिकन एम्बेसीले भैरहवाको नेपाल इन्भेस्टमेन्ट बैंकमा भिसा पठायो। अन्तरवार्ता दिने समयमै कुन ठेगानामा पठाउने ठाउँ तोकेको हुन्छ। आफ्नो पायक पर्ने ठाउँ रोज्न पाइन्छ अन्तरवार्ता दिनेले।
मेरो लागि भैरहवा पायक थियो। भैरहवा रोजें। भिसा आएपछि टिकट हेर्ने कुरा चल्यो। सस्तो र छिटो कुन एयरलाइन्सले उडाउँछ खोजी सुरू भयो। बरू मुडामा बसेर जान्छु आधा भाडा तिर्छु भन्ने बानी लागेको हामीलाई झन्डै एक लाख भाडा एक जनाको सुन्दा मुटुले ठाउँ छोड्यो। धन्न जहाज पर्यो। बार्गेनिङ चल्दैन। साथीको ट्राभल एजेन्सीबाट टिकट काटें। टिकट घरमै लिएर आयो साथी।
उता बाजुरामा कामको प्रेसर उस्तै थियो। राजीनामा स्वीकृत नै भएको थिएन। अमेरिका उड्नुभन्दा सत्ताइस दिनअघि राजीनामा स्वीकृत भयो। बाइस महिनाको बाजुरा बसाइँ बिट मारें। बाजुरा छोडें। दिनहरू छोटिँदै गए नेपाल बसाइँको।
आफ्ना आफन्तहरूले पाहुना खाना खुवाउने सुरू भयो। घरमा खाना खानै नपाइने भयो। साँझ बिहान नै बाहिरै हुन्थ्यो खाना। घर छोडनु दुई दिनअघि आमालाई दम बढ्यो। अस्पताल आफैं लगें। आमालाई दमले कतिबेला च्याप्छ थाहै हुँदैन। दम सामान्य भएपछि घर आयौं।
हामीहरू घर छोड्ने दिन आएपछि झन् बढेको थियो। मलाई थाहा थियो। म लाचार भएर हेर्नेबाहेक केही गर्न सकिनँ। के भनेर सम्झाऊँ? म छिट्टै आउँछु नि आमा है, भन्ने बाहेक अरू कुनै शब्द आएन त्यतिबेला मलाई।
‘पैसाको मुख कालो हुने रैछ। मेरो छोरा बुहारी र नातीलाई मबाट टाढा गराउँदैछ’, भक्कानिएर कोठा छिरिन् आमा।
आमा जति म पनि भक्कानिए। जीवनको सबैभन्दा कठिन दिन थियो मेरो लागि।
मैले बाको आँखामा पहिलो पटक आँसु देखें। बाको आँसुले झन् मलाई गलायो।
आमालाई सम्झाउने बा आफैं रोए। कसैले कसैलाई सम्झाउन सकेनन्। घरमा आएका दाइ भाउजू अनि दिदी सबैको आँखामा आँसु। यस्तो लाग्यो त्यो दिन आँसु भेला कार्यक्रम थियो।
‘म सधैंको लागि कहाँ जान लागेको हो र? फर्केर आइहाल्छु नि। मलाई सम्झाउने बेलामा आफैं रोए मेरो मन झन् कस्तो हुन्छ होला! मलाई हाँसेर बिदाइ गर्नु है रोएर होइन। भित्र भित्र रूँदै यति भन्न भ्याएँ मैले।
‘कहाँबाट आयो यति शक्ति? कहाँ लुकेको रहेछ त्यो तागत? मलाई केही थाहा भएन। जेठी भाउजूले खाना पस्कनु भयो। सबैले आँसु पुछ्दै हात धुन गएँ।
घर छोडेर काठमाडौं जाँदै गर्दा आमाको मुहार हेरें। आमाको मुहारमा हार थियो। समयले जित्यो हामीलाई। हामी हार्यौं। टाढा बनाएर छोड्यो समयले आखिर। काठमाडौंसम्म त केही आफन्त र साथीहरू थिए। फ्लाइटको दिन आयो।
अन्तिम डिपार्टचरसम्म पनि आफ्नै देशमा छु लाग्यो। जब बिस्तारै जहाजमा चढ्न भनेर यात्रुहरू बोलायो एयरलाइन्सले तब मुटु ढक्क फुक्यो। शरीर सेलाएझैं भयो। घर परिवार सम्झें। साथीहरू सम्झें। आफू कुदेको बाटो सम्झे। सम्झिन सकेजति सबै सम्झें। सबभन्दा बढी आमा सम्झें। मेरी आमाले अहिलेसम्म कति आँसु झारी होलिन्? तप्प आँसु आफैं झर्यो मेरो।
जहाज रन वेमा बेस्सरी दौडियो। त्योभन्दा बेस्सरी मेरो आँसु बर्सियो। मेरो पीडा जहाजले बुझेन। एयर होस्टेसले बुझिनन्। पाइलटले बुझेन। म लाचार बनेर उनीहरूसँगै उडें।