‘मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु’ नेपोलियन बोनापार्टको भनाइ उल्लेख गर्दै निबन्ध लेख्न सुरू गर्थें, जतिखेर म स्कुलमा पढ्थें।
‘जसको साथमा ममतामयी आमा हुन्छिन् ऊ कहिल्यै गरिब हुन सक्दैन’अब्राहम लिंकनको यो भनाइ पनि छुटाउथिनँ, स्कुल पढ्दा आमा शिर्षकमा निबन्ध लेख्नु पर्दा। आमाको महत्व कति लेखेँ अक्षरमा तर म स्वयं आमा बनेपछि मात्र आमाको महत्व राम्रोसँग बुझेँ।
धेरै साहित्यकारबाट महान आमा, ममतामयी आमा विभिन्न शिर्षक दिएर धेरै कविता निबन्ध लेखिए। दश महिना पेटमा राखेर असह्य पीडा खपेर जन्म दिइन् भनेर जस दिइयो तर कसैलाई पनि थाहा छैन आफू आमाको पेटमा बसेको, अमाले प्रशव पीडा खपेको तर पनि आफैंले भोगेको जसरी लेख्छन् लेखकहरूले आमाको महिमा।
कसैकसैलाई मात्र थाहा होला आमाको काखमा निदाएको र कसैलाई मात्र थाहा होला आमाको स्तनपान गरेको तर म कसै र कसैकसै दुवै समूहमा पर्दैन किनभने म जन्मेको वर्षदिनमै म दिदी बनिसकेको थिएँ। म जन्मेको तीन वर्षपछि मात्र मलाई मेरो अस्तित्व थाहा छ। अर्थात् मेरा लागि त मेरो कान्छी बहिनी र म सँगसँगै जन्मिएका थियौँ किनकी म आफ्नो जिन्दगीको सुरूका तीन वर्ष सम्झन सक्दिनँ तीनदेखि पाँच वर्षसम्मका विशेष घटनाहरूका केही अशंहरू धुमिल सम्झनामा छन् तर छ वर्षदेखि सोह्र वर्ष भित्रका यति धेरै सम्झना छन् कि बाल्यकालको त्यो दशक नै आजसम्मको मेरो जीवनको सबभन्दा रमाइलो दशक रह्यो। निलो स्कट र सेतो सर्ट लगाएर स्कुल लगाएर गएको हिजो जस्तै लाग्छ।
लाग्छ, आज पनि म त्यसैगरी स्कुल गए भने तिनै साथी त्यसरी नै भेट हुन्छन्। कहिलेकाहीँ बाल्यकालका साथीहरूसँग फोनमा कुरा गरिरहँदा लाग्छ, साथीहरूको कुराकानी कस्तो ठूलो मान्छेको जस्तो! कतै मैले गलत नम्बरमा त कल गरिनँ? हैन रहेछ, म विगतमा पुग्ने रैछु, साथीहरू वर्तमानमा।
ओहो! मैले आमाको बारेमा लेख्दै थिएँ। बाल्यकालबारे पो लेख्न पुगेछु, सायद बाल्यकाल र आमा एकैसाथ अउने भएर होला।
जन्मदिनु र आमा हुनु फरक कुरा हो। यशोदा र देवकी यसका जवलन्त उदाहरण हुन्। मलाई मेरी आमाको देवकी रूप थाहा छैन अर्थात् मलाई जन्माएको थाहा छैन तर यशोदा रूप देखेँ, भोगेकी छु। अझ यशोदाभन्दा पनि महान रूप देखेको छु। कृष्णले यशोदाको ममतामयी रूप देखे मैले मेरी आमाको जादुगरी रूप पनि। यशोदा छोरा कृष्णको जादुगरीमा अचम्मित थिइन्। म मेरो आमाको।
मेरो नाथ्री फुटेर रगताम्मे नाक लिएर म घरमा आउँदा म साथीसँग लडेर आएको कुरा थाहा पाउनु स्वाभाविकै हो तर खोलामा पौडी खेलेर कपाल र कपडा सुकाएर जस्ताको तस्तै भएर आउँदा बाले सुइँको सम्म नपाउँदा आमाले कसरी थाहा पाउनुहुन्थ्यो अनि मलाई गाली गर्दै आफूले पिर गर्नु हुन्थ्यो मलाई खोलाले बगाउँछ कि भनेर?
स्कुलबाट घर आउँदा लुगा मैलिएको कुरा त हेरेर थाहा हुन्थ्यो तर कक्षामा हल्ला गरेर सरले गाली गरेको कुरा कसरी थाहा हुन्थ्यो? भोलिदेखि कक्षामा ज्ञानी हुनु है भन्दै सम्झाउनु हुन्थ्यो। मलाई भोक लागेको कुरा त आमाले मलाई खाना खान दिएको ग्यापको आधारमा थाहा हुनु स्वाभाविकै हो तर म जतिसुकै हँसिलो अनुहार लगाएर आमाको अगाडि प्रस्तुत भए पनि मलाई शोक परेको कुरा कसरी थाहा हुन्छ? ह्वाट अ जादुगर आमा?
म सानो छँदा कसैले मलाई तिमीलाई भेटाएर ल्याएको हो। तिमीलाई जहाँबाट ल्याएको हो त्यहीँ छोडिदिन्छु भन्दा म आमाको सारीको फेर समातेर बलिनधारा आँसु झारेर रुन्थें।
सायद त्यसैले भनिएको होला दिल खोलेर रूनका निम्ति सबैभन्दा उत्तम ठाउँ आमाको काख भनेर। किन रोएको होला म? खुसी हुँदै जानु पर्थ्यो नि आफ्नो जन्मदातासँग, यदि जन्माएर मात्र आमा महान हुने भएको भए ममतामयी हुने भए। आमाको देवकी रूपभन्दा यशोदा रूप बढी महत्वपूर्ण हुन्छ भन्रे कुराको प्रमाण हो यो।
मैले थाहा पाउने बेलादेखि नै बा-आमाभन्दा अग्लो मोटो हुनुहुन्छ आमा होची, पातली तर आधा घन्टा लाग्ने बजार म सानो छँदा बासँग गए भने बाको काखबाट मैले कम्तीमा तीन पटक जति ओर्लेर हिँड्नु पर्थ्यो। त्यही बाटो आमासँग जाँदा एक पटक पनि ओर्लन पर्थेन। कहाँबाट अयो तेत्रो बल? ह्वाट् अ जादुगर आमा। त्यतिबेलै मलाई थाहा भयो अग्लो मोटो हुनु नै बलियो हुनु होइन।
रातभर बैनीले खोकेर मेरो निन्द्रा खल्बलिँदा दिनभर कक्षामा झुल्थेँ तर आमाले रातभर बैनीलाई काखमा र पिँठ्यू बोकेर भित्र बाहिर गरिरहँदा पनि भोलि पल्टै उस्तै तरो ताजगीका साथ आफ्नो काम गरिरहनु हुन्थ्यो। कहाँबाट आउँथ्यो त्यस्तो तागत? ह्वाट अ जादुगर आमा। मेरो बाल्यकाल आमाको जादुगरी हेर्दै बित्यो।
बाल्यकाल युवाकालमा रूपान्तरण हुँदै गर्दा मेरो शैक्षिक यात्रा गाउँबाट काठमाडौं सर्यो। घरमा पढ्नेबाहेक अरू केही पनि काम नगरेको मैल पकाउनेदेखि पढ्नेसम्म सबै काम एक्लै गर्ने हुँदा धपडीको कारणले कहिलेकाहीँ बिरामी हुन्थें म बिरामी भएको कुरा सँगै बस्ने साथीलाई बरू थाहा हुँदैन थियो तर फोनमा मेरो आवाज सुनेको भरमा आमाले हस्पिटल जान सम्झाउनु हुन्थ्यो। म बिरामी भएको कुरा कसरी थाहा हुन्छ। जबकी मैले म सञ्चै छु भनेर झूट बोलिरहेको हुन्थेँ।
कहिलेकाहीँ कलेजको होमवर्क यति धेरै हुन्थ्यो कि खाना बनाउने फुर्सद नै हुँदैन थियो। कथमकदाचित फुर्सद भैहाल्यो भने पनि यति थकाइ हुन्थ्यो कि खाना बनाउने जाँगर नै चल्थेन बरू भोकै सुतुँजस्तो लाग्थ्यो तर पनि यति होमवर्क सकेर खाना बनाउनु पर्ला भनेर सोच्दा नसोच्दै आमाको फोन आइसक्थ्यो अहिलेसम्म किन खाना नखाएको?
निश्चित समयको अन्तरालमा पैसा सकिएको कुरा थाहा हुनु स्वाभाविकै हो तर कुनै महिना पकेट मनि कम खर्च गरेर पैसा जोगाउन खोज्यो भने फेरि आमाको फोन आइहाल्थ्यो खान लाउन दुःख नकाट्नु है, उफ्! ह्वाट अ जादुगर आमा।
आमाले हामीलाई जन्माएको कारणले मात्र उहाँ महान हुनुभएको होइन। उहाँमा भएका अद्भुत क्षमता कारणले नै आमा महान हुनुभएको हो।
आमाको बारेमा यति लेखेर सक्ने बित्तिकै आमालाई फोन गर्नु पर्ला भनेर सोच्दै थिएँ। ममी कलिङ भनेर मेरो फोन बज्यो मैले सोचेको कुरा पनि थाहा पाइदिने कस्तो भगवान जस्तै! त्यसैले भनिन्छ भगवान सबै ठाउँमा पुग्न नसक्ने नभएर भगवानले आमाको सृजना गर्नुभएको।
अब, म ममीको फोन उठाँउछु है, बाई द वे म आमालाई मम्मी सम्बोधन गर्छु हजुर नि?