मेरो अमेरिका बसाइँ ३ महिना पुग्दैछ। यो ३ महिनाको अवधिमा मैले अमेरिकाबारे धेरै कुराहरू सिक्ने र बुझ्ने मौका पाएँ। हेर्ने र भोग्ने अमेरिकाबीच आकाश जमिनको फरक देखेँ।
उताबाट हेर्दा अमेरिकामा समस्या नै छैन, समस्या त सबै नेपालमा मात्रै हो भन्ने बुझाइ छ। तर यथार्थ त्यस्तो हैन हरेछ। नेपालमा भन्दा ठूला-ठूला समस्या यहाँ छन्। कुरा समस्याको हैन रहेछ। समस्याको व्यवस्थापन कसरी गरिन्छ त्यो ठूलो कुरा रहेछ।
कुनै पनि नेपाली रहरले विदेशिँदैन। उसको विदेश पसाइभित्र अनेक कथा-व्यथा लुकेका हुन्छन्। तर सबैको कथाभित्र पाइने समानता के हो भने ‘देशको व्यवस्था’। यदि व्यवस्थामा देश चलेको हुन्थ्यो भने कुनै पनि नेपालीको विदेशिनु पर्ने बाध्यता रहन्थेन। समस्याले मात्र कोही विदेशिँदैन, यदि ती समस्याहरू उचित ढङ्गले समाधान हुन्थे भने।
समस्या त प्रत्येक देशमा छ, प्रत्येक व्यक्तिमा छ। कुरा समस्याको हुँदै हैन रहेछ। कुरा समाधानको हो। कुरा व्यवस्थापनको हो। नेपालमा नागरिक होस या सरकार समस्याप्रति उदासीन छ। समस्याको समाधान हुने प्रत्याभूति लगभग शून्य प्रतिशत छ। समस्या देखेर मान्छे भाग्दैन, समाधान नदेखेर अत्तालिन्छ। समाधान नीतिबाट राष्ट्रले दिनसक्नु पर्ने रहेछ।
अमेरिकामा के छ र मानिसहरू अमेरिका-अमेरिका भनिरहेका छन्? भन्ने कोणबाट पनि विश्लेषण गर्ने प्रयत्न गरेँ। नेपाली मात्र हैन विश्वभरका मानिसहरू नै अमेरिका बस्न लालहित भएको मैले देखेँ।
सारमा हेर्दा अमेरिका बसाइँ कठिन छ। नेपालमा जस्तो जीवन यहाँ पाइँदैन। यदि समाधान पाउने हो भने यहाँ बस्ने प्रत्येक व्यक्ति भोलि नै नेपाल फर्कन चाहन्छन्। काम नगरी खान पाइँदैन। तर भित्रबाट हेर्ने हो भने यहाँको जस्तो सहज जीवन सायदै पाइन्छ। व्यवस्थामा देश चलेको छ। तपाईं जुनसुकै काम गर्नुस्, त्यत्तिकै सम्मान पाउनु हुन्छ।
समस्याको कुरा गर्ने हो भने अमेरिकामा पनि समस्या नभएका हैनन्। नेपालमा भेदभाव अन्त्यका लागि भन्दै त्यत्रा आन्दोलन भए। तर पनि समस्या जहाँको त्यहीँ छ। कसैले आफूमाथि भेदभाव अनुभव गर्यो भने गुनासो गर्न सक्ने वातावरण छैन। पीडित बोल्न सक्ने अवस्था छैन। भेदभाव अमेरिकामा पनि पाइन्छ तर तपाईंले त्यस्तो महसुस मात्रै गर्नु भयो भने पनि यहाँको कानुनले उसलाई छोड्दैन।
नेपालमा कामको कदर गरिँदैन। कत्रा-कत्रा प्रतिष्ठित संस्थाहरूले अत्यन्तै कम तलबमा काम गराइरहेका हुन्छन्। कतिले त आफ्नो काम बापतको तलब नै पाउँदैन। गुनासो गर्ने ठाउँ कतै छैन। गुनासो गर्दा सुनिँदैन।
अमेरिकामा त्यस्तो हुँदैन। यहाँ सबै कामलाई उत्तिकै कदर गरिन्छ। राज्यअनुसार एउटा निश्चित ज्याला तोकिएको हुन्छ। त्योभन्दा कम तलबमा काम गराउन पाइँदैन नत्र ऊ दण्डित हुनुपर्छ। यहाँ कामदारको हक-अधिकार निकै बलियो बनाइएको छ।
नेपालमा अहिले पछिल्लो समय देखिएको आर्थिक समस्याहरू एकाएक सृजना भएको समस्या हैन। यो पनि नीतिकै कारण सृजित समस्या हो। नेपालका बैंकहरू जनताको पैसामाथि व्यापार गर्छन्। माथिल्लो तहका कर्मचारीहरू नै गैर व्यवसायिक गतिविधिमा संलग्न भएको समते पाइन्छ। ग्राहकका समस्या सुन्दैनन्। कतिपय कर्मचारीहरूलाई ऋणीहरूसँग विभिन्न बार्गेनिङ गर्ने, ब्ल्याकमेल गर्ने कार्यमा खटाइएको हुन्छ।
मिटर ब्याजीहरूको बिगबिगी त्यत्तिकै छ। प्रत्येक टोल-टोलमा मिटर ब्याजीहरू छाती फुलाएर हिँडिरहेका हुन्छन्। खुल्लमखुला पैसाको व्यापार गर्ने छुट दिइएको छ। तर अमेरिकामा आर्थिक अनुशासनलाई कडा बनाइएको छ। बैंक होस या व्यक्ति कसैले पनि पैसाको व्यापार गर्न पाइँदैन। प्रत्येक आयको स्रोत खुलेको हुनुपर्छ। अनिवार्य रुपमा कर तिरेको हुनुपर्छ। ब्याजमा पैसा लगानी गर्न बर्जित छ।
कुनै पनि कर्मचारी आफ्ना ग्राहकसँग अनुशासित रहनुपर्दछ। यदि कोही कसैले बार्गेनिङ गर्ने, धम्कीका भाषा प्रयोग गर्ने वा ब्ल्याकमेल गर्ने कार्य गर्न मात्रै खोजेमा पनि ऊ दण्डित हुन्छ। तर नेपालमा त्यस्ता पीडितहरू गुनासो लिएर पुगे भने पीडितमाथि नै डर धम्कीको वातावरण सृजना गर्न खोजिन्छ। कसैले पनि आफ्नो आयको स्रोत खुलाउनु आवश्यक ठानिँदैन। आर्थिक अनुशासन अत्यन्त फितलो छ।
नेपालमा सडक सुरक्षित छैन। वर्षेनी हजारौँ व्यक्तिहरूको सडक दुर्घटनामा मृत्यु हुन्छ। तर त्यसको दोष कसैले लिनु पर्दैन। अमरिकामा त्यस्तो हुँदैन। यहाँ ट्राफिक नियमभन्दा बाहिर कोही जानै मिल्दैन। प्रत्येक नियमको पालना गर्नै पर्दछ। यदि पालना गर्नु भएन भने तपाईंलाई जीवनभर सवारी चलाउनै नपाउनेसम्मको कारबाहीको व्यवस्था गरिएको छ। सडकमा कहीँकतै ट्राफिक प्रहरी देखिँदैन तर यदि गल्ती गर्नुभयो भने तपाईंको घरमा चिठी आइसकेको हुन्छ। प्रत्येक ठाउँमा क्यामराद्वारा तपाईं निगरानीमा रहनुपर्छ।
नेपालमा बिरामी भएमा उपचार गर्न नसकेर कयौँको मृत्यु हुन्छ। सक्नेहरू विदेश पुगेरसम्म उपचार गर्छन् तर नसक्नेहरूले नेपालभित्रै पनि उपचार पाएका हुँदैनन्। अमेरिकामा प्रत्येक व्यक्तिको स्वास्थ्य बिमा गरिएको हुन्छ र तपाईंलाई जुनसुकै रोग लागोस् उपचार नपाएर तपाईं मर्नु पर्दैन। नागरिकको स्वास्थ्यमा राज्यले कुनै खेलवाड गर्दैन।
शिक्षा पनि त्यस्तै नै हो। अमेरिकामा प्रत्येक नागरिकलाई समान शिक्षाको अवसर दिइन्छ। कोही पनि व्यक्तिको आर्थिक अवस्था हेरेर शिक्षाको स्तर निर्धारण गरिँदैन। यहाँ राष्ट्रपतिको सन्तानले पाउने शिक्षाको गुणस्तर र एउटा सामान्य नागरिकको सन्तानले पाउने गुणस्तर एउटै हुन्छ।
नेपालको सबैभन्दा ठूलो विडम्बना रोजगारी र अवसरको खोजीमा लाखौँ नगरिक आफ्नो देश छोडेर विदेशिन बाध्य छन्। राज्यले नागरिकलाई रोजगारीको प्रत्याभूति दिन सकेको छैन। अहिले पनि धेरै नेपालीहरू बिहान-बेलुकाको छाक टार्न नसक्ने अवस्थामा छन।
तर अमेरिकामा रोजगारीको लागि कुनै समस्या छैन। आफ्नो सीपअनुसारको जागीर सजिलै पाइन्छ। राज्यले नै रोजगारीका अवसरहरू सृजना गरेको हुन्छ। व्यवसाय गर्न राज्यले सहयोग गर्छ। पुँजीको अभावमा कसैले पनि आफ्नो सोच मारेर बस्नु पर्दैन। कुनै पनि उद्योग वा व्यवसाय धरापमा पर्यो भने राज्यले जिम्मा लिइदिन्छ। कुनै पनि नागरिकले आफ्नो जागीर गुमाउनु परेर बेरोजगार भयो भने उसलाई राज्यले भत्ताको व्यवस्था गरिदिएको हुन्छ।
नेपालमा पनि पछिल्लो समय मिडिया सशक्तीकरण बढेको पाइन्छ। मिडिया जनताका समस्या उजागर गर्न लागिपरेका त छन् तर मिडियाका हेडलाइन र समाचारहरूलाई सम्बन्धित निकायले गम्भीर रुपमा लिएको पाइँदैन।
अमेरिकामा मिडियाले समस्या उजागर गर्नै नपर्ने गरेर पहिला नै काम गरिन्छ। यदि मिडियामा कुनै समस्या आयो या मिडियाले कुनै विषय उठायो भने सम्बन्धित निकायले जवाफ दिनैपर्छ वा नैतिकता देखाएर नेतृत्वले राजिनामा दिने अवस्थासम्म सृजना हुन्छ। व्यवहारमा नै मिडियालाई राज्यको चौँथो अङ्गको रुपमा लिइन्छ।
नेपालमा प्रत्येक चिया पसलदेखि ठूला-ठूला ठाउँहरूमा मानिसहरू राजनीतिकै गफमा व्यस्त रहेको देखिन्छ। तर अमेरिकामा न त राजनीति बारे मान्छेहरूलाई चासो हुन्छ, न कुरा गर्ने फुर्सद नै हुन्छ। सबै कुरा व्यवस्थामा चलेको छ। राज्यसँग मान्छेहरूलाई गुनासो छैन। सबै कुरा आफ्नै लयमा चलेको छ।
त्यसकारण देश बन्न व्यवस्थापन मुख्य कुरा रहेछ। यदि व्यवस्था बनाएर समस्याको समाधानमा लाग्न सकियो भने देश लयमा फर्किन समय लाग्दैन।