लगभग आजभन्दा एक वर्षअघिको कुरा हो। सधैँ झैँ म बिहानै आफ्नो कलेज सकेर हस्याङफस्याङ गर्दै ड्युटी पुगेँ। विडम्बना! वैदेशिक यात्रामा भएकोले भोकभोकै काम गर्नु पर्ने बाध्यता हुन्थ्यो।
कलेज सकेर जानेबित्तिकै काम सुरु गरी त्यसको दुई घण्टापछि मात्र खाना खाने समय पाइन्थ्यो। खाना खाने समय पनि आधा घण्टाको हुन्थ्यो। खाना खानै हतार-हतार हुन्थ्यो। मोबाइल हेर्ने त फुर्सद नै हुँदैन थियो।
जब काम सकेर आफ्नो कोठा पुगिन्छ तब बल्ल केही समय मोबाइल हेर्न फुर्सद हुन्थ्यो। सधैँ झैँ त्यस दिन पनि कोठा आउनासाथ मोबाइल हेर्न लागेँ। यत्तिकैमा फेसबुक हेरेँ, त्यहाँ एउटा फ्रेन्डरिक्वेस्ट आएको थियो। उनको नाम माया (नाम परिवर्तन) थियो।
मलाई पनि उत्सुकता लागेर सबै हेर्न थालेँ, कतै मैले चिनेको कोही मानिस साथी छ कि भन्दै। नभन्दै दुई जना मैले चिनेको मात्रै नभएर आफन्त नै साथी भएको फेला पारेँ।
उसैलाई सोधेँ- ‘यो को मान्छे हो?’
उताबाट मेरो दिदी हो भन्ने जवाफ आयो। मैले मायाले फेसबुकमा साथी बन्न गरेको अनुरोधलाई सहजै स्वीकार गरेँ।
फेसबुकमा साथी भएको केही समयमा ‘हाई’ भन्दै सन्देश आयो। म पनि खुसी हुँदै उहीँ सन्देश मायालाई नि पठाएँ र सोधपुछ गर्दै कुरा गर्दै गयौँ।
हामी दुवै एउटै देशमा बसोबास गर्छौं भन्ने कुरा उनलाई त पहिले नै थाहा भैसकेको रहेछ, मलाई भने मायाको फेसबुक हेरेपछि थाहा भयो।
मायाले सोधी, ‘हजुर कहाँ बस्नु हुन्छ?’
म खुसी हुँदै उसको सन्देश आउना साथ म बस्ने ठाउँको बारे जानकारी दिएँ। यस्तै कुराहरू गर्दै जाँदा लगभग रातको १०/११ बजिसकेको थियो होला। मेरो आफ्नो कामहरूले गर्दा कुरा जारी राख्न पाइनँ। कहिलेकाहीँ यसरी नै कुरा हुँदै जान्थ्यो। म पनि १/२ महिनामा कहिलेकाहीँ सन्देश पठाउने गर्थें, उताबाट नि यसरी नै आउने गर्थ्यो।
एक रात म्यासेन्जरमा उनलाई फोन गरेँ। रातको समयमा नि उनी अरु कोहीसँग कुरा गर्दै गरेको सन्देश मिल्यो। मैले त्यस दिनदेखि म्यासेज-फोन गर्न छाडिदिएँ। उताबाट भने कहिलेकाहीँ आइरहन्थ्यो।
कुराकानीमा म उसले सोधेको कुराको उत्तर दिने गर्थें। हामी दुवै जान युरोपेली मुलुकमा थियौँ। उनी कामदार भिसामा, म विद्यार्थी भिसामा।
२०२३ को जनावरी महिनादेखि हाम्रो फेरि कुरा हुन थाल्यो। मेरो पनि चिसो समयमा काम नहुने भएकोले उनीसँग धेरै समय कुरा हुनथाल्यो। उनले पनि आफ्नो मनको कुराहरू सुनाउन थालिन्।
अपसोच! मायाले मेरो जिन्दगीको बाटो हेरेर कोही मेरो लागि कुरिरहेको छ, यदि हजुरलाई नराम्रो लाग्छ भने नबोल्नू भनेर मलाई स्पष्ट पारिन्।
मलाई लाग्थ्यो उनले मलाई झुट बोलिरहेकी छिन्। यति गर्दा पनि हाम्रो फोनमा राति घण्टौं कुरा हुन थाल्यो। उनले मलाई आफ्नो काम र स्वास्थ्यबारे बताइन्।
स्वास्थ्यमा समस्या भएका कारण फेब्रुअरी ३ तारिखमा अप्रेशन छ भनेर मलाई खबर गरेकी थिइन्। मलाई उनले ‘मिल्छ भने आउनू न, मेरो यहाँ कोही आफन्त चिनेको जानेको कोही पनि छैन’ भनेकी थिइन्। मैले मिल्यो भने आउँछु भनेर सान्त्वना दिएको थिएँ।
हामी बस्ने धेरै टाढा भएकाले सहजै स्वीकार गर्न सक्ने अवस्था थिएन। उनी घरेलु काममा आएको हुनाले मेरो दाइ आउनु हुन्छ भनेर आफू काम गर्ने घरको मान्छेलाई जानकारी गराइसकेकी रहेछिन्।
उनको अप्रेशन हुने दिन बिहान ५ बजेको बस समातेर हस्पिटलतिर लागेँ। प्रत्यक्ष रुपमा मैले उनलाई कहिले देखेको थिइनँ। बिहान ९ बजे हस्पिटल पुगेर कोरोना टेस्ट गरेर बसेँ। उनी १०:३० मा त्यहाँ आफूले काम गर्ने घरको साहुनीसँग आइन्।
एकअर्कोलाई पहिलो पटक देखेको भएर न उनले बोल्ने हिम्मत गरिन् न मैले। हामी एकाअर्कामा कुरा हुनु पहिला उनले काम गर्ने घरको साहुनीसँग मैले कुरा गरेँ। उनीसँग कुरा हुन पाएन।
उनलाई अप्रेशनको लागि भित्र लगियो। दिउँसो १२ बजे अप्रेशन हुने भनेर भनिए पनि साँझको ५ बजेतिर अप्रेशन भएर लगभग २ घण्टापछि सकियो। अप्रेशन गर्ने डाक्टरसँग भेटेर मैले केही कुराहरू सोधीखोजी गरेँ र उनीलाई भेट्न गएँ।
पहिलो पटक भेटेको मान्छे त्यही पनि त्यस्तो अवस्थामा, मेरो आँखामा आँसु टिलपिल हुन थाल्यो। उनीप्रतिको माया पानीको मुहानबाट पानी बगेजस्तै हुन थाल्यो। उनी आधाजसो होसमा त आधा बेहोसमै थिइन्।
जब उनी निदाउँथिन् म उनलाई हेरेर बस्थेँ। उनमा बोल्न सक्ने कुनै शक्ति थिएन। तर पनि मसँग बोल्ने कोसिस गर्थिन्। म नबोल्न आग्रह गर्थें। केही समयपछि उनलाई अप्रेशन गर्ने डाक्टर आए र सबै कुराहरू विस्तारमा मलाई बताए।
उनी साह्रै भोकाएकी थिइन्। कालो चिया खान दिनू भनेर डाक्टरले स्वीकृति दिए। मैले उनीलाई उठाएर कालो चिया पिउन दिएँ। यतिबेला रातको १० बजिसकेको थियो। उनीसँग बस्ने मन त थियो तर हस्पिटलमा बस्न नमिल्ने रहेछ, म साथीकोमा बस्छु भनेर बिदा मागेँ।
मैले उनको निधारमा चुम्बन गरेर त्यहाँबाट बिदा भएँ। उनीले यो सबै मेरो व्यवहार देखेरे म्यासेन्जरमा ‘धेरै-धेरै धन्यवाद, यो बिरानो ठाउँमा मलाई यति धेरै माया र सहयोग गरेकोमा’ भन्ने सन्देश आयो। मैले कुनै प्रतिक्रिया दिइनँ।
उनी हस्पिटलमा एक्लै छिन् भनेर दिनभरि उनीसँगै कुरा गर्दै बस्थेँ। हाम्रो अघिभन्दा अझ धेरै कुरा हुन थाल्यो। उनलाई ५ दिनपछि हस्पिटलले डिस्चार्ज गर्दियो। उनी घर गइन्।
घर गएपछि झन् धेरै कुरा हुने, रातभरि फोन होल्डमै राखेर निदाउने। यस्तै-यस्तै हुँदै दिन बित्दै थियो। उनको प्रत्येक हप्ता जाँच गराउन जानुपर्थ्यो। उनको सबै राम्रै हुँदै जाँदै थियो तर अचानक उनी मबाट सम्पर्कविहीन भइन्।