जीवन सधैं एकनास चले जीवनको महत्व बुझ्न सजिलो हुँदैन। भरियाले भारी हलुका बनाउनका लागि भारीमा अझ केहीबेर अरू भारी थपेर हटाउँदाको आनन्द जस्तै खुसीहरू बीचमा भएका व्यवधानले अझ बढी खुसी प्रदान गर्छ। केही समययता जीवनमा हरेक मोडले खुसी लिएर आए पनि ५६ वर्ष पूरा भएको तेस्रो दिनमा नै मेरो जीवनमा अप्रत्याशित ठेस लाग्न पुग्यो।
साँच्चै भन्नुपर्दा म नेपालका पढे-लेखेकी महिलामध्येमै पर्छु। नियमित स्वास्थ्य परीक्षण बेला बेलामा गर्ने गर्थें। खासै मलाई कुनै समस्या थिएन तर पनि मैले क्यान्सरसम्बन्धी कुनै पनि परीक्षण अहिलेसम्म नगरेकोमा मेरो यो हेलचक्र्याइँ वा असावधानीमा आफैंलाई आत्मग्लानीको महसुस हुन्छ, जबकि मेरो उमेरमा लगभग ४/ ५ वोटा जति म्यामोग्राम भैसक्नुपर्ने रहेछ।
म जत्तिको शिक्षित सक्षम महिलाले त कुनै सावधानी अपनाइन भने अरू महिलाहरूको स्थिति के होला? सहजै अनुमान लगाउन सकिन्छ। त्यसैले मेरो अनुभव तपाईंहरूसमक्ष यहाँ सेयर गर्न चाहें।
कुरा गत मंसिर १७ गते शनिबारको दिनको हो। त्यो दिन अत्यन्त व्यस्त थिएँ। राति ९ बजेतिर मात्र घर पुगेको थिएँ। त्यसपछि एकछिन कम्प्युटरमा बसेर काम गर्ने सोच बनाएर काम गर्न थालें। खोइ किन हो मेरा देब्रे हातले अनायस दाहिने छातीको र काखीको भाग छोयो र छातीमा अलिक कडापनको महसुस गरें।
देब्रेतिर खासै केही नभेटेपछि अलिक सशंकित भएँ र भोलिपल्ट हस्पिटल जाने निधो गरें।
आइतबार आफ्नो नियमित काम सकेर म जचाउनको लागि हस्पिटल गएँ, सोमबार बिहान म्यामोग्राम र अल्ट्रासाउण्ड गरियो। रिपोर्ट अलिक शंकास्पद आएपछि बायोस्पी गर्न भनियो। बायोस्पीको समय लिएपछि भने अलिक तनाव भयो।
छोरीले भन्ने गर्थी ‘ममी हजुरको बाबा (३० वर्ष) र आमा (५२ वर्ष) कम उमेरमा बित्नु भएकोले हजुर पनि चाँडै बित्न सक्नुहुन्छ। दु:ख नगरी समयमा गर्नुपर्ने कुनै पनि काम बाँकी नराख्नू। सम्पत्ति हाम्रा लागि नसाच्नू ताकि हामीले हजुरले दु:ख गरेर साँचेको सम्पत्तिलाई भोलि हजुरको शेषपछि कौडीको मोलमा छोड्नु नपरोस् जुन हाम्रा लागि अत्यन्तै पीडादायी हुन्छ’।
छोरीले भनेका कुरा सम्झिँदै आफूले आफैंलाई चित्त बुझाएँ। जस्तोसुकै भए पनि अझै दुई चार वर्ष उपचारले पनि बचाइहाल्छ, लगभग ६०/६५ त बाँचिहल्छु नि भन्ने सोच्न थालें।
हुन त मान्छे क्यान्सरले मात्र कहाँ मर्छ र क्यान्सरकै बिरामीको पनि मृत्युको कारण अरू पनि बन्न सक्छ कसले के जानेको हुन्छ र अनिवार्य र अनिश्चित मृत्युको घेरामा बाँचेका हरेक जीवनको? तै पनि मैले हरेक परिस्थितिलाई पूर्ण रूपमा स्वीकार्नुको विकल्प थिएन।
बायोप्सी गराएको कुरा परिवारमा भनेकी थिइनँ। गुगलमा सर्च गरेपछि बायोप्सी रिपोर्टमा आफू क्यान्सरको निकै नजिक पुगिसकेको थाहा पाएँ। अब भने परिवारलाई भन्न जरूरी ठानें।
बायोप्सी रिपोर्ट आउन ५ देखि ७ दिन लाग्ने रहेछ। केही दिनपछि मेडिसिटी अस्पतालबाट इमेल आयो। मैले सबै नबुझे पनि, आफूलाई क्यान्सर भएको भने लगभग बुझिसकेकी थिए। त्यसैले नेपालमै उपचार गराउने कि बाहिर भनेर सबैसँग सल्लाह भयो। अन्तत: भारत जाने निर्णय गरियो।
भारतमा राजीब गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर पुगें। त्यहाँ पुग्दा धेरै नेपाली क्यान्सरका बिरामीसँग भेट हुँदा मानौं यो अस्पतालको अर्थतन्त्रको ठूलै हिस्सा नेपालीले नै धानेको अनुभूति भयो।
अस्पतालमा नाम दर्ता गरी तुरून्तै डाक्टरलाई भेट्ने काम भयो। जुन कुरा मैले अत्यन्त सहज अनुभूति गरें।
सबै परीक्षणपछि चार दिनमा नै खतरामुक्त भएको रिपोर्ट आयो। यसकारणले पनि म आफूलाई अत्यन्त भाग्यमानी ठान्छु, ताकि कुनै पनि नियमित परीक्षणबिना र कुनै लक्षणबिना म जोखिमबाहिर रहें। अलिक छिट्टै सर्ने भएकोले मेरो उपचार अरूभन्दा अलिक महँगो भएको रहेछ। सबै जना कामकाजी भएकाले उपचारमा कुनै कमी हुन पाएन। जसले गर्दा एकदम खुसी छु। यो अर्थमा रोग लागेता पनि म आफूलाई अत्यन्त भाग्यमानी ठान्छु। यहाँ पैसा अभावले कति अकालैमै ज्यान फाल्न बाध्य छन्। सिटामोल नपाएर मर्नु पर्ने मेरो देशमा महँगो मेरो उपचारबाट पनि म बाँच्न सम्भव भैरहेको छु।
उपचार किमो थेरापीबाट सुरू हुँदैछ। २०६६ सालमा मेरी सानिमा किमो लिन सक्दिनँ भनेर लिनु भएन। त्यही सालको फागुनमा उहाँको निधन भयो। ६ महिना अघि मात्रै मैसँगैकी बैनीको देहान्त भयो। तै पनि आत्मबल मजबुत बनाउनु सिवाय केही थिएन। किमोबाट हुने जस्तोसुकै असर पनि सहन मानसिक रूपमा तयार भएँ।
अब दिनुपर्ने ६ वटा किमो दिनलाई डाक्टरले नेपालमा स्वीकृति नदिएकाले जाने/आउने पनि आँट भएन। त्यसैले यतै बस्ने निर्णय गरियो।
लगभग ६ महिनाको लामो बसाइँ कसरी व्यवस्थापन गर्ने भनेर चिन्तित थिएँ तर मेरा लागि आमा बनेर आइन् भाइ बुहारी सरिता, जसले मलाई आमाले बच्चालाई गर्ने हेरविचारजस्तै हेरविचार गरिरहेकी छन्। म आफूभन्दा पनि उनीमाथि विश्वास छ।
यी मेरा लागि मात्रै नभएर मेरा सम्पूर्ण परिवारका सदस्यको लागि अर्को भाग्य बनेर आइन्, धन्य छौ सरिता।
किमो अनुभव
योभन्दा अगाडि मलाई कुनै पनि दीर्घकालीन रोग थिएन। मैले त्यति धेरै चिकित्सकीय दृष्टिकोणले त भन्न सक्दिनँ। तै पनि किमो विभिन औषधिको मिश्रण हो जुन सिधा रगतबाट शरीरमा पठाइन्छ। जसले गर्दा क्यान्सरका कोषहरू बढ्न नपाइ मर्दै जान्छ र क्यान्सर अरू बढ्न सक्दैन। यसका साथ साथै शरीरका हरेक स्वास्थ्य कोषहरू पनि मर्ने अरू बढ्न नसक्ने कारणले कपाल झर्ने, नङको रंग कालो हुने, छालाको तह निस्कने, वाकवाकी हुने, दिशा लाग्ने, अर्थात् समग्रमा हाम्रो प्रतिरक्षात्मक शक्तिलाई क्षीण बनाउँछ।
प्रत्येक तीन हप्ताको अन्तरालमा दिनुपर्नेमध्ये पहिलो किमो मेरो लागि अत्यन्त पीडादायी अनुभव भयो। खानामा अरूचि त स्वाभाविक नै थियो, निन्द्रा कम हुने कारण झन् पीडादायी भयो। तै पनि मैले कुनै पर्वाह नगरी निल्ने प्रयास गरिरहें र आफूलाई सकेसम्म टिकाउन प्रयास रहें।
यो कुरा मैले मेरै विषयकी प्रा.डा. उर्मिलाबाट पनि सिकेकी थिएँ।
यो प्रक्रिया लगभग दुई हप्तासम्म रहिरह्यो। तर तेस्रो हप्ता भने अलिकति आफूलाई सहज रहेको अनुभव गरें। यद्यपि खानामा रूचि भने खासै बढेन। दोस्रो किमोपछि पनि निन्द्रा कम पर्न थाल्यो, खानको अरूचि त छँदै थियो।
मेरो लागि सरिताले औषधिको जस्तै समय तालिका मिलाएर कोदोको खोले, उम्रेको गेडागुडी, अण्डा जस्ता पौष्टिक खाना खान दिएकोले मेरो स्वास्थ्यमा अलिक सुधार हुन सक्यो। जसले गर्दा रगत परीक्षणमा खासै समस्या देखिएन। यसैगरी मेरो शरीरले तेस्रो किमोको असर अरू किमोभन्दा सहज रूपमा लिन सकेको अनुभूति भयो।
अहिले चौथो किमो पनि लिइसकेको छु, तै पनि त्यति असहज महसुस गरेकी छैन त्यसैले चौथो किमो पनि अब सहज बनाउँदै छु।
आशा छ, अरू किमो पनि सहज रूपमा शरीरले लिनेछ। यसर्थ यहाँहरूलाई म किमो भन्ने बित्तिकै आफ्नो आत्मबल नगुमाउन आग्रह गर्दछु।
मेरो क्यान्सर यात्रा यसैगरी चल्दैछ। आशा एवम् विश्वास छ म समयमा नै आफ्नो पुरानै अवस्था फर्किन सक्षम हुनेछु। यो आत्मविश्वास त्यो किमोथेरापी भन्दा अर्को महत्वपूर्ण थेरापी हो।
(पोखरेल पद्मकन्या क्याम्पसमा गणित शास्त्रकी उपप्रध्यापक हुन्।)