‘के छ खबर ?’
‘ठिक छ। तिम्रो के छ ?’
‘मेरो पनि ठिक छ।’
यसो विचार गर्नु त, प्राय: हामी सबै व्यक्तिसँग बोलीको सुरूआत यस्तै वार्तालापबाट सुरू गरिन्छ।
मेरो कुरा गर्दा, कसैले मलाई के छ? भनेर सोध्यो भने मन मस्तिष्कमा जतिसुकै ठूलो भुइँचालो आए पनि भनिदिन्छु ‘ठिक छ।’ ठिक छ भनिरहँदा कहिलेकाहीँ लाग्छ म अरूसँग साथै आफूसँग पनि झूट बोलिरहेकी छु।
यो सामान्य हो या गहन थाहा छैन तर सबै कुरा मिल्दामिल्दै, सबै आफ्ना साथमा हुँदाहुँदै पनि जीवनमा केही नमिलेको अनुभूति बेलाबेलामा आइरहन्छ। त्यसैले ‘ठिक छ’ भनिरहँदा लयमा नै नभएको जिन्दगी र बेठीक कुरा सम्झिएर मन खिन्न हुन्छ।
१/२ महिनाअघि मनमा हुने/नहुने तर्कना आएको बेलामा ‘ठिक छ’ भनेको ठाउँमा ‘बेहाल छ’ राखेर हेरेँ र खबर सोध्ने दुई चार जनालाई ‘बेहाल छ’ भनेर प्रतिउत्तर दिएँ।
मलाई आशा थियो खबर सोध्नेलाई मेरो खबर किन बेहाल भयो भनेर म सुनाउन पाउने छु र मन केही हलुका हुनेछ। तर त्यसो भएन २ जनाको प्रतिउत्तर अहिले सम्झँदा हाँसो उठ्छ त्यतिबेला भने खुब नराम्रो लागेको थियो। खुल्न चाहेको बेलामा मैले बेहाल छ भन्दा पनि ‘ए, हो र!’ भन्ने प्रतिउत्तर उताबाट पठाइएको थियो।
मलाई ती प्रतिउत्तरले सहानुभूति र साथको सट्टा झन् गिज्याएकोजस्तो लागेको थियो।
ती प्रतिउत्तरले त्यतिबेलाको बेहाल खबरभन्दा पनि बढी मेरो बेहाल मनस्थिति बनाइदिएको थियो।
मलाई यति नराम्रो लागेको थियो कि पठाएको म्यासेज नै अनसेन्ट गरेकी थिएँ।
म गलत पनि हुन सक्छु तर मलाई लाग्छ हामीलाई के छ भनेर सोध्नेमध्ये प्राय:ले सोध्नका लागि मात्र सोधेका हुन्छन्, बुझ्नलाई होइन। औंलामा गन्न सकिने केही व्यक्ति हुन्छन् जसले तिमीलाई बुझ्न र साथ दिनका लागि खबर सोध्छन्।
जोसुकैसँग पनि मन खोल्ने, विश्वास गर्ने, आफ्नै ठान्ने गल्ती एक दुई बार ठिक हुन्छ बारबार हुँदैन। छिट्टै अरूमाथि आँखा चिम्लेर विश्वास गर्ने, अरूबाट केही प्राप्त गर्ने आश राख्ने व्यक्ति सदा दुखी हुन्छ।
हामी जोसुकैसँग रूदैनौं, मन खोलेर रून र आफ्ना कुरा व्यक्त गर्न पनि आफ्नो मनले जितेको मान्छे हुनुपर्छ। कसैलाई आफ्नो ठान्दा हामीलाई त्यस व्यक्तिप्रति त्यति विश्वास हुनुपर्छ कि हाम्रो पीडामा र वेदनाको उसले मजाक बनाउने छैन। सके साथ दिन्छ, नसके पनि चुपचाप सुनिदिनेछ।
मैले त्यसदिनपछि यो कुरा ठानें भने जीवनमा जे सुकै चलेपछि, निर्धक्कका साथ ‘ठिक छ’ भन्न चाहिँ छोड्दिनँ। बेहाल छ भनेर निराश भएर बेठीक खबर ठिक हुने होइन क्यारे!
खासमा संसारमा कोही पनि पूर्ण सन्तुष्ट छैनन्। केही न केही तनाव र अभाव प्रत्येक मानिसको जीवनमा हुन्छ। हामी प्राकृतिक नियममा बाँचेका छौं, पूर्ण रूपमा सन्तुष्ट हुनु, कुनै लोभ, चाहना र स्वार्थ नभएको व्यक्ति हुनु प्रकृतिको नियमविपरीत छ र प्राकृतिक व्यक्ति प्रकृतिको नियमविपरीत हुन सम्भव छैन।
हामी सुखी र खुसी मान्छे खोज्न हिँडियो भने साँचो अर्थमा सामुन्नेको व्यक्तिलाई बुझ्न खोजियो भने मलाई लाग्छ हामी प्रत्येकलाई अन्त्यमा आफू र आफ्नो जीवन पक्का सुन्दर लाग्नेछ। आफूलाई प्रेम गर्न थालिने छ।
यदि तपाईंलाई कसैले खबर सोध्दा र ठिक छ भनिरहँदा मन खिन्न हुन्छ भने सोच्नुहोस्, हामीले पूरा पेट खान पाइरहँदा यहाँ कयौं त्यस्ता व्यक्ति पनि हामीसँगै यही पलमा बाँचिरहेका हुन्छन् जसको पेट भोको छ। यसर्थ हाम्रो खबर ती भोका व्यक्तिहरूको भन्दा ठीक छ। यदि तपाईंले यो पढिरहनु भएको छ भने शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुहुन्छ र तपाईंजस्तो भाग्यमानी अरू हुनै सक्दैन।
भाग्यमानी व्यक्तिको खबर ठिक नहुने कुरै आउँदैन।
जान वा अन्जान रूपमा हामी जे बोलिरहेका छौं साँचो नै बोलिरहेका छौं। ठिक छु भनिरहँदा हामी आफ्नो ठिक खबरहरू एक पटक सम्झी निर्धक्क साथ भनौं हामी ठीक छौं साथै हाम्रो खबर पनि ठिक छ र केही खराब चलेको भए पनि विश्वास गर्नु छिट्टै ठिक हुनेछ।
-के छ खबर?
-ठिक छ!