दिउँसो ट्विटर चलाउँदै गर्दा एउटा अनपेक्षित तस्बिर देखियो। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मुस्कुराउँदै नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेसँग हात मिलाएको तस्बिर!
दिमाग र मन दुवै भाउन्न भयो। सोचेँ— सन्दीपविरूद्ध बलात्कारको मुद्दा लडिरहेकी ती नाबालिगले यो तस्बिर देखिन् भने उनलाई झन् कस्तो हुँदो हो!
ती नाबालिग जसलाई सन्दीपले बलात्कार गरेको आरोपमा राज्यले अदालतमा मुद्दा लगेको छ, उनी प्रति सरकार प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी हुन्छ कि हुँदैन?
कतिपयले भन्छन्, अदालतले दोषी ठहर गरिनसकेका सन्दीपसँग प्रधानमन्त्रीले हात मिलाउन किन नहुने? मिडियाले किन उनलाई एकोहोरो खेदिरहेको?
अदालतले सन्दीपका बारेमा के भनेको छ, त्यसबारे म केहीबेरमा चर्चा गर्छु।
पहिले प्रधानमन्त्रीले उनीसँग हात मिलाएको विषय हेरौं।
नाबालिगले जाहेरी दिएपछि प्रहरीले सन्दीपलाई हिरासतमा राखेर लामो अनुसन्धान गर्यो। उक्त अनुसन्धानमा सन्दीपले उनलाई बलात्कार गरेको निष्कर्षमा प्रहरी पुगेपछि उसले सरकारी वकिलको कार्यलायमा मुद्दा लग्यो।
राज्यकै निकाय सरकारी वकिलको कार्यालयले प्रहरीले गरेको अनुसन्धान ठीक छ कि छैन भनेर अध्ययन गर्यो। अनुसन्धान र त्यसको निस्कर्षमा चित्त बुझेपछि अदालतमा मुद्दा लग्यो। दसदेखि १२ वर्ष जेल सजाय माग गर्यो। पीडितलाई क्षतिपूर्ति दिलाउन माग गर्यो।
यसरी राज्यका दुइटा प्रमुख अंग प्रहरी र सरकारी वकिलको कार्यालय सन्दीपले नाबालिगलाई बलात्कार गरेको निष्कर्षमा पुगेका छन्। त्यही राज्यको प्रमुख प्रधानमन्त्री भने प्रहरी र सरकारी वकिलको कार्यालयको अनुसन्धान र निष्कर्षसँग असहमत हो?
हुन त सरकारी वकिलले यो मुद्दा अदालतमा लगिसकेपछि प्रधानमन्त्री त्यसमा सहमत हुनु वा नहुनुको कुनै अर्थ रहँदैन। बलात्कार अभियोगको अन्तिम छिनोफानो अदालतले गर्ने हो।
सन्दीपमाथि लागेको अभियोगमा जिल्ला अदालतले केही हदसम्म विश्वस्त भएर नै उनलाई न्यायिक हिरासतमा पठाएको थियो। सो मुद्दाको अन्तिम किनारा जिल्ला अदालतबाट लाग्नै बाँकी छ।
त्यसैबीच सन्दीप उच्च अदालत पाटन गए। त्यहाँ उनका वकिलहरूले सन्दीप मानसिक हिसाबले कमजोर भएकाले उनले हिरासत बाहिरै बसेर मुद्दा लड्न पाउनु पर्ने जिकिर गरे। उनी भागेर कतै नजाने र पीडितलाई हानी गर्ने वा मुद्दालाई प्रभावित गर्न सक्ने सम्भावना नभएको तर्क गरे। उनलाई थुनामुक्त गर्नुपर्ने बहस गरे।
वकिलहरूको त्यही तर्कलाई मानेर उच्च अदालतले सन्दीपलाई हिरासत मुक्त गरेको हो। अभियोगबाट सफाइ दिएको होइन।
बरू अदातलले उनलाई थुना मुक्त गर्दा भनेको छ, ‘अहिलेसम्म प्रमाणबाट उनले कसुर गरेको देखिन्छ।’
त्यसैले अदालतले उनीसँग धरौटी माग्यो। उनलाई विदेश जान रोक लगायो। काठमाडौं बाहिरै जान पनि उनले अनुमति लिनुपर्ने र जतिखेरै प्रहरीको निगरानीमा राख्न भन्यो।
नाबालिग बलात्कार जस्तो गम्भीर आरोप लागेका व्यक्ति धरौटीमा छुट्न हुँदैन थियो, उच्च अदालतले गल्ती गर्यो भनेर महान्यायाधिवक्ताको कार्यालय अहिले सर्वोच्च अदालत गएको छ। र, सर्वोच्चले उच्च अदालतबाट कैफियत फाइल मगाएको छ।
यसरी प्रधानमन्त्रीलाई नै कानुनी सल्लाह दिने सल्लाहाकार निकाय महान्यायाधिवक्ताको कार्यालय सन्दीपलाई हिरासतमुक्त गरेको विरूद्ध सर्वोच्च गएको छ। प्रधानमन्त्री भने सन्दीपसँग मुस्कुराउँदै हात मिलाउँदै छन्।
नाबालिग पीडित प्रति प्रधानमन्त्री अति असंवेदनशील र राज्यको प्रमुखका रूपमा लापरवाह र गैरजिम्मेवार बनेका छन्। प्रधानमन्त्री प्रचण्ड यसभन्दा अगाडि नै चुकिसकेका थिए। सन्दीपलाई क्रिकेट मैदानमा फर्काउने निर्णय गर्नबाटै नेपाल क्रिकेट संघ (क्यान) लाई प्रधानमन्त्रीले रोक्नुपर्थ्यो।
उनले भन्नुपर्थ्यो— राज्यको अनुसन्धानबाट प्राप्त प्रमाणले सन्दीप दोषी देखिएका छन्। अदालतले निर्दोष नभनुन्जेल उनलाई नखेलाऊ।
नाबालिग बलात्कार जस्तो गम्भीर अपराधको अभियुक्तलाई मैदानमा निर्धक्क खेल्न पठाउनु न्यायिक र नैतिक हिसाबले जायज हुँदैन भन्ने चेत प्रधानमन्त्री र सरकारमा बसेकाहरूमा फिटिक्क देखिएन।
आज आएर त प्रधानमन्त्री प्रचण्डले अभियुक्त सन्दीपसँग बिना संकोच मुस्कुराउँदै हातै मिलाए। यसले पीडित नाबालिगलाई नुनचुक गरेको छ। नेपाली समाजमा न्याय र आत्मसम्मानका साथ बाँच्न चाहने महिलाहरूको चेतलाई गिज्याएको छ।
नेपाली समाज महिलाको न्याय र आत्मसम्मानका लागि अझै तयार छैन भन्ने उदाहरण बनेका छन् स्वयं प्रधानमन्त्री।
प्रधानमन्त्री कार्यालय र स्वयं प्रधानमन्त्रीको चेतले भ्याएन रे, तर उनीहरूले सात समुद्रपारिबाट आएका क्रिकेट टिमबाट त केही सिक्न सक्थे!
स्कटल्यान्डका खेलाडीले सन्दीपसँग उनलाई नाबालिग बलात्कारको मुद्दा लागेकै कारण हात मिलाएनन्। आजको समयमा एउटा सभ्य समाजले यो आरोपलाई कति गम्भीरता साथ लिन्छ भन्ने स्पष्ट उदाहरण थियो त्यो।
स्कटल्यान्डका खेलाडीले सन्दीपसँग हात नमिलाएको कुरा अन्तर्राष्ट्रिय समाचार बन्यो। नाबालिग बलात्कारको आरोप लागेको खेलाडीलाई नेपालले राष्ट्रिय टिममा राखेको रहेछ भन्ने सूचना संसारभर गयो। जबकि कैयौं मुलुकमा यस्तो आरोप लागेका व्यक्तिहरू अदालतबाट सफाइ नपाउन्जेल खेलमा फर्किने सोच्न पनि सक्दैनन्। यहाँ भने खेलमा फर्काउने मात्र होइन, प्रधानमन्त्रीले भेटेर र हात मिलाएर सम्मान नै प्रकट गर्ने काम भयो।
प्रधानमन्त्रीलाई लाग्दो हो— मैले देशको खेलाडीलाई प्रोत्साहन गरेँ! क्यानबाट सहजै 'छुट' पाएका सन्दीपलाई भने देशका मुखियासँग मुसुक्क मुस्काएर हात मिलाउन पाउँदा आफ्नो अपराध धोए झैं लाग्यो होला! तर कानुनको सिकन्जाबाट उनी अझ मुक्त भएका छैनन्।
अदालतले यसको अन्तिम फैसला गर्न बाँकी नै छ। त्यो बेलासम्म पीडित नाबालिगले मन नहारून्। त्यो बेलासम्म यो मुलुकका कैयन किशोरी र महिलाहरूले मन नमारून्।
अदालतको अन्तिम फैसला नआउन्जेलसम्म म प्रधानमन्त्रीले हात मिलाएको यो तस्बिर बिर्सिने छैन!