'सरी!! मेरो त ब्वाइफ्रेन्ड छ!'
जसले प्रेम प्रस्ताव राखेको थियो उसले ऊबाट यो जवाफ पाएको थियो।
तर कयौं केटीहरूले कयौं केटाहरूलाई यही जवाफ फर्काइरहेका हुन्छन्। जब प्रेम प्रस्ताव राखिएको हुन्छ।
भलै! त्यो प्रेम प्रस्ताव राख्ने केटाहरू र रिप्लाई गर्ने केटीहरूलाई थाहा होला। त्यसैले हतपत कोही मनपरी हाले प्रपोज गर्नु पनि हुँदैन।
केही केटाकेटीहरू त्यति महान छन् जो आफू धोका खान तयार छन् तर आफ्नो प्रेमीलाई 'धोकेबाज हौ तिमी' भनेर एलिना चौहानको गीतको महोत्सवमा नचाउन र उफ्रान विवस छैनन्। बरू आफैं धोका खाएर 'धोकेबाज हौ तिमी' भन्दै नाच्न तयार छन्। नाच्न पनि के भन्नु रून तयार छन्। रून पनि के भन्नु १५ सेकेन्ड नाटक गर्न तयार छन्। कताकता लाग्छ महोत्सव चल्न र गीत चल्नको लागि मात्र नभएर टिकटक चल्नको निम्ति, भाइरल हुनको लागि पनि केही युवायुवतीहरूले प्रेम र धोकाको अनुभव गरेका छन् र गर्दैछन्।
तर आज, प्रेमकै कुरा गरौं।
साँच्चै!
'भ्यालेन टाइन डे' पनि गयो। भ्यालेन टाइन डेलाई विदेशीहरूले भ्यालिनको स्मरण दिवसको रूपमा लिन्छन्। तर नेपालमा एकथरी जो विवाहित छन् उनीहरूको लागि आफ्नो जोडीको फोटा सामाजिक संजालमा हालेर 'आइ लभ यू' भन्ने दिन हो।
अर्को थरी जो अविवाहित छन् तर पनि प्रेम सम्बन्धमा छन्। तिनीहरूको लागि ठूलो उत्सव नै भइहाल्यो। दशैं मनाउँदा नगरेको त्यतिको खर्च प्रेम दिवसको सात दिन मनाउन औधी गर्छन्।
अर्को थरी जमात छ। जो प्रेम सम्बन्ध राख्न चाहन्छ तर सिंगल छन्। उनीहरूले भने मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्न आँट गर्ने एक गतिलो मौकाको रूपमा प्रणय दिवलाई लिन्छन्। सोही थरीको सिंगल मान्छेमध्ये म पनि एक हो। सो मौका मैले पनि जुराएँ। भनौं प्रेम प्रस्ताव गर्ने आँट मैले पनि राखेँ। अर्को थरी जो प्रेम दिवस अनि प्रेमकै विरोध गर्छन् तिनका लागि आज शब्द नखर्चियौं।
'अब त लभ पार्नुपर्छ यार' भनेर सोच गराएकै वर्ष पुग्यो। कयौंले लभ पर्यो कि नाइँ भनी सोध्छन्।
सोही प्रगतिको खबर शुभचिन्तकदेखि पाठकहरूसम्म पुर्याउनको निम्ति भए पनि अब त प्रेम प्रस्ताव गर्ने आँट गर्नुपर्छ यार भनेर आफूले मनपराएको मान्छेलाई प्रेम प्रस्ताव गर्न आँट गरेँ।
प्रत्यक्ष भन्ने आँट भएन भनौं अथवा संयोग मिलेन भनौं तर अप्रत्यक्ष भए पनि प्रणय दिवसलाई ठूलो अवसर मानेर मेलबाटै भए पनि मन परेको मान्छेलाई पत्र पठाएँ।
'प्रिय, मान्छे!
हृदयदेखि प्रेम!
विशेष समयमा, विशेष मान्छेसँग, विशेष कुराको विशेष पत्र लेख्ने विधि अहिलेसम्म प्रयोग नगरेको त होइन। अनुभव नहुँदा पनि यसप्रकारको अनुभवबिनै जीवनमा पहिलोपटक पत्र लेख्न थाल्दा मलाई सुरू कसरी गर्ने भनेर निकै सकस लागिरहेको छ। तर जुन उद्देश्य र अपेक्षाका कुरा अभिव्यक्ति गर्ने मक्सत बोकेको छु। त्यसले गर्दा ठूलो आँटका साथ मोबाइलको किबोर्डमा शब्दहरू जोड्दै वाक्य निर्माण गर्न प्रेम स्पर्शी हातहरू हौसिएका छन्, चलिरहेका छन्। तिनै चुनौतीलाई पार गर्दै यो पत्र लेखिरहेको छु।
पत्रको सुरूआत केबाट गरौं भनेर सोच्दै गर्दा पत्रको सुरूआत हाम्रो चिनजानबाटै गर्ने चेतनाआयो।
सायद त्यो दिन स्नातक तह कानुन संकाय अन्तर्गत बिए. एल एल बि. प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको दिन थियो। जसमा अध्ययन गर्न पाउने मेरिट लिस्टभित्र तिम्रो पनि नाम थियो। तिमीलगायत पढ्न पाउने विद्यार्थीहरूको नाम र फोटोसहित सामाजिक संजालमा केही बधाई पनि आएका थिए। खै किन हो त्यति धेरैमध्ये तिम्रै फोटो, नामले मेरो मन तान्यो र आकर्षित भएँ। फलस्वरूप तिम्रो प्रोफाइलमा गएर तिमीबारे जान्न र बधाई दिन यो मन आफैंमा उद्दत भयो।
तिमीलाई बधाई र शुभकामनासँगै फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पनि पठाएको थिएँ। जुन रिक्वेस्ट एसेप्ट भएपछि हामी फ्रेन्ड भएका थियौं। याद छ नि तिमीलाई मैले कुनै पत्रकारले इन्टरभ्यू लिए जसरी तिम्रो बारेमा परिचय लिएको थिएँ। जुन संवाददेखि अनौपचारिक संवादहरूले अन्य दिनमा पनि केही अन्तरालमा निरन्तरता पाए।
मेरो परीक्षाको तयारीले त्यो समय केही व्यस्त पनि थिएँ। तिमीलाई प्रत्यक्ष भेट्न चाहने इच्छा कताकता निकै बढेको पनि थियो मनमा।
तिमीमा उपन्यास पढ्ने अभिरूचि हुँदा, प्रिय लेखक सुबिन भट्टराईको 'इजोरिया' पुस्तक तिमीलाई हस्तान्तरण गर्दा हाम्रो भेट हुन्छ कि भन्ने मनमा एक किसिमको अपेक्षा थियो। तर सो भएन अरूमार्फत् भए पनि उक्त पुस्तक तिमीसामु पुग्यो।
तर एक समय त्यो जुन प्रत्यक्ष भेट हुने रहर भनौं, मनमनै चाहेको सपना भनौं त्यो पनि पूरा भयो।
कलेज चलेको भोलिपल्ट तिम्रो कक्षाकोठाभित्र एउटा कार्यक्रमबारे सूचना राख्न पुग्दा तिमीलाई पहिलोपटक देखेको थिएँ। त्यसपछि गेट अगाडि भेट हुँदा एकाअर्कालाई हामीले चिनेका थियौं। नचिन्ने पनि कसरी हुन्छ र! फेसबुकमा हेर्न र देख्नलाई फोटो थियो। देखेकै थियौं।
तिमीले मलाई देख्न साथ हाई गरेको पल ताजै छ। त्यसपछिको प्रत्येक भेटमा तिम्रो हाई गर्ने बानीले आकर्षित पारेकै छ। अझ कुराकानीको ठूलो माध्यम भनेको एकअर्काको फोन नम्बर साटासाट पछिको वर्कसप संवाद भयो।
जुन वर्कसपमा उपन्यासहरूको समीक्षा, कलेजमा भएका कार्यक्रमदेखि हामीले गरेका कार्यक्रमको समीक्षा।
समसामयिक विषयमा गरिएको डिबेट तथा सवाल-जवाफले हामीमा यति नजिक बनायो जुन नसोचेको भन्दा धेरै निकट पुर्याएको आभास भएको छ। कलेजको एक कार्यक्रममा तिम्रो नृत्यकला खुब मन परेको थियो।
लक्ष्य, रंग , प्रेम, यौन, मुद्दा, राजनीति, कसम, शपथ यस्ता कयौं विविध विषयमा भएको छलफलमा तिम्रा र मेरा अधिकांश तर्क र विचार मिलेका थिए। केही असमर्थनका बीच अधिकांश समर्थक र स्वीकारजन्य थिए। निरन्तर लामो संवाद, हाई-हेलो, कलेजमा भेट हुँदा हुने बोलीचालीले हाम्रो सम्बन्ध प्रगाढ भएको थियो। यो प्रगाढ सम्बन्धले कता न कता मनमा केही नयाँ आभास भएको छ।
आज फेब्रुअरी,१४ 'भ्यालेन टाइन डे' उर्फ प्रणय दिवस, तिमीलाई प्रेम दिवसको प्रेममय शुभकामना छ। मेरो मन मुटु, हृदय र मस्तिष्कबाटै यो समयमा प्रेम अभिव्यक्ति गर्ने विशाल आँट जुटाएर निश्चलताका साथ मेरो उक्त हृदयको आभास तिमीसँग म पत्र मार्फत बोल्दैछु अर्थात् व्यक्त गर्दैछु।
'आई लभ यु डियर!'
आफ्नो जीवनको उतारचढावमा कयौं मान्छेहरू परिचित भए। परिचित छन्। प्रेमको सन्दर्भमा यो उमेर समयलाई हेर्दा आजको दिनसम्म मलाई प्रेमको फिलिङ तिमीसँगको सामिप्यतामा प्राप्त भयो। जुन भावलाई मनमा दबाएर यतिकै राख्न पनि चाहिनँ। त्यसैले हृदयसँग प्रेम प्रस्ताव गरेको छु। मजस्तै तिमीमा पनि सोही फिलिङ, सोही प्रेमको आभास छ हुनेछ भन्ने विश्वासका साथ प्रस्ताव स्वीकार हुन्छ भन्ने अपेक्षा राखेको छु।
साँच्चिकै प्रेमको परिभाषा आज आफैंमा आभास हुँदा पनि अभिव्यक्ति गर्न सकिरहेको छैन। सायद प्रेम भनेकै आभास गरिने तर बयान र वर्णन गर्न शब्दमा नसकिने विषयवस्तु रहेछ। कोही कसैलाई हृदयदेखि आफ्नो मान्नु, सदभाव र सम्मानका साथ सुख दुःखलाई साट्नु, आफूभन्दा धेरै कसैको निकै ख्याल गर्नु। कोही साथमा हुनाले म यतिसम्म छु र यतिकै साथ जीवन्त रहने चाहना र लक्ष्य राख्नु। यसप्रकारको भाष्य र भाव प्रकट हुनु नै तिम्रो मेरो सम्बन्धमा प्रेमलाई स्थान दिने आधार भएको छ। मन, भावना, विचार, इच्छाको मिलन र त्यसको लोभित मोहोनी आभासले प्रेम सृजित हुँदो रहेछ। बस यति भन्ने ल्याकत आजसम्मको अनुभवबाटै राखेको छु।
जीवनमा मनैले मनदेखि मन पराएको पहिलो व्यक्ति हौ तिमी। जोसँग प्रेम सम्बन्धका साथसाथै जीवन जिउने सपना सम्मका सोचहरूले मस्तिष्कमा डेरा जमाएका छन्। यो मनमा प्रेम छ तिमीप्रति। यो मनले मन पराउँछ तिमीलाई। यो मनले प्रेम सम्बन्ध जोड्न चाहन्छ तिमीसँग। तिमी प्रतिको प्रेम र आकर्षण लोभ लाग्दो छ। यो हृदयमा तिमीप्रति प्रेम, सम्मान र सद्भाव उच्च छ। तिम्रो प्रभाव, सामिप्यता र संवादमा प्रेम अनुभूति छ मलाई। यो कुनै अविचलित पागलपन या सेक्स्युल आकुल व्याकुलता नभएर सही समयमा सही व्यक्तिसँग प्रेम सम्बन्धमा बस्ने सही चाहना हो। बस, निश्चल अपार माया नै माया छ तिमीप्रति।
तिम्रो एक प्रेमी भएर सम्बन्ध निभाउने पहिलो र अन्तिम यही मौका दिनु। एउटा के कुरा विश्वास दिलाउन चाहन्छु भने, मलाई प्रेम गरेको नाममा तिमीलाई जिन्दगीमा कुनै पश्चाताप हुन दिने छैन। निकै सोचविचार र गम्भीर भएर ठूलो आँटका साथ प्रपोज गरेको छु। अर्थात् प्रेम गरेको र गरिरहने कुराको जानकारी गरेको छु। प्रेम प्रस्ताव गर्न सक्ने यो आँट र साहसको कारण पनि तिमी नै हौ। तिमीलाई गर्ने माया र तिमीसँग प्रेम सम्बन्ध राख्न चाहने मनो इच्छा कारक हो।
मेरो प्रेम प्रस्तावको जवाफ दिन झट्टै हतार पनि नगर्नू। समय तिमीलाई जति पनि छ। सोचविचार गर्नू। किनकि निश्चित समयपछि सकिजाने, रित्ति जाने म्याद तोकिएको प्रेम तिमीलाई गरेको होइन। तिम्रो प्रेमको खुला अदालतमा, खुला हृदयले गरेको प्रेम प्रस्ताव हो। यो प्रेम प्रस्तावमा अन्तिम सुनुवाइ गर्ने इजलासको निर्णायक न्यायाधीश भनेकै तिमी हौ र तिमीले सत्य, तथ्य, प्रमाण, प्रस्थिति, दीर्घकालीन सोच, आवश्यकता, बुद्धिविवेक,चेतना, स्वविवेक सबै प्रयोग गरेर सही निर्णय दिने र लिनेछौं भन्ने कुरामा विश्वस्त छु।
अन्त: मैले कहीँकतै गल्ती गरें र तिम्रो चित्त दुखाएँ भने तिमीलाई सम्मान र सद्भावका साथ प्रेम गर्ने यो प्रेमीलाई माफी दिनेछौ भन्ने अपेक्षा राखेको छु।
यस कुरालाई गोप्य पनि राख्नेछौ भने बोध गरेको छु। पत्र पढेकोमा धन्यवाद दिँदै। पत्रलाई यही पूर्ण विराम दिन्छु।
आई लभ यु डियर!
उही
तिमीलाई माया गर्ने मान्छे!'
यो पत्र मेल गरेको केही घण्टाभित्रमै उताबाट केटीको रिप्लाई आउँछ।
'सरी! मेरो त ब्वाइफ्रेन्ड छ! हजुर जतिको मान्छेलाई रिजेक्ट गर्ने मन थिएन तर म अलरेडी रिलेसनसिपमा छु। उक्त रिलेसनसिप मेरो पहिलो प्रेम हो। म मेरो ब्वाइफ्रेन्डलाई चिट गरेर हजुरसँग सम्बन्ध जोड्न सक्दिनँ किनकि मैले उसलाई छोडेर तपाईंलाई स्वीकारें भने भोलि तपाईंलाई पनि चिट गरेर अरू कसैलाई स्वीकार गरौंला। जसले गर्दा शंका र चरित्रमाथि प्रश्न उठ्छ। हजुरले गर्ने प्रेमलाई म बुझ्छु तर प्रेम प्रस्ताव एसेप्ट गर्न सक्दिनँ। मलाई माया गर्ने मान्छेले बुझिदिनु हुनेछ भन्ने अपेक्षा राखेकी छु।