कोरोनाको आगमनपछिका वर्षहरूमा 'फुल-फ्लेज' मा लाग्न नसकेको महाशिवरात्री मेला।
यसपालि मेलालाई भव्य बनाउन आयोजकहरू आफैं निरीक्षण र दौडधुपमा छन्। पशुपतिनाथ परिसरलाई सिँगार्दै, झकिझकाउ पार्दै मेलाको तयारी भइरहेको सेरोफेरोमा पाशुपत क्षेत्र घुमेर आएको दिन सपनी देखेँ।
सपनीमा शम्भो! एक्कासि नन्दी, भृंगीसहितको दलबल। कम्मरमा बाघको छाला। घाँटीमा नागको माला। हातमा त्रिशुलधारी शिवजीलाई आँखैअगाडि देख्दा एकछिन त बोली नै हराई'रा भन्या।
पछि फुत्त बोली फुट्यो। जऽऽजऽऽजऽऽऽऽऽय शम्भो!
एक वाक्य त निस्कियो। थप बोल्नुअघि एक निमेष 'कन्फ्युज' हुँदै सोचमग्न बनेँ। कारण थियो भाषा। शिवजीसँग संवाद हिन्दीमा गरूँ कि नेपालीमा?
उनैलाई सोधौं! रिसाएर भस्मै पार्लान् भन्ने पिर। नसोधौं! उहाँ के कारणले प्रकट हुनुभयो? कुरो बुझ्न अन्तर्यामी परिएन।
सानैदेखि हिन्दी धार्मिक टेलिसिरियलमा हिन्दीमै बात मार्ने कैलाशपतिले हिन्दी मात्रै बुझ्छन् कि?
फेरि लाग्यो- राष्ट्रियताका सवाल भी है भाइ! बोलना तो नेपालीमै पडेगा। समझना, नासमझना उनकी बात! अगर वो हमारी बात नही भी समझे तो बुलाएंगे किसी 'ट्रान्सलेटर'को। हमे क्या?
शम्भो! तपाईंका अनेका नाम। शिव। शंकर। महादेव। भोलेनाथ। आशुतोष। नीलकण्ठ। कैलाशपति। किराँतेश्वर। पारूहाङ। तपाईं यी पर्वत, हिमालका टाकुरा टाकुरामा विराजमान हुनुहुन्छ। तपाईंलाई मन पर्ने एउटा चीज- गाँजा, भाङ अरे!
गाँजा भन्नासाथ याद आयो। शिवजी जस्तै गाँजाका पनि अनेकन् नाम छन्। गाँजा। भाङ। भाङो। तोप। शिव बुटी। विजया। शिवजी सर्वत्र पाइएजस्तै गाँजा पनि हिमाल, पहाड, तराई जताततै पाइन्छ।
शिवजी त्रिशुललाई आसन पर्तिर गाडेर सुनिरहे। म भुइँमा थचक्क बसेर निवेदन गरिरहेँ।
'हुन त तपाईंकै दिवस महाशिवरात्रीमा हुलका हुल नागा साधु पशुपतिमा आएजस्तै कुनै बेला हिप्पीहरू काठमाडौं ओइरिन्थे। उद्देश्य दुवैको फरक। साधुहरू तपाईंलाई मान्थे, हिप्पीहरू गाँजालाई। दुवैको उच्चारण वाक्य फरकफरक। बाबाहरू जय शम्भोऽऽऽऽऽ भन्थे। हिप्पीहरू हरे रामऽऽऽऽ, हरे कृष्णऽऽऽऽ। पारा चाहिँ दुवैको बिन्दास। मदमस्त। दुवैथरीको अर्को समानता एउटै प्रिय वस्तु गाँजा। बाबाहरू शिवको बुटी भन्ने, हिप्पीहरू मारिवाना।
शम्भो! गाँजाको महत्त्व हिजो पनि थियो। आज पनि छ। सदा रहिरहने छ। तर गाँजा अनाहकमा विवादमा ल्याइयो। दुष्प्रचार गरियो। गाँजाले स्वास्थ्य खत्तम पार्ने भएकाले यसमाथि प्रतिबन्धै ठोक्नुपर्छ भनियो। जनजीविकासँग गाँसिएको, अर्थतन्त्रसँग जोडिएको, उपचार पद्धतिसँग सम्बन्ध रहेको गाँजालाई नेपाली आफैंले त पक्कै प्रतिबन्धित गरेनन् होला। शम्भो! तपाईं हिमालय पर्वतमा तपस्या गरेर बसेका बेला भस्मासुरले आक्रमण गरेजस्तै नेपालमा जताततै पाइने गाँजा र गाँजाजन्य पदार्थ एक्कासि बाहिरियाको आक्रमणमा परेर प्रतिबन्धित बन्यो।
तपाईं कहिलेदेखि यी पहाड, डाँडा, पर्वतहरूमा विचरण गर्दै हुनुहुन्छ, थाहा छैन महादेव। तर पचास वर्षअघिको नेपाल बेग्लै थियो अरे! गाउँमा आयस्रोतको रूपमा सीमित वस्तु बिक्री हुन्थे।
तीमध्ये पर्थे घिउ, ऊन कातेर बनाएको कपडा, राडी, पाखी। र, चरेश र गाँजाबाट बनेका औषधि लगायतका उत्पादनहरू। मानिसहरू यी वस्तु स्थानीय बजारमा बेच्थे र घरखर्च, नुनचिनी, साबुन सोडा, मट्टितेल जस्ता दैनिक आवश्यक वस्तु किन्थे। गाँजामा प्रतिबन्धसँगै आयआर्जनको एउटा पाटै बन्द भयो।
गाँजामाथि प्रतिबन्ध लगाउन दबाब दिनेहरू मदमस्त गाँजाको धुँवा उडाइरहेछन्। यो त गज्जब औषधि हो भन्छन्। तर शम्भो, तपाईं बस्ने हिमालय अवस्थित नेपालमा भने गाँजा बित्थामा बदनाम छ। गाँजा खुला गरे सबै गजेडी हुन्छन् अरे! कत्ति न गाँजा खोल्ने उरूग्वेमा सबै गजेडी भएजस्ता।
नेपालको एउटा 'जेनेरेसन' ले त गाँजाको उपयोगिता देख्न पाएकै छैन। तिनको दिमागमा 'प्लानिङ' का साथ गाँजा नराम्रो भन्ने भरिएको छ। तिनलाई 'गाँजामाथिको प्रतिबन्ध कुनै पनि हालतमा खुला गर्नु हुँदैन, खोले देश अफगानिस्तान हुन्छ' भन्ने हावादारी गफ दिइएको छ।
भन्न त शम्भो, 'हामीलाई जिताउनुहोस् देश सिंगापुर बन्छ, स्विट्जरल्यान्ड बनाइदिन्छौं' भनेको यिनै कानले कैयौं पटक सुनेको छु। भन्नेले गर्दा रहेनछन्। गर्नेले अनेकथरी भन्दा रहेनछन्। तपाईंको लोकमा यस्तो हुन्छ होला कि नाइँ प्रभु?
शम्भो! तपाईंले त कतै पढ्न पाउनुभएको छैन होला। तर मैले गाँजाका बारेमा पढ्दा नेपालमा रोचक विगत पाएको छु।
शिवजी आँखा चिम्म गरेर विगतलाई क्यामराको रिल झैं घुमाएर 'फ्ल्यासब्याक' मा गएर देख्छन्- कुनै बेला पशुपति दर्शनका लागि आउने साधु बाबाहरू प्रफुल्ल छन्। शिवरात्रीमा एकादशीदेखि आठ दिनका लागि प्रतिव्यक्ति २५ देखि ३० ग्रामसम्म गाँजा सरकारका दुइटा गुठी बन्दोबस्त अड्डाले वितरण गरेको देख्छन्। ती अड्डाहरू २०२१ सालमा गाभिएर गुठी संस्थान बन्छन्। तिनले पनि शिवजीको प्रसाद भनेर गाँजा बाँडेको पाउँछन्।
ध्यान र मोक्षको खोजीमा भौंतारिँदै अमेरिका र युरोपबाट हिप्पी बनेर युवाहरू यता आउन थालेपछि गाँजाको गतिमा अवरोध सुरू भयो। बारीमा लगाउनु पर्दैन, आफैं उम्रिन्छ गाँजा। तर प्रयोग गर्न पाइँदैन। विश्व बजारमा गाँजाजन्य औषधिको माग निकै उच्च छ, आपूर्ति गर्न पाइँदैन। सिंहदरबार वैद्यखानाले गाँजा मिसाएर थरीथरीका आयुर्वेदिक औषधि निर्माण गर्थ्यो, रोकियो।
२०४३ सालमा स्थापना भएको पशुपति क्षेत्र विकास कोषले पनि करिब एक दशक पशुपतिमा गाँजा बाँड्यो बाबाजीलाई। पछि २०५३-५४ सालदेखि झ्याप्पै ब्रेक लगाइयो। अब त शम्भोको 'कोर एरिया' पशुपति परिसर पनि गाँजा निषेधित क्षेत्र भइसक्यो।
मोक्षको खोजीमा आएका हिप्पीहरूले मोक्ष पाए कि पाएनन्, थाहा छैन। आम नेपालीले भने गाँजाबाट मोक्ष पाउने अवस्था आयो। यद्यपि औषधीय गुण भएको वनस्पति भएकाले औषधिजन्य उपयोगका लागि गाँजालाई खोल्नुपर्ने माग विश्वभर बढ्दैछ।
फ्ल्यास-ब्याकबाट झल्याँस्स बाहिर आएका शिवजीका आँखा खुलेसँगै म पनि निद्राबाट ब्युझिँन्छु। सपनाबाट उठेर एकछिन टोलाउँछु।
अनि मनमनै भन्छु- शम्भोले जोगाउन नसकेको गाँजा अब खै कसले जोगाउने?
पशुपतिनाथले सबैको रक्षा गरून्।
ह्याप्पी शिवरात्री!
(लेखक उपाध्याय नेपाल सरकारका उपसचिव हुन् र यी उनका निजी विचार हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)