बुवा! आज म दुई सय केजीको फलामको लामो सिक्रीले बाँधिए पनि हरेक मिलिसेकेन्ड घिस्रँदै छु। एउटा मात्र आशमा कि मिलिमिटरबाट सेन्टिमिटर, मिटर अनि किलोमिटरसम्म पुगिन्छ भनेर।
चट्टानको मसिनो कापबाट चुहिरहने पानीको थोपाजस्ता निकै मसिना सपनाहरू नदीको प्रवाह देख्दा तर्सिन सक्छन्, सायद यो प्रकृति हो। हो, आज म त्यही पानीको थोपा हुँ, समुद्र भेट्न विगतदेखि वर्तमान अनि भविष्यसम्म इन्जिनियरको पहिचान खोज्दै लम्किरहेछु।
तपाईंको पच्चीस वर्षसम्म चक र डस्टरले घोटिएका ती हातहरूका भाग्यरेखा त डस्टरमै टाँसिसके होलान् है?
बुवा, अब ज्योतिषलाई भाग्य देखाउँदा डस्टर देखाउनु हुन्छ कि हात? त्यही चकको रेखा कोर्दै मलाई देखाउनु भएको बाटोले अब म हाम्रो गाउँको भाग्यरेखा कोर्न इन्जिनियर बनेर आउँदैछु।
मैले बनाउनु छ गाउँका हरेक बच्चाका सपनाका घरहरू। मेरा गाउँलेहरूको पसिना जम्मा गरेर मलाई यस्तो बिजुली निकाल्नुछ जुन बिजुली तारहरूबिना नै हरेकको जीवन उज्यालो बनाओस्। सेन्टिमिटरको स्केल लिएर हाम्रो गाउँको हरेक कुना-कुनामा सफलताका बाटाहरू कोर्न छिट्टै नै आउँदैछु बुवा।
गाउँको कुनामा बसेर दुनामा खाइरहेको बटुवा म जब एसइई दिएर सहर नाउँको ठूलो थुनामा परेँ नि अनि मेरा मनबाट निस्किए ठूला-ठूला धुनका रंगिन बाजाहरू।
सहयोग गर्नुको सट्टा गाँजा खाएको होसमा बजेका ती बाजामा नागिन डान्स हाने आजका बोक्रे भलाद्मीहरूले। अब बजेका ती बाजाहरूको धुनलाई मेरा गाउँको परिवर्तनको धुन बनाउनु छ।
गाउँ छाडेर जाँदा बगेका ती अश्रुधारा त आज मोतीका दाना बनेर हारमा जित, असफलतामा सफलता, दुःखमा सुख अनि खाकमा राक खोजिरहेका छन्।
बिरानो सहरमा विद्यमान ती आगाका ज्वाला र धुवाँको मुस्लाले मेरा दमित इच्छा, चाहना, योजना, संकल्प, दृष्टिकोणलाई कायापलट गराउन नखोजेका हैनन्। तर तपाईंको अपार माया र सही मार्गनिर्देशनले त्यसलाई बाटो छोड्न बाध्य बनायो।
चाहे पानीमा बस्ने जीव वा आकाशमा उड्ने जीव, वा हरेक सजीव निर्जीवको लागि संघर्ष!
जन्म लिन र दिनको लागि संघर्ष!
ताते-ताते भन्दै दुई खुट्टा टेक्नको लागि संघर्ष!
सफल व्याक्तिहरूलाई सफलता कायम राख्दै बढाउनको लागि संघर्ष!
सेर जीवित रहनको लागि दिनैपिच्छे शिकारको गर्धन निमठ्नको लागि संघर्ष!
त्यही दोस्रो शिकार शिकारीबाट प्राण बचाउनको लागि संघर्ष!
एकको संघर्ष भोजनको लागि अर्काको संघर्ष जीवन बचाउनको लागि। मलाई अब यस्ता शिकारी बनाउनु छ जसले यो समाजमा भएका अन्याय, अत्याचार, बेतिथिको शिकार गर्न सकून्।
माथि हेर्नु त! निलो कार्पेट बिछ्याइएको ठूलो आकाशमा हटिया भर्न आएका नौ लाख ताराहरूले इन्द्रेणीको रङ्ग भर्न खोजिरहेछन्।
जसरी हावाको वेगभित्रको हुरी देखिँदैन, गाडीको इन्जिनभित्रको आगो देखिँदैन त्यस्तै आकाश, तारा, इन्द्रेणीको रङ्गको समायोजन गरी मलाई मेरा गाउँका हरेक प्रतिभालाई समायोजन गरेर यस्तो हवाई मार्ग बनाउनु छ जहाँ सूर्यको गतिभन्दा तेज प्रतिभाहरू कुदून्।
मलाई मेरा गाउँका पहाडहरूमा यस्ता रेल कुदाउनु छ जसले मेरा गाउँका गुन्द्रुक, खुकुरी, स्याउदेखि हरेक स्थानीय सामान विश्व बजारले उपभोग गर्न पाओस्।
हलो समाती गोरू जोतेर मेलो बनाइ बस्ने मेरा हरेक भाइबहिनीहरूलाई विद्यालय जानुपर्छ भनेर मेलो देखाउन म आउँदैछु। हाम्रो गाउँमा माटोको घरभित्र भएका हरेक किरा, फट्यांग्राका घर निकाली सफा गर्नुछ मलाई जो हाम्रो समाजका किरा बनेका छन्!
वैचारिक लडाइँमा विचार नै बन्दुक अनि मनमष्तिकबाट निस्कने शब्द नै गोली लिएर उही पल, उही उत्साह तर भिन्न स्थिति र सोचमा परिवर्तनको भोक लिएर इन्जिनियर बनेर छिट्टै फर्किँदैछु।