केही दिनअघि हामी कर्मचारी साथीहरू खाजा खाँदै थियौँ। खाजा खाने क्रममा एकजना साथीको आफ्नो हातबाट चम्चा फुस्किएर प्लेटमा खस्यो। प्लेटमा चट्नी थियो। चम्चाले त्यो चट्नी उछिट्याएर एउटै टेबुलको पारिपट्टि रहनुभएको सहकर्मी साथीको कपडाभरि पर्यो।
ती चम्चा खसाल्ने साथीले हाँस्दै ‘सरी’ भन्नुभयो। अफिसियल ड्रेस पहेँलै भयो। के भन्नु अब? के गर्नु अब? जानेर बुझेर होइन। अन्जानमै हो। तर त्यो सफा सर्टमा पहेँलै चट्नीको दाग लिएर अफिस जानु कि घरमा गएर कपडा फेरेर आउनु! भन्नेलाई सरी भने पुगिहाल्यो। तर ति भोग्नेले के गर्नु?
यसैको उत्तर खोजिरहेको छु म आज। मेरो जीवनमा पनि केही त्यस्ता घटनाहरूले मानसपटलमा डेरा जमाइराखेको छ कि चाहेर पनि हटाउन सकिरहेको छैन। नचाहेर पनि हटेको छैन। अँ साँच्ची, तपाईंलाई कोही कसैले सरी भनेको घटना याद छ?
के तपाईंले त्यसबेला सरी भन्दा माफी दिनुभयो त? वा तपाईंले कोही कसैसँग सरी भन्नुभएको छ? के त्यसबेला तपाईंले माफी पाउनुभयो त? तपाईं आफ्नो केही त्यस्ता क्षण सम्झिरहनु भएको होला! तर तपाईंलाई एकैछिन यो पंक्तिकारको घटनाक्रम तर्फ लैजान्छु है त।
घटना नम्बर १
‘आमा, छिटो जाम न। अहिले सरले पढाउन सुरु गरिहाल्नुहुन्छ,’ मैले भनेँ। सायद मरो उमेर ६ वर्षको हुँदो हो। कक्षा २ मा पढ्थेँ। हतार-हतार गर्दै बिहान ८ बजे ट्युसन जानुपर्ने। बिहान एक घण्टा अङ्ग्रेजी विषयको ट्युसन चल्थ्यो।
घर पाल्पा गोठादी। बसाइ पाल्पा झडेवाको देउगीर। बाबाको जागीर देउगीरमा भएकोले बाबा र म सँगै बस्थ्यौँ। आमा घरबाट कहिलेकाहीँ आउनुहुन्थ्यो। ठिक त्यतिबेला पनि आमा आउनुभएको थियो। आमासँगै जान्छु भनेर जिद्दी गरेपछि उहाँले मलाई ट्युसन छोड्न जान तयार हुनुभयो।
धेरै टाढाको बाटो पनि होइन। कोठाबाट ट्युसन पढ्ने ठाउँ अर्थात् विद्यालयसम्म जम्मा ५ मिनेटको बाटो। तैपनि हतार-हतार आमासँगै पुगेँ स्कुलसम्म। ल! ढोका थुनेर पढाइसक्नुभएछ।
आमाले ‘ल बाबु जाऊ पढ्न’ भनेर भन्नुभयो। अहँ! मलाई जान मनै लागेन। खै के भयो, के भयो। ‘मे आइ कम इन सर’ भनेर भन्ने आँटै आएन। के गर्ने होला भनेर विनम्रताको स्वरमा आमालाई फकाउन थालेँ।
‘आमा, आज सबै पढिसकेछन्। आज म हजुरसँगै फर्कन्छु है। भोलिबाट पढिहाल्छु नि!’
आमाले प्रतिवाद गर्नुभएन। ‘ठिकै छ नि, तर भोलिबाट पढ्नुपर्छ नि' भनेपछि मैले पनि हुन्छ भनेर कोठातिर फर्कंदै थियौँ। बाबा पनि स्कुल निरको बजारसम्म जान झर्नुभएको रहेछ। बाटैमा भेट भयो।
‘किन फर्केको ट्युसन नपढेर?,’ उहाँले सोध्नुभयो।
म केही बोलिनँ। आमाको अनुहारमा हेरेँ। आमाले कुरो बुझिहाल्नु भयो।
‘अरु ढोका लाएर पढिसकेछन्। त्यसैले यसले जानै मानेन’ यति के भन्नुभएको थियो नराम्रोसँग चुटाइ खाएँ।
‘सरी’ भनेँ। रोएँ। धेरै पटक सरी भनेँ, अहँ भएन। स्कुल नगई सुखै पाइनँ। फेरि आमाले नै लानुभयो स्कुलसम्म।
अहिले त ढोका बन्द भए पनि आमाले नै खोलाउनुभयो। भित्र पसेँ। ३० मिनेट जतिमा सकियो त्यो दिनको कक्षा। पढ्न त के नै पढियो र, आँसु चाहिँ सुक्यो त्यो ३० मिनेटभित्र।
घटना नम्बर २
कक्षा ४ सम्मको पढाइ देउगीरमा सकेपश्चात फेरि गोठादी नै फर्किएका थियौँ। अर्थात् घर फर्किएका थियौँ। त्यसपश्चातको पढाइ घर नजिकैको विद्यालयमा अध्ययन गर्न थालेँ। घर नजिकै पनि के भन्नु घरबाट जान मात्रै पनि साढे एक घण्टा लाग्दथ्यो।
कक्षा ७ मा अध्ययन चल्दै थियो। जाडोको याम थियो। एकदिन हामी ७ जना जति केटाहरू स्कुलको बार्दलीमा बसेर घाम तापिरहेका थियौँ। अन्य कक्षा चलिरहेको थियो। हाम्रो कक्षा चाहिँ खाली थियो। हामीलाई पढाउने सर आउनुभएको थिएन।
त्यत्तिकैमा मैले बार्दलीबाट थुक्दा संयोगवश तलको कक्षाबाट निस्कनुभएका एकजना सरको देब्रे हातको सर्टको बाहुलामा मेरो थुक पर्यो। अब सरको पारो चढ्यो। माथि तिर हेर्नुभयो। मेरो थुक सरको हातमा पर्यो भन्ने वित्तिकै म कक्षाभित्र पसेँ।
साथीहरूलाई र सरलाई पनि म लुक्न गाको सुइँकोसम्म भएन। कसले थुकेको? हेरेर थुक्न पर्दैन? बार्दलीमा बसेर थुक्दै बस्ने हो? यस्तै-यस्तै शब्दहरूले साथीहरूलाई साह्रै हप्काउन थाल्नुभयो। तर साथीहरू सबैले होइन भन्न थाले। हो पनि कसरी भन्नु, थुकेको मैले हो।
इमान्दारीताका साथ मैले हो सर भनेर फेरि बाहिर निस्किएँ। अफिसमा बोलाउनुभयो। गएँ। किन थुकेको? हेरेर थुक्न पर्दैन? रिसले चिढिँएको बेला निकै आक्रामक तरिकाले प्रश्न सोध्नुभयो।
‘सरी सर, जानेर होइन। झुक्किएर हो सर, सरी सर’ के भनेको थिएँ, झ्याम-झ्याम दुवै गालामा दुई चार झापड खाइयो।
घटना नम्बर ३
निकै हतार थियो मलाई त्यो दिन। जुन दिन बिहान ट्युसन पढ्न ६ बजे मल्ल सरकहाँ पुग्नुपर्ने थियो। मल्ल सर अर्थात् कृष्ण मल्ल। एमएड इङ्लिश विषयको लागि तानसेनमा मानिएको लेक्चरर। उहाँ बस्ने तानसेनको मेहल्धारा टोलमा। हो म पनि त्यहीँ पुग्नुपर्ने।
तानसेनकै भगवती टोलमा थियो मेरो बसाइ। मेहल्धाराभन्दा केही माथि। फोनेटिक्स एण्ड फोनोलोजी विषयको ट्युसन चल्थ्यो। एमएड प्रथम वर्षको पढाइ चल्दै थियो। प्रोजेक्टको जागीर, प्रायः फिल्डमा जानुपर्ने। क्याम्पसमा नियमित जान नसकेपछि ट्युशन नपढी सुखै भएन।
त्यो दिन पनि ट्युसन पढ्न माथिबाट झर्दै थिएँ। एक सुरको हिँडाइमा अनायासै पानीले भिजाइदियो। ऊफ्! एकाबिहानै पानीले निथ्रुक्कै। रिसले माथितिर हेरेँ। नुहाइवरी टाउकोमा तौलिया बेरेकी एक युवती हातमा खाली बाटा लिएर उभिएकी।
उसलाई पनि सायद अप्ठ्यारो महसुस हुँदो हो। बाटोमा मान्छे हेरेर फाल्नु पर्दैन भनेर रिसाएँ पनि। रिसाएर के गर्नु? पानीले भिजिसकियो। अलि बढी नै रिस उठेको थियो। उठेजति रिस पोखिनँ। म रिसाएको देखेर उनले ‘सरी है दाइ’ भनिन्।
अरु केनै गर्न सक्थिन् र! गएर मेरो ट्युसन पढिदिने पनि होइन। मलाई अर्को कपडा दिने पनि होइन। धेरै रिसिनुको पनि औचित्य देखिनँ। निथ्रुक्क भिजेर कसरी पढ्न जानु? त्यसै त हतार भैरहेको थियो। उसैमाथि त्यस्तो हालत। फर्केँ कोठामा। बसेँ थपक्कै।
घटना नम्बर ४
प्रोजेक्टको जागीरकै क्रममा एकदिन पाल्पा दोभानको एउटा विद्यालयसम्म जानुपर्ने। गाडीबाट झरेपछि करिब साढे एक घण्टा हिँड्नुपर्ने। आफ्नै साधन पनि थिएन त्यतिबेला। पाल्पा बुटवलको लोकल बसमा जानुपर्ने।
बसपार्क गएँ। बस छुट्नै लागेको रहेछ। बसमा चढेँ। सिट हेरेँ। सबै सिट प्याक जस्तो देखेँ। कन्डक्टरले 'त्यहाँ छ एउटा सिट गएर बस्नुस्' भनेपछि गएँ। एउटा सिट खाली रैछ।
सँगैको सिटमा एक युवती। विवाहित वा अविवाहित एकिन गर्न सकिनँ। चासो पनि भएन मलाई। यात्रासम्म बोल्दिए हुन्थ्यो भन्ने चाहिँ थियो। तर छाँटकाट देखिनँ। उसलाई पनि बोल्न मन थिएन क्यारे। उनी झ्यालतिरको सिटमा, प्रायः बाहिर हेर्न थालिन्।
म पनि झोलाबाट एउटा पुस्तक निकालेँ अनि पढ्न थालेँ। एकैछिनमा निदाएछु क्यारे, एकैचोटि मेरो दाहिने हातभरि बान्ता गरिदिँदा पो ब्यँझिएँ। उफ्! के आइलाग्यो? फिल्डमा जागीर खान हिडेँको। कपडाभरि बान्ता। के गरौँ, के नगरौँ।
झनक्कै रिस उठ्यो। मनमनै खुब रिसाएँ। म रिसाएको पनि थाहा भयो उनलाई। जब उनको बान्ता रोकियो, तब ‘सरी है दाइ’ भनेर बोलीको पूर्णबिराम लाइन्। अहँ! त्योभन्दा बढी केही पनि बोलिनन्।
अब त्यहाँ झगडा गरेर पनि के गर्नु, उनले अर्को कपडा किनिदिने पनि होइन, धोइदिने पनि होइन। दोभानको घुम्ती भन्ने ठाउँमा झरेँ। तिनाउ खोलामा गएँ। सट फुकाले। खोलामा धोएँ। सुकाएँ। घाम चर्कै थियो। साढे एक घण्टा जतिमा सुक्यो। लाएँ, अनि बल्ल विद्यालय गएँ।
यी ४ वटा घटना सम्झन्छु। मैले गल्ती गरेका २ वटा घटनामा जति पटक सरी भने पनि मैले क्षमा पाइनँ। तर मसँग त कति सजिलो गरी सरी मागे त! सरी भन्ने शब्द कति सरल रहेछ। जस्तो गल्ती गरे पनि सरी भनेपछि भैहाल्ने।
कसैसँग ठोक्कियो, गल्ती बोल्यो, काम बिग्रियो, अन्जानमा गल्ती गर्यो, जे-जे भए पनि सरी। गल्तीहरूलाई कति सजिलै टार्न सकिनेरहेछ यो सरी शब्दले। के त्यति नै हल्का शब्द हो त ‘सरी’।
फेरि त्यति हल्का नै हो भने मैले माग्दा किन पाइनँ होला त सरी? प्रश्न खेलिरहन्छ मनमा। तपाईंको यति व्यस्त समयमा पनि यो लेख पढ्ने समय लिएँ, त्यसको लागि सरी है!