देशमा सशस्त्र द्वन्द्व सुरू भईसकेको थियो। म स्कुल पढ्दै थिएँ। भर्खर टिनएजमा प्रवेश गरेको मैले आफ्नै कक्षामा पढ्ने एउटी केटीलाई मन पराउन थाले।
उनी यति सुन्दर थिईन् कि, मैले उनको नाम ‘नर्गिस’ नै राखेको थिएँ।
कक्षामा होस् कि, कक्षा बाहिर मेरा आँखा उनैलाई खोजिरहेका हुन्थे। स्कूल बिदा भएपछि साथी राजकुमारलाई लिएर उनको पछि पछि हिड्थेँ।
मेरो घर जाने बाटो अर्कै भए पनि उनले फर्केर हेर्छिन् कि, भन्ने आशमा उनलाई पच्छ्याउँथेँ। तर उनको लागि म केही थिइनँ। मेरो उपस्थिति अझ भनौं म पनि संसारमा छु भन्ने कुरा सँग कुनै लिनु दिनु थिएन। ‘आइ डिड नट एक्जिस्ट फर हर’ माया त परै जाओस् उनको लागि मेरो कुनै अस्तित्व नै थिएन।
हुन पनि त ठिकै हो। कालो घुम्रिएको कपाल, थेप्चो नाक भएको सुकरात मोडलको मान्छे म कसैको नजरमा पर्ने कुरै भएन।
पढाइमा पनि म पछाडिबाट पहिलो हुन्थेँ। मसँग प्रेम गर्ने योग्य कुनै पनि गुण थिएन। तर पनि यो मन साच्चै विचित्रको हुँदोरहेछ।
कोहीमाथि मन अडियो भने आफ्नो औकात पनि भुलाईदिँदो रहेछ। मेरो भाग्य भनौं या दूर्भाग्य म यस्ती केटीलाई मन पराउँथेँ जसका लागि स्कूलका सबै केटा पछि लाग्थे।
तर म भने उनका लागि यो संसारमै थिइनँ। एकतर्फी प्रेम सजाय हुँदोरहेछ। न मर्न सकिन्थ्यो न त बाच्न नै। तर यसको आफ्नै आनन्द थियो। रोमाञ्च थियो, भक्ति थियो पवित्रता र समर्पण थियो।
माओवादी युद्व सँगै मेरो प्रेम पनि चर्कँदै गयो।
मलाई प्रेम सम्बन्धी साहित्य, गीत, फिल्म मन पर्न थालेका थिए। अमिताभ बच्चनको फिल्म कुली र देशप्रेमी हेरेर हातमा कुली र देशप्रेमी लेख्ने म पाब्लो नेरूदाका कविता पढ्न कैलालीस्थित जनपुस्तकालय जान थालेको थिएँ।
निदा फाज्ली, गुल्जार, फैज अहमदका कविता पढ्न थालेको थिएँ। मुनामदन मैले त्यतिखेरै पढेँ। हर साँझ साइकलम म रामकुमारलाई लिएर नरगिसको घर तर्फ जान्थेँ।
घन्टौं उनको घर देखिने ठाउँमा बसेर उनलाई एक नजर देख्न पाउने आशमा घन्टौं बिताउथेँ। मैले देखे पनि उनले मलाई कहिलै देखिनन्। प्रेममा मान्छे थाक्दो रहेनछ। हो, म पनि थाकिनँ।
सरस्वती पूजाको दिन थियो। हाम्रो स्कूलमा सरस्वती पूजा धुमधामसँग मनाइन्थ्यो।
पूजापछि मिठाइ बाँडियो। सबै किताब हातमा लिएर सरस्वतीको आरधना गर्दै थिए। मेरा लागि भने आज अन्तिम लडाईँ थियो। ‘वार कि पार’ भनेर मैले प्रेम पत्र लेख्ने निर्णय गरेँ। बोल्ने हिम्मत मसँग थिएन। प्रेम पत्र लेख्न पनि भाषिक ज्ञान र अभिव्यक्ती हुनुपर्दो रहेछ, आज आएर बल्ल ज्ञान भयो। मैले नर्गिसलाई प्रेम पत्र लेखेँ।
यस्तो थियो मेरो प्रेम पत्र:
नर्गीस,
म तिमीलाई यति धेरै माया गर्छु कि मेरो पुरा जीवन तिमीलाई हेरेरै बिताउन सक्छु। मलाई थाहा छ प्रेम भिखमा पाइन्न। तर भिख नै सही मेरो प्रेमलाई स्वीकार गरिदेउ।
तिम्रो जवाफको प्रतिक्षामा।
उही, दिवाकर
सरस्वती पूजाको सबै कार्यक्रम सम्पन्न भईसकेको थियो। शिक्षक र विद्यार्थी आ-आफ्नो घरतर्फ लाग्दै थिए। मेरा आँखा नर्गिसलाई खोजिरहेका थिए। मैले त्यो चिठी नरगिसलाई दिन भनेर रामकुमारलाई अह्राएँ। मैले भन्नासाथ राम कुमारले दौडेर गएर मेरो चिट्ठी उसलाई दियो। ‘यो कसले दिएको?, नर्गिसले सोधिन्। ‘दिवाकरले,’ उसले तुरून्तै जवाफ दियो।
एक छिन पत्र पढेपछि नर्गिस सिधै म भएतिर आईन्। म आत्तिएको थिएँ। के हुने हो थाहा थिएन। उनले सिधै आएर मेरो गालामा एक थप्पड हानिन्। ‘साले डुम, तेरो यत्रो हिम्मत,’ भनेर उनी आफ्नो बाटो लागिन्।
मलाई थप्पड सैय्य थियो। तर ‘डुम’ भन्ने शब्द स्वीकार्य थिएन। तर म उनलाई यति धेरै माया गर्थे कि, यो अपमानको प्रतिकारनै गर्न सकिनँ।
दिमागमा अनेकौं सवाल आए। मुटु छियाछिया भयो। उनले भनेको त्यो तुच्छ शब्द कानमा गुन्जिरह्यो। म होसमा आएझैं भएँ। देशमा जारी शसस्त्र युद्वले मलाई छोएको थिएन। मेरो वास्तविक युद्व सुरू भएको थियो। देशमा शान्ति वार्ता भयो। १० वर्षे लामो गृहयुद्ध सकियो तर म भित्रको युद्ध दसकौंसम्म जारी रह्यो।
आज ‘भ्यालेन्टाइन डे’ को अवसरमा नर्गिसलाई एउटा सन्देश दिन चाहन्छु- घृणाको बदला घृणा हुन सक्दैन। प्रेममा जात खोज्ने मेरो पहिलो र अन्तिम प्रेम उनलाई अव्तार सिंह सद्दु ‘पाश’ को एउटा कविता उपहार दिँदै म भित्रको द्वन्द्वलाई सदाका लागि विसर्जन गर्न चाहन्छु।
म अब बिदा लिन्छु
मेरी प्रिय म अब बिदा लिन्छु
मैले एउटा कविता लेख्न चाहेको थिएँ, तिम्रा लागि
जुन तिमी जिन्दगीभर गुनगुनाउन सक्थ्यौं
तिमी अब सब बिर्सनू र मेरो हिस्साको जिन्दगी पनि तिमी नै बाँच्नू
म अब बिदा लिन्छु ...