मनको आँगनलाई आत्मप्रेमले सफा गर्नुपर्छ भन्ने धारणा पहिरिने व्यक्ति हुँ म। आफूमा माया भर्यो भने मात्र हामीले अरुलाई माया बाँड्न सक्छौँ भन्ने प्रवृत्तिको व्यक्ति हुँ म।
तर यसो भन्दै गर्दा, के म कसैलाई प्रेम गर्न बिल्कुलै असामर्थ्य छु त?
त्यो भने पक्कै होइन।
त्यसो भए यो मनको बुइगलमा भाँडा नै नतिरी बस्ने व्यक्ति को हो त? म एकछिन अलमलमा परेँ। यही कुरा पत्ता लगाउन म चोटामा चढ्दै मनको बुइगलमा पुगेँ र मैले देखेँ मेरा अचल, प्रकाश नपरेका भावनाहरू जसलाई म बिरलै मूल्याङ्कन गर्नेगर्छु।
जीवनमा धेरै मुहार र अनुहारहरू भेटिन्छन् तर कोही भने त्यस्ता हुन्छन् जसको बारेमा हामी विश्लेशण गर्न असामर्थ्य हुन्छौँ। हामीले केही न केही त महसुस गर्छौं तर के महसुस गर्यौं भनेर भन्न सक्दैनौँ। त्यो आफै यत्तिकै हुन्छ, हाम्रो काबुमा हुँदै हुँदैन। होइन, हाम्रो मनलाई प्रेमको बजारमा बेच्ने को हो त्यो हँ? जनता जान्न चाहन्छ!
माया–पिरती भनेपछि घिन लाग्ने मानिस पछि गएर नामी देवदास हुन पुगेका घटनाहरू पनि प्रशस्त छन्। म पनि त्यहीँ ‘प्रशस्त’ श्रेणीभित्र पर्छु, अफसोस! यो वाक्य लेख्दा पनि कति ‘क्रिन्ज’ लागेको गाँठे!
म त परेँ तर तपाईंहरू भने सावधान! अनुभवले बोल्दैछु। लास्टै पीडा हुन्छ के!
अब चाहिँ म कुरालाई रोटी जसरी नघुमाइकन सिधैँ भन्छु ल! कान थापेर र मन थामेर बस्नुहोस्।
एकजना केटा छ। म बाल्यकालदेखि उसैसँग हुर्किएँ। उसले मलाई मेरो प्रोजेक्ट वर्क गर्न निकै सहयोग गर्थ्यो। भन्नलाई मेरो प्रोजेक्ट वर्क हुन्थ्यो तर गर्ने ठेक्का भने उसको हुन्थ्यो। कसरी प्रोजेक्ट फाइललाई आकर्षित बनाउने होला त भन्ने कुराबाहेक अरु केही कुरा त्यो दौरानमा हुँदैनथ्यो।
प्रोजेक्ट सकिन्जेलसम्म हामी त्यहीँ तल्लीन भएर काम गर्थ्यौं र सकिएपछि एकअर्कालाई हेर्दा होली खेलेर आएको मानिसझैँ देख्थ्यौँ। लतपतिएका पेन्टहरू, साइनपेनका धर्साहरू!
अब ममीले जिउँदै चपाउनुहुन्छ भन्ने ठान्दै हामी हतारिँदै बतासिँदै कोठा सफा गर्थ्यौं। त्यति मात्र कहाँ हो र, उसले नै मलाई जीवनरुपी कलाहरू सिकाएको हो। मैले अहिले जे कुरालाई आदर्श मान्छु, त्यो कुरा उसकै सोचको खोला भएर मेरो उजाड मस्तिष्कमा छिरेको हो। त्यसैले त म उसलाई निकै प्रेम गर्छु।
हामी रेसलिङ पनि सँगसँगै हेर्थ्यौं। समर स्ल्याम, रेसल मेनिया हेर्न निन्द्रा बेच्ने मानिस हामी नै हौँ। जोन सिनाको ‘इन्ट्री गीत’, डेनियल ब्रायनको ‘यास–यास’ र सिमसको ‘नयाँ ह्यरस्टाइल’ हेर्दै रमाउने पनि हामी नै हौँ।
मलाई कहिलेकाहीँ ती दिनहरूको निकै झल्को आउँछ। पहिलाको र अहिलेको जीवन कहाँबाट कहाँ पुग्यो भन्ने जस्तो लाग्छ।
‘यो रङ्ग चाहिँ तिमीलाई सुहाँउछ, यो रङ्गको लुगा लगाउने गर न भन्ने पनि ऊ नै हो। उसले मनबाट भने पनि म ऊसँग आफ्नो स्वेच्छाको बारेमा भाषण छाड्छु र चिड्चिडिन्छु। ऊ एकैछिनमा निराश हुन्छ तर म फकाउन चाहिँ फकाउँछु है!
‘ह्या, मलाई लेख्ने विषय नै फिरिरहेको छैन भन्या’ भनेर मैले उसलाई एकदिन भनेको थिएँ। त्यसको भोलिपल्ट नै मेरो टेबलमा पत्रिका र किताबहरू अडेस लागेर बसेका थिए।
‘यो पढ अनि केही विचार फिर्छ कि’ भनेर उसले भन्दा मेरो मन ‘ग्लोबल वार्मिङ’ ले हिमालको हिउँ पगालेको भन्दा पनि चर्को रुपले पग्लेको थियो। एकैछिन त ठूलो अँगालोले बेरुँ कि जस्तो लागेको थियो तर मलाई अलिक आँट आएन।
मेरो जन्मदिन थाहा नभएको जस्तो स्वाङ पारेर बिहानपखै उपहार लिएर हिचकिचाउँदै आउने व्यक्ति ऊ नै हो। ‘मैले त बिर्सिसकेको थिएँ तर अरुले सम्झाएका हुन्’ भनेर भनेको मिठो झुट सुन्न नि औधी मज्जा आउने रहेछ।
म यही नै चोखो प्रेम होला भन्ने ठान्छु। तर फेरि डर र त्रास घोलिएको चिजलाई कसरी चोखो र शुद्ध भन्न सकिन्छ त भनेर झोक्रिन्छु। चोखो प्रेममा त प्रेमैप्रेम मात्र हुनुपर्ने होइन र? डर र त्रास मिसिएपछि त अशुद्ध भैहाल्यो नि भनेर म ठान्छु।
ऊ निकै रोगी छ। दिनदिनै औषधिको सेवन नगरे उसको स्वास्थ्य अवस्था निकै जटिल हुनपुग्छ। म बेलाबखतमा उसलाई औषधिको तालिका मिलाएर खान भन्छु तर सुने पो! बरु उल्टै मलाई सुझावको माला पहिराइदिन्छ। यो कुरा चाहिँ उसको मन नपर्ने बानी हो।
मलाई भने ‘भाइबर’ मा स्वास्थ्यसँग सम्बन्धित लेखहरू पठाइरहन्छ तर ऊ भने पालना गर्दैन। दिनभरि भौतारिएर हिँड्छ र आफ्नो बारेमा सोच्दै सोच्दैन। मलाई भने पानी, फलफूल खान दिइरहन्छ। ‘आफू रहेमात्र अरु रहन्छ’ भनेर मैले भने पनि ‘तिमी खाऊ न’ भनेर अनारको जुस ल्याइदिन्छ।
धेरै अगाडि मैले ‘इन्टरस्टेलर’ चलचित्र हेरेको थिएँ। त्यसमा भनिएको थियो, ‘सायद माया भनेको हामीले बुझ्न नसक्ने कुरा हो। हुनसक्छ यो केही कलाकृति हो जुन हामीले सचेत रुपमा बुझ्न सक्दैनौँ। माया एउटा यस्तो चिज हो जुन आयाम र स्थानलाई पार गर्दछ।
‘हामीले मायालाई बुझ्न नसके पनि यसमा विश्वास गर्नुपर्छ।’ यो कुरालाई सार्थक तुल्याउने जीवन्त उदाहरण ऊ नै हो।
उसलाई आफ्नो काम गर्न निकै मनपर्छ। एकछिन पनि हात खाली राख्न चाहँदैन र त म दङ्ग पर्छु। यो कुरादेखि चाहिँ म निकै प्रभावित हुन्छु, मेरो मनमा मानौँ च्याउ उम्रेझैँ उसको लागि माया उम्रँदै जान्छ।
म भने ऊ जस्तो खटिएर काम गर्न सक्दिनँ! म अल्छी देशको राजकुमारी, ऊ जाँगर देशको राजा।
हँ! राजा र राजकुमारी भनेको त बाउछोरी भएनन् र भनेर तपाईं प्रश्नको भिरमा अल्झिनुभयो भने नआत्तिनुहोस्। म तपाईंलाई हात समाएर उद्दार गर्न आउँदैछु। हो, त्यो केटा अरु कोही नभएर मेरो बाबा हुनुहुन्छ। ‘लाज किन बाबा’ वाला बाबा चाहिँ होइन नि फेरि!
ठट्टा एक ठाउँतिर, मैले र बाबाले कहिल्यै पनि खुला रुपले आफ्नो मनको गाँठो फुकाएका छैनौँ। बाबा ‘छोरीले मेरो कुराले पीर–ताप लिने हो कि’ भन्ने सोच्नुहुन्छ जस्तो लाग्छ।
मैले ‘बाबा, यता आइस्यो त गालामा माया गर्छु’ भन्दा रिसको मुकुट लगाएर भित्र मन्द-मन्द हाँस्ने उहाँ नै हो। छोरी सुती कि सुतिन भनेर मध्यरातमा ढोकामा चियाएर हेर्ने पनि उहाँ नै हो।
हजुरले छोरीले थाहा पाउदिन, बुझ्दिन भने पनि म धेरै कुरा मूल्याङ्कन गर्छु बाबा! हजुरको नजरमा म सानो नै भए पनि मैले हजुरको पहाड जत्रो सङ्घर्ष र खस्रो सडकमा हजुरले हिँडेको यात्रा सब देखेको छु।
यदि आकाश भाडामा लिन मिल्ने भए म बादलको कलमले आकाशमा हजुरको बारेमा काव्य कोर्थें होला तर मिल्दैन पो! त्यहीँ भएर यस प्रेम दिवसमा गुलाफको फूल लिएर आउँदैछु है बाबा!