दाँतको हेरचाह हाम्रो समग्र स्वास्थ्यको एक महत्त्वपूर्ण पक्ष हो। यो विशेष गरी मधुमेह भएका व्यक्तिहरूको लागि झन् महत्त्वपूर्ण छ।
मधुमेहले गिजा र दाँतको स्वास्थ्यलाई असर गर्नसक्छ र यसले दन्त रोगहरू निको हुन गाह्रो बनाउन सक्छ। तसर्थ मधुमेह भएका व्यक्तिहरूले आउनसक्ने जटिलताहरू रोक्न र उनीहरूको समग्र स्वास्थ्य कायम राख्न आफ्नो मुख दाँतको अतिरिक्त हेरचाह गर्न अत्यन्तै आवश्यक छ।
मधुमेह भएका व्यक्तिहरूमा देखिने दन्त समस्याहरू मध्ये एक गिजाको रोग हो। मधुमेहले शरीरको रोग तथा संक्रमणसँग लड्न क्षमतालाई कम गराउँछ जसले गर्दा गिजामा रोग निम्त्याउने ब्याक्टेरियाहरू बढ्दै जान्छन्।
मधुमेहले रक्तनलीहरू पनि साँघुरो हुनसक्छ जसले गर्दा गिजामा रगतको प्रवाह कम हुन जान्छ। फलस्वरूप, मधुमेह भएका मानिसहरूलाई गिजाको रोग लाग्ने सम्भावना बढी हुन्छ र यसलाई सन्चो पार्न पनि गाह्रो हुन्छ।
मधुमेहले र्यालमा ग्लुकोजको मात्रा पनि बढाउन सक्छ। यो ग्लुकोजले हानिकारक ब्याक्टेरियाहरू जसले हामीले खाने खानलाई प्रयोग गरेर नरम, टाँसिने फिल्म बनाउँछन् जसलाई ‘प्लाक’ भनिन्छ त्यो अझै बढाउँछ।
यदि समयमा नै यो प्लाक नहटाएमा यो गिजाको रेखा नजिकै दाँतमा पनि जम्मा हुन्छ र टार्टार भनिने कडा हुनसक्छ। यसले गिजाको रोग निम्त्याउन सक्छ। यदि बेलैमा उपचार नगरे दाँतहरू झर्न सक्छन्।
गिजाको रोगबाट बच्नको लागि मधुमेह भएका मानिसहरूले दिनको दुई पटक फ्लोराइड भएको टुथपेस्टले दाँत माझ्नुपर्छ र फ्लसले अड्केका खाना निकाल्नु पर्छ। नियमित रूपमा दन्तचिकित्सकसँग सरसफाइ र जाँचको लागि पनि जानुपर्छ।
मधुमेह भएका व्यक्तिहरूले गिजाको रोगका लक्षणहरू जस्तै रातो हुने, सुन्निने वा गिजाबाट रगत बग्ने बारे सचेत हुनुपर्छ। यदि तिनीहरूले यी लक्षणहरू देखेमा तुरुन्त उपचार खोज्नुपर्छ।
मधुमेह भएका व्यक्तिहरूको लागि अर्को मुखको समस्या भनेको सुख्खा मुख हो। मधुमेह र मधुमेहको उपचारमा गर्न प्रयोग गरिने केही औषधिहरूले मुखमा रहेको र्याल ग्रन्थीहरूलाई कम र्याल निकाल्ने बनाउन सक्छ। यसले निल्न र बोल्न धेरै गाह्रो बनाउन सक्छ र दाँत सड्ने जोखिम पनि बढाउन सक्छ।
सुक्खा मुखको हेरचाह गर्न, मधुमेह भएका मानिसहरूले प्रशस्त पानी पिउनुपर्छ तथा रक्सी, क्याफिन, खैनी, गुठ्का र चुरोट (निकोटिन युक्त) जस्ता मुखलाई सुख्खा र खराब गर्ने खानेकुरा र पेय पदार्थहरूबाट टाढा रहनुपर्छ।
मधुमेह भएका व्यक्तिहरूमा दन्त उपचारको क्रममा र पछि पनि जटिलताहरू आउने सम्भावना बढी हुन्छ। जटिलताहरू कम गर्न मधुमेह भएका मानिसहरूले आफ्नो दन्त चिकित्सकलाई उनीहरूको अवस्थाको बारेमा विस्तारमा जानकारी दिनुपर्छ र दन्त प्रक्रियाहरू अघि र पछि आफ्नो रगतमा चिनीको मात्र भन्ने कुराको ध्यान पुर्याउनु पर्छ।
मधुमेह भएका व्यक्तिहरूले सधै नरम-ब्रिस्टल टुथब्रश प्रयोग गर्नुपर्छ, कडा खानाहरू खान बन्द गर्नुपर्छ र खेल खेल्दा माउथगार्ड लगाएर आफ्नो दाँतको सुरक्षा गर्नुपर्छ। यदि राति सुतेको समयममा दाँत किटकिटाउने बानी छ भने उनीहरूले दन्त चिकित्सकको सल्लाहमा नाइट बाइट गार्ड बनाएर लगाउनु पर्छ।
अन्त्यमा मधुमेह भएका व्यक्तिहरूले दाँत तथा मुखको विशेष हेरचाह गर्नुपर्दछ जसले गर्दा भविष्यमा आउने दन्त स्वास्थ्य समस्याहरूलाई रोक्न र जटिलताहरूलाई कम गर्न मद्दत गर्दछ।
आफ्नो मुखको स्वास्थ्यमा अतिरिक्त हेरचाह गरेर मधुमेह भएका व्यक्तिहरूले आफ्नो समग्र स्वास्थ्य कायम राखी जीवनको राम्रो गुणस्तरको आनन्द लिन सक्छन्।
नियमित मौखिक स्वच्छता कायम राखी दिनचर्या पालना गर्नुपर्छ, नियमित रूपमा दन्त चिकित्सकको भ्रमण गर्नुपर्छ र गिजा रोग र सुख्खा मुखको लक्षणहरू बारे सचेत हुनुपर्छ।
मधुमेहको बारेमा आफ्नो दन्त चिकित्सकलाई सूचित गर्नुपर्छ र दन्त चिकित्साका प्रक्रियाहरू अघि र पछि आफ्नो रगतमा चिनीको व्यवस्थापन गर्न कदम चाल्नुपर्छ।
सही हेरचाह तथा उचित सल्लाहको साथ मात्र मधुमेह भएका मानिसहरूले आफ्नो दाँत र गिजालाई स्वस्थ राख्न सक्छन्।