‘चिनेकोसँग बिहे होस्’ लेखपछि राम्रै प्रतिक्रिया आयो।
लेख राम्रो छ, पढ्दै गर्दा मेरै कुरा लेखिएको छ, मनमा खेलिरहने कुरालाई स्ट्रक्चरमा राख्नुभएछ राम्रो लाग्यो।
चिनेको मान्छे भेट्यो त? प्रश्नसँग बिहेको प्रस्ताव नै आयो।
गाउँ जाँदा ‘कति लेख्नेमात्रै बिहे पनि गर्नुपर्यो’ साथीहरूले भने। म खुसी भएँ, राम्रै लेखेकोजस्तो भान भयो। मख्ख भएँ।
सबैतिर चर्चा हुँदै गर्दा घरमा चर्चा नहुने कुरै भएन। आमाबुवालाई सुनाउँदा हाँस्नुभयो। दाइसँग लामै छलफल भयो।
दाइसँग कुरा हुँदा ‘सबैलाई बिहे कहिले गर्ने खुब चासो हुन्छ तर त्यसपछिको जीवनप्रति कसैलाई वास्ता हुँदैन’ दाइले भन्नुभयो।
अनि दाइलाई सोधें ‘वास्तवमा ती मान्छेहरू चासो लिन्छन् र ?’
‘त्यो त थाहा भएन म कम मान्छेसँग घुलमिल हुन्छु न कसैले प्रश्न गर्यो कि बिहे कहिले गर्ने, न बिहेपछि कसैले सोध्यो कि कस्तो हुँदैछ जीवन’ उहाँको जवाफ।
‘तर कसैलाई केही पनि वास्ता हुँदैन’, थप्नुभयो।
दाइले भनेको कुरा सही लाग्यो। दाइ विवाहित हुुनुुहुन्छ के थाहा अनुभवले भन्दै हुनुहुन्छ कि? सोच्दै गर्दा मेरो मनमा कैयौं प्रश्नको ज्वालामुखी नै फुट्यो।
हाम्रो बिहेको जति चासो अरूलाई हुन्छ त्यति चासो बिहेपश्चातको जीवनको हुन्छ त? के उनीहरू जसरी बिहे गर्नुपर्यो? समयमै बिहे गरेको राम्रो हो? जस्ता अनायसै प्रश्न गर्ने उनीहरूले बिहेपछि कस्तो चल्दै जीवन सोध्छन् त? यतिका चासो राख्छन् त?
म पनि केहीबेर सोच्न बाध्य भएँ तर यही रियालिटी होला।
मानौं म बिहे गर्ने भए, चिनेकोसँग बिहे गरे त्यसपछि जीवन सबै सरल हुन्छ र? जोसँग बिहे गर्छु उसले मलगायत परिवारलाई राम्रोसँग खुसी राख्छिन् होली? त्यतिसम्म ठिक छ। तै पनि यी कुरा कस्ले सोध्छ र?
उनी जसले आफ्नो बिहे सम्मको जीवन जन्मघर छोडेर नयाँ घरमा आएकी हुन्छिन् उसलाई बस्न सहज होला र? म जोसँग धेरै समयदेखि चिरपरिचित हुदिनँ ऊसँग सहजै बाँकी जीवनको यात्रा तय गर्न सक्छु र?
यात्रा क्रममा कठिनाइ आउँछ नै त्यो कठिनाइ मिलेर तय गर्न सक्छु र? यी प्रश्न उब्जे पनि जवाफ थिएन।
केही भन्न सकिन्न, अनुुभव छैन। सोचेअनुसार हुन नि सक्छ, नहुन नि सक्छ।
मानौं चिनेकोसँग बिहे भएन, सुनेको थिएँ ‘कोसँग बिहे हुन्छ त्यो कुरा माथिबाट लेखेर आएको हुन्छ रे’
अन्जानसँग बिहे भयो।
मलाई र परिवारलाई बुझेको हुँदैन अनि आगामी दिनको गन्तव्य तय गर्न असहज हुन्छ र यी अवस्थामा साथ दिने ती कोही हुँदैनन् जसले अनगिन्ती प्रश्न गरेका थिए कि ‘बिहे कहिले गर्ने भनेर?’
के थाहा शिलान्यास गरिएको जीवनको यात्रा तय गर्न आवश्यक पर्ने बाँच्नेको डिपिआर र कसरी अगाडि हिँड्ने त्यसको प्रोपर प्लान चाहिन्छ होला।
यी सबै कुरा सोचिरहँदा कस्तो हुँदो रहेछ ? बिहे पछिको जीवन कसैको अनुभव बुझम् भनेर साथीसँग कुरा गरें।
‘बिहे तिमीले गर्ने अरूले जेसुकै भनोस् र त्यसपश्चातको जीवन तिमीले जिउने अरूलाई गफ दिने र कुरा काट्नेबाहेक केही मतलब हुँदैन’ दिपु साथीको जवाफ थियो।
‘त्यो कठिनाइ समय होस् या ठिक समय होस्। साथ दिनेमा तिम्रो र तिम्रो हुनेवालीको परिवार नै हुन्छन्’ उसले थप्यो।
दिपुकै कुरामा राजेले थप्यो।
‘बिहेपछि आनीबानीमा कस्तो परिर्वतन भयो रे, छरछिमेकले नोटिस् गरिरहेको हुन्छ कि झैझगडा या होहल्ला भएन, नयाँ बेहुलीले कस्तो व्यवहार गर्छे, खाना पकाउन सक्छे कि नाइँ, ए! आजकल सामाजिक संजालको दुनियाँ छ, त्यसमा कहाँ एक्टिभ छ रे।
फलानाले आफैं कपडा सफा गर्छ रे। फलानाले त यस्तो उस्तो गर्यो रे।’
दुवैको अनुभूतिमा विमलले अझै बल गरी नै भन्यो।
‘साथीहरूको चासो अब त तिमी पहिलोजस्तो समय दिँदैनौ, केहीबेर चिया खाऊँ, बोलम् भने तिमी कार्यालयपछि सिधा घर जान्छौ। यस्तै छ बिहेपछि मान्छे बदिलिन्छ। जस्ता कुरा हुन्छ।
कार्यालयमा चर्चा चल्छ बिहेपछि चिटिक्कै परेर आउँछ। क्यान्टिनमा खान बन्द गरेर टिफिन ल्याउँछ। काम सक्ने बित्तिकै घर कुदिहाल्छ। कहिले आउटको प्लान बनाउँदा पछिन्न खोज्छ।
परिवारमा पनि गजबै कुरा हुन्छ। ससुरालीतिर गइरहन्छ, बाहिर बस्दा घर नआएर ससुराली जान्छ, नियमित फोन गर्नेले आकलझुकल फोन गर्छ।
यो कुरा बेहुला र बेहुली दुवैतिर हुन्छ।’
अनुभव सुन्दा केहीबेर ट्वाल्ल परें।
अरूले जे भने पनि बिहेपछि अरूले अझै चासो लिन्छजस्तो लाग्छ। तर अरूले चासो लिनेभन्दा हामी कसरी एक अर्का भएर बस्छौं त्यो महत्वपूर्ण हो।
जीवन बडो गजबको छ। बिहे नगरेपछि प्रश्न र चर्चा भइरहने, बिहे भएपछि पनि चर्चा भइरहने त्यसैले भन्छ जिन्दगी जिउनेलाई नै थाहा हुन्छ जीवन कस्तो हुन्छ।